कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

राजनीतिक स्थायित्व : भ्रम र यथार्थ

हामीले खोजेको राजनीतिक स्थायित्वले ‘परिपाटी’को निर्माण गर्न सक्नुपर्छ । प्रजातन्त्र, स्थायित्व र समृद्धि पनि सँगसँगै जानु जरूरी हुन्छ ।
चन्द्रदेव भट्ट

काठमाडौँ — जनप्रतिनिधिद्वारा लेखिएको संविधानका आधारमा पहिलोचोटी स्थानीय, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न भएको छ । यी सबै निर्वाचन शान्तिपूर्ण रूपमा एक वर्षभित्रै सम्पन्न भए । नेपालभित्र तथा बाहिरका धेरै राजनीतिक विश्लेषकले यी सबै निर्वाचन एक वर्षभित्र सम्पन्न गर्न असम्भवजस्तै ठानेका थिए ।

राजनीतिक स्थायित्व : भ्रम र यथार्थ

यी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुलाई साँच्चै ठूलो राजनीतिक उपलब्धि मान्न सकिन्छ । यसले राजनीतिप्रति जनताको पनि विश्वास केही हदसम्म बढेको देखिन्छ । यही निर्वाचनको सन्दर्भमा देखिएको अर्को सबल पक्ष भनेको राजनीतिक दलको सङ्ख्या घट्नु हो । हामीले यी सबै उपलब्धिको सही उपयोग गर्न सक्यौं भने देश स्थायित्व र समृद्धितर्फ जाने प्रचुर सम्भावना देखिन्छ । त्यसो त नेपालले २००७ सालदेखि हालसम्म विभिन्न किसिमका राजनीतिक अस्थिरता झेल्नुपरेको छ र यस्ता प्रकृतिका अस्थिरताले आज नेपालको जनसङ्ख्याको एक चौथाइ भाग विदेशिन बाध्य भएको छ । यी राजनीतिक अस्थिरताका पछाडि मूलत: दुइटा कारण छन्– एउटा आन्तरिक र अर्को बाह्य । यो आलेख यी दुइटै विषयमा केन्द्रित हुनेछ ।


भर्खरै सम्पन्न निर्वाचनले देशभित्र देखापरेका आन्तरिक समस्याको धेरै हदसम्म समाधान गर्ने अपेक्षा गरिएको छ । विशेष गरेर निर्वाचनको परिणामले नागरिकका आकाङ्क्षाहरू पनि चुलिएर गएका छन् । अहिले सबैको जनजिब्रोमा राजनीतिक स्थायित्व र समृद्धिले स्थान पाएको छ । राजनीतिक स्थायित्व र समृद्धिका आधार के–के हुन् र यिनलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यति धेरै विचार–विमर्श भएको देखिँदैन । हामीले राजनीतिक स्थायित्वलाई निर्वाचनको परिणामसँग जोडेका छौँ, तर परिणामले कुनै पनि राजनीतिक दललाई स्पष्ट बहुमत दिएको छैन । वाम गठबन्धनलाई निश्चय नै स्पष्ट बहुमत प्राप्त भएको छ, तर यो एकता अहिलेसम्म गठबन्धनका नाममा मात्रै सीमित देखिन्छ । यो हालसम्म छुट्टै राजनीतिक दलका रूपमा रूपान्तरण हुनसकेको छैन । यसका आफ्नै किसिमका चुनौती देखिन थालेका छन् । जे भए पनि यो गठबन्धन तबमात्र राजनीतिक दलका रूपमा रूपान्तरण हुनेछ, जब यी दुई दलबीच एकीकरणका अन्तरवस्तुहरूमा सहमति हुनेछ । त्यसरी जन्मिएको दलले मात्र सैद्धान्तिक रूपमा मुलुकमा स्थायित्व प्रदान गर्न पूर्णता प्राप्त गरेको मनिनेछ ।


