३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेसका कमजोरी

सन्दर्भ : बीपी जयन्ती
डा. हिमलाल घिमिरे

काठमाडौँ — आधुनिक युगमा फ्रान्सेली र अमेरिकी क्रान्तिले संसारलाई नै लोकतान्त्रिक मार्गमा हिँड्न पथप्रदर्शन गरेको छ । यी दुबै क्रान्तिले उपनिवेशका पर्खालहरू भत्काउनुका साथै निरंकुश शासकहरू विरुद्ध संसारका प्राय:जसो मुलुकका जनतालाई एकीकृत हुन हौसला प्रदान गरे ।

कांग्रेसका कमजोरी
नेपालमा पनि निरंकुश जहानियाँ राणाशासकहरू विरुद्ध जनता बोल्न, लेख्न, संगठित हुनथाले । राणा विरोधी आन्दोलनका लागि बीपी कोइराला, मातृका कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा कोइराला, दयाशंकर मुन्सी लगायत अन्य धेरै युवाको सक्रियतामा नेपाली कांग्रेस २००६ सालमा स्थापना भयो । लोकतान्त्रिक व्यवस्था स्थापना नभएसम्म कुनै पनि मुलुक विकास र प्रगतिको मार्गमा द्रुतगतिमा अगाडि बढ्न सक्दैन भन्ने मान्यता अनुरुप नेपाली जनताको मुक्तिका लागि भएको पहिलो क्रान्ति बीपी कोइरालको नेतृत्वमा कांग्रेसले सञ्चालन गरेको थियो । त्यसपछि पनि चाहे पञ्चायत विरुद्ध होस् वा शाही शासन, प्रजातन्त्र प्राप्तिको हरेक आन्दोलनमा कांग्रेसका शीर्ष नेताहरूको अग्रणी र उल्लेख्य भूमिका रह्यो, जसका कारण लोकतन्त्र संस्थागत भयो ।

बीपी र कांग्रेस
विश्वका महान नेताहरूसँग तुलना गर्न योग्य नेपालका एकमात्र नेता बीपी कोइराला नै हुनुहुन्थ्यो । बहुआयामिक व्यक्तित्वका धनी बीपीले प्रतिपादन गरेका विचार, मान्यता, नीति, दृष्टिकोण र सिद्धान्तकै भरमा नेपाली कांग्रेस चलेको छ । उहाँले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद होस् वा राजनीतिक संस्कारका कुरा, अझै सान्दर्भिक छन् । कांग्रेसले विरोधीहरूको प्रतिवाद गर्न होस् वा जनमानसलाई आकर्षित गर्न बीपीकै नाम जप्ने गर्छ । उहाँको निधनपछि नेपालमा ठूलो राजनीतिक परिवर्तन भयो । राजसंस्थाको अन्त्यसँंगै नेपाल गणतान्त्रिक देश बन्यो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयबारे बीपीले स्पष्टसँंग बोल्नुभएको छैन । त्यसैले पछिल्लो परिवर्तनपछिका जटिल विषयहरूबारे कांग्रेसमा नेतापिच्छे फरक–फरक विचार छरपष्ट आउने गर्छन् । केन्द्रीय नेता, पदाधिकारीबाटै यस्ता विचार बाहिर आउँदा पार्टीको आधिकारिक धारणा के हो भन्ने कुरामा समेत अन्योल हुने गर्छ ।

नीति, प्रशिक्षण र संगठन
प्रशिक्षणले पार्टीलाई जीवन्त राख्छ । पार्टीको नीति, सिद्धान्त, आदर्श, अवधारणा, जनअपेक्षा अनुुसारको घोषणापत्र निर्माणजस्ता कार्यहरू प्रशिक्षणकै माध्यमबाट जनतामाझ पुग्छ । विडम्बना कांग्रेसमा संगठन निर्माण, प्रशिक्षण, सदस्यता वितरण र कार्यकर्ता संरक्षणजस्ता कुरा नाम मात्रको हुने गरेको छ । नेता–कार्यकर्ता अध्ययन–अनुसन्धान नगर्ने, पैसा, मुड्की र चाकडीको भरमा राजनीति गर्ने र पद हत्याउने प्रवृत्ति छ भन्ने आरोप पनि लाग्ने गरेको छ । पार्टी कार्यकर्तालाई गुट–उपगुटमा विभाजन गर्ने र भागबन्डाको राजनीतिले पार्टीलाई कमजोर बनाएको कुरामा दुईमत छैन । समसामयिक विषय र पार्टीका नीति, सिद्धान्तबारे पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनसक्ने कांग्रेसका विद्वानहरू पाखा लाग्नुपरेको छ भने नीति तथा प्रशिक्षण दिने निकाय नै मृतप्राय: छ । त्यसैले कांग्रेसका कार्यकर्ताले के नीति लिने र पार्टी गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने कुरा जहिले पनि विवादित हुने गरेको छ । त्सयको प्रत्यक्ष असर पार्टीको संगठन निर्माणमा परेको छ । विगतको कुरा छाडौं, वर्तमान सभापतिले नेतृत्व सम्हालेको डेढ वर्षभन्दा बढी हँुदा पनि नीति तथा प्रशिक्षण प्रतिष्ठानले नेतृत्व पाएको छैन ।

