२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चिकित्सकलाई कस्ने कानुन !

डा. अरुणा उप्रेती

काठमाडौँ — सन् १९८७ मा भारतमा प्रसिद्ध अभिनेतृ स्मिता पाटिलको सुत्केरीपछि मुत्यु भयो । प्रसिद्ध डाक्टरहरू भएको प्रसिद्ध ब्रिच क्यान्डी अस्पतालमा प्रसिद्ध अभिनेतृको मृत्यु भएपछि हलचल मच्चियो । उनको मृत्युको कारण कहिले औलो भनियो, कहिले संक्रमण भनियो ।

चिकित्सकलाई कस्ने कानुन !

सन् १९८७ मा भारतमा प्रसिद्ध अभिनेतृ स्मिता पाटिलको सुत्केरीपछि मुत्यु भयो । प्रसिद्ध डाक्टरहरू भएको प्रसिद्ध ब्रिच क्यान्डी अस्पतालमा प्रसिद्ध अभिनेतृको मृत्यु भएपछि हलचल मच्चियो ।

उनको मृत्युको कारण कहिले औलो भनियो, कहिले संक्रमण भनियो । तर वास्तविकता के भएर मृत्यु भएको कुरा त त्यहाँका डाक्टरहरूलाई मात्र थाहा भयो होला । तर भारतको कानुन, अदालत र स्मिताका परिवारले डाक्टरहरूको लापरबाहीले ‘वास्ता नगरेर’ मृत्यु भएको आरोप लगाएनन् । उनको मृत्यु दु:खद थियो, तर चिकित्सा विज्ञान पनि कहिलेकाहीं विवश भएर मृत्युको अघि हार मान्नुपर्ने हुन्छ भनेर त्यो बेलाका उपचारत डाक्टरले भनेका थिए । त्यही मृत्यु भएको कारणले अस्पताल नत तोडफोड गरियो, न डाक्टर र नर्सलाई अपराधझंै कठघरामा उभ्याइयो ।

३० वर्षअघि म प्रसूति गृहमा काम गर्दा पनि असुरक्षित गर्भपतन गराएर आएका महिला र किशोरीहरूको मृत्यु हुँदा कसैले अस्पताल तोडफोड गरेन, किनकि डाक्टरहरूले भ्याएसम्म गरेका छन् भन्ने परिवारका सदस्यलाई विश्वास थियो र त्यस्तो मृत्युमा अस्पतालको गल्ती होइन भन्ने कुरामा परिवारले स्वीकाथ्र्यो र वास्तविकता नै त्यही हुन्थ्यो ।

तर आजकलचाहिँ त्यसरी असुरक्षित गर्भपतन गराएकी कुनै महिलालाई गम्भीर अवस्थामा अस्पताल ल्याइयो र उपचारको क्रममा बिरामीको मृत्यु भयो भने डाक्टरले वास्ता नगरेर, समयमा नहेरेर भनेर परिवारले आवाज उठाउँछन् । त्यस्तै मौका हेरेर बसिरहेका बिचौलियाहरूले पनि त्यस्तो बेलामा परिवारका मानिसलाई अझ उचालेर अस्पतालबाट क्षतिपूर्ति १० लाख रुपैयाँ दिलाइदिन्छौं, हामीलाई २ लाख दिनुस् भन्छन् रे । त्यस्तो अवस्थामा सायद बिरामीका परिवारलाई पनि लाग्दो हो, मर्ने मान्छे त मरेर गइसक्यो । यदि अस्पतालले पैसा दिन्छ भने किन नलिने त ? एक पत्रकारले भनेका थिए ।

यसरी बिचौलियाले अस्पतालमा थर्काएपछि विचरा डाक्टर र निजी अस्पताल विवश हुन्छन् । यस्तो बेलामा उपभोक्ता मञ्च वा समूहले पनि डाक्टरकै गल्ती होला र त पैसा दियो भनेर डाक्टर र निजी अस्पतालको दोष देखाउँछन् । यसले गर्दा अराजकता बढ्न जान्छ । अस्पताललाई तोडफोड गरेर धुलो पारिदिन्छौं, अस्पताल नै चलाउन दिन्नौं । डाक्टरहरूको मोटर र अस्पतालको एम्बुलेन्स तोडफोड गरिदिन्छौं भनेपछि अस्पताल प्रशासनले कानुनी लडाइँ लड्न सक्दैन, सरकारले सुरक्षा दिन सक्दैन र विवश भएर अस्पताल १० लाख, २० लाख वा २५ लाख रुपैयाँ मृतकको परिवारलाई बुझाउँछन् । तर सरकारी अस्पतालमा चाहिँ कसैले पैसा बुझाउँदैनन् ।