निर्वाचनबाट आम नागरिकले अपेक्षा गरेको अर्को महत्त्वपूर्ण विषय भनेको आर्थिक समृद्धि हो । आर्थिक समृद्धिको विषयलाई सबैजसो राजनीतिक दलले प्रमुख चुनावी मुद्दाको रूपमा लिएका थिए, तर नेपालको सन्दर्भमा आर्थिक समृद्धिका लागि आवश्यक तत्त्व र विधिका विषयमा स्पष्ट रूपमा कुनै पनि दलले खाका प्रस्तुत गरेको देखिँदैन । हामीले चाहेको समृद्धि भनेको मूलत: आर्थिक समृद्धि नै हो र यसका लागि चाहिने आवश्यक पूर्वाधारहरूको निर्माण गर्नु जरुरी देखिन्छ । यस अर्थमा समृद्धिका लागि विकास अपरिहार्य हुन आउँछ, तर हाम्रो विडम्बना भनेको अहिलेसम्म विकासलाई हामीले सही अर्थमा बुझ्नसकेको देखिँदैन । विकासका नाममा विश्व बजारमा जेजस्ता विषय देखा पर्छन्, हामी ती सबैलाई अवलम्बन गर्ने कोसिस गर्छौँ । यस्तो प्रवृत्तिले नागरिकलाई उपभोक्तामा मात्रै परिणत गर्ने रणनीति लिएको देखिन्छ । जुन पछि घातक सिद्ध हुन्छ ।


राजनीतिक स्थायित्व प्राप्त गर्ने सन्दर्भमा अर्को महत्त्वपूर्ण विषय भनेको राजनीतिक संस्कार हो । किनभने राजनीतिक संस्कारले संस्कृतिको निर्माण गर्छ । राजनीतिक संस्कारको सवालमा अहिलेसम्म हामीकहाँ त्यति सकारात्मक परिवर्तन भएको देखिँदैन । अहिलेका राजनीतिक घटनाहरूलाई नियालेर हेर्दा यहाँ भोलिको राजनीतिक भविष्य त्यति सन्तोषजनक देखिँदैन । किनभने अहिलेका राजनीतिकर्मीहरूको ‘स्वभाव’मा परिवर्तन भएको पाइँदैन । त्यसो त मानिसको स्वभाव परिवर्तन गर्न अप्ठ्यारो हुन्छ । यो कुरा भगवद् गीतामा श्रीकृष्णले अर्जुनलाई स्पष्ट रूपमा बताएका छन् । उनी भन्छन्, ‘स्वभाव या प्रवृत्ति परिवर्तनको लागि ठूलो तपस्या चाहिन्छ । नत्रभने प्रकृतिले मानिसलाई स्वाभाविक कर्मका क्षेत्रमा खिचेर ल्याउँछ र ऊ त्यसको दास हुन्छ (प्रकृतिक्षाम् नियोक्षसी) ।’ नेपाली राजनीतिको सन्दर्भमा यो कुरा एकदमै सत्य सावित हुन्छ, किनभने हामीकहाँ जस्तो अवस्था र व्यवस्था आए पनि प्रवृत्तिमा गुणात्मक परिवर्तन आएको देखिँदैन । यी विविध कारणले गर्दा भर्खरै सम्पन्न निर्वाचनबाट अहिले नै हामीले धेरै अपेक्षा राखिहाल्नु उचित हुँदैन । कथंकदाचित् भोलि राजनीतिमा फेरि पहिलेकै प्रवृत्तिको पुनरावृत्ति भएमा जनताले चाहेको स्थायित्व र समृद्धिमा ठूलो कुठाराघात पर्न जानेछ । यस्ता खाले प्रवृत्ति दोहोरिने सम्भावना व्यापक देखिन्छ, किनभने राजनीतिक परिदृश्यमा अहिले देखिएका विभिन्न नामका गठबन्धनको मुख्य उद्देश्य एकल रूपमा राजनीतिक सत्ता हत्याउने देखिन्छ, नकि राजनीतिक स्थायित्व र समृद्धि प्रदान गर्ने । त्यसो त यस्ता खाले राजनीतिक सहमतिलाई अर्थशास्त्री डग्लस नर्थले सीमित समूहहरूको राज्यसत्ता माथिको नियन्त्रण (लिमिटेड एक्सेस अर्डर) को संज्ञा दिएका छन् । किनभने यसरी गरिएका राजनीतिक सहमतिहरू निश्चित वर्गको परिधिभन्दा बाहिर जाँदैनन् र जुन व्यक्ति या समूह यो घेराबाहिर हुन्छन् या पर्न जान्छन्, तिनीहरूको मुख्य उद्देश्य भनेको यस्ता किसिमका परम्परामा आधारित शासन व्यवस्थालाई भत्काउने हुन्छ । उदाहरणका लागि माओवादी मूलधारबाट अलग्गिएको नेत्रविक्रम चन्द समूहलाई लिन सकिन्छ । हामीकहाँ विगतमा भएका विभिन्न किसिमका राजनीतिक सहमतिहरू यही मूलमन्त्रमा आधारित देखिन्छन् । यसले गर्दा विभिन्न किसिमका गैरसंवैधानिक समूहहरूको जन्म हुने गर्छ ।


