१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आयाराम–गयारामहरु

टिप्पणी
हरिबहादुर थापा

काठमाडौं — कुनै बेला भारतको हरियाणा राज्यका एक बहुचर्चित विधायक थिए, ‘गया लाल’ । असल कामका निम्ति चर्चित भएका होइनन् कि एकै दिनमा तीन पटकसम्म दल बदलेका कारण चर्चामा आएका पात्र हुन् ।

आयाराम–गयारामहरु

सन् १९६७ मा उनी राष्ट्रिय कांग्रेसबाट युनाइटेड फ्रन्टमा गए, फेरि कांग्रेसतिरै फर्किए । कांग्रेस फर्किए लगत्तै फेरि युनाइटेड फ्रन्टतिरै गए । उनलाई नेताहरू पार्टी प्रवेश गराउँदै भन्थे, ‘गयाराम आयाराममा परिणत हुनुभएको छ ।’

पार्टी शीर्ष नेतृत्वको उत्साही बोलीको रन्को नसकिँदै उनी ‘गयाराम’मा परिणत भइसकेका हुन्थे । पार्टी परिवर्तन गरिसकेपछि गया लालको उद्घोष हुने गर्थ्यो, ‘जनहितका निम्ति ।’ उनी यसरी बाध्यता दर्शाउँथे कि उनको दल–बदल नहुने हो भने मुलुक डुब्छ र लोकतन्त्र नै खतरामा पर्छ । उनको दल–बदलसँगै भारतीय राजनीतिमा जबर्जस्त शब्द बन्यो, ‘आयाराम गयाराम ।’

सन् ६० को दशकमा भारतीय राजनीतिमा प्रवेश यो शब्द निरन्तर छ र खुब प्रचलनमा पनि । भारतीय राजनीतिमा मात्र होइन, शब्दकोशमा नै ‘आयाराम–गयाराम’ले स्थान पााएको छ । ‘आयाराम–गयाराम’ शब्दावलीले ‘आचरणहीन, नैतिकहीन, सिद्धान्तहीन र अवसरवादी’ राजनीतिक पात्रलाई चिनाउँछ ।

त्यही कारण दल–बदलुहरूको आलोचना या तिनलाई गाली गर्नुपर्‍यो भने ‘आयाराम–गयाराम’ प्रयोग हुनपुग्छ ।

दक्षिणी छिमेकी राजनीतिक हावा र लहर नेपालमा निरन्तर छ, खालि यसको राजनीतिक शब्दावली नखोजिएको मात्र हो । नेपालमा पनि राजनीतिक पात्रहरूमा ‘आयाराम–गयाराम’ प्रवृत्ति तीव्र छ । त्यस निम्ति धेरै लामो राजनीति केलाउनु पर्दैन, तीन साताको मात्रै दलीय राजनीति केलाउने हो भने दृश्य छर्लङ्ग हुन्छ । भारतीय विधायक ‘गया लाल’लाई माथ गर्नेगरी दल–बदल हुँदैछ, त्यो पनि ठूलो संख्यामा । अब दल–बदल केन्द्रमा मात्र होइन, प्रदेशसभामा त्यतिकै देखापर्नेछ, सरकार निर्माणका बखत ।

कांग्रेसको घोर विरोधी क्रान्तिकारी कम्युनिष्ट थिए, एमालेका निवर्तमान सांसद मोहनसिंह राठौर । आफू राज्यमन्त्री हुँदाका बखत आफ्नै पीएलाई पार्टीले आधिकारिक उम्मेदवार बनाएको दृश्य सहन गर्न नसकी रातारात कांग्रेस बन्नपुगे । उनी विघटित संसद्मा एमालेको तर्फबाट सुशासन तथा अनुगमन समितिका सभापतिसमेत थिए । उनको क्रान्तिकारी विगत पृष्ठभूमि बुझ्नेहरू कांग्रेस प्रवेश असहज–अनौठो ठान्दैछन् ।

माओवादीबाट सरकारमा सामेल शम्भुलाल श्रेष्ठ उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा कांग्रेस प्रवेशमात्र गरेनन् कि टिकट प्राप्तकर्ता बन्नपुगे । सर्लाही–१ का श्रेष्ठ चार वर्षअघि ‘अवसर छोप्न’, माओवादी प्रवेश गरेका थिए । लामो कांग्रेसी पृष्ठभूमिका श्रेष्ठ पार्टीबाट टिकट नपाएपछि २०७० असोजमा माओवादी उम्मेदवारसहित सभासद बन्न सफल भएका थिए । उनी यही सरकारमा विना विभागीय राज्यमन्त्री छन्, माओवादीका तर्फबाट ।

