कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

परम्परा बचाउने कि महिला ?

लैंगिक हिंसाविरुद्ध अभियान १६४ देशमा करिब ३७ हजार संघ–संस्थामार्फत सञ्चालन हुन्छ । अभियानले हिंसाविरुद्ध उत्रने साहस र सक्रियता बढाए पनि हिंसाका घटना हुनै नदिने रणनीति भने अवलम्बन गर्नसकेको देखिँदैन ।

परम्परा बचाउने कि महिला ?

हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन गर्ने क्रममा हरेक दिन हिंसा विरुद्धका एक–एक प्रभावकारी काम गर्नसकेको भए जनचेतनाका लागिमात्र वर्षेनि करोडौँ खर्चनुपर्ने थिएन । 
नेपालमा महिला हिंसा नियन्त्रणमा विशेषत: महिला मन्त्रालय, महिला आयोगका साथै विभिन्न संघ–संस्था क्रियाशील छन् । महिला आयोगमा घरेलु हिंसाको उजुरी उल्लेख्य संख्यामा पर्ने गरेको तथ्यांकले देखाउँछ । बलात्कार, बहुविवाह, हत्या, गर्भपतन लगायतका हिंसाबाट सचेत शिक्षित महिलासमेत प्रताडित भएको पाइन्छ । कुटपिट र दुव्र्यवहार मात्र हिंसा होइन । महिलाको शरीर र मनोविज्ञानमा चोट र खोट पुर्‍याउने जुनसुकै प्रकारको बोली, व्यवहार र घोचपेच हिंसा नै हो ।  महिला हिंसाविरुद्ध कानुन त बन्छन्, तर जटिल सामाजिक संरचना र व्यवहारका कारण यसमा सुधार भएको पाइँदैन 
प्रजातान्त्रिक मुलुक, सभ्य समाज र एक्काइसौं शताव्दीमा पनि रुढीगत विचार र व्यवहारको निसाना बनिरहेका छन्, महिला । राजनीतिक अन्योल, अस्थिरता र अराजकताका सिकार हुँदै आएका छन्, विश्वका महिला । युद्ध, आतंकका कारण हत्या, हिंसा, बलात्कार र दुव्र्यवहारका साथै देशै छाडेर भाग्नुपर्ने नियति विश्वकै महिलाका साझा समस्या हुन् । राजनीतिक आडमा हुने दण्डहीनता संस्कृतिसमेत महिला हिंसा अन्त्यका लागि बाधक बनेको छ ।
महिलामाथि हुने शारीरिकभन्दा धर्म, संस्कारका नाममा हुने मानसिक हिंसा बढी पीडादायी छ । त्यसैले अब सांस्कृतिक हिंसाविरुद्ध अभियान मोडिनुपर्छ । सांस्कृतिक हिंसा एक्लो–दुक्लोको प्रयासले हट्दैन । सामुहिक प्रयास जरुरी छ । शारीरिक हिंसाविरुद्ध एक्लो महिला जाइलागे पनि सांस्कृतिक उत्पीडनमा परेका महिला यसबाट उन्मुक्ति पाउन समूहको सहयोग खोजिरहेका छन् । सांस्कृतिक हिंसाका रूपमा महिलाले भोग्नुपर्ने विभिन्न प्रथा र परम्परामध्ये विधवा प्रथा मुख्य हो । विधवा प्रथाका कारण महिलाहरू मानसिक रूपमा निकै प्रताडित हुनपुग्छन् । पतिको मृत्युपछिको विछोडसँगै समाजले दिने विधवाको पहिचान महिलाको स्वतन्त्र मानवीय मूल्य र अस्तित्वमाथिको आक्रमण हो । संस्कारका नाममा प्रथा र परम्परा बचाउने कि महिलालाई बचाउने भन्ने प्रश्न विश्वसामु खडा भएको छ । सशक्तीकरणतर्फ उन्मुख महिलालाई समेत धर्म, संस्कारको त्रास देखाएर पछाडि धकेल्ने प्रयास विश्वका कैयौँ मुलुकमा भइरहेका छन् ।  