१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एन्टिबायोटिक्स दुरूपयोगविरूद्ध जनचेतना

डा. दिनेश धरेल

एन्टिबायोटिक्स लिनु अगाडि तालिमप्राप्त स्वास्थ्यकर्मीको सल्लाह लिन उत्प्रेरित गर्दै यो वर्ष पनि नोभेम्बर १३ देखि १९ सम्म नेपाल लगायत संसारभरि नै जनचेतना सप्ताह मनाइयो । तर वर्षभरिका बाँकी ५१ साता एन्टिबायोटिक्सको उचित प्रयोगबारे कत्तिको सचेत रहिरहन्छौं त ?

एन्टिबायोटिक्स दुरूपयोगविरूद्ध जनचेतना

यो एन्टिबायोटिक्स लेख्ने स्वास्थ्यकर्मी र एन्टिबायोटिक्स खाने वा लगाउने बिरामी मात्रैको सरोकार हैन, हामी सबैको स्वास्थ्यसंँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको विषय हो । 

नेपालमा एन्टिबायोटिक्स सिफारिस गर्न र किन्न खासै रोकटोक छैन । प्रचलित एन्टिबायोटिक्सले काम नगर्ने किटाणुको संक्रमणले कति जनाको ज्यान जाने गरेको छ भन्ने कुनै प्रकाशित आंँकडा छैन । तर अनुभवको आधारमा समस्याको आयतन ठूलै छ भन्न सकिन्छ । अमेरिकामा प्रत्येक वर्ष कम्तीमा बीस लाख मानिसमा यस्तो संक्रमण हुने गर्छ, जसमध्ये कम्तीमा तेइस हजारको प्रत्यक्ष रूपमा त्यस्तो संक्रमणकै कारण मृत्यु हुन्छ । अन्य रोग लागेका बिरामीमा पनि संक्रमण भएर एन्टिबायोटिक्सले काम नगरेर अप्रत्यक्ष मृत्यु हुने संख्या त झन् धेरै छ । 

एन्टिबायोटिक्सले ब्याक्टेरियाको संक्रमण विरुद्ध काम गर्छ । यसले शरीरमा प्रवेश गरेका ती ब्याक्टेरियालाई मार्ने वा वृद्धि हुन नदिने काम गर्छ, जसले गर्दा संक्रमण निको हुन्छ । त्यसैले यो गम्भीर प्रकारका संक्रमणबाट प्राण बचाउने अचुक औषधी हो र आवश्यक परेको बेला एन्टिबायोटिक्स प्रयोग गर्नुपर्छ । निमोनिया, पिसाबको संक्रमण, कानको संक्रमण, टन्सिल पाक्ने वा घाउ पाक्ने अनि मेनिन्जाइटिस, सेप्सिसजस्ता गम्भीर संक्रमण धेरैजसो ब्याक्टेरियाले नै गराउने हुँदा एन्टिबायोटिक्सले काम गर्छ । तर भाइरसले गर्ने संक्रमणमा एन्टिबायोटिक्सले कुनै काम गर्दैन । घाँटी दुख्ने, खोकी लाग्ने, सिँगान बग्ने, कान दुख्ने, पखाला लाग्ने, ज्वरोसँंगै डाबर आउने जस्ता धेरै समस्या प्राय: भाइरसले गराउने हुन्छ ।
सायद भाइरल संक्रमण भएको बेला एन्टिबायोटिक्स खाएर ठिक भएको सम्झिरहनुभएको होला । वास्तवमा त्यो एन्टिबायोटिक्सले भाइरस मारेर होइन, रोग आफै‌ ठिक भएको हो । धेरैजसो भाइरल संक्रमण शरीरको प्रतिरक्षा प्रणालीले आफै नियन्त्रण गर्छ । कुनै–कुनै भाइरस विरुद्ध काम गर्ने एन्टी भाइरल औषधी पनि हुन्छन् । जुन रोगका लागि एन्टिबायोटिक्स उपयुक्त औषधी हैन, त्यस्तो रोग वा समस्यामा एन्टिबायोटिक्स प्रयोग गर्दा कुनै फाइदा हुँदैन, बरु हानि हुनसक्छ । आवश्यक नपरिकन एन्टिबायोटिक्स प्रयोग गरे विभिन्न साइड इफेक्ट देखापर्छन् । धेरैजसो एन्टिबायोटिक्सले मतमत लाग्ने, उल्टी हुने, पखाला लाग्ने, चिलाउने डाबर आउने जस्ता असर देखाउँछन् । कुनै–कुनै एन्टिबायोटिक्सले त गम्भीर खालको एलर्जी गराउँछ । शरीरभरि डाबर आउने, ओँठ र जिब्रो सुन्निने, सास फेर्न गाह्रो हुने, बेहोश हुनेजस्ता लक्षण देखिन्छन् ।

