वाम एकता : प्रचण्डको आखिरी चमत्कार

प्रदीप गिरि

काठमाडौँ — काठमाडौं उपत्यका सधैं रोमाञ्चको प्रतीक्षामा रहन्छ । तदनुरूप नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल यस साता छापाहरूका बिकाउ समाचार भएका छन् । माओवादी अध्यक्ष प्रचण्डको १२ वर्षअघिको त्यो अवतरण यस्तै हर्षबढाइँसाथ भएको थियो ।

प्रवासी प्रचण्ड एक करिश्मायी व्यक्तित्वको रूपमा प्रकट भएका थिए। रूपान्तरण खोजिरहेका सबैथरीका नेतृत्व वर्गले प्रचण्डको खुला हृदयले स्वागत गरेका थिए। प्रधानमन्त्री प्रचण्डले नेपाललाई अर्को स्विट्जरल्यान्ड बनाउने सपना दिएका थिए। तर काठमाडौं उस्तै छ। अब प्रस्तावित कम्युनिस्ट एकताले आगामी संसद्मा दुई तिहाइ बहुमत दिने अरे। त्यसपछि काठमाडौं अमरावती हुनेछ। भानुभक्तले उहिल्यै काठमाडौंलाई ‘अलकापुरी कान्तिपुरी नगरी’ त्यसै भनेका थिएनन्। ‘राष्ट्रवादी’ र ‘साम्यवादी’ नेताद्वयले भानुभक्तको सपना साकार गर्न खोज्नु सर्वथा बुझ्न सकिने कुरा हो।

लामो समयदेखि नेपाल एक स्थिर र जड समाज थियो। यस्तै समाजले चमत्कारको प्रतीक्षा गर्छ। त्यस्तै चमत्कारको आशा देखाएर माओवादीको जनयुद्ध उचाइमा पुगेको थियो। त्यस उचाइको प्रवेगमा उम्लिएर प्रधानमन्त्री प्रचण्डले एकसाथ पशुपति, सेनापति र राष्ट्रपतिलाई तह लाउन खोजेका थिए। सकेनन्। परिणामत: उनी सत्ताच्युत भए। दोस्रोपटक सत्तामा उनी किन र कसरी आए, सबैलाई थाहा छ।

कम्युनिस्ट एकताको सम्भावनाले प्रजातान्त्रिक कित्ता आत्तिएको हो कि जस्तो देखिएको छ। नेपाली कांग्रेसले बृहत् प्रजातान्त्रिक मोर्चाको प्रस्ताव अघि सारेको छ। देशी/विदेशी शक्तिहरू पनि प्रस्तावित कम्युनिस्ट एकीकरण र बृहत् प्रजातान्त्रिक मोर्चामा आफ्नो जित वा हार देख्दै होलान्। यतिसम्म ठीकै छ। तर राजनीतिक परिवर्तनको वास्तविक प्रक्रियातर्फ पनि ध्यान दिनु उत्तिकै आवश्यक छ।

जनताको स्मरणशक्ति दीर्घकालीन हुँदैन। लाहुरे आर्थिकीको दलदलमा भासिएको छ, नेपाल। गाँस, बास र कपासको महाभारतमा प्रत्येक नेपाली आकण्ठ डुबेको छ। त्यसैले जनताले हाम्रा नेताहरूको चटके चालबाजी आजको भोलि नै बिर्सन्छन्। यसमा कुनै आश्चर्य भएन। तर राजनीतिक विश्लेषकहरूले यस्ता चटकबाजीको निहितार्थ बुझ्नु र बुझाउनुपर्छ। एउटा मोटरका चालकले गाडीको गतिशास्त्र नबुझ्दा पनि काम चल्छ। तर गाडीको मोडल फेर्न खोज्ने अभियन्ताले अध्ययनशील हुन आवश्यक छ।

सर्वप्रथम बुझ्नुपर्ने एउटा कुरो छ। लोकतान्त्रिक राजनीति कुनै एक दिनमा चामत्कारिक ढंगले परिणाम दिने व्यवसाय होइन। संसदीय राजनीति भाग्योदय चिठ्ठा होइन। स्वस्थानी व्रतकथाका नवराजलाई हात्तीले माला लगाइदिएको थियो। कलियुगको चौथो चरणमा यो हुँदैन। समसामयिक राजनीति लिगलिगे दौड पनि होइन। दोस्रो जनआन्दोलनको सफलतापछि प्रचण्ड ठूलो हावाहुरीसाथ राजनीतिक क्षितिजमा उदाएका थिए। त्यसैको आस प्रकाशमा माओवादी पार्टीले २०६४ सालको संविधानसभा चुनावमा अप्रत्यासित विजय प्राप्त गर्‍यो। पछि मधेसको पक्षमा उर्लिएको समर्थनले त्यसरी नै केही मधेसी दलहरू हौसिएका थिए। उक्त दुवै सफलतापछि आ–आफ्नो हैसियत र ठाउँमा उभिन पुगे। राज्य र राजनीतिभन्दा धेरै बलियो समाज र संस्कृति हुन्छ। कम्युनिस्ट एकताको तात्कालिक उल्लास र त्रासले त्यो कुरो बिर्सनु हुंँदैन।

मौका–कुमौकामा नेताहरूमाथि पुष्पवृष्टि भइरहन्छ। रामराजाप्रसाद सिंह र गणेशमान सिंहमात्र होइन, प्रचण्ड र गिरिजाप्राद कोइराला पनि पुष्पवृष्टिका दाबेदार हुन्छन्। अहिले प्रचण्ड र ओलीमाथि कथित कम्युनिस्टहरूले पुष्पवृष्टि गर्नैपर्छ। उतिबेला नेपाली कांग्रेस फुट्दा प्रजातान्त्रिक पक्षका नेताहरूउपर यस्तै पुष्पवृष्टि भएको थियो। जुट्दा पनि भयो। नेताहरूका उपर जुट्दा पनि र फुट्दा पनि पुष्पवृष्टि हुन्छ। त्यो हुनैपर्छ। नत्र पुष्प व्यवसाय शिथिल हुन्छ। वृष्टिकर्ता बेरोजगार हुन्छन्। गहिरिएर हेर्नेले यस परिदृश्यबाट भ्रमित हुनु हुँदैन। व्यक्ति, व्यतित्व र दलहरू राजनीति र इतिहासको आदि र अन्त्य होइनन्। वर्ग, जाति, प्रजाति, लिंग र जातीयता समाजका प्रभावशाली वास्तविकता हुन्। राष्ट्रिय राज्यको भू–अवस्थिति अर्को अकाट्य तथ्य हो।