राठौर र श्रेष्ठ मात्र होइन, चुनावी घोषणा भएपछि अनगिन्ती राजनीतिक पात्रहरूले संघ र प्रदेशमा ‘दलीय टिकट’को हिसाब/ किताबसहित दल बदलेका छन् । चुनावी मौसममा दल–बदलमा प्रवेशीको मात्र चाहना होइन कि दलीय नेताहरूको ‘जसरी पनि’ चुनाव जित्ने योजना अनुरूपको खेल हो । कांग्रेस र एमालेलाई जसरी पनि संसद् र प्रदेशमा बहुमत प्राप्त गर्नुछ, त्यसनिम्ति चुनाव जित्न सक्ने पात्र खोजीमा प्रवेशको लहर चलेको हो । ‘जसरी पनि’ चुनाव जित्न पृथक सिद्धान्त बोकेकाहरूलाई पार्टी प्रवेशको लहर भित्र्याएका हुन्, त्यसले पार्ने असरको सामान्य विश्लेषणसमेत नगरिकन । अर्कातिर चुनावी उम्मेदवार या सत्ता परिवर्तनका राजनीतिक रंग फेर्नेहरूको मूलभूत उद्देश्य ‘अवसर प्राप्ति’मात्रै हो, भारतीय विधायक गया लालझैं । त्यस्ता पात्रहरूले दलीय आवरण परिवर्तन गरे पनि मानसिकता परिवर्तन गर्दैनन् । सरकार परिवर्तन र चुनावका बखत हुने प्रवेश अवसरमुखी चरित्रको उपज हुन् । आउने र ल्याउने दुवैको मूलभूत उद्देश्य ‘अवसर छोप्नु’ हो ।

एकातिर दलभित्र गुटतन्त्र हावी छ र आपसी फुट तीव्र छ । त्यो फुटलाई आयाराम–गयारामहरूले झन् चर्काउँछन्, किनभने तिनीहरू सोझै नेतृत्वकै हिमचिममा रहेर पार्टी बदलेका हुन् । तिनको कार्यकर्तासँग खास सम्बन्ध हुन्न, तर नेतृत्वसँग राम्रो उठबस हुन्छ । नवप्रवेशीहरूले ‘कुरा’ लगाएर पुरानाहरूलाई पन्छाउँछन् र हालीमुहाली चर्काउँछन् । प्रवेशीलाई पार्टीको खास माया हुँदैन र अन्य दलमा राम्रो अवसर देखेको खण्डमा तिनले दल–बदल गर्न पनि बेर लगाउँदैनन् । संसद् सदस्य हुँदा दल त्याग ऐनका कारण तिनलाई रोके पनि चुनावका बेला तिनलाई रोक्ने अवस्था हुँदैन ।

कांग्रेसले २०४७ पछि पञ्चायती पृष्ठभूमिका अनगिन्ती पात्रलाई भित्र्यायो । प्रवेशीहरूले कांग्रेसमा अवसर बटुल्न कुनै कसर बाँकी राखेनन् । तिनीहरू कांग्रेसको हैसियत खुम्चिँदाका बखत होस् या २०५९ असोजपछि दरबार बलियो हुँदै कांग्रेस छाड््नेमा त्यस्तै प्रवेशी पात्रहरू बाहुल थिए । त्यो दृश्य कांग्रेसको हकमा मात्र लागू भएको थिएन, एमाले प्रवेश गरेका पुराना पञ्चहरू पनि शाही शासनकै बेला बाहिरिए ।

पार्टी नेतृत्वले प्रवेशीलाई महत्त्व दिएपछि पुराना र इमानदार नेता/कार्यकर्ता विरक्तिन पुग्छन् । कांग्रेस र एमालेले पञ्चहरूलाई प्रश्रय दिएपछि इमानदारी हिसाबले खट्नेहरू निस्क्रिय हुनपुग्छन् । तिनलाई टाढा पुर्‍याउन नवप्रवेशीहरूकै भूमिका बढी रहन्छ । पार्टीका निम्ति त्यागी र सिद्धान्तनिष्ठहरू बाहिरिएपछि पार्टी र लोकतन्त्र बदनामीमा परिणत हुन्छ । प्रवेशी पात्रहरू बढी चर्का कुरा गर्छन्, नेतृत्वलाई खुसी पार्न । अर्थात् नवप्रवेशीहरूमा नेतृत्वप्रति बढी भक्तिभाव हुन्छ । तिनीहरूमा नेतृत्वसँग घुलमिल भएपछि छिटै फाइदा लिन सफल हुन्छन् ।