एन्टिबायोटिक्स सबैभन्दा बढी सिफारिस गरिने औषधीमा पर्छ । लगभग पचास प्रतिशत एन्टिबायोटिक्सको प्रयोग अनावश्यक वा अनुपयुक्त भएको अनुमान गरिन्छ । कुनै–कुनै एन्टिबायोटिक्स पशुलाई खुवाउने खानामा पनि राखिएको हुन्छ, जुन अनुपयुक्त प्रयोग मानिन्छ । यो प्रस्ट छ कि एन्टिबायोटिक्सको प्रयोग नै एन्टिबायोटिक्सले काम नगर्ने समस्याको प्रमुख कारण हो ।

जब सामान्यतया प्रयोग गरिने कुनै एन्टिबायोटिक्सले संक्रामक ब्याक्टेरियालाई मार्न सक्दैन, त्यो गम्भीर कुरा हो । यसले उपचारमा ठूलो चुनौती थपिदिन्छ । एन्टिबायोटिक्सले किन काम गर्न छाड्छ भने यसको जथाभावी प्रयोगले ब्याक्टेरियामा विभिन्न परिवर्तन ल्याइदिन्छ, अनि ब्याक्टेरिया मर्दैन । यसले गर्दा त्यस्तो संक्रमण विरुद्ध अर्को कडा एन्टिबायोटिक्स चलाउनुपर्छ । अझ धेरैजसो एन्टिबायोटिक्सले काम नगर्ने खालको संक्रमण निको पार्न हम्मे–हम्मे भैराखेको छ । 

बाँच्नको लागि ब्याक्टेरियाले जुन गतिमा आफूलाई परिवर्तन गरिरहेको छ, त्यो गतिमा हामीले नयाँ एन्टिबायोटिक्स विकास गर्न सकिरहेका छैनौं । फेरि त्यस्ता एन्टिबायोटिक्सले मार्न नसक्ने किटाणु अस्पतालमा मात्र सीमित नभएर समुदायमा फैलने क्रम पनि बढ्दो छ । सबैभन्दा ठूलो डर के हो भने कतिपय ब्याक्टेरियालाई उपलब्ध कुनै पनि एन्टिबायोटिक्सले नछुने हुनथालेको छ र बिरामीको उपचार गर्दागर्दै ज्यान पनि जान सक्छ । स्वास्थ्यकर्मीले एन्टिबायोटिक्स सिफारिस गर्दा धेरै सोच्नुपर्ने बेला आएको छ । सकेसम्म ठोस आधार भएर मात्र संक्रमणको प्रकृति हेरी उपयुक्त खालको एन्टिबायोटिक्स चलाउनु र सिफारिस गरिसकेपछि पूरा मात्रा नछुटाइकन खान लगाउनु धेरै महत्त्वपूर्ण छ । एक–दुई दिनमै फेरी–फेरी धेरै थरीका एन्टिबायोटिक्स चलाउनु जोखिमपूर्ण हुन्छ, त्यसैले दुईपटक सोचेर मात्र एन्टिबायोटिक्स चलाउने र फेर्ने निर्णय लिनुपर्छ । 

एन्टिबायोटिक्स बिरामीले आफूखुसी किनेर खान सक्ने अवस्था रहनु निकै सम्वेदनशील कुरा हो । हेर्दा उस्तै लाग्ने समस्या भए पनि अरू कसैलाई गरिएको वा आफैलाई पहिला गरिएको सिफारिस हेरेर त्यही एन्टिबायोटिक्स आफूखुसी कहिल्यै खानु वा खुवाउनु हुँदैन । ज्वरो आउने, घाँटी दुख्ने वा खोकी लाग्ने बित्तिकै एन्टिबायोटिक्स खाइहाल्ने गर्दा कुन किटाणुको संक्रमण हो भनेर जाँच गर्न र रोगको सही निदान गर्न गाह्रो हुन्छ । एन्टिबायोटिक्स नखाई ठिक हुन्न भन्दै स्वास्थ्यकर्मीलाई सिफारिस गर्न दबाब दिनु हितकर हँुदैन । योग्य स्वास्थ्यकर्मीले कुन एन्टिबायोटिक्स कसरी र कहिलेसम्म प्रयोग गर्नुपर्छ भन्ने निर्धारण गर्छन् र त्यसको पालना गर्न जरुरी छ ।

गम्भीर संक्रमणबाट ज्यान बचाउन एन्टिबायोटिक्सलाई चाहिएको बेला काम गर्नेगरी बचाइराख्नु आजको ठूलो चुनौती हो । यसको सामना मिलेर गर्नुपर्छ । यो समस्या किन भयावह अवस्थामा पुग्दैछ भनेर सबैले सोच्नुपर्ने भएको छ । समुदाय, स्वास्थ्य संस्था वा पशुपालन लगाएत एन्टिबायोटिक्स प्रयोग हुने जुनसुकै ठाउँमा सरकारी, गैरसरकारी वा नाफामूलक निजी साझेदारहरूसंँग समन्वयको परिपाटी बसाउनुपर्छ । उपयुक्त तरिकाले एन्टिबायोटिक्स प्रयोग गर्दाको फाइदा र जथाभावी प्रयोग गर्दा उत्पन्न हुने भयावह समस्याबारे जनस्तरमा सचेतना जगाउन जरुरी भैसकेको छ ।
डा. धरेल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानका उपप्राध्यापक हुन् । 

प्रकाशित : मंसिर ४, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?