२०६४ पछि भएको २०७० सालको संविधानसभा चुनावमा नेकपा माओवादी नराम्ररी पराजित भयो। पराजयको त्यस पीडाले तिलमिलाएर प्रचण्डले चुनाव बहिष्कारसम्मको धम्की दिए। धन्न उनी सम्हालिए। थोरै मात्र सिट लिएर पनि संसदीय राजनीतिमा प्रधानमन्त्री भएर देखाउन उनी सफल भए। तर त्यो उनको व्यक्तिगत उपलब्धि थिएन। सत्ता राजनीतिमा आकण्ठ डुबेको सम्भ्रान्त वर्गको सततको बुभुक्षा थियो। त्यस बुभुक्षालाई निम्न मध्यम वर्गको हतार र हतासको चाहनाले मलजल गर्छ। त्यो परिस्थिति अझै यथावत् छ। महत्त्वाकांक्षी प्रचण्ड यसपटक फेरि ओलीका शरणमा पुगेका छन्। शरणदाता र शरणार्थीको यो नयाँ गठबन्धनको भविष्य के हुन्छ, अहिले भन्न सकिँदैन। तर प्रचण्डको यसपटकको यो शीर्षासन अथवा ‘एवाउट टर्न’ ले उनको राजनीतिक विश्वसनीयतालाई आखिरीपटक मरणासन्न बनाएको छ। तर उनको पोल्टामा मात्र सारा दोषारोपण अटाउँदैन। एमाले र कांग्रेस आपैंm पालोपालो उनीसँग लगनगाँठो कस्न तम्सिएका हुन्। सैद्धान्तिक आधारको कुनै आवरण र आभाससमेत छैन। अंकगणित नै सबकुछ हो भनेर हिजो शेरबहादुर र आज ओली जोसिनुभएको छ। पुर्खाको पुण्यले होला, कांग्रेस उम्किएको छ। ओलीको हौसला भोलि देखिएला।

यसपटकको चुनावको परिणाम के हुनेछ भनेर प्रचण्ड सारै आत्तिएका थिए। त्यसो हुँदा उनी विगत एक महिनादेखि हारगुहार गर्दै थिए। आगामी संसद्मा मेरो सम्मानजनक उपस्थिति हुनुपर्‍यो भन्न उनी कहीँ चुकेका थिएनन्। उनले यो कुरा कांग्रेस सभापति शेरबहादुर देउवालाई अनेकौंपटक भने। त्यति मात्र होइन, प्रचण्डको स्वभावअनुसार उत्तर–दक्षिणसँग पनि सम्पर्क गर्न भ्याएको हुनुपर्छ। प्रचण्डको यो अत्याहट नितान्त स्वाभाविक थियो। मान्छेले जोगी बन्न राजनीति गर्दैन। प्रधानमन्त्री पदका दाबेदारले कसैले गर्दैन। प्रचण्डलाई आगामी संसद्मा त्यस्तै परे प्रधानमन्त्रीसमेत बन्न पुग्ने सिट चाहिएको छ। यसपटक उनको त्यो अभीष्ट पूरा होला त?

राजनीतिक दललाई अंग्रेजीमा ‘पार्टी’ भनिन्छ। समाजको एक हिस्सा अर्थात् ‘पार्ट’ भएकाले राजनीतिक दललाई ‘पार्टी’ भनिएको हो। माओवादी केन्द्र अझै पनि नेपाली समाजको स्वाभाविक अंग भएको छैन। कांग्रेस र एमाले भइसकेका छन्। सशस्त्र विद्रोहको त्रास, आसमा ०६४ को चुनावमा माओवादीले धेरै सिट ल्याएको अवश्य हो। तर नेपाली समाजमा वा अन्तर्राष्ट्रिय जगत्मा पनि प्रचण्डको क्रियाकलाप अझै पनि प्रश्नवाचक रहेका छन्। यसपटकको नाटकीय फड्कोपछि प्रचण्डको बेचैनी एउटा बिसौनीमा पुग्न सक्छ। माओवादी केन्द्रले भने त्यसको ठूलो मूल्य तिर्नुपर्छ।

अहिलेको यो प्रस्तावित चुनावी तालमेल सत्ताको तृष्णा मात्र हो। कम्युनिस्ट एकताको कुरा सर्वथा हास्यास्पद हो। भूमण्डलीकरणको हुरीमा आकण्ठ डुबेका मित्रहरूले यो कम्युनिस्टको नाम कति दिनसम्म भजाउन सक्लान्? यसको अर्थ कांग्रेस वा उसले बनाउन खोजेको प्रजातान्त्रिक मोर्चा भने चोखो र चुस्त हुनेछ भन्ने होइन। प्रचण्ड र ओलीको त नाम र काममा साम्य छ, साम्यवाद छ। प्रस्तावित प्रजातान्त्रिक मोर्चाको बारेमा झन् धेरै प्रश्न उठ्न सक्छन्। प्रजातान्त्रिक मोर्चाको सिद्धान्त पनि भूमण्डलीकरणबाट नि:सृत भएको छ। कांग्रेसले बीपी कोइरालाको वैचारिक उत्तराधिकारलाई सम्झिदिएको भए यस्तो बिजोग हुने थिएन। कांग्रेसका नेताहरूले आफ्ना अर्थनीतिको तर्जुमा कर्मचारीतन्त्रका भरमा गरे। त्यो नहुँदो हो त कम्युनिस्टका नाउँमा यत्रो शक्ति एकत्र हुने थिएनन्। तर यति भएर पनि प्रजातान्त्रिक समाजवादको सम्झना मात्र पनि कतै छ भने बस कांग्रेसमा छ।

