कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

हामी कस्तो नेता खोज्दै छौं ?

मिलन पाण्डे

काठमाडौँ — सत्तरीको दशकसम्म क्यानाडालाई ‘ह्वाइट क्यानाडा’ भनिन्थ्यो । क्यानाडा उदार बनिसकेको थिएन । १९६८ मा पियरी ट्रुडो प्रधानमन्त्री भएपछि क्यानाडाले बहुसांस्कृतिक नीति अपनायो, जुन चलिआएको धारभन्दा विपरीत थियो ।

हामी कस्तो नेता खोज्दै छौं ?

यो निर्णयसँगै क्यानाडा अध्यागमनमा उदार बन्यो, जसले शिक्षा, स्वास्थ्य, भाषामा उत्कृष्टतालाई प्राथमिकता दिलायो । ट्रुडोले बहुसांस्कृतिक पाटोलाई अर्थतन्त्रसंँग जोडे । क्यानाडा विकासको पथमा लम्कियो ।

ली क्वान युले सिंगापुरमा लगातार करिब तीन दशक शासन गरे । उनको शासनशैली तानाशाहको जस्तै देखिन्थ्यो, तर उनले आम नागरिकलाई आफ्नो नेतृत्वप्रति विश्वास दिलाउन सफल भए र सिंगापुरले विकास चुम्यो । सन् १९६१ को सैनिक विद्रोहपछि स्थापित कोरियाका नेता पार्क चुङ हीले जनताको भावना समेट्दै कठोर विकास नीति अपनाए । उनले पनि जनसमर्थन पाए । मलेसियाका मोहम्मद महाथिर हुन् वा रुवान्डा राष्ट्रपति पल कागामे, यी सफल नेतृत्वले आफ्नो माटो सुहाउँदो विकासपथ अवलम्बन गरे । आम नागरिकलाई नतिजा दिए । जनसमर्थन पाए ।

हाम्रा नेता कहाँ चुक्दैछन् ?
नेपाल सात दशकदेखि संक्रमणकालमै अल्झिएको छ । यो बीचमा पटक–पटक राजनीतिक आन्दोलन भए, अनि प्रत्येक आन्दोलनमा आम नागरिकले ज्यानको बाजी थापेर नेतृत्वलाई साथ दिए । प्रत्येक आन्दोलनले नेतालाई स्थापित गर्‍यो, अनि नेताले देश हाँक्ने अवसर पाए । तर कुनै पनि नेताले त्यो अवसर सदुपयोग गर्न सकेनन् । गणतन्त्र प्राप्तिपछि हाम्रा नेता उद्देश्यविहीन झैं बने । आन्दोलनको नेतृत्व गरेकै व्यक्तिले समृद्धिको पनि नेतृत्व गर्न तम्सनु नै समस्याको कारण देखिँदै गयो । सही समयमा सही नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न नसक्नु नै नेतृत्वको असफलताको प्रस्थानविन्दु रह्यो ।

हाम्रा नेताले आन्दोलनमा कार्यकर्ता प्रयोग त गरे, तर आन्दोलन सकिएपछि कार्यकर्तालाई अलपत्र छाडे । आफ्नै कार्यकर्ता व्यवस्थापनमा चुकेपछि उनीहरूले कार्यकर्ताबाटै विश्वास गुमाउन सुरु गरे, जुन विस्तारै आम नागरिकसम्म फैलियो । नेताहरू आफ्नै सानो गुटमा सीमित भई व्यक्तिगत स्वार्थमै रमाइराखे । नतिजा, आन्दोलनको बेला पाएको जनसमर्थन गुम्दै गयो । निर्णय प्रक्रियामा अन्य पक्षलाई सामेल गराउन सकेनन् । जसले गर्दा सहकर्मी, कर्मचारी अनि आम नागरिकले उनीहरूको निर्णयमा अपनत्व महसुस गर्नै सकेनन् । त्यसको असर कार्यान्वयन पक्षमा देखियो । यस्तै नेताहरूले आफू कमजोर हुने डरले देशका विभिन्न अंग (संस्था) हरू बलियो बनाउन कहिल्यै जोड गरेनन् । तर त्यही संस्थाहरू कमजोर हँुदै जाँदा उनीहरू आफै पनि कमजोर बन्दै गए ।
भिसा क्रेडिट कार्डका संस्थापक डी हकले भनेका छन्, ‘तिमी सफलतापूर्वक नेतृत्व गर्न चाहन्छौ भने आफ्नो समयको ४० प्रतिशत समय आफैलाई नेतृत्व गर ।’ विडम्बना, हाम्रा नेताले आफैलाई समेत नेतृत्व गर्न सकेनन् । उनीहरू आसेपासे अनि केही कार्यकर्ताको नियन्त्रणमा देखिन्छन् । नेताले निश्चित समय आफ्नै व्यक्तित्व विकासमा पनि खर्चनुपर्छ । तर उनीहरूले त्यसमा ध्यान दिएनन् । नेताहरूले अल्पकालमा हुने व्यक्तिगत अनि पार्टीगत फाइदाका निम्ति जे पनि बोले, जे पनि गरे । तर त्यसको दूरगामी असरबारे सोचेनन् वा सोच्न सकेनन् । तसर्थ आफ्नै अदूरदर्शिताको भारीले थिचिए । तर पनि उनीहरूले न आत्मालोचना नै गर्नसके, नत त्यसलाई सच्याउने सामथ्र्य नै राखे ।

