१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विदेश अध्ययनको सामाजिक प्रभाव

नरेन्द्र मिश्र

काठमाडौं — अन्य समाजझैं नेपाली समाज पनि हरेक तहमा तीव्र गतिमा परिवर्तित भइरहेको छ । यसको अर्थ मानिसका इच्छा, आकांक्षा र चाहना पनि समाज सँगसँगै बदलिन्छन् भन्ने हो ।

विदेश अध्ययनको सामाजिक प्रभाव

यसरी बदलिने क्रममा पुराना पुस्ताको तुलनामा नयाँ पुस्ताको सोच, विचार र दृष्टिकोणमा पनि व्यापक परिवर्तन भइरहेको छ । धेरै परिवर्तनमध्ये विदेशमा उच्च शिक्षा हासिल गर्नु पनि एक हो । यसको सम्बन्ध व्यक्ति, परिवार र समाजसँग पनि गाँसिएको हुन्छ । विदेशमा अध्ययन गर्न जाँदा भौतिक रूपमा आमाबुबाबाट टाढा रहने अवस्था रहन्छ । यसले पारिवारिक अन्तरक्रिया र सामाजिक सम्बन्धमा प्रभाव पार्छ कि पार्दैन ? यो व्यक्तिगत चाहना हो कि बदलिँदो सामाजिक परिवेश ? यसले हाम्रो समाजमा के–कस्तो असर पारिरहेको छ ? प्रश्नहरू स्वाभाविक रूपमा उठ्छन् ।

प्रत्येक दिन लगभग १५० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि ६८ भन्दा बढी देशमा जाने गरेको पाइन्छ । शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार गत वर्षको सुरुको नौ महिनामा लगभग ४० हजारभन्दा बढी विद्यार्थीले अध्ययन स्वीकृति (नो अब्जेक्सन लेटर) लिएको पाइन्छ । तीमध्ये करिब ८० प्रतिशत विद्यार्थीले सम्बन्धित देशको भिसा पाएको अनुमान छ, जसमा मुख्यत: अस्ट्रेलिया, जापान, अमेरिका, पोल्यान्ड, क्यानडा, चीन र केही युरोपेली देश पर्छन् ।

नयाँ पुस्तामाझ विदेश अध्ययन गर्ने चाहना किन बढ्दै छ त ? यसको उत्तर खोज्दा एउटै मात्र कारण पक्कै पाइँदैन । आकर्षण र विकर्षणका दुइटा पाटाबाट यसलाई हेर्न सकिन्छ । आकर्षणमा विदेशमा गुणस्तरीय शिक्षा, विषयगत विशिष्टता, उज्ज्वल भविष्य निर्माण, पढाइका साथै आम्दानी, रोजगारीको अवसर र व्यक्तिगत पारिवारिक स्वतन्त्रताले तानेको देखिन्छ । विदेशमा रहेका आफन्त, छरछिमेक र साथीहरूसँगको अन्तरक्रियाले पनि यसलाई प्रोत्साहन गरेको देखिन्छ । अर्कोतर्फ, विकर्षणका दृष्टिले हेर्दा स्वदेशमा देखिएको अवसरको कमी, समयसापेक्ष शिक्षाको अभाव, बढ्दो बेरोजगारी र राजनीतिक अस्थिरताले पनि विदेशमा अध्ययन र स्थायी बसोबास गर्ने क्रम बढिरहेको पाइन्छ ।

नेपाली विद्यार्थीहरू तुलनात्मक रूपमा मिहिनेती, इमानदार र लगनशील छन् भन्ने गरिन्छ, जसले आफ्नो मिहिनेत, ज्ञान र सीपलाई विदेशमै सदुपयोग गरी व्यक्तिगत मान–प्रतिष्ठाका साथै उच्च हैसियत बनाउन सफल भएका केही उदाहरण पनि छन् । यसका साथै अध्ययन गर्ने उद्देश्यले विदेश गए पनि धेरै नेपाली विद्यार्थीको पहिलो प्राथमिकता रोजगारी र विदेशमै स्थायी बसोबास गर्ने रहेको पाइन्छ । केहीले चाहिं स्वदेश फर्केर आफ्नो ज्ञान, सीप र अनुभवलाई नेपाल र नेपाली समाजको रूपान्तरणमा लगाएको पनि भेटिन्छ । तथापि अध्ययन सकेपछि स्थायी रूपमा स्वदेश फर्किने विद्यार्थीहरू तुलनात्मक रूपमा कम छन् ।

