शरणार्थी मामिलामा मौनता

सम्पादकीय

सन् ’९० को दशकयता सुरु भएको भुटानी शरणार्थी समस्या समाधानमा पहिलो विकल्पका रूपमा पहिचान गरिएको ‘स्वैच्छिक घरफिर्ती’को बुँदामा एक प्रतिशत पनि उपलब्धि हासिल नगरी यो समस्या टुंगिएको सूचना आफैंमा अनौठो सुनिएको छ ।

शरणार्थी मामिलामा मौनता

नेपालमा रहेका १ लाखभन्दा बढी भुटानी शरणार्थीमध्ये ९० प्रतिशतलाई तेस्रो देशमा पुन:बसोबास गराइएको आधारलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले ‘दुनियाँकै सफल’ कार्यक्रम भनेर मूल्यांकन सुनाइसकेको छ । पुन:बसोबासमा जान नसकेका अथवा नपाएका झन्डै १० हजार भुटानी शरणार्थीका हकमा के विकल्प सुझाउने र यो समस्यालाई कसरी निक्र्योलमा लैजाने भन्ने टुंगोमा नपुग्दै यही डिसेम्बर महिनाबाट पुन:बसोबासको कार्यक्रम बन्द गरिएको सूचना सार्वजनिक भएको छ । 

भुटानी शरणार्थी मामिला उब्जिएका दिनदेखि चौतर्फी रूपमा सुरु भएको अन्तर्राष्ट्रियकरणको सरोकार कहिल्यै मान्य हुन सकेन । वर्गीकरणका आधारमा सप्रमाण भुटानी पहिचान हुने शरणार्थीलाई घर फिर्ता गरिने भनेर भएको नेपाल–भुटान सहमति पनि कहिल्यै कार्यान्वयनमा आउन सकेन । भुटानबाट लखेटिएका र भारतीय मार्ग हँुदै नेपाल छिरेका भुटानी शरणार्थी समस्या समाधानका हकमा कहिल्यै पनि भारतसहितको संवाद वा वार्ता हुनै नसक्नु यो मामिलामा जोडिएको अर्को अनौठो तथ्य हो । बरु दातृ निकायको एकपक्षीय पहल र बलमा सन् २००७ देखि सुरु भएको पुन:बसोबासको विकल्पलाई सकार्दै १ लाखभन्दा बढी भुटानी शरणार्थी आज विभिन्न पश्चिमा मुलुकमा आश्रित भइसकेका छन् । तर, अहिलेको सरोकार भनेको पुन:बसोबासमा जान नसकेका र नचाहेका शरणार्थीलाई अब कुन विकल्प दिने भन्ने हो । 

शरणार्थी समस्या समाधानको अर्को महत्त्वपूर्ण तर नेपालले कहिल्यै प्रत्यक्षत: नसकारेको पाटो भनेको ‘स्थानीय बसोबास’ हो । तर, पुन:बसोबास कार्यक्रम रोकिएको घोषणालगत्तै दमक र शनिश्चरेस्थित शिविरमा ‘सेमी–पर्मानेन्ट’ घर बनाइने भन्दै दातृ निकायले निर्माणसामग्री सुरक्षित गर्न थालेको दृष्टान्त अर्को अनौठो काम भएको छ । दमक र शनिश्चरेमा ५ सयभन्दा बढी अर्धपक्की घर बनाइने भनेर सूचना दिइएको र यसका लागि शिविरमा बाँकी रहेको जनसंख्यामाझ आन्तरिक सर्वेक्षणसमेत भइसकेको खबर सरकारी निकायमा भने अझै पुगेको छैन । गृह तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूले प्रतिक्रिया दिने क्रममा ‘यसो गर्नै पाइँदैन’ भनेर सस्वर भनिरहे पनि स्थानीय तहमा शरणार्थीको जन्म दर्तासहितको प्रक्रिया थालिनुमा अर्को सन्देह जोडिएको छ । बितेको २५ वर्षमा कहिल्यै नथालिएको र आवश्यक नपरेको नेपाली नागरिकसरह नेपालका सरकारी निकायमा जन्म दर्ता गर्ने प्रक्रिया अहिले आएर किन थाल्नुपरेको हो ? धेरै लामो समयको अन्तरमा निर्वाचित भएर आएको स्थानीय तहले समेत शरणार्थी जन्मदर्ता कार्यान्वयन सुरु गरिसकेको यो अवस्थालाई नेपाल सरकारको निर्देशित प्रक्रिया मान्ने अथवा स्थानीय तहको लहड ?

स्वभावत: राजनीतिक संक्रमण र प्राथमिकताका आधारमा यतिखेर सरकारको ध्यान अन्यत्र केन्द्रित भएको हुन सक्छ । तर, शरणार्थी समस्या समाधानका नाममा सरकारलाई समेत पत्तै नदिई भइरहेको स्थानीय बसोबासको पहलकदमी र यसतर्फका संकेत कत्तिको विचारणीय छन् ? पुन:बसोबासका नाममा भुटानी शरणार्थी परिवारमाझ देखिएको ‘विघटन र विचलन’को अनुपात जति बढ्दो छ, समस्या समाधानका नाममा देखिएको स्थानीय बसोबासको पहल भविष्यका निम्ति उत्तिकै घातक छ । यो अन्योल र दातृ निकायको मनोमानी प्रवृत्तिमा सरकारको ध्यान जानैपर्छ । भुटानी शरणार्थी मामिलामा सरकारको मौनता टुंगिनु जरुरी छ । 

प्रकाशित : पुस ४, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?