यस्तो हुनुपर्छ नेता
२१ औं शताब्दीले खोजेको नेतामा निम्न गुण हुन जरुरी छ ।

भिजन : नेतामा स्पष्ट भिजन हुनुपर्छ । उसले ससानो व्यवस्थापनका कुरा बुझ्न जरुरी छ र ती प्रत्येक कुरालाई ठूलो चित्रसँग जोड्ने सामथ्र्य राख्न सक्नुपर्छ । आफूले यो काम किन गरिरहेको छु र यसले भविष्यमा देशका अन्य पाटोलाई कसरी असर गर्छ भन्ने हेक्का राख्न सक्नुपर्छ ।
कार्यान्वयन अनि व्यवस्थापन : नेल्सन मन्डेलाले भनेका छन्, ‘योजना बिनाको कार्य समयको बर्बादी हो । कार्यान्वयन बिनाको योजना दिवास्वप्ना हो । कार्यान्वयन सहितको योजनाले चाहिँ संसार बदल्न सकिन्छ ।’ आफ्नो भिजनको कार्यान्वयनमा दृढतापूर्वक निरन्तर लाग्नु नै नेतृत्वको सफलताको कडी हो । नेता आफै सबै कुराको विज्ञ हुँदैन, तर कुन काम कसलाई गराउने अनि कसको सल्लाह लिने भन्नेबारे चाहिँ नेता विवेकी हुन जरुरी छ ।

विश्वसनीयता : राजनीतिमा नेताले आफ्नो टोली, समकालीन नेतृत्व अनि आम नागरिकको विश्वास जित्न जरुरी छ । जब नेताले इमानदारिताका साथ आम नागरिकको समस्यालाई मेरो समस्या हो भनेर समानुभूति राख्छ, तब आम नागरिकको साथ मिल्छ । जनआस्था प्राप्त सरकार जनमत प्राप्त सरकारभन्दा शक्तिशाली हुन्छ ।

टिम वर्क : एउटा भनाइ छ, ‘तिमीले जस्तो पनि परिवर्तन ल्याउन सक्छौ, तर एक्लै सक्दैनौ ।’ नेताले आफ्नो भिजनमा सबैको अपनत्व ल्याउन सक्नुपर्छ । आफ्नो टोलीमा सकारात्मक ऊर्जा सञ्चार गर्न सक्नुपर्छ । नेताले आफू होइन कि आफ्नो संगठन बलियो बनाउन सक्नुपर्छ ।

कम इगो : राजनीतिमा सबैभन्दा ठूलो रोग ‘इगो’ हो । जति ‘ठूलो’ व्यक्ति, उति ठूलो इगो । यो मानवीय गुण नै हो । तर नेताले यसमै आफूलाई व्यवस्थित गर्न सक्नुपर्छ । आफ्नो मात्रै सोच ठिक छ र म आफैले मात्रै गर्न सक्छु भन्ने व्यक्तिले नेतृत्व गर्न सक्दैन ।

प्रभावशाली व्यक्तित्व : नेता प्रभावशाली हुन जरुरी छ । ‘करिजम्याटिक’ नेताले आफूलाई सजिलै जनतासँग जोड्न सक्छ । आफ्नो संगठन अनि विपक्षलाई समेत विश्वासमा लिन सक्छ । अरुको भावना बुझ्न सक्ने अनि आफ्नो भिजन, ऊर्जा अनि विश्वासलाई अभिव्यक्त गर्नसक्ने व्यक्ति नै नेता बन्न सक्छ ।

मूल्य–मान्यताको एकरूपता : नेतृत्वको सफलता अनि असफलता नेतृत्वको व्यक्तिगत मूल्य–मान्यता अनि उसले नेतृत्व गरेको संगठनको मूल्य–मान्यता बीचको एकरूपताको डिग्रीले निर्धारण गर्छ । तसर्थ नेताले आफूले काम गर्ने संगठन, आफ्ना सहकर्मी अनि पार्टी कार्यकर्ताको मूल्य–मान्यताबीच एकरूपता ल्याउन पनि नेतृत्व लिनुपर्छ ।

अन्त्यमा, २० औं शताब्दीसम्म नेतृत्वको सफलताको मापन धेरै हदसम्म उसको त्यागले निर्धारण गर्‍यो । २१ औं शताब्दीमा नेतृत्वको सफलताको मापन त्यागले मात्रै गर्न सकिँदैन । अबको राजनीतिले नेताको योगदान, नेताले लिएको निर्णयको दूरगामी असर अनि त्यसले आम मानिसमा ल्याउने प्रभावसमेत हेरेर मूल्यांकन गर्नेछ । हाम्रो देशलाई समृद्ध बनाउन पनि सक्षम नेतृत्व चाहिएको छ, जो दूरदर्शी अनि आम नागरिकको विश्वास जित्न सक्ने होस् । हाम्रो देशले आम मानिसभन्दा अगाडि पनि होइन, पछाडि पनि होइन, सँगसँगै हिँड्न सक्ने नेता खोजिरहेको छ ।
ट्विटर : @milanleads

प्रकाशित : आश्विन २२, २०७४ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?