२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नियम नभएको खेल

साधना प्रतीक्षा

काठमाडौं — चौरमा केटाकेटीहरू खेल्दै थिए । कोही ससाना ढुंगा बटुलेर चाङ बनाउँदै थिए भने कोही वरपर सफा गर्दै थिए । तयारी पूरा भएपछि एउटाले खेल आरम्भ गर्न संकेत गर्‍यो, अनि सबैजना पंक्तिबद्ध भएर उभिए ।

नियम नभएको खेल

हातमा बल लिएर सबैले पालैपालो ढुंगा ढलाउने खेल खेले । कसैले नियम उल्लंघन गर्न खोज्यो भने अरुले तत्कालै विरोध गर्थे, अनि ऊ तत्कालै खेलबाट बाहिरिन्थ्यो । यदि कोही त्यस खेलका लागि अयोग्य रहेछ भने उसलाई खेलमा सामेल गरिँदैन्थ्यो । आाफ्नो पालो समाप्त भएपछि एउटाले अर्कालाई खेल्ने पालो सहजै प्रदान गर्थ्यो । साना केटाकेटीहरूले त्यसरी नियमपूर्वक खेलेको देखेर म चकित भएँ । उनीहरूले खेलेको त्यो ढुंगा ढलाउने खेलबाहेक गुच्चा, डन्डिबियो, भकुन्डो, छोइडुम आदि खेललाई पनि सम्झेँ ।

ती सबै खेलमा उनीहरूले निश्चित नियम बनाएका हुन्थे, जुन नियम सबैले पालना गर्थे । नियम भंग गर्नेलाई खेलबाट निष्कासित हुनुपर्ने हुनाले खेल सधैँ नियमभित्रै रहेर खेलिएको हुन्थ्यो । साना केटाकेटीहरूले त्यसरी चौरमा खेल्ने खेलबाट अलिमाथि उठेर म विद्यालय, कलेज आदिका ठूला मैदानदेखि रंगशालाहरूमा हुने खेलको सम्झना गर्न थालेँ । त्यहाँ त झनै कडा नियम पाएँ । नियमको पालना अनिवार्य हुन्थ्यो । अन्यथा खेलबाट बाहिरिनु मात्र होइन, निश्चित समयका लागि खेलबाटै प्रतिबन्धित हुनुपर्ने अवस्थासम्म आउँथ्यो । तर हामीकहाँ एउटा यस्तो खेल पनि छ, जसको कुनै नियम छैन । नियम बिनाको त्यो खेल अत्यन्त बदनाम पनि भएको छ । म नियम बिनाको त्यो खेल, त्यसका बदनाम खेलाडीहरू र तिनीहरूले गर्दा दुखिरहेको यो देशको नियतिसँगै दुख्न पुग्छु ।

हाम्रो देशमा खेलिने कुनै नियम नभएको त्यो खेल हो– राजनीति । यो खेल यहाँका केटाकेटीहरूले नभएर केही युवा अनि अधिकांश वयस्कले खेल्ने गर्छन् । त्यसैले यसमा कुनै नियम छैन । जसले खेले पनि हुन्छ, जसरी खेले पनि हुन्छ, जसले जतिपटक खेले पनि हुन्छ, खेलाडीहरूको स्वार्थ तथा शक्तिका भरमा खेलिने यस खेलमा खेल बिगार्ने खेलाडी खेलबाट बाहिरिनुको सट्टा झनै बलियो रूपमा प्रस्तुत हुने गर्छ । जुन खेलाडीले जति झेला गर्न सक्यो, ऊ त्यति नै चतुर मानिन्छ । एउटा खेलाडी कतिन्जेल खेलमा सहभागी हुने, खेलमा हारेपछि खेलबाट बाहिरिने, खेल खेल्नका लागि खेलाडीको निम्नतम योग्यता कति हुनुपर्ने आदिजस्ता कुनै पनि संहिता यो देशको राजनीतिक खेलमा लागू भएको पाइँदैन ।

प्रतिबन्धित राजनीतिक परिवेशमा भन्दा खुला परिवेश यस खेलका लागि उपयुक्त मैदान बनेको छ । त्यसैले प्रजातन्त्र प्राप्तिपछि देखिएको यो खेल प्रजातन्त्रको पुन:स्थापनादेखि लोकप्रिय हुँदै गणतन्त्रसम्म आइपुग्दा निकै प्रचलित बनेको छ । यहाँसम्म आइपुग्दा यो खेलले खेलाडीलाई मात्र नभएर राजनीतिक दल तथा तिनका सिद्धान्तलाई नै निष्प्रयोजन बनाइरहेको छ । प्रजातान्त्रिक पद्धति अन्तर्गत जनताको प्रतिनिधि छनोटको स्वतन्त्र अधिकार कुण्ठित गर्दै चुनावताका दलहरूबीच गठबन्धन गर्नु अनि निश्चित राजनीतिक सिद्धान्तमा आबद्धहरूलाई अन्य दलको उम्मेदवारलाई भोट दिन दबाब दिनु पनि यही खेलको प्रतिफल हो । यसले बहुदलीय तथा प्रजातान्त्रिक पद्धतिकै उपहास गरिरहेको छ ।

