२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चुनावी घोषणापत्रमा शैक्षिक मुद्दा

वाईपी आचार्य

काठमाडौँ — प्राध्यापक नुर्केले गरिबीको दुश्चक्र देखे । जहाँ गरिब गरिब नै रहिरहन्छ, पुस्तौं बिते पनि गरिबी बित्दैन, दुश्चक्रबाट गरिब बाहिर निस्किँदैन भने ।

चुनावी घोषणापत्रमा शैक्षिक मुद्दा

माक्र्सले हुनेखाने र हँुदाखाने वर्ग देखे । हुँदाखाने वर्ग झन्पछि झन् गरिब हुन्छ, हुनेखाने झन् धनी हँुदै जान्छ भने । अमत्र्यसेनले क्षमता नहुनेहरू गरिब हुन्छन् भने । यी तीनवटैले गरिबीबाट मुक्ति पाउने बाटो पनि देखाए । नुर्केले शिक्षामा हिट गरे गरिबीको दुश्चक्र तोडिन्छ भने । माक्र्सले सचेत संगठित मानिस तयार गरौं, तिनीहरूले क्रान्ति गर्नेछन् र मुक्ति पाउनेछन् भने । अमत्र्यसेनले मानिसको क्षमता विकास गरांै, स्वतन्त्रता दिऊँ, गरिबी हट्छ भने । यी तीनवटै विद्वानले गरिबीको जड अशिक्षालाई देखे । मुक्तिको बाटो शिक्षालाई ठाने ।

हाम्रो धरातल
लगानी कम भएर नेपाल पछाडि परेको होइन । यहाँ विकास साझेधार संस्थाको कमी छैन । कार्यक्रमको कमी छैन । तर पाइला भने अगाडि बढ्न सकेन किन भने हाम्रो जोड भौतिक विकासमा भयो, मानव विकासमा भएन । पाउलो फ्रेरेले भनेजस्तो सचेतीकरणमा भएन । लक्षणमा अल्झियो, कारणमा हिट गरिएन । कारणको उपचार नगरेपछि लक्षण हट्ने कुरै भएन । नेपालको ६५ वर्षे विकास योजना अपेक्षित भएन । अझै पनि करिब २१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । गरिब र धनी बीचको बढ्दो खाडल आउँदा दिनका लागि अझ पेचिलो छ ।

सबैभन्दा ठूलो समस्या व्यवस्थापकीय क्षमतामा छ । प्राकृतिक स्रोत त्यसै खेर गइरहेको छ, उपयोग गर्ने हुति छैन । छुट्याएको बजेट प्रयोग गर्ने तागत छैन, त्यसै फ्रिज हुन्छ । विदेशी सहयोग प्रयोग गर्ने क्षमताको अभावका कारण फिर्ता जाने अवस्था छ । हाम्रो व्यवस्थापकीय र उपभोग्य क्षमताको अभावका कारण विकास साझेधार संस्थाहरू धमाधम फर्कंदैछन् । यी सबैको जरा शिक्षासँंग जोडिएको छ । अहिलेसम्म राजनीतिक दलहरूको प्राथमिकता शिक्षामा परेन । शिक्षाको शक्तिलाई बुभm्ने चेष्टा गरिएन । उनीहरूका घोषणापत्रले बोक्रे विकास समेट्यो । भौतिक विकासको रटान दियो । सुरुङमार्ग र मोनोरेल जस्ता सपना बाँड्यो । मतदातालाई पाइप, बिजुलीका खम्बा, तार, एक–दुई बोरा सिमेन्ट, जाली आदि बाँडेर लोभ्याइयो । जनताको आर्थिक, सामाजिक स्तर अपेक्षित रूपमा उस्किएन । यसको मुख्य कारण जनतालाई शिक्षित बनाइएन । कारणमा ठोक्ने कि ?

