३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

त्यो अन्त्येष्टि, यो अन्त्येष्टि

हीरा विश्वकर्मा

काठमाडौँ — नेपाली तथा हिन्दुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा २०११ सालसम्म अछूतलाई प्रवेश निषेध भन्ने बोर्ड राखिएको थियो । हिन्दुहरूका लागिमात्र प्रवेश भन्ने बोर्ड त अहिले पनि छ । अछूतका लागि प्रवेश निषेध भन्ने बोर्ड पशुपति प्रवेश आन्दोलनले हटाएको थियो ।

त्यो अन्त्येष्टि, यो अन्त्येष्टि

पशुपति अर्थात महादेव हिन्दु धर्मशास्त्र अनुसार संहारक पनि मानिन्छन् । त्यसैले उनको सान्निध्यतामा अन्तिम संस्कार हुनु भनेको स्वर्गको ढोका खोलिनु पनि हो भन्ने मान्यता भएकाले पशुपतिको आर्यघाटमा अन्तिम संस्कार गर्ने चाहना हिन्दु धर्ममा आस्था राख्ने सबैमा हुने गर्छ । आर्यघाटमा विशिष्ट व्यक्ति तथा सर्वसाधारणका लागि छुट्याइएका घाट छन् । पशुपतिनाथको मन्दिरमा चढाइएको जल एउटा नालीबाट बहेर सिधै वाग्मती नदीमा मिसिने ठाउंँलाई ब्रह्मनाल भन्छन् । त्यही नजिक अन्त्येष्टि गर्न जोकोही पनि लालायित हुन्छन् । तर त्यस्तो ब्रह्मनालमा अन्त्येष्टि गर्न पाउनु दलित समुदायको कल्पनाबाहिर थियो । सर्वसाधारणको अन्त्येष्टि गरिने घाटमा समेत दलितहरूको शव जलाउन वर्जित थियो ।

राजाका परम भक्त तथा जीवनको अन्तिम अवस्थामा आपूर्ति राज्यमन्त्री भएका हीरालाल विश्वकर्माको देहावसान २०४५ सालको असोजको टीकाकै दिन भयो । निधन हँुदा उनी मन्त्री पदमा त थिएनन्, तर राज्यको सम्मानित पदमा पुगेका व्यक्तिहरूलाई राज्यले सम्मान गर्ने परम्परा छ । अत: उनको अन्तिम यात्रामा पनि सम्मान पाउने अपेक्षा परिवार लगायत उनका इष्टमित्रको हुने नै भयो । तर दलितहरूको मृत्युपछिको अन्तिम संस्कार अरूलाई जलाउने ठाउंँमा गर्न पाइँदैन थियो । नत अहिलेजस्तो घाटेहरूले नै शवको नियमसम्मत दाहसंस्कार गर्थे । उनीहरूको शव जलाउनुपर्दा वाग्मती वा विष्णुमतीको बालुवाको बगरमा मलामीले नै चिता बनाई शवदहन गर्नुपथ्र्याे । हीरालालको चिता वाग्मतीको बगरको बालुवामाथि नै बनाइयो । उनको मलामी तत्कालीन समयका दलितका नेताहरू थिए, तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह र राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी पनि गएका थिए । उनीहरू एउटा दलितको मलामी आउनु आफैंमा परम्परा विरोधी थियो, किनभने नेपाली हिन्दु संस्कारमा आफ्नो गुठियार तथा जातका बाहेक अरू मलामी जानहुन्न भन्ने मान्यता थियो र छ । त्यतिबेलाका अति विशिष्ट व्यक्तिहरू शवको नजिक पुगेनन्, टाढैबाट हेरे भन्ने पनि सुनियो ।

त्यतिबेलाका दलित नेताहरूलाई बगरमा बनाइएको चिता देखेर अपमानबोध भयो । एउटा समूहले परम्परागत रूपमा चलिआएको चलन अनुसार नै दिवंगत नेताको अन्तिम संस्कार गर्नुपर्छ भन्यो । अर्को समूहले अन्य व्यक्तिले शव जलाउने पेटीमै जलाउनुपर्छ भन्ने कुरा राख्यो । पहिलो समूहले बनिसकेको चिता बिगारेर सार्दा अपशकुन हुने तर्क राख्यो । अर्को समूहले चिता सार्नैपर्ने तर्क राख्यो । यसो गर्दा त्यहाँं जातपात मान्ने अन्य समूहले हुलदंगासहित आक्रमण गर्नसक्ने अवस्थाको पनि चर्चा गरियो । चिता सार्नैपर्ने समूहले त्यस्तो हमला भए त्यहाँ एउटा चिता होइन, अरू चिता जले पनि पछि नहट्ने हुंकार गर्‍यो । अन्त्यमा चिता सार्नुपर्छ भन्ने पक्षको जित भयो र सम्मानित ठाउंँमा दिवंगत हीरालालको अन्तिम संस्कार सम्पन्न भयो । कुनै अवरोध भएन । शान्तिपूर्ण तरिकाले अन्तिम संस्कार सम्पन्न भयो । त्यसपछि अन्य दलितलाई पनि सर्वसाधारण जलाउने ठाउंँमा अन्तिम संस्कार गर्न सहज भयो, घाटेहरूले पनि सहजतापूर्वक दलितका शव जलाइदिन थाले ।