विगतका कमी–कमजोरीका निम्ति कांग्रेससँग थुप्रा स्पष्टीकरण होलान्। बहुदलीय व्यवस्था आएलगत्तै पछि संसद्मा कांग्रेस–कम्युनिस्टको टकराव सुरु भयो। कांग्रेसभित्र आत्मघाती कलह सुरु भयो। कांग्रेस आत्मघाती कलहको सिकार भयो। त्यसपछि मध्यावधि निर्वाचन, माओवादीको जनविद्रोह, त्यसै क्रममा राजा वीरेन्द्रको हत्या, कांग्रेसको फुट, त्यसपछि माओवादीलाई मूलप्रवाहमा ल्याउने ऐतिहासिक अभियान। कांग्रेसले भन्न सक्छ— सासै फेर्ने फुर्सद पनि भएन नि त † यस चुनावपछि कांग्रेसले सास फेर्न सक्छ कि? यही भनेर यसपल्ट कांग्रेसले भोट माग्ला। तर अहिले कांग्रेसले पनि बुझ्नुपरेको छ— पार्टीहरू मिल्दैमा उनीहरूका कार्यकर्ता मिल्दैनन्। प्रधानमन्त्री देउवाको एउटा थेगो छ, ‘पोलिटिक्स इज अल लोकल’ भनेर जपिरहन्छन्। टिकट बाँड्ने बेलामा सभापतिले यो सम्झन आवश्यक छ। अझ सम्झनुपर्ने अर्को कुरो छ— एउटा दलको सबै भोट अर्कोमा सरक्क जाँदैन। भोटको राजनीति मुख्यत: स्थानीय तहमा टुंगो हुन्छ। एमालेले ल्याउँदै गरेको भोट सबै माओवादीलाई जाँदैन। न त माओवादीको भोट नै एमालेलाई जान्छ।

कुनै पनि राजनीतिक एकता यान्त्रिक ढंगबाट अगाडि बढ्दैन। शीर्षस्थ नेताहरूले अंकमाल गरेर फोटो खिचाउँदैमा पार्टीभित्र वा पार्टी–पार्टीमाझ एकता कायम हुँदैन। त्यसो हुँदो हो त कांग्रेसका नेतात्रयको झगडा उहिल्यै सुल्झिन्थ्यो। एकता एक सुदीर्घ राजनीतिक प्रक्रिया हुनुपर्छ। राजनीतिक प्रक्रिया विचारविहीन हुन सक्दैन। विचारको आलोकमा अगाडि सारिएका कार्यक्रम र कार्यपद्धतिको स्वीकृतिले एकतालाई विश्वसनीय बनाउँछ। लोकतान्त्रिक मोर्चामा कांग्रेसको विचार अस्वीकार्य छैन। त्यो एउटा उज्यालो पक्ष हो। तर माओवादी र एमाले आ–आफ्ना विचारकै बारेमा अलमलमा छन्। माओवादीको प्रचण्डपथ र एमालेको बहुदलीय जनवाद कर्मकाण्ड मात्र रहन गएको छ। दसैंको टीकामा प्रचण्डले प्रचण्डपथको विकल्प भेटेका हुन् त? यो हो भने ठीकै छ। उनी एक खाँट्टी परम्परावादी पार्टीका रूपमा चुनावमा जान सक्छन्। उनको पार्टीका आदर्शवादी र जुझारु कार्यकर्ता उनीसँग रहने छैनन्। मोहन वैद्य, सीपी गजुरेल र विप्लवको समूह यस एकीकरणबाट लाभान्वित हुन सक्छन्।

अब यसपल्टको यो चुनाव वैचारिक आधारमा उठिएला भन्ने आशा छैन। यसपटकको चुनावको रंगरूप र परिवेशका निम्ति प्रचण्ड नै उत्प्रेरक तत्त्व भए। जाँदाजाँदै पनि उनी यति गरेर नै जाने भए। उनको राजनीतिक जीवनको आखिरी चमत्कारका रूपमा यो चुनाव नेपाली इतिहासमा दर्ज गरिनेछ।

होइन भने जे भएको छ— ती सबै सत्ताको लडाइँ मात्र हो। त्यसको परिणाम हेर्न धेरै पर्खनुपर्ने छैन। सय दिनभित्र नै सबकुछ स्पष्ट हुनेछ। एउटा कुरा भने अहिले नै स्पष्ट छ। जनयुद्धका नाममा हजारौंलाई बलिदानका निम्ति प्रेरित गर्ने प्रचण्ड अब एक सामान्य राजनीतिकर्मीमा खुम्चेका छन्। एउटा जनपक्षीय सपना स्खलित भएको छ।

यो स्खलन एक दिनमा भएको होइन। जनयुद्धका शुभाकांक्षी सबैले हेर्दै थिए, देख्दै थिए। प्रचण्ड मक्किँंदै गएका थिए। एक विस्फोटका साथ उनको प्रस्थान होला जस्तो लागेको थियो। तर उनी मक्किएर पो हिँडे। यस्तै परिस्थितिलाई लिएर टी.एस. इलियटले लेखेका थिए :
दिस इज द वे द वल्र्ड एन्ड्स
दिस इज द वे द वल्र्ड एन्ड्स,
दिस इज द वे द वल्र्ड एन्ड्स
नट विद अ व्याङ वट अ ह्विम्पर।

– द होलो मेन

प्रकाशित : आश्विन २०, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

अन्तप्र्रज्ञाका नायक

गणेशमानजीले सार्वजनिक पद लिन चाहेनन् । उनलाई नम्बर वान हुने आकांक्षा थिएन । लोकबल जहिले पनि राजबलभन्दा माथि हुन्छ भन्ने संसारको मान्यता हो । ऋषिको शक्ति र राजाको शक्तिमा ऋषिको शक्ति ठूलो हुन्छ भनिन्छ । त्यो गणेशमानजीको संस्कारमा थियो ।
प्रदीप गिरि

क्रान्तिको इतिहास हेर्दा विद्रोह जहिले पनि शासक वर्गभित्रबाटै हुन्छ । हामीकहाँ पनि त्यस्तै भएको छ । गणेशमान सिंह भारदार परिवारका थिए । टंकप्रसाद आचार्यका बाबु पनि बडाहाकिम थिए ।

डिल्लीरमण रेग्मी दरबारिया भारदार नै हुन् । बीपी कोइरालाका पिता र ठूलाबा पनि दरबारका नजिक थिए । सूर्यप्रसाद उपाध्यायका बुवा हिरण्यशमशेरका सुब्बा थिए । जम्मै विद्रोही एउटै महाराजका शरणमा थिए, भीमशमशेरको । चन्द्रशमशेरको नजिक कोही पनि थिएनन् । त्यसैले उसबेला कतिपयले कांग्रेसलाई ‘भीम दल’ र अन्यलाई ‘चन्द्र दल’ समेत भन्ने गर्थे ।

