ड्राइभर हुन नदिने रोग

डा. विश्वबन्धु शर्मा

काठमाडौँ — आधुनिक यन्त्र र उपकरण परिचालन गर्नै नहुने कैयौंले आज संसारभरि जहाज, पानीजहाज, रेल, यात्रुवाहक बस र कार चलाइरहेका छन् र तिनका हातमा हजारौंको जीवन खतराको दोसाँधमा गुडिरहेको हुन्छ ।

ड्राइभर हुन नदिने रोग
जुन व्यक्तिलाई जे काम गर्न निषेधित छ या उपयुक्त छैन, त्यो त्यही गर्न लालायित हुन्छ । यस्तो विसंगतिको परिणाम सम्बन्धित व्यक्तिले मात्र होइन, निर्दोषहरूले पनि भोग्नुपर्छ ।

यस्तै एउटा घटनाको प्रत्यक्षदर्शी म आफैं भएको छु । धेरै वर्षअघिको घटना हो । म खैरेनीटारबाट पोखरा जाँदै थिएँ, बस चढेँ । सिटै थिएन । ड्राइभरको आडैमा च्यापिएर खडा भएँ । बसभित्रको भीडमाथि केही यात्रुले चुरोटको धूवाँ पनि मिसाइदिएकाले सास फेर्नै कठिन भइरहेको थियो । त्यस्तैमा बस स्टार्ट भयो । बसले ‘पिक–अप’ लिन के थालेको थियो, बिस्तारै बायाँतिर मोडिन थाल्यो । दायाँ–बायाँ पनि समतल चउर भएकाले बसले बाटो छाडेर पनि एकछिन गुड्यो । एक नम्बर गियरमै हुनाले स्टार्ट आफैं बन्द भएछ ।

बसका ड्राइभर त काठजस्तै दह्रो भएर हातखुट्टा, टाउको बटारेर अचेत अवस्थामा लडिसकेका रहेछन् । उनको मुखबाट फिँज आइरहेको थियो । एकैछिनपछि दह्रो भएको शरीर, हातखुट्टा, टाउकामा झड्का दिंँदै काम्न थाल्यो । सास थुनिएर शरीर नीलो हुन थालिसकेको थियो । जीउ काम्न थालेपछि घ्यार–घ्यार गरी लामो सास आउन थाल्यो ।

त्यतिबेलासम्म बसभित्र हल्लीखल्ली मच्चिइसकेको थियो । कति यात्री झ्यालबाट फाल हान्न थाले । कोही रुने, कराउने गर्न थाले । अधिकांश यात्रु निस्किसकेका थिए । मैले पनि निस्कन कोसिस गरेंँ, तर ड्राइभरसँगै भिडको बीचमा भएको र बस रोकिइसकेकाले जहाँको त्यहीं खडा भएँ । मसँगै उभिएका एक–दुई यात्रुले जुत्ता फुकालेर अचेत चालकलाई सुँघाउन खोज्दै थिए । उनको गलबन्दी मागेर त्यसैको टुप्पोले ड्राइभरको मुखमा भरिएको फिँज र रगत पुछिदिएँ, शिर पछाडि फर्काएर मिलेसम्म उनको शरीर कोल्टो पारिदिएँ र उनलाई सास लिन अलि सजिलो भयो । मेरो हाउभाउबाट खलाँसी, कन्डक्टर र बाँकी एक–दुईजना यात्रुलाई म डाक्टर रहेछु भन्ने लागेर होला, चुपचाप मैले सहयोग गरेको हेरेर बसे । केही मिनेटपछि ड्राइभरले आँखा खोले । उनले लरबराएको स्वरमा बरबराए, ‘आज त दिउँसै गाडीमै छोपेछ ।’ त्यतिकैमा बेस्सरी बान्ता पनि भयो । त्यसैबेला बाहिरबाट ड्राइभरलाई हेरिरहेका यात्रुहरू कराउन थाले, ‘यसले रक्सी पिएरै गाडी हाँकेको रहेछ, गोद यसलाई । खोस यसको लाइसेन्स ।’

केही समयमा भिड आफैं शान्त भयो र आफ्नो बाटो लाग्यो । बसभित्र ड्राइभर, कन्डक्टर, खलाँसी र ममात्र बाँकी थियौं । ड्राइभर यतिन्जेलसम्म पूरा सन्तुलनमा आइसकेका थिए । आखिर त्यो बस पोखरा जानेवाला थियो । मलाई पनि त्यहाँ पुग्नैपर्ने । मैले त्यही बसमा यात्रा गर्ने निर्णय गरेको देखेर कन्डक्टरले जिल्ल परेर सोधे, ‘हामी त स्टाफ भयौं, सँगै जानै पर्‍यो । यस्तो देखीदेखी तपाईं किन सँगै जान लाग्या नि ?’