विश्वभर नै घरेलु हिंसा, सांस्कृतिक हिंसा र राजनीतिक हिंसाका चपेटामा महिलाका जीवन कष्टकर रूपमा गुज्रिरहेको छ । महिला हिंसा विरुद्धको अभियान मानवअधिकार संरक्षणको महत्त्वपूर्ण प्रयास हो । राष्ट्र विकसित हुँदैमा महिलाहिंसा हुँदैन भन्ने होइन । युरोपीय र अमेरिकी महिला पनि लैंगिक विभेद तथा हिंसामा पर्ने गरेका समाचार प्रकाशनमा आइरहन्छन् । छोराका लागि छोरी भू्रणको गर्भमै हत्या हुने गरेको छ । छोराका चाहनामा धेरै सन्तान जन्माउने कार्य भारत र नेपालमा भइरहेकै छ । 
महिलाको प्रतिरोधी क्रियाकलाप हिंसा रोक्ने एउटा उपाय अवश्य हो । तर महिलाप्रतिको नकारात्मक सोचाइ र सामाजिक व्यवहारका कारण हाम्रा घर–घरमा आफ्नै आमाबाट छोरीहरू नै विभेदजन्य व्यवहार र शारीरिक, मानसिक हिंसाले प्रताडित भइरहेको देखिन्छ । यस्तो अवस्थामा हिंसा पीडित जोकोही महिलामा रिस, इष्र्या, आवेग र प्रतिरोधी भावनाको विकास गराएर हिंसाविरुद्ध थप कलह निम्त्याउनुभन्दा विभेदमूलक सोचाइ र लैंगिक विभेदजन्य सामाजिक व्यवहारमा सुधार ल्याउन आवश्यक छ । महिला हिंसाका कारक पुरुष नभई पितृसत्ता भएकाले यसको परिवर्तन गर्नुपर्ने चर्को आवाजसँगै हाल विशेषत: कुरीतिजन्य हिंसा बहसमा आएको छ । नेपालमा महिलाहिंसा नियन्त्रण गर्ने र न्यायका लागि पहल गर्ने सक्रिय संस्थाका रूपमा महिला आयोग स्थापित छ । २०५८ सालमा स्थापित महिला आयोगले हिंसाविरुद्ध न्याय प्राप्तिका लागि जनचेतना जगाउन उजुरीलाई सम्बन्धित निकायमा पुर्‍याउने र पीडितलाई संरक्षणको व्यवस्था गर्ने तथा महिला हितका लागि राज्यबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न दबाब दिने कार्य गर्दै आएको छ । 
कानुनी तथा राजनीतिक रूपमा हामीले थुप्रै अधिकार पाइसकेका छौं । अब महिलामाथि हिंसा लाद्ने हाम्रा कुविचार, कुसंकार र कुप्रवृत्ति त्यागेपछि र प्रत्येक महिला स्वयम् आत्मनिर्भर बनेपछि हिंसाका घटना स्वत: घट्नेछन् ।
नेपालमा लोकतन्त्रको स्थापनासँगै महिला स्वतन्त्रता र सशक्तीकरणको प्रयास विश्वकै लागि नमुना बनेको छ । राज्यका जुनसुकै अंगमा एक तिहाइ महिला प्रतिनिधित्वको संवैधानिक सुनिश्चितता गरिएको छ । यसले महिला हकहित तथा राजनीतिक चेतना विकासका लागि नेपाल विश्वमै लंैगिक समानताको पाठ सिकाउने मुलुक हुनसक्छ । महिला हिंसा अन्त्य गर्दै लंैगिक समानता कायम गर्न सानै देशमा सानै प्रयासले विश्वलाई प्रभावित र आकर्षित पार्न सकिन्छ ।

 

प्रकाशित : मंसिर २७, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?