विकृतितर्फको हाम्रो यात्रा

सुजीव शाक्य

कोलकातामा ८० को दशकमा कलेज पढ्दा, बर्खायाममा बेस्सरी पानी पर्दा कलेज बन्द हुन्थ्यो। यातायात ठप्प हुन्थ्यो, सडक पार गर्नलाई मानिसले दौडाउने रिक्सामा धेरै पैसा दिएर सडक पार गर्नुपर्थ्यो ।

सडकमा राखेका ‘म्यानहोल’का ढक्कन खोलेकाले कति त्यहीँ खसेर मर्थे। बिजुलीका तार पानीमा खसेर करेन्ट लागेर मर्ने र घाइते हुनेहरूको अस्पतालमा घुइँचो हुन्थ्यो। मलमूत्र पानीमा मिसिन्थ्यो। पानीमा फोहोर तैरिरहेको देखेर घिन लागेर बान्ता गथ्र्यौँ। घरमा सिधै बाथरुममा गएर डेटोलले नुहाउने गर्थ्यौं, फोहोरको सम्झनाले खाना खान सकिँदैन थियो। कस्तो पिछडिएको समाज भनी सोच्दै भोकै सुत्ने गर्थेँ। यो सँगै एउटा ठूलो प्रार्थना पनि गर्थें, काठमाडौँ कहिल्यै त्यस्तो नहोस्।

काठमाडौंको त्यो बखतको सम्झना धेरै मिठो छ। कोलकाताको फोहोर र गर्मीलाई छाडी बिदामा आइन्थ्यो। एयर कन्डिसन सहर। हरियालीले ढाकेको। स्वयम्भूबाट ठूलो नगरी हेरिन्थ्यो। तर आजको कंक्रिट जंगल होइन, हरियाली हेरिन्थ्यो। साझा बसले चलाउने निलो मित्शुबिशी बसमा चड्दा, कोलकाताको थोत्रा बसहरू बदलेर किन यस्तो बनाउन नसकिने भनी सोच्थेँ। ट्रली बसमा भक्तपुर जाने र फर्कने बिदाको एउटा ठूलो रहर हुन्थ्यो, जो निसदिन पूरा गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। प्लास्टिकको बिगबिगी सुरु भर्खर हुँदै थियो। 

त्यसर्थ त्यति सहर फोहोर देखिन्न थियो। भित्री पाटनतिर उब्रेको खाना त्यपस्मा राखेर रक्सी बनाउने चलन थियो। सिमेन्ट, छड र गिट्टीको थुप्रोले हिँड्ने बाटो छेकिने कमै हुन्थ्यो। बाइक र ‘होन्डा’ पर्यायवाची शब्द थिए र कम थिए। चिनियाँहरूले रिङरोड बनाउने बेला, २५ वर्ष पछिको ट्राफिकको चापलाई मनन गरेर बनाएको भन्थे। विशाल बजार, एसियाको राम्रो बजारहरूमध्ये गनिन्थ्यो। कोलकाता जाँदा विशाल बजारको ध्वाँस दिन्थेँ। कोलकातामा त्यस्तो बजार कहिले बन्छ भनेर फुर्ती लगाएर सोध्थेँ। 

स्वनिग:को अस्तित्व खोज्दै 
स्वनिग: अर्थात् उपत्यकाका तीन सहरमा अहिले आउने खबर मेरा कोलकाताका दिनहरूभन्दा धेरै फरक छैन। पानी पर्‍यो कि सडक खोला हुने र पानीका पाइपमा ढलबाट निस्कने मलमूत्रको संगमले जीवन चौपट बनाउने। तीन सय मिटरभन्दा बढी नखनेको वा खाल्डो नभएको सडक पाउन गाह्रो भइसक्यो। स्वनिग: अब आफूलाई, भारतका हामीले छि:छि: र दुरदुर गर्ने सहरझैँ बनाउन सफल भयौं र हामीले काठमाडौं उपत्यकाको नक्कल गर्न नेपालका सबै सहरलाई बाध्य गरायौँ। जसरी भारतका पहाडमा भएका सहरहरूले ‘सिमेन्टको ढिक्का’ बनेर आफ्ना अस्तित्व गुमाए, हामीले पनि त्यही गर्‍यौं। काठमाडौँको बढेका बस्तीहरूमा जाँदा र कति भाग पुग्दा, आफूलाई फार्बिसगन्जको मन नपर्ने भाग अथवा भारतका आफूलाई जबर्जस्ती गएको र एकदम मन नपरेको दृश्यहरू सबै ताजा बनाइदिन्छ। मनमा आउने शब्दहरू त्यही नै छन्– फोहोर, असभ्य, स्वार्थी इत्यादि। 

