१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खोस्टो नबनोस् चुनावी घोषणापत्र

मधु राई

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावअघि आफ्नो चुनावी घोषणापत्रमार्फत ‘एक सय एक दिनमा एक सय काम गर्छु’ भनी मतदाता समक्ष प्रतिबद्धता जाहेर गरेका थिए ।

खोस्टो नबनोस् चुनावी घोषणापत्र

तर प्रमुख भएर पदभार सम्हालेको केही दिनभित्रै उनले आफू मातहतका निर्वाचित पदाधिकारीहरूलाई सरकारी ढिकुटीबाट मोबाइल किनिदिएर आलोचितमात्र बनेनन्, महानगरपालिकालाई चाहिने भनेर महँगो गाडी किने र व्ययभार थपे । यसरी ‘कामकुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं प्रमुख शाक्यले आफ्नो प्रतिबद्धता बिर्सेर चुनावी घोषणापत्रलाई खोस्टामा परिणत गरे । र मतदातालाई निराश पारे ।

निरक्षर र साक्षरको के कुरा गर्ने ? राजधानीका हुनेखाने, शिक्षित मतदातालाई समेत चुनावअघि यस्ता चुनावी घोषणापत्रले कसरी आकर्षित गर्दारहेछन् भन्ने दृष्टान्त खोज्न टाढा जानु पर्दैन । विगतमा जस्तै शीर्ष दलहरूले यसपालि पनि मतदाताको मत हत्याउन विकास र समृद्धिको सपना बाँड्ने काम गरेका छन् । चुनावी घोषणापत्रमा विकास र समृद्धिको स्वप्निल सपना बाँड्ने र चुनाव जितेपछि त्यसलाई खोस्टामा परिणत गर्ने दलका नेता/कार्यकता फेरि पनि प्रतिनिधि र प्रदेशसभाको चुनाव जित्न त्यस्तै आकर्षक घोषणापत्र लिएर मतदाताको घरदैलो अभियानमा जुटेका छन् । बाहिरबाट राजधानीका मतदाताहरू शिक्षित र जागरुक देखिए पनि कस्तालाई जिताउँदा विकास निर्माणको कामले गति लिन्छ भन्ने विषयमा सधैँ अलमलिएको देखिन्छ । फेरि बहुसंख्यक शिक्षित, जागरुक भनाउँदा मतदाता पनि विकास निर्माणको काममा त्यति चासो राख्दैनन् । यसको प्रत्यक्ष र परोक्ष फाइदा दलहरूले उठाइरहेका छन् ।

यसरी ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भन्ने चरित्र देखाउन खप्पिस शीर्ष दलका नेता/कार्यकर्ताको पुरातन प्रवृत्तिलाई मतदाताहरूले सामान्य रूपमा लिएको देखिन्छ । किनभने विकास र समृद्धिको सपना बाँड्दै आएका यस्ता नेता/कार्यकर्ताले विकास निर्माणको काममा चासो नराख्ने मतदाताको मनोभाव बुझेरै हुनुपर्छ, निर्वाचनैपिच्छे पूर्वाधार बिनाको सपना पूरा गर्छौं भन्दै अर्को चुनावी घोषणापत्र जनसमक्ष ल्याउँछन् र मतदाताहरू पनि हो न हो यसपालि त घोषणापत्रमा उल्लेखित वाचाहरू पूरा गर्छन् होला भनेर विश्वास गर्छन् र पुन: रनभुल्लमा पर्छन् ।
पूर्वाधार बिनाको विकास र समृद्धिको सपना बाँड्न खप्पिस दलहरूमध्ये वाम गठबन्धनले यसपटक आफ्नो घोषणापत्रमा पाँच वर्षमा सहरहरूमा मेट्रो र मोनोरेल कुदाउँछौं भनी उल्लेख गरेका छन् । मेट्रो रेल कुदाउन चाहिने पूर्वाधार खै त ? फेरि यस्ता मेट्रो रेल कुदाउँदैमा विकास र समृद्धिले फड्को मार्छ भन्ने असन्तुलित विकासको नमुना हेर्न टाढा जानै पर्दैन । छिमेकी देश भारतको राजधानी दिल्ली सहरको असन्तुलित विकास हेरे पुग्छ । एउटै सहरमा एकातिर मेट्रो रेल कुद्ने अर्कातिर झोपडपट्टीमा पुस्तौं–पुस्ता आधारभूत आवश्यकताबिना बाँचिरहेका जनता, यी दुवैथरी सहरबासी अहिले वायु प्रदूषणको पीडा खेप्दैछन् । 

अहिलेलाई मेट्रो रेल र मोनोरेल हैन, हामीलाई वायु प्रदूषणबाट मुक्ति चाहिएको छ । विश्वको प्रदूषित सहरहरूमध्ये काठमाडौं पाँचौं स्थानमा पर्छ भन्ने अध्ययन–अनुसन्धानले जनसमक्ष ल्याए पनि मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयलाई दलहरूले सामान्य रूपमा लिएको देखिन्छ । 