गणेशमानजीका बाजे रत्नमान काजी थिए, प्रशासनको निकै माथिल्लो तहमा । त्यस्तो परिवारबाट आएका गणेशमानले सत्ताविरुद्ध किन विद्रोह गरे भन्ने त ठाउँ–ठाउँमा लेखिएकै छ । सबै विद्रोहीहरूको स्वभाव हेर्‍यो भने, १४–१५ वर्षको उमेरमै एउटा संवेदनशील मान्छेले आफ्नो समयलाई चुनौती दिन थाल्छ । कुनै मान्छे कसरी विद्रोही हुन्छ भन्ने चर्चा गर्दा हामी मनोविज्ञानसम्म आइपुग्छौं । गणेशमानका विद्रोही स्वभावका अनेकौं कहानी छन् । उनको स्वभावको कथा मैले बचपनदेखि सुनेको छु । उनलाई पैसाको एक रत्ति लोभ थिएन । आफूले लगाएको लुगासमेत बाँडिदिने स्वभावका थिए । मेरा काकाहरू पनि निर्वासनमा थिए । रुद्रप्रसाद गिरीकी पत्नी अर्थात् मेरी काकीले कहिल्यै बिर्सन्नथिन्— बाटोमा हिँड्दाखेरी गणेशमानले उनका दुइटै बच्चा बोकिदिएको घटना । गणेशमानजीको मानवीय स्वभावका थुप्रै संस्मरण छन् मसँग ।
***

उसबेला म बीपी कोइरालाको महिमामय व्यक्तित्वबाट पूर्णरूपेण भावाविष्ट थिएँ । यसको एउटा कारण पारिवारिक थियो । म कांग्रेस परिवारको थिएँ । यो घनिष्ठता राजनीतिमा मात्र सीमित थिएन । त्यसका भावनात्मक आयामहरू पनि धेरै बलिया थिए । बीपीको बारेमा कुनै पनि नकारात्मक कुरा सुन्न म तयार थिइनँ । त्यस्तो बेलामा परिबन्दले मलाई नख्खु जेल लग्यो । त्यहाँ मेरो किसुनजीसँग भेट भयो । किसुनजीले एकपल्ट होइन, सुस्तरी–सुस्तरी सुनाउन थाले, ‘बीपीले नेपालका लागि ठूलो आत्मघात गर्नुभयो । देशको राजनीतिलाई कुभलो गर्नुभयो । अहिलेको अवस्थामा हिन्दुस्तान जानु कुनै दृष्टिले वाञ्छनीय छैन । उहाँ हिन्दुस्तान सरकारको मोहरा बन्ने हुनुभयो । हामी यहीं (देश) भित्र बसेर आन्दोलन गरेको भए २ वर्ष, ४ वर्ष या ६ वर्ष लाग्न सक्थ्यो । तर आन्दोलन भित्रैबाट गर्नुपथ्र्यो ।’ किसुनजी एकदमै स्पष्ट थिए, आज एउटा पाठक, अध्येता या विश्लेषकले कल्पना गर्न सक्नेभन्दा बढी स्पष्ट । किसुनजीको विश्लेषण तर्क र तथ्यभन्दा पनि अन्तप्र्रज्ञा (इन्ट्युसन) मा आधारित थियो ।
गणेशमानजीको स्थिति फरक छ । उनले प्रारम्भमा आफू हिन्दुस्तान नजाने भनेका थिए । राजेश गौतमले उनीसँग लिएको अन्तरंग वार्तामा यो प्रसंग छ । सुवर्णशमशेर राणाले उनलाई ‘चेकअप’ गर्न भनेर बोलाइरहेका थिए । त्यसकारण ‘म चेकअप गराउन इन्डिया गएँ’ भनेका छन् गणेशमानले । उनकै शब्दमा, ‘साथीहरू कर गर्दै थिए, तपाईंलाई दुबारा थुन्छ भन्दै थिए । फेरि मलाई थुनिन पनि मन थिएन । उताबाट सुवर्णजीको खबर तारन्तार आइराख्यो, आइहाल्नुस् भनेर । अनि म कलकत्ता गएँ । सुवर्णजीले मलाई भन्नुभयो— बीपीले ठूलो गल्ती गर्दै हुनुहुन्छ, भारत बस्न खोज्दै हुनुहुन्छ । म त आठ वर्ष भारत बसेको हुँ । भारत सरकारले मद्दत गर्छ भन्ने मलाई पनि थियो । भारत सरकारले राजा महेन्द्रसँग लागेर हामीलाई कस्तो दु:ख दियो । भारत जहिले पनि हामीलाई देखाएर राजा महेन्द्रसँग बार्गेनिङ गर्न खोज्छ । हाम्रो आन्दोलन भारत सरकारले सफल हुन दिँदैन । अब हामी भारत बसाइ नगरौं ।’
गणेशमानले ठोस प्रमाण दिएर भनेका छन्, ‘भारतले हामीलाई के–के न दियो भन्छन्, आन्दोलन गर्दाको हतियारलाई लिएर । २०१८ सालको आन्दोलनले तहल्कै मच्चिएको थियो । तर उसले दिएको जम्माजम्मी २७ थान बन्दुक हो । त्यो पनि थोत्रो । त्यही पनि कति अप्ठ्यारो गरेर दियो, मलाई थाहा छ । त्यसैले भारत सरकारको भर परेर आन्दोलन गर्दै नगर्नुस् भनेर मलाई सुवर्णजीले कन्भिन्स गर्नुभयो ।’
आफ्नो भूमिमा बसेर कुनै क्रान्तिकारीले– कहिले रामराजाप्रसाद सिंहले, कहिले बीपीले, कहिले प्रचण्डले ‘हामी क्रान्ति गर्छौं’ भन्दा भारतलाई बडो कर्णप्रिय लाग्छ । नेपाल सरकारलाई थर्काउन सजिलो हुने भएकाले भारतलाई यस्तो ठीक लाग्छ । तर क्रान्तिको उद्देश्य के हो, लक्ष्य के हो, यिनीहरूले क्रान्ति किन गर्दै छन्, त्यससँग भारतलाई सरोकार हुँदैन । सरोकार भए पनि नकारात्मक नै हुन्छ । त्यति हुँदाहुँदै पनि गणेशमानजी बीपीसँगै गएर बस्न थाले । किसुनजी नेपालमा एक्लो भए ।
***
२०२५ सालमा जेलबाट छुटेपछि बीपी उपचारका लागि बम्बई गए । राजा महेन्द्र पनि आफ्नो उपचारका लागि लन्डन गएर बम्बई हुँदै फर्किए । बीपीले महेन्द्रलाई बम्बईमा भेट्न चाहे । तर राजाले भेट दिन मानेनन् । एयरपोर्टमा पुग्दा पनि राजाले दर्शन दिएनन् । त्यसपछि उनी एकाएक बनारस गए र सशस्त्र विद्रोह गर्ने भन्न थाले । त्यो कुराबाट निर्विकार किसुनजी जेलमा थिए । त्यति बेलासम्म गणेशमानजीले हिन्दुस्तानमा बस्ने निर्णय गरिसकेका थिएनन् । उनी केही दिन उपचार गरेर फर्कने विचारमा थिए । उनको सामान्य प्रयास के थियो भने बीपीले भनेको सशस्त्र विद्रोहमा जाने कि सुवर्णजीले भनेको कलकत्तामा बसेर प्रतीक्षा गर्ने या किसुनजीजस्तो निस्किएर पुन: जेल आउने । तीनवटा विकल्प बाँकी थिए । के कारणले हो, उनी बनारस गएर बसे । यसको अर्थ उनी बीपीसँग हाँमा हाँ मिलाएर बसेका थिएनन् । गणेशमानजी बीपीसँग कोठाभित्र राय बझाए पनि करिब–करिब बीपीकै कुरामा सहमत हुन्थे । कोठाभित्र सधैं आफ्ना विचार ढुक्क राख्थे । बनारसमा गणेशमानजी र बीपीको बसाइ पनि बिलकुलै पृथक् थियो । गणेशमानजीको बीपीसँगको बसाइ कुनै सार्थक, रचनात्मक र योगदानमूलक थिएन ।
***