काठमाडौँमा ती भागबाट टुँडिखेलतिर बरालिँदा सेनाले प्लटिङमात्र गर्न बाँकी बीच सहरको ‘आर्मी भिलेज’मा एकछिन घोरिन बाध्य बनाउँछ। भद्रकालीदेखि सिंहदरबारको बाटोमा पनि अब पसल आउने भयो, बाटो छेउको फुटपाथमा कब्जा गरेको भन्न मिल्दैन, त्यो त समानुपातिक विकासको निम्ति र आर्थिक समानताको निम्ति आवश्यक। पाटनढोकाबाट मेरो घर जाने बाटोतिर जाने सडक र फुटपाथ दुवै व्यवसायीहरूले कब्जा गरेका छन् र विरोध गर्‍यो भने ‘सामन्ती’को तक्मा पाउने गरिया’छ। फुटपाथ कब्जाको विरोधमा ट्विट गर्दा निलो नम्बर प्लेट चढ्ने केहीले पनि सामन्तीको उपाधि दिए। सडकको छेउमा रोपेका रुखहरू हेर्छु र उद्घाटन हुँदा नेता, व्यवसायी, कार्टेलहरूका अग्रजका तस्बीरहरू, आँखासामु आउँछ। तर ती बिरुवाहरू किन रुखमा परिणत हुँदैनन्? कम्पनीको, बैंकहरूको नामले सुसज्जित घेराहरूका बीचमा किन यी बिरुवाहरू लाचार? एउटा साथीले मलाई, नेपालमा हुने वृक्षरोपणमा ‘बोन्साई’ रुखमात्र रोप्छन्। तसर्थ मानिसको कदभन्दा कहिल्यै बढ्दैन रे भन्थे। यी बिभिन्न कुरा मनमा घोलिने गर्छ। 

नेपाली समाजको दशा
मेरो कोलकाताका संस्मरण ३० वर्षपछि ब्युँतिँदा मलाई यसको जिम्मेवार को त भनी मनन गर्न त अवश्य नै मन लाग्छ। नेपाली समाजमा गरिबी घटेर, प्रचुर मात्रामा धनको सिर्जना भए पनि शिक्षाको पहुँच र डिग्रीवालहरूको वृद्धि भए पनि संसार घुमेर, बसेर र बुझेर आउनेहरूको संख्या बढे पनि इन्टरनेटको माध्यमबाट घरमा नै संसार पुगे पनि किन यो दशा? सायद हामीले राजनीतिक अस्थिरतामा हाम्रो स्वार्थ खोज्नमा नै अल्झेनौं त? राजनीति र राजनीतिक नेता भनेको समाजको प्रतिविम्ब हो। यो फरक कहिले हुन सकेन। कतै हामीले रातो मोसो, फूलमाला र खादा कोठेलीको लोभमा समाजलाई अर्कोतिर त धकेलेनौं?

क्याम्पसमा युवानेता हुँदा, फुटपाथ ओगटेर बाइक पार्क गरेर खाजा खाने ठाउँको मानिसलाई ‘कसैले केही गर्न खोज्यो भने मलाई भन्नु’ भनेर त्रास फैलाएर पछि नेता हुँदा, त्यही स्कुल र क्याम्पसको जग्गा लिजमा मिलाएर, नियम सबै मिचेर वरिपरिको सबैलाई थर्काएर करोडौंमा खेल्न थाल्छन्। जग्गाको भाउ अकासिन थालेपछि नेताको सम्पत्ति पनि बढ्न थाले। पार्टी प्यालेसको व्यवसायमा ठूलादेखि साना नेताहरूको नाम जोडेको पाइन्छ। सरकारी संस्थानका जग्गा प्रत्येक पार्टी गठबन्धनसंँगै नयाँ–नयाँ व्यापारीहरूले हात पारेको सुनिन्छ। राजनीतिक दलहरूको सिन्डिकेटसंँग मिलेर काम गर्न जान्यो भने पुख्र्यौली जग्गा, गुठीको जग्गा, खोलाको जग्गा सबैबाट लाभ लिन सकिन्छ। तसर्थ त्यो रातो मोसोको मूल्य बढेको होला। नगरपालिकाको चुनावमा जित्नेहरूलाई अनुहार नै नचिन्ने गरिकन रातो मोसो दलेर, मालाको फाँसी लगाउने अधिकांशमा त्यो कुनै नयाँ सेटिङको आसमा बढी नै भएको त होइन?