यदि सुत्केरी महिला घरैमा धेरै रगत बगेर वा उच्च रक्तचाप भएर मरिन् भने बिरामीका परिवारले कोसँंग क्षतिपूर्ति वा १० लाख दिनुस् भनेर माग राख्छन् होला ? स्वास्थ्यकर्मीहरू छलफल अहिले गरिरहेका छन्– अब त हामीले सकेसम्म बिरामीको परिवारलाई पहिला नै कागज गराएर, हामी क्षतिपूर्ति दिने छैनौं भनेर लेखाउनुपर्छ कि क्या हो ? सुन्दाखेरी हास्यास्पद लाग्ने यो भनाइले डाक्टर र बिरामी बीचको अविश्वासको वातावरण त देखाउँछ नै, यस्तो अविश्वासले गर्दा चाहिएको बेलामा सहज उपचार नपाएर बिरामी र उसको परिवारले झन् दु:ख पाउँछन् ।

झन्डै दुई वर्षअघि श्रेष्ठ थरकी, ४६ वर्षकी एक महिलाले पानीको सट्टा झुक्किएर तेजाब (एसिड) पिउन पुगिछन् । उनी तड्पिएर बेहोशजस्तै भइन् र उनलाई अस्पताल लगियो । ५ बजे एसिड दुर्घटनामा परेकी उनलाई राति एक बजे एक निजी अस्पतालमा भर्ना लियो । त्यो पनि एक प्रतिष्ठित डाक्टरले अस्पतालमा फोन गरेर, ‘बिरामीलाई केही भयो भने परिवारले केही पनि गर्ने छैन’ भनेर वचन दिएपछि बिरामीलाई भर्ना गरेर आईसीयुमा १० दिन राखेर ठिक पार्‍यो । तर यदि ढिलो भएको भए बिरामीको त केही घन्टाभित्र मृत्यु भई नै सक्थ्यो । सरकारले बिरामीको उपचारको क्रममा मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति तिराउनुपर्छ भनी बनाउन लागेको विधेयक पारित भयो भने त कुनै पनि निजी अस्पतालले गम्भीर प्रकृतिका बिरामी, दुर्घटनामा परेका बिरामी, शल्यक्रिया गरेर ज्यान बचाउनुपर्ने गर्भवती महिलालाई भर्ना नै गर्ने छैन । किनभने उपचार गर्दागर्दै केही भवितव्य पर्‍यो भने त चिकित्सकको बदमासीले गरेको हो भनेर परिवारले भनिहाल्छ । अनि चिकित्सकले क्षतिपूर्ति बापत पैसा तिरिरहने ?

कुन ‘बुद्धिमान’ वकिल वा ‘उपबुज्रुक’ सांसदले यस्तो कानुन ल्याउन खोजेका होलान्, जसलाई यति पनि थाहा छैन कि डाक्टर भगवान होइन, उसले कोसिस गर्छ, बिरामी बचाउन । किनभने उसको त जीवनभरिको खुसी र इज्जत नै बिरामी ठिक भएर जानुमा छ । बिरामीलाई अझ बिरामी पार्नु र मार्नुमा होइन ।

केही औषधी प्रयोग गरेर रियाक्सन हुँदा शरीरमा फोका उठ्ने, बेस्सरी ज्वरो आउने हुनसक्छ । त्यस्तो औषधीबारे डाक्टरले बिरामी र उनको परिवारलाई बताए पनि कहिलेकाहीँ परिवारका सदस्यले बेवास्ता गर्छन् र बिरामीको स्थिति नाजुक भएर अस्पतालमा भर्ना हुनुपर्‍यो भने के यस्तो अवस्थामा डाक्टरले क्षतिपूर्ति तिर्ने ? त्यस्तै प्रकारले सुत्केरी महिलाको शल्यक्रिया गर्दागर्दै महिलाको रगत नै नथामिने समस्या हुनसक्छ, त्यो किन हुन्छ, डाक्टरले भन्न सक्दैन । तर यस्तो भएर सुत्केरी मरिन् भने के डाक्टरले शल्यक्रिया गरेको हुनाले भनेर सजाय पाउने ?सांसद र कानुनविदहरू कृपया आफ्नो आँखा र मस्तिष्क खोल्नुस् । डाक्टरले जानाजान लापरबाही गरेको हो भने त्यो सिद्ध गर्न नयाँ कानुन ल्याउनु पर्दैन । पहिलेकै कानुन पर्याप्त छ । पुराना कानुनलाई राम्रोसँग व्यवहारमा ल्याए पुग्छ ।

प्रकाशित : आश्विन ५, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?