मैले भनेँ, ‘डर त मलाई पनि लाग्छ, तर यो रोग तुरुन्तै दोहोरिने विरलै सम्भावना रहन्छ । पोखरा नपुगुन्जेल फेरि छोप्ने चान्स कमै छ । तर गाडी बिस्तारै हाँक्ने भए मात्र यसमा जान्छु ।’ उनीहरूले मेरो कुरा माने । हामी बिस्तारै पोखरातिर लाग्यौं । बाटामा कुरा गर्दै जाँदा मलाई ड्राइभरको रोगको पूरा जानकारी भयो । उनलाई यस्तो रोग १५/१६ वर्ष पहिले भएको थियो रे । सुरु–सुरुमा ५/६ महिनामा मात्र हुन्थ्यो रे, पछि गएर झन्डै हप्ताको १/२ पटक छोप्न थालेछ । ‘हिजो अस्तिसम्म त सधैं राति निदाएको बेला मात्र हुने गथ्र्यो, तर आज त दिउँसै समातेछ,’ ड्राइभरले भने । त्यस्तो हुँदा जिभ्रो, ओठ टोकिने, दिसा–पिसाब छुट्ने, जीउ कम्पन हुने आदि हुँदोरहेछ ।

यिनले ड्राइभरी पेसा गर्न थालेको पनि ३/४ वर्ष भइसकेछ । श्रीमतीले छोप्ने रोग छ, गाडी हाँक्ने काम खतरा हुन्छ, नगर्नोस् भनेर विरोध पनि गरेकी रहिछन् । तर दिनमा कहिल्यै नहुने र रातो कपडा देख्दा या बाख्राको मासु खाँदा पनि केही फरक नपरेको हुँदा यो छारेरोग हुँदै होइन भनेर ड्राइभरी पेसा सुरु गरेछन् । अब छिट्टै काँकडभित्ता लामो रूटको नाइट बस चलाउने सुरसारमा रहेछन् । आजसम्म उनले हाँकेको गाडीमा चढेका यात्रु र उनका नाइट बसका भावी यात्रु सम्झेर मेरो मनमा कहाली लाग्यो । खलाँसीले आफ्नो अनुभव पनि बतायो, ‘गुरुजी होटलमा सुत्दा बेला–बेलामा निद्रामा कामेको त मैले पनि देखेको छु । तर मलाई त रोग भन्ने पत्तै थिएन ।’

दिउँसो जागा अवस्थामा त्यो पनि गाडी हाँक्दा त्यस्तो भएकोमा ड्राइभर निकै आश्चर्य मानिरहेका थिए । कुरा के परेछ भने अघिल्लो साँझ उनले अलि बढी नै पिएका रहेछन्, साथीहरूको करले रातभरि तास खेलेर जागा बसेका रहेछन् । रक्सी, अनिद्रा, भोको सब कुरा मिल्यो । मैले सम्झाएँ, ‘राम्रोसँग औषधी गर्‍यो भने छारेरोग पूरा निको हुन्छ । यसमा उपचार पनि सरल र सस्तो छ । त्यस बाहेक माथि भनेझैं जाँड–रक्सी खान, भोको र जागा बस्न हुँदैन । उपचार नगरी यी सब कुराको वास्ता नगर्ने हो भने त्यस्तो अवस्था खतरनाक हुन्छ र मृत्यु पनि हुनसक्छ । तर उपचार र पथपरहेजमा बस्ने व्यक्ति अरू व्यक्तिसरह नै सामान्य हुन्छ, घरजम गर्न सक्छ, एक/दुई पेसा छाडेर जे काम पनि गर्न सक्छ । ती एक/दुई पेसामा एक नम्बरमा ड्राइभिङ पर्छ ।’ उनी तर्से । मैले थप्दै गएँ, ‘हो, छारेरोग लागेको व्यक्तिले ड्राइभिङ लगायत मेसिनरी चलाउने काम गर्नै हुँदैन । रोग निको भएपछि डाक्टरको सल्लाहले मात्र सीमित रूपमा गर्न हुन्छ । त्यस बाहेक आगोको नजिक या खस्न सक्ने अग्लो ठाउँ र डुब्न सक्ने पानीमा पनि काम गर्न हुँदैन ।’

बाटोभरि उनलाई छारे रोगबारे धेरै सम्झाएँ । उपचार नगरी सतर्कता पनि नअपनाउँदा अपांग भएका, आगोमा परेर अन्धो भएका, सवारी चलाउँदा दुर्घटना भएका विवरण सुनाएँ । साथै यो रोग मेरो आफ्नै विषय भएको कुरो पनि खोलेंँ । सायद त्यति लामो परामर्श पाएर होला, पोखरा पुगिसक्दा ड्राइभरको मन पनि बदलिएको थियो । मैले उनलाई सर्वप्रथम उपचार गरेर निको हुने प्रयास गर्न अनुरोध गरेंँ र बिदा हुने बेलामा आफ्नो ठेगाना पनि दिएँ । उनी मलाई भेट्न आउलान् भन्ने सोचेकै थिइन, तर केही दिनपछि आए । केही दिनभित्रै उनको रोग सामान्य औषधीबाट नियन्त्रण भयो । उनले ड्राइभरी छाडे, तर गाडीप्रतिको प्रेमले मैले मिस्त्री बन्ने सल्लाह दिएँ ।

