कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

माओवादीको भविष्य

हरिबोल गजुरेल

रूपमा राष्ट्रिय भए पनि कम्युनिस्ट आन्दोलनको अन्तर्वस्तु अन्तर्राष्ट्रिय हुन्छ। यसको मूलपक्ष विचारधारात्मक हो।

माओवादीको भविष्य

यस अर्थमा नेपालको कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रिय आयामलाई गम्भीरतापूर्वक लिन जरुरी छ। विचारधारा सही हुनु वा गलत हुनुले नै सबै कुराको फैसला गर्छ। यसै आलोकमा नेपालको कम्युनिस्ट आन्दोलनको विश्लेषण गर्न जरुरी छ। सिद्धान्तनिष्ट हुनु भनेको माक्र्सवादको रट लगाउनु होइन, सिद्धान्तलाई व्यवहारमा लागू गरेर त्यसको विकास गर्नु हो। सिद्धान्तलाई व्यवहारमा लागू गर्दा केही लचिलो हुनैपर्छ। 

सैद्धान्तिक शुद्धताको नाममा माक्र्सवादलाई धर्मशास्त्रमा परिणत गर्नु कट्टरतावाद हुन्छ भने माक्र्सवादका आधारभूत कुराबाट व्यवहार र आचरणलाई अलग गर्नु व्यवहारवादमा फँस्नु हो, उपयोगितावादलाई अँगाल्नु हो। व्यवहार–सिद्धान्त–व्यवहारको यो अन्तर्सम्बन्ध (चक्र) मा सिद्धान्त परिष्कृत र विकसित हुन्छ। सिद्धान्तको विकासको कुरा गर्दा अन्तर्राष्ट्रिय अनुभव र बहसलाई पनि जोड्न जरुरी छ। अन्यथा एकाङ्गी हुन्छ। यो नेतृत्व स्थापित गर्ने कुरासँग पनि सम्बन्धित छ। 

नेपालको कम्युनिस्ट आन्दोलन २०१० मा सम्पन्न पहिलो महाधिवेशनमा नेतृत्व परिवर्तनसँगै व्यवहारवादको सिकार हुनपुग्यो। परिणामत: गुटमा विभाजित हुँदै फुटको चपेटामा पर्‍यो। कम्युनिस्ट नामका दर्जनौं साइनबोर्ड राखिए, जुन २०४६ सालको आन्दोलनसम्म निरन्तर चलिरह्यो। यो आन्दोलनमा कम्युनिस्ट घटकहरूले दुई मोर्चा (वाम मोर्चा र संयुक्त जनआन्दोलन) निर्माण गरेर संघर्षमा सामेल भएका थिए। २०४६ सालको परिवर्तनपछि कम्युनिस्ट आन्दोलनमा एकताको प्रक्रिया सुरु भयो। यी दुवै मोर्चालाई समग्रमा हेर्दा सुधारवादी धाराको नेतृत्व मदन भण्डारी र क्रान्तिकारी धाराको नेतृत्व प्रचण्डले गरे। जुन एमाले र माओवादी पार्टीको रूपमा संगठित भए। यससँगै २०२८ को राधाकृष्ण, सीपी मैनालीले नेतृत्व गरेको झापा विद्रोहको क्रान्तिकारी धारा सुधारवादी धारामा र २०३४ को मोहनविक्रम सिंहले नेतृत्व गरेको सुधारवादी धारा क्रान्तिकारी धारामा परिवर्तित भयो। यो घटनाको पृष्ठभूमि नियाल्दा तत्कालीन मालेले २०४६ मा सम्पन्न महाधिवेशनदेखि नै माओ विचारधारा परित्याग गरेर सुधारवाद अंगिकार गरेको थियो र तत्कालीन मशालले २०४५ मा माओ विचारधारालाई माओवादको रूपमा संश्लेषण गरेर जनयुद्धको तयारी थालेको थियो। सुधारवादी धारा २०५० मा मदन भण्डारीको मृत्युपछि महाकाली सन्धिसँगै प्रतिक्रियावादतिर उन्मुख भयो र क्रान्तिकारी धारा अवसरवादसँग सम्बन्धविच्छेद गरेर २०५२ मा जनयुद्धमा प्रवेश गर्‍यो।