कुनै पनि ठूलो मान्छेको जीवनको इतिहासमा एक–दुइटा अवसर आउँदा रहेछन् । त्यस्तो बेला उनीहरूले आफूभित्र अन्तरनिहित सम्पूर्ण योग्यता र व्यक्तित्वलाई विस्फोटित गर्दछन् । बीपीको देहान्तपछि ०४२ सालको सत्याग्रहको मुखमा गणेशमानजीका सम्पूर्ण प्रतिभा बाहिर आए । मैले गिरिजाप्रसादबारे सधैं नकारात्मक धारणा व्यक्त गरें । पछि माओवादीलाई मूलधारमा ल्याउने बेलामा तिनको व्यक्तित्वको औचित्य देखियो । त्यति बेला उनका विगतका सारा कुरा बिलाएर गए । त्यस्तै गणेशमानजीको वास्तविक व्यक्तित्वको कुरा गर्दा हामी ०४६ सालको जनआन्दोलनको पृष्ठभूमिमा आउनुपर्छ ।
०४६ सालमा आन्दोलन गर्ने कि नगर्ने भन्ने कुरा भइराखेको थियो । भारतले नाकाबन्दी लगाइदियो । नाकाबन्दीका कारणहरू अलग्गै थिए । मुख्य त चीनसँग हतियार ल्याएको विषयलाई लिएर भारत नेपालसँग अप्रसन्न थियो । त्यसबाहेक राजा वीरेन्द्र र राजीब गान्धीबीच बढ्दो गलतफहमी पनि एउटा कारण थियो । त्यसका धेरै आयाम थिए । कति आयाम इतिहासमा आइसकेका छन्, कति आउन बाँकी छन् । जे होस्, भारतले सन्धि नवीकरण गर्न मानेन र नेपालमा नाकाबन्दी भयो । त्यति बेलाको नेपाली कांग्रेस बीपीले सिकाएको राष्ट्रवादबाट अभिसिर्जित थियो, रंगमगिएको थियो । एउटा राष्ट्रवाद त राजा महेन्द्रको थियो । त्यो राष्ट्रवादले छरछिमेक, विशेषगरी भारतलाई औंल्याएर हाम्रो राष्ट्रिय स्वाधीनता खतरामा छ भन्थ्यो । बीपी पनि राष्ट्रिय मेलमिलाप गरेर फर्किएका थिए । त्यो मेलमिलापमा पनि राजा महेन्द्रले स्थापित गरेको राष्ट्रवाद भन्ने अथवा शाहवंशले स्थापित गरेको राष्ट्रवाद भन्नेबीच प्रतिद्वन्द्विता थियो । त्यसो हुँदा नेपालका राजनीतिक दलहरू, खासगरी नेपाली कांग्रेसलाई राजाका विरुद्धमा प्रजातन्त्र पुन:स्थापनाका लागि एकबद्ध भएर लागिहाल्न सजिलो थिएन । सबैलाई लाग्थ्यो— हामीले यसरी प्रजातन्त्र माग्दाखेरी भारतले दपेटेको बेलामा देशलाई अप्ठ्यारो त हुने होइन ? तर त्यहाँ गणेशमानजी ‘आन्दोलन गर्नैपर्छ, राजाबाट यी अधिकार लिनैपर्छ’ भन्नेमा स्पष्ट थिए ।
यस्तो आन्दोलनमा जहिले पनि दुई धार हुन्छ । गिरिजाबाबु भन्थे— होइन, यस्तो बेलामा हामी त्यसरी राजाविरुद्ध ठाडै जाइलाग्नु हुँदैन । गणेशमानजी भने प्रहार गर्ने पक्षमा थिए । गिरिजाबाबु र गणेशमानजीको अन्तरद्वन्द्व पार्टीभित्र सबैलाई जानकारी थियो । यहीं आन्दोलन गर्ने/नगर्ने, गर्दा कसरी गर्ने भन्ने विषयमा हामी कांग्रेसका शुभचिन्तकहरू विमर्शमा थियौं । त्यति बेला शुद्ध कांग्रेसी भन्ने कोही थिएन । हामी कुबेर शर्माकहाँ बसेका थियौं । मलाई याद छ त्यहाँ मार्शलजुलुम शाक्य, दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डेजस्ता मान्छे जम्मा भएका थिए । आन्दोलन गर्ने कि के गर्ने, धर्मरै थियो । राजालाई अहिले ङ्याक्नु भनेको राष्ट्रियतालाई कमजोर पार्नु हुन्छ, राष्ट्रियता भारतलाई बेचेजस्तो हुन्छ भन्ने धार नै बलियो थियो । अर्को धार थियो— यति बेला नगरे त राजालाई केही गर्न सकिँदैन भन्ने । त्यस दिन मैले त्यो बैठकमा एकदम जोडदार रूपमा आन्दोलन गर्नैपर्छ भनें । संजोग यस्तो पर्‍यो त्यसको भोलिपल्ट म जेल गएँ । तीन महिना जेलमा बसें । छुटेको दिनै बिहान गणेशमानजी मकहाँ आए । र भने, ‘तपाईंले पनि आन्दोलन गर्ने भनिराख्नुभएको छ, कसरी आन्दोलन गर्ने, कसैसँग संवाद भएकै छैन, भारतसँग संवाद भएकै छैन । भारत सरकारसँग संवाद गर्नैपर्छ ।’
उनले एउटा अचम्मको कुरा पनि सुनाए । म जेल बसेको बेला गणेशमानजी दिल्ली गएका रहेछन् । उनले दिल्ली लगेर मलाई राजनीतिज्ञसँग भेट गराइदेऊ भनेर गजेन्द्रनारायण सिंहजीलाई भनेछन् । १५ दिनसम्म उनी त्यहाँको प्रतिष्ठित पाँचतारे होटलमा भारत सरकारकै अतिथि भएर बसेछन् । तर गजेन्द्रनारायणले प्रधानमन्त्री राजीव गान्धीसँग भेट गराउन सकेनछन् । त्यहाँका गुप्तचरहरूले यसले राजीब गान्धीलाई भेट्यो भने के कुरा गर्ला भनेर बुझेछन् । गणेशमानले राजीवलाई भेटेको भए कथा सायद कहाँबाट सुरु गर्थे होलान् भने— तपाईका हजुरबुवा जवाहरलाल नेहरूले नेपालमा प्रजातन्त्र ल्याउन मद्दत गर्नुभएको थियो, तर प्रजातन्त्र मास्नमा पनि उहाँकै हात रह्यो । तपाईंकी आमा (इन्दिरा) को त के कुरा गर्नु । इमर्जेन्सी लगाइदिइन्, हामी भारतबाट भागेर नेपाल जानुपर्‍यो । त्यसैले अब तपाईंले पापको प्रायश्चित गर्नुहोस्, हामीलाई सघाउनुहोस् ।
मलाई पछि गजेन्द्रजीले भने, ‘उहाँ राजीव गान्धीजीसित यस्तो कुरा गर्छु भन्नुहुन्छ । अनि कसले भेट गराउने आँट गर्छ ?’ त्यति बेला मेरा एक जना मित्र डीपी त्रिपाठी प्रधानमन्त्री राजीवका एकदम नजिक थिए । मैले गणेशमानजीलाई ‘राजीवलाई भेट्न त त्यस्तो गाह्रो पर्दैन होला, तपाईंले चिठी लेखेर दिनुहुन्छ भने म गएर भेट्छु’ भनें । उनले किसुनजीसँग कुरा गरेर जानुस् भने । अनि म गणेशमानजीको चिठी लिएर राजीव गान्धीलाई भेट्न दिल्ली गएँ ।
गणेशमानजी कसैसँग डराउँदैनथे । यो किंवदन्ती होइन । मनमा लागेको कुरामा उनले कुनै हालतमा कसैसँग सम्झौता गर्दैनथे । यसको मतलब उनी बाठो नभएर होइन, उनी चतुर नै थिए । म दिल्ली गएर गणेशमानजीले राजीव गान्धीसँग भेट्न नपाएको कुरा भनें, गणेशमानजीले लेखेको चिठी दिएँ । गणेशमानजीसँग एउटा फोटो थियो, २००८ सालमा उनले राजीव गान्धीलाई काखमा बोकेको । जवाहरलाल नेहरू नेपाल भ्रमणमा आउँदा इन्दिरा गान्धीले ३–४ वर्षका छोरा राजीवलाई पनि साथमा लिएर आएकी रहिछन् । गणेशमानजीले पठाएको त्यो फोटो मैले दिएपछि राजीव गान्धी त भावविह्वल भएर आफूले के गर्नुपर्छ, सबै गर्छु भन्न थाले ।
त्यसपछि राजीव गान्धीले कांग्रेस सभापति रहेकाले किसुनजीसँग फोनमा कुरा गरे । भने, ‘तपाईंको आन्दोलनप्रति हाम्रो समर्थन छ, शुभकामना पनि छ ।’ त्यसपछिको घटनाक्रम सबैलाई थाहै छ । आन्दोलन शक्तिबिना, विचारले मात्रै त हुँदैन । ०४६ सालको आन्दोलनका कमान्डर गणेशमानजीप्रति नेपाली जनताको ठूलो विश्वास र विश्वसनीयता थियो । गणेशमानले कहिल्यै धर्मर गर्दैनन् भन्ने थियो । त्यति बेलाको आन्दोलनमा गणेशमानले अलिकति पनि धर्मर नगरेको कुरा त अनेकौं संस्मरणमा आइसकेका छन् । त्यसबारे सबभन्दा ज्यादा राधाकृष्ण मैनालीले आफ्नो संस्मरण ‘नलेखिएको इतिहास’ मा लेखेका छन् ।
***