राजनीतिलाई गलत ढङ्गले बुझ्ने परिपाटी हाम्रो अर्को समस्या हो । हाम्रा धेरै राजनीतिज्ञले राजनीतिलाई पेसाको रूपमा अँगालेका छन्, नकि सेवाका रूपमा । तेस्रो विश्वका देशहरूमा जुन ढङ्गबाट राजनीतिलाई बुझ्ने कोसिस गरिन्छ, त्यो आफैमा समस्यामूलक छ । उदाहरणका लागि हामीकहाँ एकचोटी राजनीतिमा प्रवेश गरेपछि जीवनको अन्तकालसम्म त्यसलाई छोड्ने परम्परा छैन । यो आफैमा समस्या होइन, तर हामी सत्तामा टिकिरहनका लागि जे पनि गर्न तयार हुने परिपाटीले गर्दा राजनीतिले आफ्नो वैधानिकता गुमाउँदै गएको छ । अन्य देशमा यस्ता खाले प्रवृत्तिले व्यापकता पाएको देखिँदैन । उदाहरणका लागि बेलायतका पूर्व अर्थमन्त्री जर्ज ओजवर्न डेविड क्यमरुनपछि प्रधानमन्त्री पदका मुख्य दाबेदार थिए । अहिलेकी प्रधानमन्त्री थेरेसा मेका ठाउँमा जर्ज ओजवर्न नै हुने सम्भावना प्रबल थियो । तर उनले राजनीतिलाई चटक्कै छाडेर ‘इभिनिङ स्यान्डर्ड’ पत्रिकाको सम्पादक हुन रुचाए ।

विगतका विविध घटनालाई केलाएर हेर्‍यौँ भने हाम्रो सन्दर्भमा राजनीतिक स्थायित्वको निर्माणमा ‘सङ्ख्या’को ठूलो भूमिका देखिँदैन । यसको सट्टा राजनीतिक आचरण र संस्कारको ठूलो भूमिका देखिन्छ । राजनीतिक संस्कारको निर्माण गर्न हामीले अझै केही समय पर्खिनुपर्ने देखिन्छ । त्यो किनभने सुगौली सन्धिपछि इतिहासका विभिन्न कालखण्डमा भएका राजनीतिक सङ्घर्ष आन्तरिक प्रकृतिका थिए र छन् । राजनीतिका नाममा हामीकहाँ गृहकलहको लामो इतिहास र परम्परा छ । अहिलको राजनीतिक संस्कार विगतका घटनाहरूबाट नै निर्दिष्ट भएको देखिन्छ । यसबाट छुटकारा पाउन त्यति सजिलो छैन ।


आन्तरिक राजनीतिक स्थायित्वको सन्दर्भमा अर्को महत्त्वपूर्ण पक्ष भनेको पछिल्लो समयमा शासकीय स्वरूपका रूपमा अपनाइएका नयाँ विषयवस्तुहरू हुन्, जस्तै : संघीयता । यसले नयाँ किसिमका चुनौती सिर्जना गर्नेछ । जस्तो कि भोलि गएर संघ र प्रदेश बीचको सन्तुलन (राजनीतिक, आर्थिक र अन्य) कसरी गर्ने भन्ने विषय पनि महत्त्वपूर्ण रूपमा देखा पर्नेछ । किनभने प्रदेश र केन्द्रमा शासन गर्ने राजनीतिक दलबीच तालमेल मिलेन भने यसले जटिल परिस्थितिको सिर्जना गर्नेछ । अहिले नै हामीकहाँ राज्य र राष्ट्रका बीचमा विभिन्न किसिमका समस्या देखिएका छन् र यी समस्याको समयमै राजनीतिक समाधान गर्नु जरुरी देखिन्छ । यदि यी समस्या समाधान गरिएन भने यिनले फरक किसिमको राजनीतिक जटिलता पैदा गर्ने निश्चित छ ।