२०६२/६३ को जनआन्दोलनपछि माओवादी क्रान्तिकारी धारा हावी भयो। यसै पृष्ठभूमिमा नेपालमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई क्रान्तिकारी रूपान्तरणसहित एकताबद्ध गर्न माओवादीको फूलबारी बैठकले एमाले लगायतका घटकहरूसँग एकता गर्न औपचारिक पहल गर्ने ठोस निर्णय गर्‍यो। एमालेसँग पटक–पटक छलफल पनि भयो। तर यथास्थितिवादी शक्तिहरूले जनयुद्ध र जनआन्दोलनका राजनीतिक उपलब्धिलाई शान्ति सम्झौतामार्फत संस्थागत गर्न आनाकानी गरेपछि एमाले पनि एकताको प्रक्रियाबाट पछि हट्यो र परिवर्तन विरोधी शक्तिसामु झुक्न पुग्यो। यसरी कम्युनिस्ट आन्दोलनको एकीकरणको प्रयास सफल हुन सकेन। तर माओवादीको कामीडाँडा बैठकले विद्रोहको योजना बनाएपछि परिवर्तन विरोधी शक्ति पछि हटे र शान्ति सम्झौता पुन: सम्भव भयो। यस बीचमा एमालेभित्र र बाहिरका सापेक्षिक क्रान्तिकारीहरू भने माओवादीमा ध्रुवीकरण भइरहे। यो प्रक्रिया अद्यावधि चलिरहेको छ। योसँगै माओवादीभित्र टुटफुट र एकताको नयाँ प्रक्रिया पनि चलिरहेको छ।

टुटफुट र एकताको कुरा गर्दा यसको नियमलाई नियाल्नु जरुरी छ। कम्युनिस्ट आन्दोलन कमजोर हुँदा टुटफुट र विभाजनको शृङ्खला चल्ने र शक्तिशाली हुँदा एकताबद्ध हुँदै जाने गरेको इतिहास छ। यो कुरा विचार, नीति र नेतृत्वको विकाससँग जोडिएको हुन्छ। विचारको विकास हुँदा नीति पनि सही हुँदै आन्दोलन सफल हुने र विचार र नीतिको विकास निरन्तर हुन नसक्दा आन्दोलनमा गत्यावरोध हुने र हन्डर, ठक्कर खाएर शिक्षा प्राप्त भएपछि सफलता हुँदै जाने गर्छ। 

तर यसलाई यान्त्रिक रूपमा बुझ्नुहुन्न। कहिलेकाहीं विकसित विचार र नीतिले अवसरवादलाई उत्तेजित बनाउँछ र फुट अवश्यम्भावी हुन जान्छ। त्यसैले हरेक फुट नेतृत्वको वैचारिक र नीतिगत कमजोरीका कारणले हो भनी ठोकुवा गर्न सकिन्न। रूसी र चिनियाँ कम्युनिस्ट पार्टीको मात्र होइन, नेपालको कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को इतिहासले पनि यसको पुष्टि गर्छ। शान्ति प्रक्रियामा आएपछिको विचार शृङ्खलाको रूपमा संश्लेषित प्रचण्डपथको स्थगनका कारण वैचारिक, राजनीतिक र संगठनात्मक विकास अवरुद्ध भयो। मोहन वैद्यसँगको विभाजन यसैको परिणाम हो। यद्यपि उनमा विद्यमान जडसूत्रवादी चिन्तन र कार्यशैलीलाई नकार्न मिल्दैन। 

संविधानसभा–२ पछि संविधानसभा–१ बाट शिक्षा लिएर नेतृत्वले नयाँ ढंगले पहलकदमी लियो। संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दा प्राप्त सफलताको पृष्ठभूमिमा बाबुराम भट्टराईको बहिर्गमन भयो। यो फुट प्रचण्डको सफलताको प्रतिवाद स्वरुप हुनगएको हो।