छारे रोगका अधिकांश बिरामीको कहानी यिनै ड्राइभरको जस्तै हुन्छ । धेरैजसो यसलाई रोग हो नै भन्दैनन् । बोक्सी, भूत, पिशाच या कुलदेवताको प्रभाव भन्छन् । जसले यसलाई रोग भन्ने ठान्छन्, तीमध्ये कतिले त यसको उपचार नै हुँदैन भन्ने विश्वास गर्छन् र जसले उपचारको खोजी गर्छन्, तिनीहरू पनि डाक्टरी औषधीले छुने रोग होइन भनी पाठपूजा, झारफुक, जन्तर–मन्तर गर्नतिर लाग्छन् ।

छारेरोग प्राय: बाल्यकालमा या किशोरावस्थामा सुरु हुन्छ । यसलाई केटाकेटीको रोग भने पनि हुन्छ । तर कहिलेकाहीँ उमेर छिप्पिसकेपछि पनि सुरु हुन्छ । छारे रोगका विविध रूप हुन्छन् । माथि वर्णन गरिएको रूप सबैभन्दा प्रचलित छ । तर त्यसरी सम्पूर्ण शरीर काँपेर बेहोश हुनुको सट्टा शरीरको एक अंग (हात–खुट्टा) या एक भाग (दाहिने–देब्रे) मात्र कम्पन हुने र बिरामी पुरै होशमै रहने हुन्छ । कहिलेकाहीँ यसरी सीमित अंग काम्दा–काम्दै पुरै जीउ काम्न थाल्छ र मानिस बेहोश हुन्छ । छारे रोगबाट पीडित बच्चाहरूमा एउटा भिन्नै लक्षण देखिन्छ । उनीहरू २–३ सेकेन्ड बेहोश हुन्छन्, तर लड्दैनन् । बेहोश भएको बेला टोलाउने, आँखा झिम्क्याउने, हात, ओँठ, जिभ्रो चलाउने आदि गर्छन् । केही क्षणमै होश खुलेपछि उनीहरूलाई घटनाको याद रहँदैन । यस्तो रोगबाट पीडित बच्चाहरू दिनमा कैयौंपटक यसरी बेहोश भएर टोलाउँछन् । यस किसिमको छारे रोगबाट पीडित व्यक्तिलाई यदि उपचार नगरेमा, बेहोश भएर लड्ने र शरीर कम्पन हुने समस्या पनि देखिन सक्छ ।

छारे रोगलाई उपचार नगरेमा कालान्तरमा यसबाट पीडित व्यक्तिको मनस्थिति, व्यवहार विकृत हुँदै जान्छ र कहिलेकाहीँ विक्षिप्त नै देखिन्छ । यदि छारेरोग थियो भन्ने जानकारी नहुने हो भने साँच्चिकै पागलपन हो कि छारेरोग हो, छुट्याउन सकिँंदैन ।

छारेरोग मानिसको मस्तिष्कमा पैदा हुने विकृतिबाट निस्कन्छ । त्यस्तै नाम्ले जुकाले गिदीमा प्रवेश गरेर बसेको ठाउँ पनि छारे रोगको कारण हुनसक्छ । तर धेरैजसो बिरामीमा त्यस्तो केन्द्र अति सूक्ष्म हुन्छ र कुनै उपकरण या परीक्षणबाट पत्ता लाग्दैन । कहिलेकाहीँ ब्रेन क्यान्सर, ब्रेन ट्युमरजस्ता रोग सुरु हुँदा पनि छारेका लक्षण देखिन सक्छन् । तर यी बिरामीमा छिट्टै अरू लक्षण पनि देखापर्छन् र बिरामीलाई छारेबाट भन्दा अरू गम्भीर असरबाट बढी प्रभावित पार्छ । राम्रोसँग उपचार गरेमा अधिकांश छारेरोगी पूर्णतया निको हुन्छन् । यसको उपचार विधि पनि सरल र सस्तो छ । राम्रोसँग उपचार गरिरहेका छारेरोगीहरू अरू सर्वसाधारण जस्तै घरजम गर्ने, व्यवसाय गर्न स्वतन्त्र हुन्छन् । रोग पूर्ण नियन्त्रण नभएसम्म आगो, पानी, उचाइ, मेसिनरीबाट सतर्क हुनुपर्छ । लागूपदार्थ सेवन नगरी ठिक समयमा खाना खाने र सुत्ने (भोक, अनिद्रा नखप्ने) गर्न जरुरी छ ।

प्रकाशित : आश्विन १९, २०७४ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?