जग्गाको अकासिँदो भाउ र राजनीतिले प्रतिविम्ब गरेको समाजमा आएको विकृतिले सामाजिक मूल्य–मान्यता सबैमाथि प्रश्नचिन्ह उठाएको छ। पाटनमा भोजमा जाँदाको सुनिने कुरामध्ये आफ्नो पुर्खाले मन्दिर, स्कुल र अन्य सामाजिक प्रयोजननिम्ति दान दिएको घरजग्गा अहिलेको पुस्ताले धमाधम मुद्दा नै लडेर आफ्नो बनाउँदैछ। समाजमा सुसम्पन्न भए पनि दान दिने परोपकार गर्ने परम्परामा ह्रास भएको छ। आडम्बरको प्रतिस्पर्धामा समाजमा धेरै विकृति भित्रिसके। व्रत बस्ने, त्याग र तपस्याको परीक्षाको रूपमा मानिने साउन महिनालाई वर्षको सबभन्दा महँगो बनाइसक्यौं। झन् फेसबुकमा लुगा त्यही नै लगाएको देखिने नभएपछि झन् बढी खर्च गर्न दबाब बढ्यो।

राजनीतिक नेता भएपछि सामाजिक रूपमा अग्रजको रूपमा ‘देखिने’ सबै कुरा पाउने भएर होला। रातो मोसो र मालाको झुप्पाको विरोध नभएको र कसैले पनि घोषणा गरेर परिवर्तन गर्न नखोजेको किन? सुरक्षाको डर नभएको बेला, नियम मिचेर मन्त्रीका गाडीहरू दौडाउने गर्छन्। भाषण दिँदा कसको डरले हो कुन्नि गार्डलाई पछाडि उभ्याउने गर्छन्। ग्यास्ट्रिक भयो कि मुटुको बिमारीको पैसा राजस्वसंँग धुत्न खोज्छन्। विदेश भ्रमणको निम्ति अनेकौं रणनीति बनाउने गर्छौं। 

समाज ब्यस्त छ, आफ्नो भविष्य उज्यालो बनाउन। यस्तो समाजले धेरै प्रश्न अघि सार्छ। कसरी गर्ने त फोहोर व्यवस्थापन? कसरी खुला ठाउँहरू जोगाउने? कसरी गर्ने कानुनको कार्यान्वयन जहाँ खाल्डो खनेर नपुर्नेलाई कारबाही होस्। जहाँ २१ औं शताब्दीका सामान, बुद्धि, प्रक्रिया र काम गर्ने मानिस भए पनि, १९ औं शताब्दीको जस्तो काम गर्ने गर्छन्। जहाँ खाली ठाउँ भयो कि बिभिन्न तौरतरिका चलाएर त्यो खाली ठाउँमा घिनलाग्दो प्रारूप ठड्याउँछन्। 

जहाँ केसका केस थपेर, न्यायपालिकाको कामकारबाहीमा नै आमूल परिवर्तन गरी न्यायमा नै प्रश्नचिन्ह लगाइन्छ। समाज परिवर्तनशील हुन्छ, तर त्यो परिवर्तन सकारात्मक हुनुपर्छ। सबै परिवर्तन सानो–सानो पाइलाबाट सुरु हुन्छ। सुरुवात यहाँबाट पनि गर्न सकिन्छ– स्वेच्छाले रातो मोसो र मालाको झुप्पाको त्यागबाट सुरु गर्न सकिन्छ कि? त्यसपछि अरू त्याग हुनसक्छ कि?

