कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पोस्ट बक्स नं. ९४ र ६९४

शिशिर वैद्य

भारतबाट आउने पत्रपत्रिकाका बिक्रेतालाई हाकिमहरू र्‍याखर्‍याख्ती पार्थे । कहिलेकाहीं
त पार्सल नै सिज हुन्थ्यो । अञ्चलाधीश कार्यालयले सेन्सर्ड भनेर छाप लागेका
पत्रिका पनि हुलाकका हाकिम हेर्न खोज्थे ।

पोस्ट बक्स नं. ९४ र ६९४

गोश्वारा हुलाक, निकै पुगिन्थ्यो, केही वर्ष अघिसम्म । फिनिक्स साइकल कैंची मारेर । भोटाहिटी, महाबौद्ध, भोंसिको, टेबहाल अनि सुनधारा । महाबौद्ध, भाेंसिको र वटुमा अहिलेजस्तो भिड लाग्दैनथ्यो । महाबौद्ध क्षेत्रमा लस्करै मोमो पसल थिए । सडकमा लोकल कुखुरा बेच्न बसेकाहरू भेटिन्थे ।

दुई पोस्ट बक्स थिए । ९४ र ६९४ । गोश्वारा हुलाकको पूर्वपट्टि, गेट छेवैको भवनमा थिए, पोस्ट बक्सहरू । एकापट्टि प्वालै–प्वाल भएको लामो पर्खाल, अर्कोपट्टि फलामका स–साना बाकसहरू । भित्तोजस्तो । फलामको लामो साँचो बाकसको प्वालमा छिराएर दाहिने घुमाएपछि ढक्कन र साँचो फुत्त बाहिरिन्थ्यो, एकैपटक । केही एरोमेल, खाम, पोष्टकार्ड हुन्थे, बाकसमा । रजिस्ट्री आएको भए सानो चिट । चिट बोकेर पछाडिपट्टिको भवनमा जानुपथ्र्याे । चिट बुझाएपछि पाइन्थ्यो, रजिस्टर्ड पार्सल । अलि ठूला पोका आउँदा भित्रै जानुपर्ने हुन्थ्यो । पूर्वी भवनबाट सानो गल्ली हुँदै भित्र जानुपथ्र्याे । गल्लीको मुखैमाथि फनन घुम्ने बेरियर । हरेक व्यक्ति त्यो गल्लीमा प्रवेश गर्दा बेरियरलाई घुमाएरै जानुपथ्र्याे । मलाई बेरियर घुमाउन मजा आउँथ्यो । अनि पार्सलको बहाना बनाएर म बेरियर घुमाउने गर्थें ।

भोटाहिटीको पसलसम्म फर्किंदा मूल सडकमा साइकल दौडाउनुको मज्जा नै बेग्लै हुन्थ्यो । खासै गाडी नगुड्ने सुनधारा, भोटाहिटीको सडक साइकलमैत्री थियो । पोस्ट बक्स खाली भएको दिन टुँडिखेलमा फनफन घुमाइन्थ्यो, साइकल । टुँडिखेलमा साइकल सिक्दा म धेरैपल्ट लडेको छु । एकजना दाइ थिए । उनी पुराना कागज लिन पसलमा आइरहन्थे । कागजको खाम बनाउँथे उनी । उनैले मलाई साइकल सिकाएका थिए । साइकल सिक्दा म उनले समातिराखेको ठान्थेंँ र साइकल हुइँक्याउँथें । उनले त परै मलाई छाडिसकेको हुँदारहेछन् । अनि समाउने हात नदेखेपछि म डरले भ्यात्त भुइँमा बजारिन्थें । उनी मलाई गाली गर्थे, ‘कस्तो मज्जाले चलाइराख्याथ्यौ, किन डराएको ?’ यसरी नै लडिलडी सिकियो, साइकल ।

सधैं जाने हुँदा हुलाकका खर्दार, सुब्बा, अधिकृत सबैले चिनिसकेका थिए । हुलाकमा सबैभन्दा झन्झटिलो हुन्थ्यो, टिकट किन्ने लाइन । सधैं भिड हुन्थ्यो, टिकट काउन्टर । पहिले लाइन बस्यो, अनि छेवैको टेबलमा राखिएको गमको भाँडोबाट झिकेर टिकटमा दल्यो । पार्सलमा टिकट टाँसेर फेरि लाइन बसेर बुझायो । बुक पोष्ट, एरोग्राम, पोष्टकार्ड, पार्सल, रजिस्टर्ड मेल, सर्फेस मेल, एयर मेल सबको फरक–फरक मूल्य थियो । नर्मल मेल भए बुझायो, हिँंड्यो । रजिस्टर्ड मेल भए रसिद काट्नै समय लाग्थ्यो । भित्र बसेका कर्मचारी अलि ठूलो प्याकेटलाई तराजुमा हाल्थे र ग्राम अनुसारको नपुग मूल्यको टिकट थप्न लाउँथे । देश अनुसार फरक मूल्य हुन्थ्यो । अनि बल्ल रसिद हात लाग्थ्यो । म भने अलि धेरै भिड देखिए सुटुक्क भित्र जान्थेँ । भरत नामका एक सहृदयी दाजु थिए, खर्दार । उनी मलाई माया गर्थे ।

