कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाढी, स्वास्थ्य र सरकार

डा. अरुणा उप्रेती

१० वर्षअघि म एक अन्तर्राष्ट्रिय संस्थासँग भारतमा जनस्वास्थ्य विशेषज्ञ भएर काम गर्दा विहार र आसाममा ठूलो बाढी गयो । विहारमा सुख्खा जमिन कतै थिएन । बाढीले जनता त्राहिमाम भएका थिए ।

बाढी, स्वास्थ्य र सरकार

त्यो बेला तत्कालीन मुख्ममन्त्रीले जनतासँग मजाक गरेका थिए, ‘तिमीहरूले गंगा नदीको दर्शन गर्न कति यात्रा गर्नुपर्छ, अहिले त गंगा मैया तिमीहरूको घर–घरमा आइपुगेकी छन् । आनन्दसँग दर्शन गर ।’ 

यो भद्दा मजाकले जनताको दिल दुखाएको थियो । 

विहार र आसाममा आएको बाढीले धेरैको स्वास्थ्यमा समस्या पैदा गरेको थियो । कतिपय ठाउँमा जनताले घरभित्र पानी भएर सडक किनारमै बस्नुपरेको थियो । थुप्रै सामाजिक संस्थाले बाटोमै खिचडी बनाएर खुवाएका थिए । कसैलाई पनि चाउचाउ खुवाइएको थिएन । बाढी पछिको जनस्वास्थ्यको अवस्था त बडो भयावह थियो । सबैभन्दा दयनीय स्थिति त गर्भवती, सुत्केरी, उनीहरूका शिशु, किशोरी र वृद्धवृद्धाको थियो । नेपालमा अहिलेको बाढीले मलाई त्यही बेलाको हालत याद दिलाएको छ । 

भूकम्पका बेला नेपालमा पनि गर्भवती, सुत्केरी र किशोरीहरूको हालत सबभन्दा बढी खराब थियो । कुनै पनि प्राकृतिक प्रकोपमा प्राय: यस्तै हुन्छ । किनभने शारीरिक रूपमा समाजको यो तप्का कमजोर नै हुन्छ र प्रकोपको बेला त यिनलाई झन् गाह्रो हुन्छ । यस्तो बेला सुत्केरी र नवजात शिशुलाई धेरै सुती कपडा चाहिन्छ । अहिले धेरै संघ–संस्थाले बाढी पीडितका लागि कपडा, भोजन र औषधी जम्मा गरिरहेका छन् ।

लुगा सुकाउने ठाउँ पनि नभएको र घाम पनि नलागेका बेला नवजात शिशुलाई सुख्खा कपडाले लपेटिएन भने निमोनिया भएर मृत्यु हुनसक्छ । सुत्केरी आमालाई पनि सुख्खा र ताता कपडा चाहिन्छ । त्यसैले धेरै संस्थाले कपडा जोहो गर्न लागेका छन् । तर लुगा तराईका मानिसले लगाउने खालका हुनुपर्छ । चिसो र संक्रमणले सुत्केरी महिलामा प्रजनन स्वास्थ्यको समस्या देखापर्न सक्छ । चिसोले जीउ र पेट फुल्ने समस्या वा मृत्यु नै हुने अवस्था आउन सक्छ । यस्ता महिला र शिशुलाई सुख्खा ठाउँमा तत्कालै राख्ने व्यवस्था हुनुपर्छ । 

सुख्खा ठाउँ र न्यानो लुगासँगै अर्काे महत्त्वपूर्ण कुरा हो, भोजन । नेपालमा भूकम्प र बाढी आउने बित्तिकै चाउचाउ बाँड्न सुरु गरिन्छ । यस्तो बेला कसैले पनि चिउरा र सातु बाँड्नुपर्छ भनेर सोच्ने गर्दैनन् । चाउचाउको प्रयोगले सामान्य अवस्थामा त कुपोषण गराउँछ भने यस्तो बेला त झनै समस्या ल्याउँछ । अरू केही पाइएन भने दाल, चामल, पानी, बेसार र नुन हाली खिचडी पकाएर ख्वाइयो भने बाढी पीडितको स्वास्थ्य राम्रो हुन्छ । चिसोको बेला मानिसलाई तातो खानाले शारीरिक र मानसिक रूपमा पनि आनन्दको अनुभूति गराउँछ । तातो चिया, तातो दूध, तातो सुप वितरण गर्न त्यति गाह्रो पनि होइन । 

सामान्य अवस्थामा पनि धेरै थाकेको बेला, लामो यात्रापछि एकमुठी तातो दाल, भात, जाउलो पेटमा पर्दा हामीलाई अलि सहज मसहुस हुन्छ भने झन् बाढीले पीडित भएका बेला तातो भोजन कति महत्त्वपूर्ण हुन्छ होला, सहजै अनुमान गर्न सकिन्छ ।कति जनाले भन्न सक्छन्, बाढीले वितण्डा मच्चाएका बेला केको तातो खानाको कुरा गरेको होला । तर बाढीको बेला तातो खानाले आनन्दको अनुभूति गराउने मात्र होइन, रोगसँग लड्ने शक्ति पनि बढाउँछ । 

बाढी पीडितलाई आइपर्ने समस्या शौचालयको अभाव पनि हो । सामान्यत: शौचालय नहुने तराईमा झन् बाढीको अवस्थामा के हालत होला ? यस्तो बेला जताबाट भए पनि सफा पानीको व्यवस्था गर्नैपर्छ । सफा पानीको अभावमा झाडापखाला, आउँ, जरो, टाइफाइड, छालाका विभिन्न रोग पैदा हुन्छन् । 

पहिलेदेखि नै रोगसँग लड्ने शक्ति कम भएकाहरूलाई यस्तो समस्याले झन् बढी सताउँछ । गर्भवती महिलालाई यस्तो समस्याले अवस्था गम्भीर बनाउन सक्छ । बाढीको प्रकोपले महिलाहरूको प्रजनन समस्यालाई झन् कठिन बनाइदिन्छ । भित्री लुगाको अभाव र महिनावारी व्यवस्थापनको समस्याले किशोरी र सुत्केरीको प्रजनन स्वास्थमा असर पर्छ । लज्जाका कारण किशोरीहरू आफ्नो समस्या पोख्न सक्दैनन् । यसले उनीहरूको प्रजनन स्वास्थ्यमा दीर्घ समस्या पार्छ ।

४–५ महिनाका गर्भवती महिलाको तनाव, चोटपटकका कारण गर्भपतन हुनसक्छ । यस्तो अवस्थामा सुख्खा लुगा र जमिनसँग शरीर न्यानो पार्ने व्यवस्था नभएर मानसिक रूपमा दु:खी भएका महिला शारीरिक रूपमा पनि अशक्त हुन सक्छन् र डिप्रेसन पनि हुनसक्छ । बाढीका बेला घरबार र आफन्त गुमाएको पीडामा औषधी, खाना र तातो ठाउँको व्यवस्थाले मलमको काम गर्न सक्छ । 

सरकारले सबैले एकद्वार प्रणालीबाट बाढी पीडितलाई राहत बाँड्न उर्दी गरेको छ । म त जम्मा गरेको लुगा, पैसा, चिउरा सरकारको कुनै पनि निकायमा दिने छैन, तराईमा रहेका आफ्ना साथीको माध्यमबाट समुदायमा बाँड्नेछु । यसो गर्दा सरकारले नीति विपरीत भयो भनेर मलाई कारबाही गर्ला ? 

प्रकाशित : भाद्र २, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?