ग्लोबल नेपाली- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्लोबल नेपाली

सुजीव शाक्य

काठमाडौँ — बैंककको एमबीके मार्केट, खावसान मार्केट वा प्रातुनाम मार्केटतिर जाँदा नेपाली गीत र नेपाली भाषा सुनेर सबै अलिक स्तब्ध हुने गरेको देखिन्छ । भारतीय र नेपाली पर्यटकले मनपराउने बजारहरूमा नेपाली वा हिन्दी बोलेर थाई भाषा पनि बोल्ने, बुझ्ने र बोल्नेसँग किनमेल गर्न कति सजिलो भनेर धेरैले भन्छन् ।

मेरा थाई साथीहरू प्रश्न गर्छन्– के नेपालीहरू संसारभरि व्यापार गरेर हिँड्ने जाति हो ? कम्बोडियाको राजधानी नोमपेनमा प्राय: सबै इन्डियन रेस्टुरेन्टहरू नेपालीहरूकै छ । कम्बोडियन साथीहरूले मलाई सोधे– नेपालीहरू रेस्टुरेन्ट व्यवसायी हुन् र ? अमेरिका र युरोपमा इन्डियन रेस्टुरेन्ट भन्ने बित्तिकै नेपालीले चलाएको वा नेपाली कामदारहरूको बाहुल्य रहेको पाइन्छ ।

अफ्रिकाको रुवान्डा र अन्य अफ्रिकी देशहरूमा पनि संयुक्त राष्ट्र संघसँग आबद्ध संस्थाहरूमा नेपालीहरूको बाहुल्यले गर्दा नेपालीहरूको चिन्हारी नै अर्को छ । जिम्बाब्वेमा त राष्ट्र संघको प्रमुख नै नेपाली छन् । हामी आफैं पनि रुवान्डामा पाँच वर्षदेखि काम गर्दैछौं र यो नेपाली चिन्हारीले हामीलाई धेरै आदर–सत्कार मिलेको छ । ‘नेपथ्य’ जस्तो नेपाली ब्यान्डले संसारका ठूलठूला सहरका ख्यातिप्राप्त ठाउँहरूमा कार्यक्रम गर्ने गर्छ । दीपक रौनियारको सिनेमा न्युयोर्कका हलहरूमा हेर्न सकिन्छ । नेपाली अनुहारहरू संसारका बिभिन्न टेलिभिजन स्क्रिनमा देख्न सकिन्छ भने नेपालीहरू अब भारतका पुस्तक प्रकाशक गृहहरूमा सम्पादकका रूपमा भेटिन्छन् । भारतीय फिल्म र टिभीदेखि अमेरिकाका रंगमञ्चमा नेपालीहरू देखिन थालेका छन् । २०–२५ वर्षअघि नेपालीहरूको विदेशमा पहिचान गोर्खा सैनिकको रूपमा प्रचलित थियो भने अहिले विविध पहिचान बोकेर नेपालीहरू संसारमा चिनिन थालेका छन् । तर प्रश्न छ, कसरी यो पहिचानलाई समेटेर विश्वमा नेपाली चिन्हारीको काँचुली फेर्ने ?

नयाँ सोच, नयाँ पहिचान १५ वर्षअघि संसारमा चार–पाँच लाख नेपालीहरूको हितको निम्ति खोलिएको संस्था ‘एनआरएनए’ हाँकिरहेका हालका अध्यक्ष शेष घलेले नेपालीहरूको पहिचान परिवर्तनका लागि ‘भिजन–२०२०’ नाम दिएर अभियान थालेका छन् । नेपालीहरूको चिन्हारीमा परिवर्तन ल्याउने हो भने नयाँ पुस्तालाई समेट्न जरुरी छ । हामी नेपालीले अरू मुलुकबाट सिकेर स्वदेशमै सकारात्मक परिवर्तन ल्याउनुको साटो नेपालमै उन्मूलन गर्नुपर्ने गलत बानी र आचार–व्यवहारसमेत विदेशतिर लगेका छौं । गतवर्ष एनआरएनएको अमेरिका, न्युजर्सीमा भएको कार्यक्रममा आसन ग्रहणको ताँती, नेपालमा जस्तै समयको वास्तै नगर्ने प्रवृत्ति, नेपालका राजनीतिक नेताहरू लगेर राजनीतिक भाषण चुट्न लगाउने, एमाले, माओवादी र कांग्रेसको रेखाले विभाजित समाजको झल्को देखाउने जस्ता घटनाहरू देख्दा म त स्तब्धै भएँ । अमेरिकालाई आफ्नो कर्मभूमि मानेर बसेका मेरा एक मित्रले सोधे, ‘मेरा छोराछोरीले यस्तोमा आएर के गर्ने ? के सिक्ने ?’

