कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एक–अर्काबाट सिक्ने कुरा

रिचार्ड कफम्यान

सुन्दा स्वाभाविक लाग्न सक्छ, तर जब हाम्रा विद्युत क्षेत्रहरूको कुरा आउँछ, नेपाल र न्युयोर्क राज्यबीच साझा समस्या र अवसर छन् । हामी दुवैकहाँ ठूला विद्युत उत्पादन अधिकांश मानिस बसोबास गर्ने स्थानबाट टाढा गरिन्छ ।

एक–अर्काबाट सिक्ने कुरा

हामी दुवै प्रसारण लाइन निर्माणको चुनौतीसँग जुध्दैछौँ । र हामी दुवैले २१ औँ शताब्दीको विद्युत ग्रिड निर्माणका लागि निजी क्षेत्रको पुँजी परिचालन गर्न आवश्यक छ । नेपालमा झैँ न्युयोर्क राज्यमा पनि त्यहाँको कर्मचारीतन्त्रको समस्याका कारण लगानी भित्र्याउन चुनौतीपूर्ण छ । नेपाल र न्युयोर्क दुवै ठाउँमा छिमेकी अर्थतन्त्रको दाँजोमा विद्युतको लागत उच्च छ । यसले गर्दा नागरिकका लागि तुलनात्मक बेफाइदा र चुनौती दुवै उत्पन्न भएको छ । न्युयोर्क जस्तो समृद्ध ठाउँमा पनि १० लाखभन्दा बढी मानिसलाई बिजुली बत्तीको बिल तिर्न हम्मे परिरहेको छ ।

न्युयोर्क र नेपालले अब ऊर्जाको क्षेत्रमा परम्परागत रूपमा काम गरेर हुँदैन । प्रविधि द्रुतगतिमा अगाडि बढिरहेको छ । सोलार, ब्याट्री र विन्डको मूल्य घट्दो छ । पहिलेभन्दा धेरै व्यक्ति, कम्पनी र समुदायले आफ्नो ऊर्जा निर्भरता र गुणस्तरप्रति नियन्त्रण जमाउन चाहिरहेका छन् । विद्युतीय सवारी साधनहरू अब काल्पनिक विज्ञानमा मात्र सीमित नभएर भविष्यका स्वच्छ यातायात साधनसमेत हुन् भन्ने कुरा हामी देख्न सक्छौँ । यस यातायात क्रान्तिलाई समर्थन गर्न र हाम्रो समुदायका घर तथा व्यवसायमा विद्युत आपूर्ति गर्नका लागि हामीलाई त्यस्तो विद्युत ग्रिडको आवश्यकता छ, जसले धेरैभन्दा धेरै विद्युतमात्र प्रदान गर्दैन, तर जो लचिलो र बुद्धिमान समेत छ । त्यसो भएमा ग्राहकले घाम लागेको वा नदीमा पानी भएको बेलामात्र नभई आफूले चाहेको बेलामा विद्युत उपभोग गर्न सक्छन् । आज हामीसँग त्यस्तो ग्रिड छैन । नेपाल र न्युयोर्कमा आज पनि १९ औँ शताब्दीको आधारभूत संरचना छ । पुँजी र ऊर्जाका हिसाबले यो संरचना अप्रभावकारी छ । विद्युत जगतका अग्रज तथा आविष्कारक थोमस एडिसन र निकोला टेस्ला अझै जीवित भएका भए उनीहरूले हाम्रो अहिलेको ग्रिड संरचना सजिलै चिन्ने थिए ।

आज र भोलिको हाम्रो ऊर्जा आवश्यकता पूर्तिका लागि अब परिवर्तन गर्ने समय आएको छ । नेपाल र न्युयोर्कलाई प्रभावकारी, लचिलो र बुद्धिमान खालको नयाँ ग्रिड निर्माण गर्ने मौका छ ।