२०४६ को जनआन्दोलनपछि अधिकांश समय सरकारमा रहेको कांग्रेसले के–के राम्रा काम गर्‍यो ? कांग्रेस अबको दस–पन्ध्र वर्षमा नेपाललाई कस्तो बनाउन चाहन्छ ? कांग्रेस अन्य राजनीतिक पार्टीभन्दा के–के कुरामा फरक छ ? आम नागरिकले कांग्रेसलाई भोट किन दिने ? कांग्रेस किन बन्ने ? कांग्रेसको परराष्ट्र, आर्थिक, जलस्रोत, पर्यटन नीति कस्ता छन् ? युवा, महिला, वृद्धवृद्धा नीति के हो ? संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा आधिकारिक धारणा के हो ? कांग्रेसको सबैजसो सभा, सम्मेलन, प्रशिक्षणमा शीर्षनेताहरू बीपी, गणेशमान, किशुनजी, गिरिजाबाबुको फोटो राख्ने र उहाँहरूको नाम लिने गरिन्छ । उहाँहरू इतिहास हो, त्यो इतिहासलाई बिर्सेर कांग्रेसको भविष्य बन्दैन । कांग्रेसकै कार्यकर्ताले बीपी, गणेशमान, कृष्णप्रसादहरू को हुन् भनेर सोध्नुपर्ने दिन नआओस् । यी र यस्ता धेरै कुरामा नेता, कार्यकर्ता र आम नागरिकलाई प्रशिक्षित गराउन जरुरी छ ।

उम्मेदवार चयन र अन्तर्घात
निर्वाचन लोकतन्त्रको प्रमुख आधार हो । निर्वाचनमा भाग लिनु र जित्नु दुवै महत्त्वपूर्ण कुरा हुन् । २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेस दुईपटक स्पष्ट बहुमतका साथ र अरू धेरैपटक सबैभन्दा ठूलो पार्टी बनेको छ । राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेल्न सफल नेपाली कांग्रेस सधंै जनताको मनमा रहन सक्यो । जनताकै अभिमतले कांग्रेस पटक–पटक सत्तामा पनि पुग्यो । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा प्राविधिक रूपमा कांग्रेस दोस्रो भयो । विगतका निर्वाचनहरूमा कांग्रेसले समयमै उम्मेदवार चयन गर्न नसक्नु, राम्रालाई भन्दा पनि हाम्रा र जनाधार नभएकाहरूलाई टिकट दिनु प्रमुख कमजोरी थियो भन्ने आक्षेप बारम्बार लाग्ने गरेको छ ।

कांग्रेसमा अन्तर्घात पुरानो रोग हो । ठूलो पार्टी, आकांक्षी धेरै हुनु स्वाभावै हो । तर यसको उचित व्यवस्थापन गर्न नसक्दा कांग्रेसले निर्वाचनमा ठूलो मूल्य चुकाउने गरेको छ । कांग्रेसले नेपाली समाजको आमूल परिवर्तनका लागि बोकेको मूल उद्देश्य र लक्ष्य प्राप्तिको मार्गमा अवरोध खडा गर्ने कुनै पनि शक्तिसँग घँुडा टेकेको छैन । बीपी कोइरालाले भन्नुभएको छ, ‘हामीले आफ्नो सिद्धान्तलाई त्यागेर कसैसँंग कुनै हालतमा सम्झौता गर्नु हुँदैन । तर हाम्रो विरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ, व्यक्तिगत हुनुहुँदैन ।’ हालसालैको स्थानीय निर्वाचनमा आफ्नो सिद्धान्त नै नमिल्नेहरूसँंग गरिएको तालमेलले कांग्रेसलाई नै घाटा भयो । आगामी दिनमा यी कुरामा ध्यान दिन जरुरी छ ।

पार्टीलाई पूर्णता दिने
शेरबहादुर देउवाले नेपाली कांग्रेसको वागडोर सम्हालेको पनि डेढ वर्षभन्दा बढी भयो । पार्टीलाई विधान अनुसार चलाउन र जीवन्त राख्न, नेता–कार्यकर्तालाई व्यवस्थापन गर्दै नेतृत्व विकास गर्न र अन्य पार्टीहरूसँंग प्रतिस्पर्धामा जान पनि समयमै केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने, विभागहरू गठन गर्ने जस्ता महत्त्वपूर्ण काम गर्नुपर्ने हो, त्यो अझै हुनसकेको छैन । यी काम जति छिटो गर्‍यो, पार्टीलाई त्यति नै फाइदा हुन्छ, कांग्रेसका सयौं नेता–कार्यकर्ताले काम र जिम्मेवारी पाउनेछन् । कांग्रेसको यो पुरानो रोग जतिसक्यो छिटो समाधान गर्नुपर्छ ।

कांग्रेसमात्र यस्तो पार्टी हो, जसले नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व ७० वर्षभन्दा बढी गरिसक्यो । धेरै पटक सरकारमा गयो र विकास निर्माणको क्षेत्रमा पनि धेरै काम गर्‍यो । कांग्रेसले के–के राम्रो काम गर्‍यो ? कांग्रेस नेतृत्वमा नहुँदा देशले कस्तो क्षति ब्यहोर्नुपर्‍यो ? यी र अन्य धेरै प्रश्नको उत्तर कांग्रेसले दिन जरुरी छ । नेपाली जनताले लोकतन्त्रका लागि यति धेरै लामो संघर्ष गर्दा पनि अपेक्षाकृत राजनीतिक स्थायित्व र विकास हुनसकेको छैन । त्यसैले कांग्रेसले राजनीतिक स्थायित्व र विकासमा दत्तचित्त भएर लाग्नुपर्ने भएको छ । लोकतन्त्रलाई संस्थागत गर्नुका साथै जनहितका कार्य गर्दै नेता–कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा ध्यान दिनुपर्छ ।

प्रकाशित : आश्विन २०, २०७४ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?