एमाले गठबन्धनले जस्तै नेपाली कांग्रेसले पनि यसपटक आफ्नो चुनावी घोषणापत्रमा स्याटेलाइट र स्मार्ट सिटीहरू बनाउने स्वप्निल सपनाहरू मतदातामाझ बाँड्दैछ । यसपालि वाम र लोकतान्त्रिक गठबन्धनले जस्तै वैकल्पिक शक्ति भनी उदाएका नयाँ शक्तिले पाँच वर्षमा गरिबीको अन्त्य गर्ने र विवेकशील साझा पार्टीले समयसीमा नतोके पनि एकमुष्टमै सडक, हवाई, रेल, केबलकार र जलमार्गको विकास गर्ने भनी आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।

विगतमा राष्ट्रिय मुद्दाको कुरा छाडौं, स्थानीय निर्वाचनताका आफ्नो घोषणापत्रमा के–के कुरा उल्लेख गरेका थिए भन्ने कुरा अधिकांश निर्वाचित पदाधिकारीले बिर्सेको देखिन्छ । उदाहरणका लागि १९ वडा भएको विराटनगर महानगरपालिकामा स्थानीय निर्वाचनताका तालमेल गरेका माओवादी र संघीय समाजवादी फोरमले आफ्नो घोषणापत्रमा ‘नहर सरसफाइ र स्वच्छ पानी प्रवाह गर्न पहल गरी पार्क र नौका विहार सञ्चालन गर्न पहलकदमी गरिनेछ’ भनी उल्लेख गरेका थिए । वर्षको एकदिन छठपूजाको अघिल्लो दिनमात्र सरसफाइ गरिने नहरमा ३६४ दिन तिनै व्रतालुले फोहोर फ्याँक्ने गर्छन् । 

महानगरको ७/८ वटा वडा हुँदै बग्ने नहर हाम्रो प्राकृतिक सम्पदाको एकमात्र धरोहर हो र यसको संरक्षण गर्नुपर्छ भन्ने चेत न राजनीतिकर्मीमा पलायो न नहरछेउ बसोबास गर्नेहरूमा । संयोग भन्नुपर्छ, वडा नम्बर १२ मा संघीय समाजवादी फोरमबाट हीरालाल कामत र ६ मा माओवादी केन्द्रबाट विजय कामत वडाध्यक्षमा विजयी भएका छन् । यी दुवै वडाको बीचैबीच बग्ने फोहोरी नहर सफा गर्छौं भन्दै चुनाव जितेका वडाध्यक्ष विजय कामतले चुनाव जितेको झन्डै ६ महिना बित्नलाग्दा सामान्य बाटोघाटो साम्य पार्ने बाहेक नहर सम्बन्धी उल्लेख गरेका बुँदालाई चटक्कै बिर्सेको देखिन्छ भने हीरालाल कामतले भने बाटोघाटोको स्तरोन्नत्तिको काम सक्ने बित्तिकै वडाबासीको सहभागितामा नहरको संरक्षण र सम्बद्र्धन गर्ने बताए । यसरी हिजोका दिन छठमैयाका लागि भनेर सरसफाइ गरिएको नहर आज पुन: डम्पिङ साइटमा परिणत भएको छ ।

हुन त हामी मतदाताहरू पनि दोषमुक्त भने छैनौं । किनभने बहुसंख्यक मतदाता अझै पनि घोषणापत्र नहेरी मतदान गर्छौं । फेरि विगतमा चुनावी घोषणापत्र हेरेर मतदान गर्दै आएका बहुसंख्यक मतदाता पनि निर्वाचित पदाधिकारीले आफ्ना घोषणापत्रमा उल्लेख गरेका काम पूरा गरे कि गरेनन् भनी त्यति चासो राख्दैनौं । यसरी बहुसंख्यक मतदाताको यस्तो मनोवृत्तिका कारण पनि चुनावी घोषणापत्रहरू खोस्टामा परिणत हुने गरेका छन् । 

विडम्बना भन्नुपर्छ, यसपटक पनि शीर्ष दलहरूको चुनावी घोषणापत्र बहुसंख्यक मतदाताले अझै पढ्न पाएका छैनन् । विगत जस्तै दलहरूको घोषणापत्र नहेरी मतदान गर्ने मतदातालाई फेरि पनि आफूतिर आकर्षित गर्न दलहरूले घरदैलोसँगै चुनावी सभा आयोजना गर्दैछन् । यसरी घरदैलो गर्दैमा र चुनावी सभा गर्दैमा चुनाव जितिन्छ भनी दौडधुप गरिरहेका दलका नेता/कार्यकर्ताले विगतमा आफ्ना दलले घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धताको समीक्षा गर्न जरुरी छ । घोषणापत्रमा उल्लेखित प्रतिबद्धतामध्ये कुन–कुन पूरा गरे र बाँकी किन पूरा गर्न सकिएन भनी आफ्ना मतदातासामु स्पष्ट पार्न जरुरी छ । यस्तै घोषणापत्र पढेर मतदान गर्ने मतदाताले पनि निर्वाचित पदाधिकारीहरूले घोषणापत्रमा उल्लेखित काम पूरा गरे कि गरेनन् भनेर बेला–बेलामा झकझक्याउन जरुरी छ । यस्तै विगतमा चुनावी घोषणापत्रलाई खोस्टामा परिणत गर्ने दल र उम्मेदवारभन्दा राजनीतिमा स्वच्छ छवि बनाएका इमानदार र विकासप्रेमी उम्मेदवारलाई जिताउनसके मात्र विकास निर्माणको कामले गति लिन्छ ।

प्रकाशित : मंसिर ४, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?