प्रकाशित : श्रावण १०, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

भड्किँदै छ चिनियाँ समाज

बेइजिङ डायरी
चेतनाथ आचार्य

सन् १९७८ मा तङ स्यावो फङ चिनियाँ कम्युनिष्ट पार्टीको निर्णायक तहमा पुगेपछि बन्द चिनियाँ समाजलाई खुला समाजतर्फ डोर्‍याउन केही मार्गचित्र प्रस्तुत गरे।

त्यही मार्गचित्रमा उभिएर चीनले सुधार र खुलापनबाट विश्वलाई आश्चर्य बनाउनेगरी आर्थिक विकासको छलाङ मारेको छ। तङकै नीतिले चीन आज संसारको पहिलो अर्थतन्त्र बन्ने दौडमा छ। बन्दबाट खुला र सुधारमा क्रमिक बढेको तर पुरै पुँजीवादी अर्थव्यवस्था स्वीकार नगरेको चिनियाँ अर्थव्यवस्थालाई ‘चिनियाँ चरित्रको बजारमुखी समाजवादी अर्थतन्त्र’ भनी चिनियाँ नेताहरू अथ्र्याउने गर्छन्।

चिनियाँ सरकारी प्रतिवेदनहरूमा चिनियाँ समाजलाई उन्नत माक्र्सवादी समाजवादतर्फ उन्मुख गराउने भनी विश्लेषण गरिएको पाइन्छ। सैद्धान्तिक रूपमा यसो भनिए पनि व्यावहारिक रूपमा भने चिनियाँ समाज र अर्थतन्त्र भड्किएर पुँजीवादलाई चुनौती दिने अवस्थामा पुगिसकेको छ। धनी र गरिब बीचको खाडल तथा सहरी र ग्रामीण क्षेत्रको असमान विकास वितरणले चिनियाँ समाजलाई विभेदमुखी बनाउन थालेको उदाहरण केही समयअघि बेइजिङको एउटा पार्कमा देखिएको विवाहका लागि चाहिएको जोडीको विज्ञापनबाट स्पष्ट हुन्छ।

गत जुनमा बेइजिङको केन्द्र भागमा पर्ने चोङशान पार्कमा विवाहका लागि उपयुक्त केटा र केटीका लागि विज्ञापन गरिएको थियो। हिजोआज सबै कुरा सामाजिक सञ्जालबाट हुने जमाना भए पनि कतिपय अवस्थामा सरकारी कानुन र सामाजिक अवगालसँगै आइपर्ने झन्झटबाट जोगिन विवाह गराउने विभिन्न एजेन्सीले जोडीको विज्ञापन लेखेर टाँस गरेका थिए। हजारौँको संख्यामा चिनियाँ एकल युवायुवती तथा तिनका अभिभावक उपयुक्त जोडी खोज्न पार्कमा पुगेका थिए। जोडी खोज्ने हाट लागेपछि चिनियाँ सामाजिक सञ्जालमा त्यो विषय हट ‘इस्यु’ बन्यो। चाइना डेलीले त्यसबारे सचित्र समाचार नै प्रकाशन गर्‍यो। ‘ब्लाइन्डेट पार्क’ नाम दिइएको उक्त हाटलाई कतिपयले चिनियाँ सामाजिक सञ्जालमा ‘मान्छेको व्यापार मेला’ भनी कडा आलोचना पनि गरेका छन्।

‘ब्लाइन्डेट पार्क’मा वर अथवा बधुको निश्चित योग्यता र मापदण्ड तोकेर गरिएका विज्ञापन प्रदर्शनी गरिएको थियो। प्रदर्शनी गरिएको एकल महिला तथा पुरुषको प्रोफाइलमा बेइजिङमा घर भएको प्रमाण, आम्दानीको तह, सम्पत्ति, शैक्षिक गुणस्तर र थप केही जानकारी खुलाएर आफूलाई आवश्यक पर्ने जोडीका लागि पनि सर्तहरू राखिएको थियो। विज्ञापनमा सहभागीहरूलाई ६ भागमा वर्गीकरण गरिएको थियो। आर्थिक हैसियत र राखिएका सर्तका आधारमा अति उच्च, उच्च, मध्यम, निम्न मध्यम, सामान्य र अति सामान्य वर्ग निर्धारण गरिएका थिए।