गणेशमानजी अद्भुत थिए । मान्छेलाई गणेशमानजीबारे के लाग्छ भने यिनी पढे–लेखेका थिएनन् । बिर्सन के हुन्न भने त्यो पुस्ताका नेताहरू वर्षाैं जेल बसेका थिए । राष्ट्र निर्माण गर्छौ भन्दा जेल परेका थिए । केही अपवादलाई छाडेर जेल बसेको हरेक राजबन्दीले पढेकै हुन्छ । भित्र गएर जाँड–रक्सी खान थाल्यो, जुवा–तास खेल्न थाल्यो भने त बेग्लै कुरा हो । गणेशमानले जेलमा असाध्य पढे । किसुनजीभन्दा पनि बढ्ता । कुनै अप्ठ्यारो विषय पनि उनलाई सोध्यो भने उनले ठ्याक्क सम्झेर ‘यो त यस्तो’ भनिदिन्थे । बीपी निजी कुराकानीमा भन्थे, ‘जेलमा गणेशमानजी त डिक्सनरी पनि कण्ठ गर्नुहुन्थ्यो । अखबार पढ्दा पनि श्री गोरखापत्रबाट सुरु गर्ने, मिति सात जनवरी १८ भनेर । विज्ञापन पनि पढ्न नछुटाउने । अखबारको विज्ञापन पनि कराएर कराएर पढ्नुहुन्थ्यो, हामीले सुन्नुपथ्र्यो ।’
तर किसुनजीबारे बीपीको धारणा एकदम नकारात्मक थियो । त्यो नकारात्मक धारणा कहाँ मुक्त भयो भने पछि उनी किसुनजीमाथि नै निर्भर हुनुपर्‍यो । आखिरमा बीपीको सारा राजनीति किसुनजीको लाइनमा गयो । त्यो नकारात्मक धारणा कहाँबाट सुरु भएको थियो भने बीपीलाई अध्यात्ममा पटक्कै आस्था थिएन, पाखण्ड हो भन्थे उनी । त्यसको मजाक त उनले ‘मोदिआइन’ मा उडाएका छन् । आफ्नो डायरीमा पनि जहाँ मौका पायो, गीताको मजाक उडाएका छन् । ‘हिटलर र यहुदी’ मा पनि मजाक उडाएका छन् । तर किसुनजीलाई अध्यात्ममा भित्रबाटै आस्था थियो । गणेशमानजी आस्था, अनास्था दुवैबाट निर्विकार थिए । त्यो उनका लागि महत्त्वपूर्ण प्रश्न थिएन । ईश्वर छ कि छैन भन्ने कुरा किसुनजीका लागि पनि थियो, बीपीका लागि पनि थियो । दुवैले उत्तर भेटेका थिए । तर गणेशमानजी त्यसबाट निर्विकार थिए । आम जीवनमा हेर्‍यो भने पनि कति मान्छे यी विषयमा परेसान हुन्छन्, कतिले मतलबै राख्दैनन् । खाने, पिउने, छोराछोरी पाउने, घर बनाउने भनेर हिँडिराखेका हुन्छन् । यो विषयमा गणेशमानजीलाई मतलब थिएन तर मुलुक, समाज, राजनीतिक अधिकार, आमजनताको अधिकारप्रति उनी प्रतिबद्ध थिए । त्यसमा दोहोरो कुरा गर्न चाहँदैनथे । त्यही प्रतिबद्धताले उनलाई ०४६ सालको आन्दोलनको निर्विकल्प नेता बनायो ।
***