हामीकहाँको राजनीतिक खेलमा कुनै नियम छैन । त्यसैले अभियुक्तहरूले पनि चुनाव उठ्न पाउनुपर्ने माग सुन्नमा आइरहेछ । सायद खेल झनै उत्कर्षतिर लाग्दैछ । यहाँ निजामती सेवामा प्रवेश गर्दा त्यसको निम्न तहका लागि पनि निश्चित योग्यता पुगेको हुनुपर्छ । हरेक संघ/संस्था, पेसा, व्यवसाय आदिजस्ता सेवामा प्रवेशका लागि पनि योग्यताको मापदण्ड पूरा गर्नैपर्छ । तर देशको नीति निर्माण गर्ने निकायमा प्रतिनिधित्वका लागि गरिने प्रतिस्पर्धाका लागि भने निम्नतम योग्ताको निर्धारण गरिएको छैन । यही विडम्बनाका कारण देशको नीति निर्माण तथा तिनको कार्यान्वयन प्रभावकारी हुनसकेको छैन । राजनीतिक प्रतिनिधित्व र भागबन्डा भित्रको बेथिति साँच्चै हास्यास्पद देखिन्छ । चाहे संसदको प्रतिनिधित्व होस् या संसदीय समिति तथा मन्त्रालयकै जिम्मेवारी होउन्, त्यहाँ कुनै अनुभव, योग्यता र विशेषज्ञता देखिँदैन । कानुनको ‘क’ नजाने पनि कानुन मन्त्रालय सम्हाल्न पाएकै हुन्छ । विज्ञान र प्रविधिका नाममा कम्प्युटरसँग परिचित नभए पनि सोही मन्त्रालय चलाएकै हुन्छ । परराष्ट्र मामिला र कूटनीति कुन चराको नाम हो भन्ने अवस्थाकालाई पनि राजदूतका लागि सिफारिस गरिएकै हुन्छ ।

स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट उत्कृष्ट स्थानमा उच्चशिक्षा पूरा गरेका युवाहरूले प्रवेश पाउँदैनन्, यस खेलमा । केश पाकुन्जेल विश्वविद्यालयमा विद्यार्थी राजनीति गर्दै थाकेर ‘रिटायर्ड’ भएका युवाहरू यसका साछ्य बनेका छन् । किनकि यो खेलमा कसले कति पटकसम्म निरन्तर सहभागी हुनपाउने भन्ने नियम छैन । जिते पनि, हारे पनि, लोकप्रिय/अलोकप्रिय, तिरस्कृत/बहिस्कृत जे भए पनि एकछत्र प्रतिनिधित्व उसैको हुने गर्छ । सत्ता परिवर्तनका क्रममा हालै देखिएको गठबन्धन र नेतृत्वको पालो पद्धतिले यसैलाई प्रमाणित गरेको छ । वर्षदिन नबित्दै हुने सत्ता परिवर्तन यसैको उपज हो । मन्त्रालय र मन्त्रीको संख्याको जुन मनोमानी खेल भइरहेको छ, त्यसको प्रत्यक्ष मारमा हामी जनता परिरहेका छौँ । निरन्तर बढ्ने प्रशासनिक खर्चका कारण विकास निर्माण प्रभावकारी हुन नसक्ने समस्या त छँदैछ, आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको योजना सुरु गरी निर्माण कार्य पूरा नहुँदै पुनर्निर्माणको अवस्था देखिनु पनि यसै खेलको अर्को उपलब्धि हो ।

विश्वका विकसित मुलुकमा राष्ट्रपति तथा प्रधानमन्त्री भइसकेकाहरूले सधैं आफूलाई सोही सुविधाको भागिदार सम्झँदैनन् । पदमुक्त हुनासाथ उनीहरू आफ्नो पेसा वा दैनिकीमा फर्कन्छन् । सत्ता र शक्तिमा हुँदाको आर्जन र सुविधामा पुस्तौनी गुजारा गर्ने सपना देख्दैनन् । कामप्रतिको उनीहरूको सम्मानका कारण उनीहरूमध्ये कतिपय साइकल चलाएर हिँडिरहेका तस्बीरहरू देख्न पाइन्छ । हामीकहाँ भने एकचोटी सत्तामा पुगेपछि त्यसको लत लाग्ने अनि पुन:पुन: सत्तालाई केन्द्रबिन्दु बनाउँदै आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लाति साम, दाम, दण्ड, भेदको नीति अपनाएको पाइन्छ । यहाँ पद र सत्ता टिकाउन राष्ट्रको ढुकुटी नै रित्तिनेगरी मन्त्रिपरिषद बनाउने, विदेश भ्रमणका नाममा सबैको पालो पुर्‍याउने गरिन्छ । यतिमात्र कहाँ हो र ? सत्तामाथि आफ्नो उपस्थिति बनाइराख्न छिमेकी मुलुकहरूसँग अपारदर्शी लेनदेन र सम्झौता भएको कुरा पनि नकार्न सकिँदैन ।

वर्षौंदेखि खेलिँदै आएको नियम बिनाको यस खेलका कारण हाम्रो राज्यव्यवस्थाका सबै पक्ष विकृत बनेका छन् । राजनीतिक परिवर्तनपश्चात् आमूल परिवर्तनको आकांक्षा बोकेका हामी केवल सपनामा नै सुखानुभूति गर्न विवश छौँ । महँगी, बेरोजगारी, प्राकृतिक विपत्ति, भ्रष्टाचार, गरिबी आदि समस्या भोग्नु नै हाम्रो नियति बनिरहेको छ ।

[email protected]

प्रकाशित : आश्विन २०, २०७४ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?