२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

स्तन क्यान्सरबाट जोगिऔं

सरिता ढकाल

हरेक वर्ष अक्टोबर ‘स्तन क्यान्सर जनचेतना महिना’का रूपमा संसारभर मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी जनचेतना फैलाउने काम गत वर्षहरूमा झंै यस वर्ष पनि भएको छ । यस वर्ष ‘हाम्रा आमा अनि दिदीबहिनीलाई क्यान्सरमुक्त राखौं’ भन्ने नारा थियो ।

स्तन क्यान्सरबाट जोगिऔं

स्तन महिलाको सहायक प्रजनन प्रणालीमध्ये एक अंग हो । स्तनको कार्य नवजाज शिशुको लागि दूध उत्पादन गनुमात्र नभई यो महिलाको सौन्दर्यका लागि पनि महत्त्वपूर्ण छ । तर आजभोलि विश्वभरै स्तन क्यान्सर महिलामा हुने क्यान्सरमध्ये प्रमुख बनेको छ । नेपालमा भने स्तन क्यान्सर महिलामा हुने पाठेघरको क्यान्सर पछिको दोस्रो ठूलो क्यान्सरका रूपमा छ ।

स्तनको आकार र बनावटमा कुनै परिवर्तन भई कुनै भागमा दुख्ने वा नदुख्ने गिर्खा बढ्दै गएर स्तनको तन्तु अथवा कोश असामान्य रूपले फैलिँदै जानुलाई नै स्तन क्यान्सर भनिन्छ । यो क्यान्सर आफैंले पत्ता लगाउन सक्छौं । यसका लागि इच्छाशक्ति अनि सही ज्ञान र तरिका जाने पुग्छ । महिलामा हुने इस्ट्रोजन नामक प्रजनन हार्मोनले पनि विभिन्न तवरबाट स्तन क्यान्सर हुनलाई बढावा दिन्छ । विभिन्न ठाउँंमा गरिएको अध्ययन अनुसार हरेक ८ महिलामध्ये १ जनामा स्तन क्यान्सर छ । 

स्तन क्यान्सरका कारण : स्तन क्यान्सरको वास्तविक कारण अझैसम्म पनि पत्ता लाग्नसकेको छैन । तर विभिन्न अध्ययनले केही सम्भावित कारण देखाएका छन् । 

स्तन क्यान्सर हुन उमेरको हदबन्दी छैन । तर ३० देखि ३५ वर्षको महिलामा धेरै देखिएको छ, स्तन क्यान्सर बंशाणुगत हुने सम्भावना बढी हुन्छ, १० वर्षको उमेरमा महिनावारी सुरु भएको छ भने र ४९ वर्षभन्दा पछि पनि महिनावारी बन्द भएको छैन भने स्तन क्यानसर हुने सम्भावना बढी हुन्छ, अविवाहित महिलामा हुनसक्छ,  विवाह भएको र बच्चा नपाएका महिलामा तथा ३५ वर्षमा पहिलो बच्चा हुने महिलामा स्तन क्यान्सर भएको धेरै भेटिएको छ, स्तनपान नगराउने महिलाको शरीरमा इस्ट्रोजन नामक प्रजनन हार्मोनको मात्रा बढिरहने हुँदा यो क्यान्सर हुने सम्भावना एकदमै धेरै छ, धेरै वर्षसम्म परिवार नियोजनको खाने चक्की उपयोग गर्ने महिलामा यो क्यान्सर देखिन सक्छ । 

लक्षण : स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु, दुबै स्तनको समान आकार र बनावटमा फरक देखापर्नु, स्तनको मुन्टाबाट रगत अथवा फोहोर पदार्थ आउनु, स्तनको मुन्टा सिधा बाहिरपट्टि नफर्की दायाँ–बायाँ घुमेर भित्रपट्टि फर्कनु, स्तनको छालामा रङ अथवा नरमपनामा केही परिवर्तन देखिनुका साथै छालाको चाउरीपना बढ्नु, काखीमा गिर्खा देखापर्नु । 

स्तन क्यान्सर आफ्नो स्तनलाई आफैंले जाँचेर वा मेमोग्राम र भिडियो एक्सरेबाट पत्ता लगाउन सकिन्छ  महिलाले आफ्नो स्तन आफैले सामान्य/असामान्य रहेको पत्ता लगाउन सक्नु नै स्तन क्यान्सरबाट बच्न सक्ने महत्त्वपुर्ण कुरा हो । स्तनमा भएको गिर्खालाई सुरुमै थाहा पाउन सक्नुपर्छ । गिर्खा जति सानो भयो, उपचारको परिणाम उति नै राम्रो हुने सम्भावना हुन्छ ।  

स्तन क्यान्सरबाट बच्ने उपाय : नवजात शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराउने र २ वर्षसम्म स्तनपानसँंगै अन्य खानेकुरा खुवाउने, कम्तीमा पनि महिनामा १ पटक महिनावारी भएको ४–५ दिनपछि नुहाउँदा वा अन्य समयमा आफ्नो स्तनको जांँच आफैले गर्ने, मेमोग्राम गर्ने र धूमपान र मद्यपान नगने, बोसोरहित तथा स्वस्थ खानपिनमा ध्यान दिने, अनावश्यक रूपमा हार्मोनल चक्की सेवन नगर्ने, धेरै ढिला विवाह नगर्ने र ३५ वर्ष नाघेपछि पहिलो बच्चा नजन्माउने, दुबै स्तनको समान बनावट र आकारमा कुनै पनि समस्या देखिए तुरुन्त सम्बन्धित चिकित्सकसंँग सम्पर्क राख्ने । 

समयमै ध्यान पुर्‍याउने हो र सतर्कता अपनाउने हो भने स्तन क्यान्सरबाट बच्न सकिन्छ । यसैगरी स्तन क्यानसरबाट पीडित भएका महिलाले समयमै सफल उपचार गर्नसके बाँकी जीवन सहज रूपमा बिताउन सक्छन् । नेपाल सरकारले कुनै पनि क्यान्सर निदान र उपचारका लागि १ लाख रुपैयाँसम्म सहयोग प्रदान गर्छ । नेपालमा जुनसुकै क्यान्सरको निदान र उपचार भरतपुर, भक्तपुर र नेपाल क्यान्सर अस्पतालमा हुन्छ ।
ढकाल महाराजगन्ज नर्सिङ क्याम्पसमा अध्यायनरत छन् ।

प्रकाशित : कार्तिक १६, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?