धेरै उतारचढावका बाबजुद किसुनजी र मेरो सम्बन्धमा कहिल्यै आरोह–अवरोह आएन । म सधैं उनको निकट रहें, जेलमा परेको दिनदेखि । सधैंजसो साँझ हामी कहीँ न कहीँ भेला भइहाल्थ्यौं । एक जना पाइलट थिए श्रीराम शर्मा, अर्को म, अनि कुवेर शर्मा । कुवेर शर्मा बरु अलि कम आउँथे । म त हरेक भेलामा हुन्थें । २०४८ सालमा किसुनजीले चुनाव हारेको बेला थियो । एक साँझ हामी बेनीबहादुर कार्कीकहाँ भेला भयौं । उताबाट गणेशमानजी पनि आए । किसुनजीले चुनाव हारेको कारण गिरिजाबाबु प्रधानमन्त्री बन्ने सम्भावना भएको थियो । तर गणेशमानजी त्यसका लागि तयार थिएनन् । उनले किसुनजीलाई भने, ‘चुनाव हार्नेबित्तिकै प्रधानमन्त्री नबन्ने भन्ने कहाँ छ र ? तपाईं नै प्रधानमन्त्री बन्नुपर्छ ।’
किसुनजी केही बेर बोलेनन् । अनि झर्को मानेजसरी भने, ‘हामीले लेखेको संविधानमा छैन गणेशमानजी यस्तो । चुनाव हारेर प्रधानमन्त्री बन्न सक्दिनँ ।’ अनि गणेशमानले भने, ‘त्यसो भए महेन्द्रनारायण निधिलाई लडाउनुपर्छ गिरिजाबाबुको विरुद्धमा ।’ हामी ८–१० जना थियौं, अब किसुनजीले के बोल्छन् भन्ने लागेको थियो । किसुनजीले कुरा टारेजस्तो गरेर छलफललाई अन्तै मोडेर लगे । ४–५ मिनेट यताउता कुरा टारेर किसुनजीले भने, ‘होइन गणेशमानजी यसपटक गिरिजाबाबुकै हक लाग्छ । भाग्यले यस्तै गर्‍यो । हामीले अति गर्नु हुँदैन । गिरिजाबाबुलाई नै छोडदिनुपर्छ ।’
गणेशमानजीलाई त्यो कुरा मन परेन । उनले भने, ‘गिरिजाले सरकार ठीक किसिमले चलाउँदैन । देशलाई दु:ख दिन्छ र आफूले पनि दु:ख पाउँछ ।’ किसुनजी र गणेशमानजीको सम्बन्ध त्यहींबाट टाढिन थाल्यो । पछिल्ला दिनमा गणेशमानजी धेरै नै परेसान भएर स्वर्गवास भए । त्यसमा किसुनजी र गणेशमानजीको बढ्दो दूरी पनि जिम्मेदार थियो । किसुनजीलाई किसुनजी बनाउनमा गणेशमानजीको ठूलो हात थियो । सबभन्दा चर्चित प्रसंग छ— २०४६ सालमा राजाले प्रधानमन्त्री दिएको पनि गणेशमानजीले किसुनजीलाई दिए ।
***