नेपालीहरूको जनसंख्या नेपाल बाहिर द्रुतगतिले बढ्दैछ । कतारमा नेपाली जनसंख्या भुटानको कुल जनसंख्याभन्दा बढी भइसक्यो । नेपाल बाहिर रहेका ४०–५० लाख नेपालीहरू अब दुई भागमा विभाजित छन् । एउटा सानो समूह, जो नेपालमा आफ्नो राजनीतिक भविष्य कहिल्यै साकार हुन नसकेकाले विदेश पुगेर त्यहीं नेपाली संस्थाहरू खोलेर पुरानो धोको पूरा गर्नेमा लागेको छ । अर्कोले चाहिँं नेपाली चिन्हारीलाई घरमै थन्काई परिवारजन र साथीहरूको सानो समूहबीच आफ्नो चिन्हारी साँचेर राख्ने गर्दैछ । अमेरिकामा हुर्केर त्यहीं एउटा ठूलो बैंकको ठूलो पदमा रहेका व्यक्तिले मलाई भने, ‘दाइ, म एनआरएनएको वेबसाइटमा जान्छु, सबै नेपालीमा छ, केही बुझ्दिन । मलाई नेपाल र नेपालीहरूका निम्ति केही गर्न मन छ, तर मलाई न लामो भाषण हुने कार्यक्रममा जान मन छ, नत चुनावको राजनीतिमा होमिन ।’

अबको नेपाली पहिचान भनेको यी ‘ग्लोबल नेपाली’हरू हुन्, जसले संसारको कुनाकाप्चामा गएर हामी पनि विश्वको सबभन्दा श्रेष्ठ काम, पद वा व्यापारमा प्रतिस्पर्धा गर्न सक्छौं भन्ने सामथ्र्य राख्छन् र आफू नेपाली भएकोमा गौरव पनि गर्छन् । अब नेपालीहरूको यो चिन्हारी संसारसामु पेस गर्ने नयाँ अभियानकर्ताहरूको खाँचो छ । घाँटीमा माला, अनुहारमा अबिर, छातीमा ब्याज र आसन ग्रहणको फितुरो गर्नेहरूले सायद यो गर्न सक्दैनन् ।

नेपाल फर्कनुपर्ने बेला सहकर्मी राजेश श्रेष्ठले मलाई सोच्न बाध्य पार्ने कुरा राख्यो– हामी नेपालीहरूको आफ्नो राष्ट्रियता झल्काउने एउटा दिन पनि भएन । हुन पनि हो, हामी रुवान्डामा हुँदा होस् वा कम्बोडियामा वा अमेरिकामा, सोच्छौं– अन्य मुलुकहरूले झैं हामीले पनि नेपालको राष्ट्रिय दिवस भनेर, मानिसहरू बोलाएर, रातो चन्द्र फहराएर, सयौं थुंँगा बजाएर, नेपाली परिकार पस्केर आफ्नो देशलाई चिनाउन पाए कस्तो राम्रो हुन्थ्यो । तर राजेशले भनेझैं त्यो कुन दिनलाई मान्ने– फागुन ७ ? गणतन्त्र दिवस ? वा संविधान दिवस ? यी तीनमध्ये एक वा अर्कै कुनै दिनलाई नेपालको ‘नेसनल डे’ वा राष्ट्रिय दिवस बनाउनुपर्‍यो, जुन दिनलाई संसारभरिका नेपालीहरूका निम्ति आफ्नो राष्ट्रियता र पहिचान सम्झने/सम्झाउने अवसर बनोस् ।

कोलकातामा पढ्दाताका सन् १९८७ को साफ गेम्समा नेताजी इन्डोर स्टेडियममा नेपाली खेलाडीहरूलाई हाम्रो राष्ट्रिय झण्डा लहराएर सानो समूह भए पनि ‘रातो चन्द्र र सूर्य...’ गाएर त्यस बखतको युवा रगत तातेको झझल्को अहिले पनि आउँछ । हामीलाई राष्ट्रिय चिन्हारीको खाँचो छ । संसारभरिका नेपालीहरूलाई जोड्ने सञ्जालको खाँचो छ । फेसबुक र अन्य सामाजिक सञ्जालमा गालीगलौज, नकारात्मक सन्देशहरूको बाढीभन्दा सकारात्मक नेपाल निर्माण गर्नसक्ने सोचहरूको खाँचो छ ।

संसारमा त्यस्तो मुलुक विरलै होला, जहाँ विदेशमा बसोबास गरेर फर्केकाले देशलाई अघि बढाउन मद्दत नगरेका हुन् । हामीकहाँ २०४६ पछि विदेशमा बस्न सक्ने र बसिसकेकाहरू नेपाललाई नै कर्मथलो बनाएर फर्के । र धेरै क्षेत्रमा परिवर्तन ल्याए– स्वास्थ्य, मिडिया, शिक्षा, प्रविधि आदिमा । अहिले नेपालको पछिल्लो संक्रमणकालको अन्त्य हुनलागेको छ । विदेशमा दक्षता हासिल गरेका नेपालीहरू अब फेरि स्वदेश फर्केर इतिहासको नयाँ अध्याय लेख्न तयार हुनुपर्छ ।
www.sujeevshakya.com

प्रकाशित : आश्विन ५, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्

चिकित्सकलाई कस्ने कानुन !