विदेशमा पढ्न जानु या उतै बस्नुका सामाजिक पाटा पनि छन् । यसले नयाँ पुस्तामा अध्ययनको विशिष्टिता, पेसा, जीवनशैलीदेखि पारिवारिक अन्तरक्रिया र सम्बन्धहरूमा पुरानो पुस्ताभन्दा फरक बनाउँदै लगेको छ । यसले व्यक्तिको ज्ञान, पेसाको छनोटदेखि विवाह र परिवार सञ्चालनसम्म स्वयं व्यक्तिको आत्मनिर्णयलाई मुख्य बनाउँदै लगेको छ । नयाँ स्थान, नयाँ साथीहरूसँगको घुलमिल र फरक जीवनशैलीले पनि यसमा भूमिका खेलेको छ, जसले गर्दा पारिवारिक सामूहिक सोचाइ, निर्णय, मूल्य र मान्यताहरूमा पुरानो पुस्ताभन्दा नयाँ पुस्तामा नयाँपन आउँदै छ । छोटकरीमा भन्दा यसले पुस्तान्तरणमा बदलाव ल्याउँदै छ भन्ने पनि हो ।

यो परिवर्तनका पछाडि धेरै कारण छन् । तीमध्ये सामाजिकीकरण पनि एक हो किनभने हाम्रो बदलिँदो समाजमा पुरानो पुस्ता र नयाँ पुस्ताबीच सामाजिकीकरणको पद्धति र प्रक्रियाहरूमा फरकपन आउँदै छ । यसको अर्थ नयाँ पुस्ताको सामाजिकीकरणमै परिवर्तन ल्याउँदै छ भन्ने हो किनभने पुरानो पुस्ता बढी संयुक्त परिवारमा सामाजिकीकरण भएको पाइन्छ भने नयाँ पुस्ता विशेषत: एकल परिवारमा बस्ने चलन बढ्दै छ । यसले गर्दा नयाँ पुस्ताको शिक्षा लिने तरिका, सोच, विचार, रहनसहन, जीवनशैली र उद्देश्यमा पनि फरकपन देखिँदै छ । यो समाज बदलिने स्वाभाविक क्रम पनि होला । तसर्थ सामाजिकीकरणमा आएको बदलावले नयाँ पुस्ताको मूल्य, मान्यता र विचारका साथै जीवन र जीवनशैलीलाई बुझ्ने र जिउने तरिकामा पनि भिन्नता देखिँदै छ ।

यस्तो परिवर्तनले पारिवारिक अन्तरक्रिया र सम्बन्धमा प्रभाव पार्छ कि पार्दैन ? यसको उत्तर खोज्दा, यसको सम्बन्ध पुरानो पुस्ताको बुढेसकालसँग पनि जोडिन थालेको देखिन्छ किनभने हाम्रो सामाजिक परिवेशलाई हेर्दा अझै पनि आफ्ना सन्तानले बुढेसकालमा हेरचाह वा पालनपोषण गरून् भन्ने मान्यता छ । यो हुनु स्वाभाविक पनि हो किनभने राज्यले आशातीत रूपमा आम नागरिकको बुढेसकाललाई जिम्मा लिइनसकेको अवस्था छ । तसर्थ एक वा दुई सन्तान मात्र भएको परिवारमा हजुरआमा–बुबा र आमा–बुबाको पुस्ता मात्र रहने अवस्था बढ्दै गएको छ, जसले सामाजिक, सांस्कृतिक, आर्थिकका साथै मनोवैज्ञानिक रूपमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्ने क्रम बढ्दो छ । यसको अर्थ स्वदेशमा आमाबुबालाई भौतिक रूपमा आफ्नो सन्तान आवश्यक पर्दा स्वयं उपस्थिति भई हेरचाह वा स्याहारसुसार गर्ने क्रम अब बिस्तारै पातलिँदै गएको छ ।