उनकै मायाले म भित्रैबाट सबै काम सक्काएर फुर्तीसाथ बाहिर आउँथें । गोश्वारा हुलाकको सिलिङमा लामा–लामा पाइपको सहारामा झुन्डिएका पंखा थिए । तर पंखा घुम्थे मात्र । हावा फ्याँक्दैनथे ।

साप्ताहिक चिनियाँ खबर पत्रिका पेकिङ रिभ्युको एयर डकुमेन्ट आउँथ्यो । निकै माग थियो, त्यसको । चीन र भारतको सम्बन्ध अहिलेजस्तो थिएन । त्यसैले लखनऊ, कोलकाता, दिल्ली, कानपुरसम्म नेपालकै बाटो जान्थे चिनियाँ पत्रिका । पेकिङ रिभ्यु बाहेक अन्य पत्रिका सर्फेस मेलबाट आउँथे । समुद्री मार्ग हुँदै कोलकाता बन्दरगाह र त्यसपछि काठमाडौं । महिनौं लगाएर आइपुग्थे पत्रिका र पुस्तकहरू । बीचमा एकपटक चीनबाट हुलाकका सामग्री तातोपानी नाका हुँदै पनि आउन थालेका थिए । तर बाढी र पहिरोले सडक सम्पर्क विच्छेद भइरहने हँुदा यो त्यति भरपर्दो थिएन । सन् १९८६ मा गएको भीषण बाढीले कोदारी राजमार्ग बगाउँदा वर्षापछिका पत्रिका जम्मै कोदारी हुलाकमै अड्किए ।

ब्यालिस सालको बम काण्डपछि हुलाकबाट आउने पत्रपत्रिकामा सरकारले कडा सेन्सरसिप लगायो । हुलाकमा आएका हरेक पत्रिकाको एक प्रति सेन्सरका लागि अञ्चलाधीश कार्यालय लानुपथ्र्याे । अञ्चलाधीश कार्यालयले दिनु भन्ने पत्र काटेपछि मात्रै पार्सल हुलाकबाट लिन पाइन्थ्यो । चीनबाट आउने पत्रपत्रिकामा नेपाल सम्बन्धी खबर नहुने हुँदा सेन्सर त्यति गाह्रो थिएन । भारतबाट आउने पत्रपत्रिकाका बिक्रेतालाई हाकिमहरू र्‍याखर्‍याख्ती पार्थे । कहिलेकाहीं त पार्सल नै सिज हुन्थ्यो । तिसरी दुनियाँ, मेनस्ट्रिमजस्ता पत्रिका सधैं सेन्सरसिपको झमेलामा पर्थे । अञ्चलाधीश कार्यालयले सेन्सर्ड भनेर छाप लागेका पत्रिका पनि हुलाकका हाकिम हेर्न खोज्थे । चिल्ला र रंगिन चिनियाँ पत्रिकाहरूको आकर्षणबाट कोही मुक्त थिएन ।

सन् १९८७ पछि चिनियाँ प्रकाशन गृहले पत्रिकाहरूको मूल्य बढायो । एक–दुई रुपैयाँमा पाइने पत्रिकाको मूल्य एकैपटक १०, २०, ४० हुँदै १०० सम्म पुगेपछि ग्राहक घटे । नियमित आइरहेका पत्रिका समयको परिवर्तनसंँगै न्यूनतम संख्यामा मात्र आउन थाल्यो । पोस्ट बक्स ९४ र ६९४ मा आउने पत्रहरू घट्न थालेपछि मेरो गोश्वारा हुलाक जाने क्रम पनि घट्यो । पोस्ट बक्स ९४ र ६९४ बक्स रिन्यु भएनन् । तर स्मार्ट फोनको आजको युगमा पनि पोस्ट बक्सहरू जीवित छन् । पत्रहरू पनि आउँदैछन् । साँचो छिराउने क्रम जारी नै छ । नयाँ बन्ने धरहराको छायामा ऐतिहासिक गोश्वारा हुलाक हालको ठाउँबाट विस्थापित हुने भइसकेको छ ।

प्रकाशित : भाद्र ३, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?