गत महिनाको २२ गते दलित आन्दोलनका पुराना प्रजातन्त्रवादी नेता तथा पूर्व वातावरण तथा विज्ञान सहायक मन्त्री प्रतापराम लोहारको निधन भयो । सुशील कोइरालाको पालामा नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत मनोनीत भएका उनको शवलाई पार्टी कार्यालय सानेपामा राखिएको थियो । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी झण्डा ओढाएर सम्मान व्यक्त गरे । उनको शवलाई आर्यघाटको ब्रह्मनालमा पुर्‍याइयो । विशिष्ट व्यक्तिहरूको अन्त्येष्टि गरिने घाटमै उनको चिता तयार पार्न लगाइएको थियो । तर आर्यघाट हेर्ने समितिले अन्य व्यक्तिलाई बढी पैसा तिरेको आधारमा अर्को शव जलाउन अनुमति दिँंदा ४ घन्टा कुरेर बस्नुपर्‍यो । त्यस अवधिमा नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेल, एनपी साउद लगायतका नेता आएर श्रद्धाञ्जलीमात्र व्यक्त गरेनन्, पुन: पार्टीको झण्डा पनि ओढाए । यो सम्मान केवल प्रतापरामका लागिमात्र थिएन, प्रजातन्त्रमा आस्था राख्ने सबै दलितकर्मीका लागि पनि थियो ।

ब्रह्मनालमा पुर्‍याइएको चार घन्टापछि पुन: चितालाई सजाउने काम भयो र त्यो सजावट नेपालका अन्य विशिष्ट व्यक्तिहरूको अन्तिम संस्कारमा गरिने सजावटभन्दा फरक थिएन । राज्यका पूर्वमन्त्री पनि भएकाले उनलाई नेपाल प्रहरीबाट अन्तिम सलामी पनि दिइने परम्परा अनुसार गर्न गृह मन्त्रालयमा अनुरोध गरियो । तर पूर्व सहायक मन्त्रीका विषयमा स्पष्ट नीति नभएको हुंँदा नेपाल प्रहरीबाट नमिल्ने जवाफ आयो । सशस्त्र प्रहरीका अवकाश प्राप्त डीएसपी, जो नेपाल राष्ट्रिय विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष पनि छन्, ले सशस्त्रले पनि त्यस्तो गर्नसक्ने सुझाव दिएपछि नेकाकै पहलमा सम्भवत: प्रधानमन्त्रीको अनुरोधमा गृह मन्त्रालयले अन्तिम
संस्कारमा सहयोग पुर्‍याउने टोलीसहित सलामी अर्पण गर्ने एउटा टुकडीलाई उपस्थित गरायो । दिवंगत लोहारका एकमात्र छोराले दागबत्ती दिने बेला सशस्त्र प्रहरीको टुकडीले विगुल फुकेर अन्तिम सलामी अर्पण गर्‍यो । अन्तिम सलामीमा त्यो टुकडीले आफूसँंग ल्याएको हतियारलाई रितपूर्वक सिधा, उल्टो तरिकाले घुमाएर सम्मान व्यक्त गर्‍यो ।

मन्त्री पदमा पुगेका दलितका दुई जनाको अन्तिम संस्कार हामीले देख्यौं र भोग्यांै । तर उनीहरूको अन्तिम यात्रामा आकाश–जमिनको फरक देखियो । पञ्चायत सहितको राजतन्त्रमा एउटा सम्मानित दलित नेताको अन्तिम संस्कार गर्ने क्षण कति दु:खद, अपमानजनक र संघर्षपूर्ण थियो र अहिले लोकतन्त्र सहितको गणतन्त्रमा अर्को सम्मानित दलित नेताको अन्तिम संस्कार कति सम्मानित रह्यो । त्यो अर्थमा दिवंगत प्रतापराम लोहार भाग्यमानी मात्र ठहरिएनन्, उनले प्राप्त गरेको सम्मानले समस्त दलित समुदायको शिर उँचो भएको छ । किनभने राज्यले विभेद नगरिकन सम्मान पाउनुपर्ने व्यक्तिलाई सम्मान दिएको छ । यसले दलित आन्दोलनमा एउटा इतिहास बनाएको छ । किनभने आगामी दिनमा राज्यको विशिष्ट स्थानमा पुग्ने दलित नेताहरूले आफ्नो अन्तिम यात्रामा कस्तो सम्मान पाउँछन्, त्यो त आगामी दिनले नै बताउला । तर जुन परम्पराको थालनी दिवंगत लोहारको अन्तिम संस्कारबाट भएको छ, त्यसले धर्म र राज्यको तर्फबाट समेत विभेद अन्त्य हुनलागेको संकेत गरेको छ । त्यतिमात्र नभइकन समस्त दलितहरूलाई राज्यको व्यवहारबाट आत्मगौरवको अनुभूतिसमेत भएको छ ।

प्रकाशित : आश्विन २१, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?