त्यसो हो भने अब बुढेसकाल कता बिताउने ? स्वदेशमै कि विदेशमा छोराछोरीसँग ? हजुरआमा–बुबा र आमा–बुबाको पुस्ता मात्र स्वदेशमा रहेको परिवारमा यो प्रश्न जटिल बन्दै छ । यसको उत्तर खोज्न पनि त्यत्तिकै कठिन छ किनभने विदेशमा आमाबुबालाई नयाँ स्थान, नयाँ पुस्ताको बदलिँदो जीवनशैली, व्यस्तता र कम अन्तरक्रियाले पनि सामाजिक समायोजन हुन कठिन पर्ने गरेको छ । जब कि बुढेसकाल बढ्दै जाँदा व्यक्तिले स्वाभाविक रूपमा अझ बढी पारिवारिक वा सामाजिक अन्तरक्रियाको चाहना राख्छ । यसको कमीले दैनिक दिनचर्यामा असजिलोपन, एक्लोपन र निराशा सिर्जना हुन सक्छ । हाम्रो समाज त्यसतर्फ पनि उन्मुख हुँदै छ ।

प्रश्न उठ्न सक्छ, यस्तो पारिवारिक असहजतालाई कम गर्न सकिन्छ कि सकिन्न ? केही परिवार र छरछिमेकको अनुभवलाई आधार मानेर हेर्दा नेपालीको बुढेसकाल विदेशमा भन्दा स्वदेशमा तुलनात्मक रूपमा बढी सहज हुन सक्ने देखिन्छ । तथापि यो कुरा व्यक्ति, पेसा, परिवार, आर्थिक हैसियत र जीवनशैलीको प्रकृतिअनुसार फरकफरक हुन सक्छ किनभने केही मुलुकहरूको अनुभवलाई हेर्दा आर्थिक हैसियत सबल रहेको परिवारमा आवश्यक सांस्कारिक कार्यबाहेक रखालो राखेर पनि बुढेसकाललाई केही सहज बनाएका थुप्रै उदाहरण छन् । छोटकरीमा भन्दा पारिवारिक संरचना, स्वरूप र आर्थिक हैसियतले बुढेसकाललाई धेरथोर सहज बनाउन मद्दत गर्छ भन्ने पनि हो ।

भनिन्छ, व्यक्तिको अन्तरक्रियाको स्वरूप वा शैलीले उसको सामाजिक सम्बन्धलाई कसिलो वा खुकुलो बनाउने गर्छ । यसको अर्थ जुन व्यक्तिसँग प्रत्यक्ष अन्तरक्रिया रहिरहन्छ, उसैसँग आफ्ना द:ुख–सुख साटासाट गर्नु मानवीय स्वभाव पनि हो । तथापि गाउँ, सहर र सहरबाट विदेश पस्ने क्रमले आमाबुबाको पुस्ताको मात्र पारिवारिक बनावट, बुढेसकालको जीवनशैली र पातलिँदो प्रत्यक्ष अन्तरक्रियालाई चाहेर वा नचाहेर स्वीकार गर्नुपर्ने अवस्था देखिन्छ । यसलाई अर्को अर्थमा भन्दा– नेपाली समाजको संरचनागत परिवर्तनका लागि यसले एउटा इँटा थप्ने काम गरिरहेको छ । तथापि व्यक्तिको स्वास्थ्य, सक्रिय जीवनशैली, सामाजिक नेतृत्व र सामाजिक अन्तरक्रियाले जीवन जिउन अलि बढी सहज बनाउन सक्छ । यसका साथै बदलिँदो पारिवारिक अन्तरक्रिया, सामाजिक सम्बन्ध र बुढेसकालको जीवनशैलीलाई बुझ्न र सहज बनाउन थप सामाजिक अनुसन्धानको पनि खाँचो देखिन्छ ।

प्रकाशित : आश्विन २२, २०७४ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?