अति उच्च वर्गमा पर्ने महिलाका लागि वर चाहिएको विज्ञापनमा केटामा हुनुपर्ने मापदण्ड यसरी तोकिएको थियो : केटासँग कम्तीमा ५६ लाख चिनियाँ युआन (८ करोड ४० लाख नेपाली रुपैयाँ बराबर), बेइजिङमा स्थायी बसोबासको प्रमाणपत्र, बेइजिङको केन्द्र भागमा आफ्नै घर, स्तरीय कार र मासिक ५० हजार चिनियाँ युआनभन्दा बढी (साढे सात लाख रुपैयाँभन्दा बढी) आम्दानी, स्नातकोत्तर अथवा पीएचडी अथवा विदेशमा पढेको हुनुपर्ने सर्तहरू रहेका थिए। त्यसैगरी अति उच्च वर्गका एक पुरुषले बिहे गर्न महिलामा हुनुपर्ने मापदण्डलाई यसरी राखेका थिए : सुन्दरी, बेइजिङमा स्थायी बसोबासको प्रमाणपत्र, बेइजिङको केन्द्रभागमा आफ्नै घर, स्तरीय कार, मासिक आम्दानी २० हजार चिनियाँ युआन (३ लाख रुपैयाँ बराबर), स्नातक अथवा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख थियो।

चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेअनुसार बेइजिङको स्थायी बसोबास र आफ्नै घरलाई पीएचडीको डिग्रीभन्दा बढी प्राथमिकतामा राखिएको छ। बेइजिङमा झन्डै पाँच करोड मानिस बसोबास गर्छन्। तीमध्ये आधामात्र बेइजिङका स्थायी बासिन्दा हुन्। बेइजिङमा स्थायी बसोबास हुनेले बेइजिङकै उच्चस्तरीय विश्वविद्यालयमा पढ्ने लगायत केही आरक्षण सुविधा प्राप्त गरेको हुन्छ। यो सुविधा बाहिरी प्रान्तबाट आएकाले पाउँदैनन्। बेइजिङको स्थायी बसोबास र आफ्नै घर हुनु दुई भिन्न कुरा हुन्। स्थायी बसोबास भएर पनि आफ्नै घर नभएको हुनसक्छ। आफ्नो बाबुआमाको घर भए पनि स्थायी बसोबासको प्रमाणपत्र प्राप्त गरेको हुनसक्छ। त्यसैगरी बेइजिङमा घर भएपछि स्थायी बसोबास गर्न त पाइन्छ, तर घर किन्न निकै कडा नियम पार गर्नुपर्छ। सामान्य अवस्थामा एक व्यक्तिले दुइटा घर किन्न पाउँदैन। बेइजिङको केन्द्रभागमा घरको मूल्य अत्यन्त चर्को छ। आर्थिक हैसियत भएर पनि चीनमा प्रचलित अन्धविश्वासका कारणले पनि विवाह हुन निकै गार्‍हो हुन्छ। विशेषगरी भेडा वर्षमा जन्मिएकाहरूको बिहे हुन निकै गाह्रो हुन्छ। भेडा वर्षलाई चीनमा निकै अशुभ मानिन्छ र यो वर्षमा जन्मिएकालाई अभागी भनिन्छ। एकजना चिनियाँ महिलाको बेइजिङमा स्थायी बसोबासको प्रमाणपत्र र आफ्नै घर छ र उनले चीनको प्रख्यात विश्वविद्यालयबाट स्नातक पनि गरेकी छन्। तर उनी भेडा वर्षमा जन्मिएकीले बिहे हुन नसकेको सोही समाचारमा उल्लेख छ।

चीनमा कहालीलाग्दो गरी बढेको आर्थिक असमानता र आधुनिक जटिलताले गर्दा धेरैजसोले जोडी नपाएर बिहे गर्नबाट बञ्चित बन्दै आएका छन्। ३५ वर्षसम्म लागू भएको एक सन्तान नीतिले चीनमा लैंगिक असन्तुलन छ। कुनै समय १०० महिलाको अनुपातमा १२० पुरुष पुगेका थिए। अहिले त्यो अनुपात घटेर १०० महिलामा ११६ पुरुष रहेका छन्। अहिले चीनमा ३० वर्षभन्दा कम उमेर समूहमा महिलाभन्दा पुरुषको संख्या २ करोड ५० लाख बढी छ। यो संख्या सन् २०२० सम्ममा ३ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ। त्यतिमात्र होइन, सहरमा बस्ने चाहनासँगै आफ्नो हैसियत र स्तर बराबरको जोडी नपाउँदा थुप्रै चिनियाँ महिलासमेत बिहे गर्नबाट बञ्चित हुनथालेका छन्। बेइजिङमै घर भएका र उच्च शैक्षिक योग्यता प्राप्त गरेका महिलाले आफ्नो स्तर अनुसारको केटा पाउन नसक्दा बिहे नगरी बस्नुपरेका उदाहरण पनि छन्।