विकास मानिसका लागि हो । जब मानिसकै विकास गरिँदैन, तब भौतिक विकासले न्याय गर्दैन, सुख दिँदैन । समृद्धि भित्र्याउने हो भने सबै दलले आफ्ना कार्यक्रम फेर्नुपर्छ । चुनावी घोषणापत्रमा सस्ता आश्वासनभन्दा दीर्घकालीन विकासको जरा समात्नुपर्छ । अशिक्षा नै गरिबीको मुख्य कढी हो भनी स्वीकार गर्नुपर्छ । अबका चुनावी घोषणापत्र मूलत: शैक्षिक रूपान्तरणमा केन्द्रित हुनुपर्छ । माक्र्सवादलाई आदर्श मान्ने वामपन्थीहरूले माक्र्सले भनेजस्तो मानिस मानिस भएर बाँच्न पाउने समाज निर्माण गर्न शिक्षाजस्तो गतिलो हतियार अरु हुनै सक्दैन भन्ने बुझ्नुपर्छ । व्यक्तिगत स्वतन्त्रतालाई जोड दिने लोकतन्त्रवादीहरूले अमत्र्यसेनले भनेजस्तै व्यक्तिको क्षमता नै विकासको पूर्वसर्त हो भन्ने स्वीकारोक्ति हुनुपर्छ । अब हामीले विद्यार्थीलाई स्कुल हुल्दैमा चुप लागेर बस्ने अवस्था छैन । हामीले शिक्षाको माध्यमबाट गरिबी उन्मूलन गर्नु पर्नेछ । विश्व परिवेशसंँग प्रतिस्पर्धा गर्नु पर्नेछ । स्थानीय सामथ्र्यलाई उजागर गर्नु पर्नेछ । विद्यार्थीमा सीप भर्नु पर्नेछ, सिर्जनाको विउ रोप्नु पर्नेछ । यसका लागि दलहरूले आफ्ना घोषणापत्रमा निम्न मान्यतालाई आधार बनाउनुपर्छ ।

१. मानव विकासलाई सम्पूर्ण विकासको पूर्वसर्तका रूपमा स्वीकार गर्ने । २. विकास बाहिरबाट लाद्ने वा नभएर समुदायलाई नै सशक्तीकरण गर्ने तरिका हो भन्ने मान्यता बोक्ने । ३. व्यवस्थापकीय कला र रचनात्मकताको विकास गर्ने शिक्षा— जसले गर्दा स्रोतको उपयोग गर्न समर्थ बनाओस् । ४. फ्रेरेले भनेजस्तो ‘क्रिटिकल कन्सेन्सस’को विकासमा केन्द्रित, जसले गर्दा विवेक प्रयोग गर्न सकोस् । ५. रविन्द्रनाथ टेगोरले भनेजस्तै कुनै खास ‘इन्डोक्ट्रिनेसन’बाट मुक्त शिक्षा– जसले गर्दा नयाँ पुस्ता कुनै नेता र पार्टीको अन्धसमर्थक नबनोस् । ६. अनुभवबाट सिर्जित ज्ञानमा केन्द्रित शिक्षा– जसले गर्दा नेपाली माटोको विशेषताले मान्यता पाओस् । ७. नेपाललाई चाहिने जनशक्ति उत्पादनमा केन्द्रित शिक्षा– जसले गर्दा आफ्नो उत्पादन आफै प्रयोग गर्न पाइयोस् । ८. श्रमसँंग जोडिएको शिक्षा– जसले उद्विकासमा सघाओस्, उत्पादन बढाओस्, विकासमा अपनत्व बढाओस् । गरिबी लक्षणमात्रै हो, शिक्षा कारण हो । लक्षण हटाउन कारणको उपचार गर्नुपर्छ । दिगो विकास पनि शिक्षाको विकासविना सम्भव छैन ।

आचार्य शिक्षा मन्त्रालयसँग सम्बद्ध छन् ।

प्रकाशित : कार्तिक १, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?