डा. अरुणा उप्रेती

काठमाडौँ — सन् १९८७ मा भारतमा प्रसिद्ध अभिनेतृ स्मिता पाटिलको सुत्केरीपछि मुत्यु भयो । प्रसिद्ध डाक्टरहरू भएको प्रसिद्ध ब्रिच क्यान्डी अस्पतालमा प्रसिद्ध अभिनेतृको मृत्यु भएपछि हलचल मच्चियो । उनको मृत्युको कारण कहिले औलो भनियो, कहिले संक्रमण भनियो ।

सन् १९८७ मा भारतमा प्रसिद्ध अभिनेतृ स्मिता पाटिलको सुत्केरीपछि मुत्यु भयो । प्रसिद्ध डाक्टरहरू भएको प्रसिद्ध ब्रिच क्यान्डी अस्पतालमा प्रसिद्ध अभिनेतृको मृत्यु भएपछि हलचल मच्चियो ।

उनको मृत्युको कारण कहिले औलो भनियो, कहिले संक्रमण भनियो । तर वास्तविकता के भएर मृत्यु भएको कुरा त त्यहाँका डाक्टरहरूलाई मात्र थाहा भयो होला । तर भारतको कानुन, अदालत र स्मिताका परिवारले डाक्टरहरूको लापरबाहीले ‘वास्ता नगरेर’ मृत्यु भएको आरोप लगाएनन् । उनको मृत्यु दु:खद थियो, तर चिकित्सा विज्ञान पनि कहिलेकाहीं विवश भएर मृत्युको अघि हार मान्नुपर्ने हुन्छ भनेर त्यो बेलाका उपचारत डाक्टरले भनेका थिए । त्यही मृत्यु भएको कारणले अस्पताल नत तोडफोड गरियो, न डाक्टर र नर्सलाई अपराधझंै कठघरामा उभ्याइयो ।

३० वर्षअघि म प्रसूति गृहमा काम गर्दा पनि असुरक्षित गर्भपतन गराएर आएका महिला र किशोरीहरूको मृत्यु हुँदा कसैले अस्पताल तोडफोड गरेन, किनकि डाक्टरहरूले भ्याएसम्म गरेका छन् भन्ने परिवारका सदस्यलाई विश्वास थियो र त्यस्तो मृत्युमा अस्पतालको गल्ती होइन भन्ने कुरामा परिवारले स्वीकाथ्र्यो र वास्तविकता नै त्यही हुन्थ्यो ।

तर आजकलचाहिँ त्यसरी असुरक्षित गर्भपतन गराएकी कुनै महिलालाई गम्भीर अवस्थामा अस्पताल ल्याइयो र उपचारको क्रममा बिरामीको मृत्यु भयो भने डाक्टरले वास्ता नगरेर, समयमा नहेरेर भनेर परिवारले आवाज उठाउँछन् । त्यस्तै मौका हेरेर बसिरहेका बिचौलियाहरूले पनि त्यस्तो बेलामा परिवारका मानिसलाई अझ उचालेर अस्पतालबाट क्षतिपूर्ति १० लाख रुपैयाँ दिलाइदिन्छौं, हामीलाई २ लाख दिनुस् भन्छन् रे । त्यस्तो अवस्थामा सायद बिरामीका परिवारलाई पनि लाग्दो हो, मर्ने मान्छे त मरेर गइसक्यो । यदि अस्पतालले पैसा दिन्छ भने किन नलिने त ? एक पत्रकारले भनेका थिए ।

यसरी बिचौलियाले अस्पतालमा थर्काएपछि विचरा डाक्टर र निजी अस्पताल विवश हुन्छन् । यस्तो बेलामा उपभोक्ता मञ्च वा समूहले पनि डाक्टरकै गल्ती होला र त पैसा दियो भनेर डाक्टर र निजी अस्पतालको दोष देखाउँछन् । यसले गर्दा अराजकता बढ्न जान्छ । अस्पताललाई तोडफोड गरेर धुलो पारिदिन्छौं, अस्पताल नै चलाउन दिन्नौं । डाक्टरहरूको मोटर र अस्पतालको एम्बुलेन्स तोडफोड गरिदिन्छौं भनेपछि अस्पताल प्रशासनले कानुनी लडाइँ लड्न सक्दैन, सरकारले सुरक्षा दिन सक्दैन र विवश भएर अस्पताल १० लाख, २० लाख वा २५ लाख रुपैयाँ मृतकको परिवारलाई बुझाउँछन् । तर सरकारी अस्पतालमा चाहिँ कसैले पैसा बुझाउँदैनन् ।

