कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दूरशिक्षा पद्धतिमा प्रविधि

अनिला झा

दूरशिक्षा पद्धतिमा शिक्षक, विद्यार्थी अनि शैक्षिक सामग्री एउटै स्थानमा नराखी, कुनै भौतिक रूपको कक्षाकोठा विना नै उच्चशिक्षा हासिल गर्न सकिन्छ । यस किसिमको शिक्षा पद्धतिमा एउटा ‘पुल’को रूपमा प्रविधि आवश्यक पर्छ ।

दूरशिक्षा पद्धतिमा प्रविधि

दूरशिक्षा पद्धतिमा शिक्षक, विद्यार्थी अनि शैक्षिक सामग्री एउटै स्थानमा नराखी, कुनै भौतिक रूपको कक्षाकोठा विना नै उच्चशिक्षा हासिल गर्न सकिन्छ । यस किसिमको शिक्षा पद्धतिमा एउटा ‘पुल’को रूपमा प्रविधि आवश्यक पर्छ । त्यही पुलबाट शिक्षक र विद्यार्थी, विद्यार्थी र पाठ्यक्रम, विद्यार्थी र विद्यार्थी, विद्यार्थी र प्रशासन बीचमा सम्पर्क तथा समन्वय हुने गर्छ । दूरशिक्षाको प्रवेश अठारौं शताव्दीतिर भएको थियो । त्यतिबेला यस किसिमको शिक्षण पद्धतिलाई ‘कोरेस्पोन्डेन्स’ पद्धति भनिन्थ्यो । आधिकारिक रूपले विभिन्न लिटरेचरका आधारमा यस किसिमको शिक्षा पद्धतिको थालनी सन् १९१५ तिर भएको मानिन्छ ।

नेपालको इतिहासमा पनि दूरशिक्षा सञ्चालन भएको सन् १९५७ तिरै हो । तत्कालीन रेडियो शिक्षा कार्यक्रम अन्तर्गत शिक्षक तालिम तथा प्रौढ शिक्षाको व्यवस्था गरिएको थियो, जुन एक किसिमको दूर शिक्षण पद्धति नै हो । विभिन्न तहगत शिक्षा सम्बन्धी योजनाहरूले पनि पारस्परिक दृष्टिकोण अन्तर्गत शिक्षा प्रदान गर्न कठिनाइ हुने गरेकाले दूरशिक्षाको आवश्यकता महसुस गरेको देखिन्छ । यसै आधारमा आज शैक्षिक जनशक्ति विकास केन्द्रले पनि केही विषयमा विद्यालयको पाठ्यक्रमका आधारमा ‘भर्चुअल’ कक्षा सञ्चालन गरिरहेको छ । यस किसिमको शिक्षाबाट दूरदराजमा बसोबास गरेका अनि कुनै व्यक्तिगत अथवा सामाजिक कारणबाट कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थी लाभान्वित छन् ।

आजको युग विश्वब्यापीकरणतिर उन्मुख छ । विश्वव्यापीकरणको धरातललाई बुझ्ने हो भने पनि प्रविधिको महत्त्वपूर्ण भूमिका छ । त्यसैगरी आजको समाजले माग गरेअनुसार शैक्षिक वातावरण विकास गर्न पनि प्रविधि उत्तिनै महत्त्वपूर्ण छ । नेपालका केही विश्वविद्यालयले दूरशिक्षाबाट उच्चशिक्षा पद्धतिलाई स्वीकार गरिसकेका छन् । यही सन्दर्भमा अहिलेको परिवेश अवलोकन गर्ने हो भने पनि नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले विभिन्न क्षेत्रका ६ वटा कलेजबाट पनि विभिन्न विषयमा उच्चशिक्षा सञ्चालनमा ल्याएका छन्, जसले गर्दा दुर्गम क्षेत्रका विद्यार्थीहरूको पहुँच दूरशिक्षामा पुगेको छ ।

अर्को काठमाडौं विश्वविद्यालयले पनि सन् २०११ बाट दूर शिक्षण विधिबाट स्नात्तकोतर तह (एमएड) सञ्चालन गरिरहेको छ, जुन लोकप्रिय छ । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयले पनि केही वर्षदेखि दूरशिक्षा अन्तर्गत स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दैआएको छ । हाम्रो देशको भौगोलिक परिवेशका कारण विश्वविद्यालय नियमित जान नसक्नेका लागि दूरशिक्षा वरदान सावित भएको छ । विद्यार्थीले आफ्नो कार्यालयको दैनिक कामलाई पनि निरन्तरता दिँदै दूरशिक्षाबाट उच्चशिक्षा हासिल गर्न सक्छन् । आप्रवासमा रहेका विद्यार्थीका लागि एकदम उपयोगी छ । त्यसकारण आजको शैक्षिक क्षेत्रमा दूरशिक्षा अपरिहार्य बनेको छ ।

नेपालमा पनि खुला विश्वविद्यालय स्थापना भैसकेको छ र केही पदाधिकारीको नियुक्ति पनि भएको छ । खुला विश्वविद्यालयका कारण पनि निकट भविष्यमै उच्चशिक्षा हासिल गर्नबाट कोही बञ्चित बन्नु नपर्ने देखिन्छ । अन्तर्राष्ट्रिय स्तरको उच्चशिक्षा जस्तै स्नातकोत्तर, एमफिल अनि पीएचडी लगायतका शैक्षिक कार्यक्रममा सबैका पहँुच पनि बढ्दै जाने निश्चित छ । यस्तै अन्तर्राष्ट्रिय शैक्षिक संस्था ‘इन्दिरा गान्धी ओपन युनिभर्सिटी’ले दूरशिक्षा पद्धतिद्वारा नै नेपालमा उच्चशिक्षा प्रदान गर्दै आएको छ । आजको युगमा ‘मोबाइल’ सिकाइबाट पनि शिक्षण गर्न सकिन्छ । अचेल विद्युतीय संवाद पनि एकदम लोकप्रिय भएको छ । यी सबै दूरशिक्षा अन्तर्गतका अवयव हुन् । त्यसकारण अब उच्चशिक्षामा पनि केही परिवर्तनको महसुस भएको छ ।

प्रकाशित : मंसिर ७, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?