आन्दोलन, जनआन्दोलन र जनपक्षीय राजनीतिप्रति गणेशमानजीभित्र अन्तप्र्रज्ञा रहेको पाइन्छ । उदाहरणका लागि गणेशमानजीको विरोधका बाबजुद गिरिजाबाबु प्रधानमन्त्री भए । गिरिजाबाबु प्रधानमन्त्री भएपछि उनीहरूबीच दूरी बढ्दै जानुमा केही तार्किक र वैचारिक कारण थिए । केही कुरामा म सहभागी छु । गणेशमानजीले फाट्टफुट्ट गिरिजाबाबुको विरोध गर्थे । ५–६ महिना भएको थियो सरकार बनेको, एक दिन मैले गणेशमानजीलाई राम्ररी सोधें, ‘गणेशमानजी, गिरिजाबाबुबारे तपार्इंको यताउति वक्तव्य आउन थालेको छ । उहाँलाई पार्टीले भर्खर प्रधानमन्त्री बनाएको छ । तपाईंले भनेको कुरा पनि भएन, निधिजीले उम्मेदवारी नै दिनुभएन । किसुनजीले मान्नुभएन । तपाईंले किन यसरी फ्याट्टफुट्ट वक्तव्य दिनुभएको ?’ मैले उदाहरण दिएरै भनें— हामीले भान्से नियुक्त गरेपछि उसलाई त १–२ महिना सिक्न–बुझ्न दिइन्छ ।
वास्तवमा गिरिजाबाबु प्रधानमन्त्री भएपछि एउटा सल्लाह भएको थियो— हप्तामा एक या दुईचोटि उनी, गणेशमानजी र किसुनजी बस्ने र सरकारले गर्ने सबै प्रमुख निर्णय सामूहिक रायमा लिने । त्यो हुँदाहुँदै एक दिन योजना आयोगको उपाध्यक्ष नियुक्तिको कुरा आयो । गणेशमानले भने— यो दुर्गेशमान पनि पढे–लेखेको छ, सिपालु छ, तर मेरो नाता पर्ने भएकाले यसलाई नबनाउनु त भएन नि ।
राति उनीहरूबीच सल्लाह भएको रहेछ । भोलिपल्ट ‘सुरुचि’ मा त्यसबारे खबर प्रकाशित भयो । सायद गिरिजाबाबुले आफ्नो समूहमा भनेका थिए होलान्, ‘गणेशमानजीले यस्तो भन्नुभयो’ भनेर । तर आफूहरूबीच भएको कुराकानी अखबारमा आएपछि गणेशमानजी अचम्ममा परे । उनले हामीसँग भने, ‘यस्तो मिटिङ, राय–सल्लाह गरेको कुरा भोलिपल्ट अखबारमा बिगारेर छाप्छ, गणेशमानले भतिजोलाई यो माग्यो भन्छ भने सल्लाह गरेको के मतलब भयो ?’
त्यसपछि त कांग्रेस दुई भागमा बाँडिइहाल्यो । पार्टी ठूलो कि सरकार भन्ने विवाद सुरु भयो । यो विवाद अहिले पनि सर्वत्र छ । तर कतिपय देशले यसको समाधान निकालेका छन् । जस्तो बेलायतले संसदीय दलको नेतालाई स्पष्ट रूपमा पार्टी सभापतिभन्दा माथि राख्यो । यता हामीकहाँ प्रधानमन्त्री पदमा रहेका गिरिजाबाबु मुलुकको संविधानका हिसाबले ठूलो हुने भए । तर त्यति बेलाको उचाइ, आत्मविश्वास र योगदानका आधारमा समाजमा गणेशमान ठूला थिए ।
गणेशमानजीको आशय यस्तो हुन्थ्यो— म र किसुनजी एक ठाउँमा भएपछि त्यो गिरिजा को हो ? त्यो कुरा उनले झापा, कलवलगुडी महाधिवेशनमै भनिदिए । डेढ घण्टा गिरिजाबाबुलाई गाली गरेको गर्‍यै गरे । अनि मैले पार्टी छोडें भनेर घोषणा गरिदिए । अधिवेशनभरि हल्ला भयो ‘पार्टी छाड्न पाइन्न’ भन्दै । त्यसपछि महेश आचार्यले गिरिजाबाबुको कानमा सुझाएपछि गिरिजाबाबुले मैले पनि राजीनामा गरें भने । त्यसपछि किसुनजीले दुवैलाई राजीनामा दिन दिन्न भनेर मिलाए । महाधिवेशनले किसुनजीलाई गिरिजाबाबु र गणेशमानजीको मतभेद मिलाउने तीन महिनाको समय दियो । समिति पनि बन्यो । तर पछि त्यो फास्सफुस्स भयो, किसुनजीले केही गरेनन् ।
गणेशमानजीले सार्वजनिक पद लिन चाहेनन् । उनलाई नम्बर वान हुने आकांक्षा थिएन । हरेक व्यक्तिको एउटा आत्मछवि हुन्छ । कदाचित त्यस बेला गणेशमानजीलाई प्रधानमन्त्री हुनुभन्दा 
ठूलो हुँ भन्ने लागेको हुन सक्छ । दुइटा उदाहरण उहाँका सामुन्ने थिए । भारतमा महात्मा गान्धी, चीनमा माओत्से तुङ । यहीं नेपालमा पनि एक समय पार्टीको सभापति बीपी कोइराला होइन, किसुनजी थिए । 
लोकबल जहिले पनि राजबलभन्दा माथि हुन्छ भन्ने संसारको मान्यता हो । ऋषिको शक्ति र राजाको शक्तिमा ऋषिको शक्ति ठूलो हुन्छ भनिन्छ । त्यो गणेशमानजीको संस्कारमा थियो । उनी अस्वस्थ पनि थिए । उनी आफैं ‘डिटेल्स’ मा काम गर्न सक्दिनँ भन्थे । प्रधानमन्त्रीको काम त डिटेल्सको काम हो नि । फेरि किसुनजीलाई उनी एकदमै सहोदर भाइजस्तो ठान्थे । तर, उनले चिताएजस्तो भएन । किसुनजीले चुनाव हारे ।
राजनीतिक रूपले हेर्दा गणेशमान सिंह वास्तवमा एकदमै दु:खी व्यक्ति हुन् । उनको सम्पूर्ण जीवन एकातिर बित्यो, पछि राजनीतिक जीवनको अन्त्यताका किसुनजीलाई सहयोग गरे । उनको सन्दर्भमा म शेक्सपियरको ‘किङ लियर’ को कथा सम्झन्छु । गणेशमान नेपाली कांग्रेसका किङ लियर थिए । किङ लियर भनेको कस्तो भने— बुढेसकालमा सबै कुरा अरूलाई दिएर आफू दु:खी भएर बस्ने । शेक्सपियरका नाटकमा गिरिजाबाबु ‘म्याकबेथ’ को मुख्य भूमिकामा छन्, जुनसुकै बेला सत्तामा बस्ने । किसुनजी भने ‘ह्यामलेट’– केही गरूँं–नगरूँ, यता जाऊँ–नजाऊँ, पार्टी छोडूँ–नछोडूँ, राजा कि गणतन्त्र – यस्तो अवस्थामा । गणेशमानजी भने स्पष्टत: किङ लियर हुन् नेपाली कांग्रेसका । 

प्रकाशित : आश्विन ७, २०७४ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्