सुरुमा औँल्याइए जस्तै नेपालको राजनीतिक स्थायित्वका सन्दर्भमा अर्को विषय भनेको बाह्य शक्तिहरूसँगको सम्बन्ध पनि हो । बाह्य शक्तिहरूसँगको सम्बन्ध पछिल्ला दिनहरूमा झन्–झन् जटिल हुँदै गएको छ । उदाहरणका लागि हामीले भारत र चीनसँगको सम्बन्धलाई सही ढङ्गले अगाडि बढाउन सकिरहेका छैनौँ । त्यसैगरी पश्चिमा राष्ट्रहसँगको सम्बन्ध पनि महत्त्वपूर्ण हुन आउँछ । किनकि नेपालको राजनीति तथा विकासमा उनीहरूको पनि ठूलो लगानी छ र योभन्दा पनि महत्त्वपूर्ण कुरा हाम्रो जनसङ्ख्याको ठूलो भाग विभिन्न प्रयोजनका लागि पश्चिमी देशहरूमा बसोबास गर्दै आएको छ । आन्तरिक राजनीतिमा हामी ज्यादै विभाजित भयौँ भने निश्चय नै अहिलेको जटिल भूराजनीतिक अवस्थामा हामीलाई बाह्य शक्तिहरूसँगको सम्बन्धमा सन्तुलन ल्याउन अप्ठ्यारो पर्नेछ, जसको प्रत्यक्ष असर हाम्रो आन्तरिक राजनीतिको स्थायित्वमा देखा पर्नेछ । नेपाल जस्तो भूराजनीतिक जटिलतायुक्त तथा आर्थिक रूपमा ज्यादै परनिर्भर भएको देशमा बाह्य राष्ट्रहरूले आन्तरिक राजनीतिमा ठूलो भूमिका खेल्ने अवसर पाउँछन् ।


नेपालको भूराजनीतिक जटिलतालाई पृथ्वीनारायण शाहले उति बेलै प्रस्ट रूपमा बुझेका थिए । पछिल्ला दिनहरूमा यो जटिलता वैदेशिक शक्तिहरूको पनि चासोको विषय हुनपुगेको छ । सायद त्यही भएर होला, हाम्रा छिमेकी मित्रराष्ट्रहरू आफ्नो सुरक्षाको लागि नेपालमा स्थायित्व र समृद्धि चाहन्छन् । यहाँ महत्त्वपूर्ण विषय के हुन आउँछ भने के उनीहरूको सुरक्षा स्वार्थको लागि हामीले उनीहरूले चाहे अनुसारको स्थायित्व र समृद्धिको बाटो अपनाउने कि फरक ढङ्गले प्रस्तुत हुने भन्ने हो । ताकि हामी हाम्रो सार्वभौमिकताको पनि संरक्षण गर्न सकौँ । साथै भूराजनीतिक सन्तुलन मिलाउन पनि सफल रहौँ ।

अन्त्यमा, माथि प्रस्तुत गरिएका सबै कारणले गर्दा नेपालमा राजनीतिक स्थायित्व सोचेजस्तो सरल नहुन सक्छ । राजनीतिमा देखापरेका पछिल्ला अन्तरवस्तुहरूले नयाँ–नयाँ विषयहरू उजागर गरेका छन् र यिनीहरूले फरक किसिमका चुनौती पनि ल्याएका छन् । राजनीतिक स्थायित्वका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विगत र वर्तमानको बीचमा एकरूपता र निरन्तरता कुन हदसम्म र कसरी गर्ने या नगर्ने भन्ने पनि हो । हामीले विगतमा अभ्यास गरेको राजनीतिक संस्कारबाट छुटकारा पाउन सक्नुपर्छ । साथै विगतका राम्रा पक्षलाई समयसापेक्ष सान्दर्भिक बनाउँदै अगाडि बढ्नुपर्छ । अर्को कुरा, हामीले खोजेको राजनीतिक स्थायित्वले ‘परिपाटी’को निर्माण गर्न सक्नुपर्छ । प्रजातन्त्र, स्थायित्व र समृद्धि पनि सँगसँगै जानु जरुरी हुन्छ । राजनीतिमा लागेकाहरूले सबै कुराको नियन्त्रण गर्ने परम्पराको पनि अन्त्य हुनु अति नै जरुरी छ । किनभने यस्तो किसिमको राजनीतिक चरित्रले जनमानसमा राजनीतिक वितृष्णा ल्याउँछ । विशेष गरेर युवायुवतीहरूले परम्परावादी दलहरूलाई नरुचाउनु पछाडिका विभिन्न कारणमध्ये यो पनि एउटा प्रमुख कारण हो । अर्को महत्त्वपूर्ण पक्ष भनेको प्रजातन्त्रमा विश्वास गर्ने सबै राजनीतिक दलको एउटै उद्देश्य हुनुपर्छ, यद्यपि उनीहरूले अवलम्बन गर्ने बाटाहरू फरक हुन सक्छन् । बाह्य जगतसँग पनि हामीले सुमधुर सम्बन्धको विकास गर्न सक्नुपर्छ । हामी भूराजनीतिक चपेटाको गोटी हुनु हुँदैन ।

प्रकाशित : पुस ११, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?