नयाँ पुस्ताको ऊर्जा प्रणालीको सिर्जना गर्न हामीले गर्नुपर्ने काम यसप्रकार छन् :
१. बलियो र पारदर्शी बजार । मूल्य निर्धारण र विद्युत व्यापारका लागि बजार भएन भने स्वतन्त्र विद्युत उत्पादकहरूलाई जलविद्युत र अन्य उत्पादन आयोजना विकास गर्न र निर्यात साझेदारसँग व्यापार गर्न कठिन हुन्छ । पारदर्शिताले जोखिम कम गर्ने र प्रतिस्पर्धा बढाउने हुँदा मूल्य घट्छ । विद्युत पनि आखिर अन्य वस्तुजस्तै हो, जसको व्यापार नेपालमा हुँदै आइसकेको छ । त्यसका अतिरिक्त बजारले ग्राहकलाई सख्त खाँचो रहेको नवीनता प्रदान गर्छ । सोलार, ब्याट्री, फ्युयल सेल र भवन नियन्त्रण प्रणाली लगायत विभिन्न खालका प्रविधिको वृद्धि भइरहेको छ, जसले लागत घटाउने, ग्राहकको लचिलोपना सुधार गर्ने र विद्युतीय सवारी साधनका लागि तयारी गर्ने लगायतका काम गर्न सक्छन् ।

२. पछाडितर्फ नभई अगाडि उन्मुख नियामक प्रणाली । संयुक्त राज्य अमेरिकाका साथै नेपालमा समेत विद्युतको नियमन ऐतिहासिक रूपमै सुस्त रहेको र त्यसले नवीनतालाई दुरुत्साहित गरेको पाइन्छ । हामीलाई व्यवसायको गतिमा चल्न सक्ने र प्रविधिजन्य परिवर्तनबारे सचेत नियामकहरूको खाँचो छ । चुस्त र लचिलो खाले प्रणालीको लागि जग बसालिएन भने हामी पुरानै र महङ्गो प्रणालीको निर्माण र पुनर्निर्माण मात्र गरिरहनेछौँ ।

३. माग चुलिएको समयमा मात्र केन्द्रित नहुने अनि पहिलेभन्दा चुस्त र लचिलो ग्रिडको आवश्यकता । माग चुलिएको समयका लागि निर्माण गर्दा अरू समयको उत्पादन, प्रसारण र वितरण क्षमता व्यर्थको बन्छ । यस्तो अतिरिक्त पुँजीका लागि धनराशि चाहिन्छ । वितरित ऊर्जालाई ग्रिडको बोटल नेकमा प्रसारित गर्दै, भण्डारण तथा भार व्यवस्थापनका साधन प्रयोग गर्दै र ग्राहकलाई मूल्य सङ्केत प्रदान गर्दै धेरै सुपथ प्रणाली सिर्जना गर्न सकिन्छ ।

४. पहिलेभन्दा खुला प्रक्रिया । विश्वभरिको उपयोगिता उद्योगलाई भूगोल तथा सरकारी नियमावलीहरूले अन्य पुँजीमा आधारित उद्योगका उत्पदान तथा सेवाको मूल्य र गुणस्तरमा उल्लेखनीय सुधार गर्ने बजारी शक्तिबाट संरक्षण गरेका छन् । हाम्रो चुनौती र अवसर भनेको भरपर्दो र सुरक्षित विद्युत उत्पादन गर्दै यस उद्योगलाई नवीनताको त्यसै शक्तिप्रति खुला बनाउने हो, जसले अन्य उद्योगको सुधारमा योगदान गरेको छ । त्यसका लागि ऊर्जा क्षेत्र लगायतको अर्थतन्त्रभरका प्रवर्तकहरूका लागि लगानी गर्ने वातावरण सही बनाउनुपर्छ ।

१०० वर्षअघि थोमस एडिसनले न्युयोर्कमा पहिलो ग्रिड सुरु गरेका थिए । त्यसको केही समयपछि नै नेपालमा जलविद्युतको पहिलो संरचना बनेको थियो । तर अब परिवर्तनको समय आएको छ । नेपालको नयाँ संविधान, नयाँ नियामक ढाँचा र उत्पादन तथा प्रसारणका लागि पुँजीमा वृद्धि भएसँगै अब यहाँ परिवर्तन गर्ने समय आएको छ । आउनुहोस्, एकार्काबाट सिक्ने तरिकाहरूको खोजी गरौँ ।
कफम्यान अमेरिकाको न्युयोर्क राज्यका गभर्नरको कार्यालयमा उर्जा मामिला हेर्छन् ।

प्रकाशित : मंसिर ४, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?