चिनियाँ समाजमा बिहेप्रतिको झन्झट र सामाजिक तथा आर्थिक जटिलताले गर्दा सन् १९९३ मा नानचिङ विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूले प्रेम दिवसको काउन्टरमा नोभेम्बर ११ लाई एकल दिवसका रूपमा थालनी गरेका छन्। अहिले चीनमा एकल दिवस निकै लोकप्रिय बनेको छ। विवाहका लागि राखिएका सर्त र आर्थिक हैसियतले चिनियाँ समाजको बदलिँदो चित्र उजागर गरेको छ। यसले चिनियाँ समाजको तितो यथार्थलाई उदाङ्गो बनाउँदै समाजमा रहेका आर्थिक, लैङ्गिक, क्षेत्रीयजस्ता विभेदलाई सतहमा ल्याएको छ। चिनियाँ समाजमा बिहे कसरी भड्किलो बन्दै गएको छ भन्ने कुरालाई ६ दशकको उदाहरणबाट प्रस्ट हुन्छ। ५० को दशकमा चीनमा भर्खरै साम्यवादी शासन सुरु भएको थियो। त्यतिबेला विवाह गर्न एउटा खाटमात्र भए पुग्थ्यो। ६० को दशकमा एक प्याक मिठाइको तयारीमा विवाह सम्पन्न हुन्थ्यो। ७० को दशकमा चीनमा सांस्कृतिक क्रान्ति चलेको समयमा अध्यक्ष माओका लेखनको संकलन भएको ‘रातो किताब’ विवाहका लागि अनिवार्य मानिन्थ्यो। ८० को दशकमा चीनमा खुलापन र सुधारका कार्यक्रम लागू भएपछि विवाहका लागि रेडियो, साइकल, सिलाइ मेसिन तथा नाडी घडीजस्ता चारवटा सामग्री आवश्यक हुन थाल्यो। ९० को दशकदेखि विवाह समारोहको परिधि फैलिँदै गयो र २१ औँ शताब्दीमा त्यो निकै भड्किलो र महङ्गो भयो।

अहिले चीनका दसवटा ठूला सहरमा विवाहमा हुने खर्चबारे विभिन्न विश्वविद्यालयले सर्वेक्षण गर्दा बेइजिङ, शाङहाई, शनचन लगायत चीनका महङ्गा सहरहरूमा विवाहको खर्च २० लाख युआनभन्दा बढी पुगेको तथ्य बाहिर आएको छ भने हाङचौ, क्वाङचौ, नानचिन आदि सहरमा विवाहको खर्च १० लाख बराबर छ। चिनियाँ कम्युनिष्ट पार्टीले अनुशासनलाई कडा बनाउँदै आर्थिक पारदर्शी र भड्किलो समाज नियन्त्रण गर्न गत अक्टोबरमा सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकले विशेष निर्णय गरेको छ। कम्युनिष्ट पार्टीका निर्णयहरू पार्टी सदस्य बाहेकमा लागू नहुने भए पनि राष्ट्रिय नीति निर्माणलाई प्रभाव पार्ने हैसियत राख्छन्। एकातिर चिनियाँ कम्युनिष्ट पार्टीले अनुशासनलाई कडा बनाउँदैछ भने अर्कातिर चिनियाँ समाजचाहिँ आर्थिक भड्कावमा पँmस्न थालेको छ। यस्तो भड्कावले चिनियाँ चरित्रको बजारमुखी समाजवादी अर्थतन्त्रको खिल्ली उडाएको भन्दै चिनियाँ समाजिक सञ्जालमा आलोचना गरिएको छ। 

आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्। 

प्रकाशित : श्रावण १०, २०७४ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्