कांग्रेस र कम्युनिष्ट ‘स्कुलिङ’मै हुर्केकाहरू विरलैमात्र राजनीतिक रंग परिवर्तन गर्छन् । सिद्धान्त र विचारमा विश्वास गर्नेहरू बरु निस्क्रिय रहन्छन्, दल–बदल गर्दैनन् । दल बदल्नेहरूको पृष्ठभूमि खोतल्ने हो भने धेरैजसो पञ्चायती पारिवारिक पृष्ठभूमिका पात्रहरू छन् । किनभने पञ्चायत कुनै पनि सिद्धान्त र वादमा चलेको व्यवस्था थिएन ।

कांग्रेसले त कहिल्यै पनि पार्टीभित्र आयातितहरूले के/कति समस्या निम्त्याए र संकट पारे भन्ने सवालमा बहस गरेको सुनिएको छैन, बेलाबखत अवसर नपाएकाहरूले टिप्पणी गर्नु बाहेक । यो मामलामा एमाले भने अलि फरक देखिएको थियो । जब २०५९ असोज प्रकरणपछि पञ्चायती पृष्ठभूमिका पात्रहरू फेरि दरबारतिर लहसिन पुगे, तब उसले औपचारिक रूपमा ‘आत्मालोचना’ गर्‍यो । २०६२ कात्तिकमा भएको कार्यकर्ता राष्ट्रिय भेलामा एमाले नेतृत्वले ‘पार्टीभित्र अन्तरविरोध चर्काउने र पार्टीलाई अलोकप्रिय तुल्याउन’ प्रवेशीहरूले भूमिका खेलेको निष्कर्ष निकालेको थियो । यतिखेर एमालेले पनि त्यो पुरानो आत्मालोचना बिर्सेको देखिन्छ, उसले पनि प्रवेशीहरूलाई महत्त्व दिँंदै उम्मेदवार बनाएको छ ।

बारम्बार बोली फेर्ने र दल बदल्ने राजनीतिक पात्रहरूमाथि मतदाताको विस्तारै विश्वास टुट्दै जान्छ । दल बदल्ने ठूला भनिएका नेताहरूको कद खिइँदै जान्छ र पुड्का हुनपुग्छन् । राजनीतिक पात्रहरूका अस्थिर र लोभी मनोवृत्तिले अन्तत: तिनलाई हानि गर्छ । जसरी यतिखेर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई त्यही नियति भोग्दैछन् । एमाले–माओवादीसँग गाला जोडेको दृश्य धुमिल हुन नपाउँदै बाहिरिन बाध्यमात्र भएनन् कि पृथक धारको कांग्रेससँग सहकार्य गर्नपुगे ।

‘हामीकहाँ राष्ट्रिय या राजनेता किन बन्न सक्दैनन् ?’ यसको सरल जवाफ हो– ‘दीर्घकालीन राजनीतिक सोच निर्माण गर्न नसक्नु ।’ बरु गर्धन काटियोस् या जीवन जेलमा सड्नुपरोस्, आफ्नो सिद्धान्तमा अडिग रहनसक्ने नेतामात्रै कालान्तरमा ‘राजनेता’ कहलिन्छन् । क्षण–क्षण रंग फेर्नेहरूले ‘क्षणिक लाभ’ पाउन सक्लान् । तर दीर्घकालसम्म निरन्तर नेता कहलिन कुनै बेला कतै बोलेको सानो अडानमा पनि टिक्नुपर्छ । अझ ‘लिखित’ अडान त ‘मन्त्र’सरह ठान्नेहरू मात्रै राष्ट्रिय नेताको दर्जामा पुग्छन् । दुनियाँभर विरोधाभास राजनीतिक चरित्र बोकेकाहरू कुनै राष्ट्रिय नेता भएका छैनन् । कुनै कालखण्डमा क्रमागत हिसाबले कोही मन्त्री या प्रधानमन्त्री भए होलान्, तर मुलुकले सम्झने राजनीतिकर्मी विरलै हुनुको कारण पनि क्षणिक रंग फेराइ हो ।

विकसित मुलुकमा दल या रूप बदल्ने हो भने उन्नति होइन कि अवनतिको बाटो सुरुआत हुन्छ । दिवंगत राजनीतिक चिन्तक सीके प्रसाईंका शब्दमा, ‘गरिब र पिछडिएको समाजमा राजनीति गर्नेहरू जति रंग र रूप बदल्छन्, त्यति विकसित राष्ट्रहरूका राजनीतिकर्मीले बदल्ने हो भने उपहास र दयाका पात्र बन्छन् । कसैले मानमर्यादा गर्दैन । त्यहाँ दल बदल्न पर्दैन, दिल (विचार या नीति) मात्र बदलियो भने पनि जनताको नजरमा मान्छे धेरै झरिसकेको हुन्छ ।’

प्रकाशित : कार्तिक १८, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?