यदि सुत्केरी महिला घरैमा धेरै रगत बगेर वा उच्च रक्तचाप भएर मरिन् भने बिरामीका परिवारले कोसँंग क्षतिपूर्ति वा १० लाख दिनुस् भनेर माग राख्छन् होला ? स्वास्थ्यकर्मीहरू छलफल अहिले गरिरहेका छन्– अब त हामीले सकेसम्म बिरामीको परिवारलाई पहिला नै कागज गराएर, हामी क्षतिपूर्ति दिने छैनौं भनेर लेखाउनुपर्छ कि क्या हो ? सुन्दाखेरी हास्यास्पद लाग्ने यो भनाइले डाक्टर र बिरामी बीचको अविश्वासको वातावरण त देखाउँछ नै, यस्तो अविश्वासले गर्दा चाहिएको बेलामा सहज उपचार नपाएर बिरामी र उसको परिवारले झन् दु:ख पाउँछन् ।

झन्डै दुई वर्षअघि श्रेष्ठ थरकी, ४६ वर्षकी एक महिलाले पानीको सट्टा झुक्किएर तेजाब (एसिड) पिउन पुगिछन् । उनी तड्पिएर बेहोशजस्तै भइन् र उनलाई अस्पताल लगियो । ५ बजे एसिड दुर्घटनामा परेकी उनलाई राति एक बजे एक निजी अस्पतालमा भर्ना लियो । त्यो पनि एक प्रतिष्ठित डाक्टरले अस्पतालमा फोन गरेर, ‘बिरामीलाई केही भयो भने परिवारले केही पनि गर्ने छैन’ भनेर वचन दिएपछि बिरामीलाई भर्ना गरेर आईसीयुमा १० दिन राखेर ठिक पार्‍यो । तर यदि ढिलो भएको भए बिरामीको त केही घन्टाभित्र मृत्यु भई नै सक्थ्यो । सरकारले बिरामीको उपचारको क्रममा मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति तिराउनुपर्छ भनी बनाउन लागेको विधेयक पारित भयो भने त कुनै पनि निजी अस्पतालले गम्भीर प्रकृतिका बिरामी, दुर्घटनामा परेका बिरामी, शल्यक्रिया गरेर ज्यान बचाउनुपर्ने गर्भवती महिलालाई भर्ना नै गर्ने छैन । किनभने उपचार गर्दागर्दै केही भवितव्य पर्‍यो भने त चिकित्सकको बदमासीले गरेको हो भनेर परिवारले भनिहाल्छ । अनि चिकित्सकले क्षतिपूर्ति बापत पैसा तिरिरहने ?

कुन ‘बुद्धिमान’ वकिल वा ‘उपबुज्रुक’ सांसदले यस्तो कानुन ल्याउन खोजेका होलान्, जसलाई यति पनि थाहा छैन कि डाक्टर भगवान होइन, उसले कोसिस गर्छ, बिरामी बचाउन । किनभने उसको त जीवनभरिको खुसी र इज्जत नै बिरामी ठिक भएर जानुमा छ । बिरामीलाई अझ बिरामी पार्नु र मार्नुमा होइन ।

केही औषधी प्रयोग गरेर रियाक्सन हुँदा शरीरमा फोका उठ्ने, बेस्सरी ज्वरो आउने हुनसक्छ । त्यस्तो औषधीबारे डाक्टरले बिरामी र उनको परिवारलाई बताए पनि कहिलेकाहीँ परिवारका सदस्यले बेवास्ता गर्छन् र बिरामीको स्थिति नाजुक भएर अस्पतालमा भर्ना हुनुपर्‍यो भने के यस्तो अवस्थामा डाक्टरले क्षतिपूर्ति तिर्ने ? त्यस्तै प्रकारले सुत्केरी महिलाको शल्यक्रिया गर्दागर्दै महिलाको रगत नै नथामिने समस्या हुनसक्छ, त्यो किन हुन्छ, डाक्टरले भन्न सक्दैन । तर यस्तो भएर सुत्केरी मरिन् भने के डाक्टरले शल्यक्रिया गरेको हुनाले भनेर सजाय पाउने ?सांसद र कानुनविदहरू कृपया आफ्नो आँखा र मस्तिष्क खोल्नुस् । डाक्टरले जानाजान लापरबाही गरेको हो भने त्यो सिद्ध गर्न नयाँ कानुन ल्याउनु पर्दैन । पहिलेकै कानुन पर्याप्त छ । पुराना कानुनलाई राम्रोसँग व्यवहारमा ल्याए पुग्छ ।

प्रकाशित : आश्विन ५, २०७४ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×