नेपालको कम्युनिस्ट आन्दोलन समकालीन विश्वमा सबभन्दा अग्रपंक्तिमा छ। संविधानसभा–१ को निर्वाचनमा माओवादीको सफलताको पृष्ठभूमिमा एकता केन्द्रसँग एकता गर्दा विचार शृङ्खलाको रूपमा संश्लेषित प्रचण्डपथलाई स्थगन गरियो। जुन स्थगन मात्र थिएन, विचारको परित्याग थियो। यो प्रचण्डको निजी विचार थिएन, लाखौं सहिदको रगतले निर्मित अन्तर्राष्ट्रिय आयामसहितको नवीनत विचारको विकसित भ्रूण थियो। जसरी विश्वब्यापी रूपमा रक्षात्मक हुनपुगेको कम्युनिस्ट आन्दोलनलाई मध्यनजर गरी मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षाको सर्तमा राम्रै नियतले माओ विचारधारा परित्याग गरे, त्यसरी नै अध्यक्ष प्रचण्डले पनि राम्रै नियतले प्रचण्डपथ स्थगन गरेको यथार्थ भन्नैपर्ने हुन्छ। फरक यति हो, एउटाले परित्याग गरे, अर्कोले १० वर्ष स्थगन गरे, मदन भण्डारी मारिए, प्रचण्ड जीवितै छन्। कल्पना गरौं, मदन भण्डारी बाँचिरहेका हुन्थे भने अहिलेको एमालेको कसरी समीक्षा गर्थे होलान्? र अहिले प्रचण्डले के सोचिरहेका छन्? यो चासोको विषय भएको छ।

२००७ सालको राणशाही विरोधी आन्दोलन नेपाली कांग्रेसको अगुवाइमा चलेको थियो। त्यसबेला नेपाली कांग्रेस पार्टीमात्र नभई बीपीको अगुवाइमा चलेको आन्दोलन थियो। त्यसका कमजोरीका कारण २००७ सालको परिवर्तन धराशायी भयो। राजा महेन्द्रले निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था थोपरे। २००७ सालपछि कम्युनिस्टको त्रासले कांग्रेसलाई सामन्त र दलाल पुँजीपति वर्गको नजिक पुर्‍याएको थियो। यसले गर्दा २००७ सालको परिवर्तनमा महत्त्वपूर्ण सहयोग गर्ने कम्युनिस्ट र भीमदत्त पन्त लगायत उसको नजरमा दुश्मन बन्न पुगे। र परिवर्तन विरोधी शक्ति हावी भयो। कांग्रेस पँुजीवादी दर्शन र राजनीतिको अन्तर्वस्तुबाट अलग हुँदा त्यो नियति हुनगयो। 

माओवादी पनि पार्टीमात्र होइन। यो प्रचण्डको अगुवाइमा चलिरहेको आन्दोलन हो, जसले यो राष्ट्रको भविष्यको रेखाचित्र कोरेको छ। यतिखेर माओवादीले ६० को दशकमा अगाडि सारेका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशी र भूमिसुधार सहितको सामाजिक न्यायजस्ता अग्रगामी एजेन्डामा नेपालको राजनीति अगाडि बढिरहेको छ। माओवादी परिवर्तन विरोधी शक्तिलाई आवश्यकताभन्दा बढी आँकलन गरेर द्वन्द्वात्मक भौतिकवादी दर्शन र राजनीतिको अन्तर्वस्तुबाट विचलित हुँदा वर्ग धरातल खस्कियो र किसान—मजदुरबाट टाढियो। माओवादीले आधारभूत वर्ग (किसान–मजदुर) र राष्ट्रिय पुँजीपति वर्गको पक्षमा आफूलाई दृढतापूर्वक नउभ्याउने हो भने उसले संविधानमा सूत्रबद्ध गरेका अग्रगामी एजेन्डा कमजोर हुने र राष्ट्र दुर्घटनामा पर्नेछ। २०७४ को स्थानीय तहको निर्वाचनमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशी र भूमिसुधारप्रति अरुचि राख्ने एमालेभित्रको पश्चगामी नेतृत्वको बर्चस्व हुनु शुभसंकेत होइन। यो प्रतिक्रान्तिको संकेत हो।

तर यस प्रकारको खतराका बाबजुद एमालेले लेफ्ट ग्राउन्ड खाली गरिदिएर माओवादीलाई ठूलो ‘गुन’ लगाएको छ। स्थानीय तहको चुनावमा एमालेले आमरूपमा अवलम्बन गरेको भद्दा र निस्कृष्ट कार्यशैली र आचरणका कारण जनता यो पार्टीलाई किमार्थ ‘लेफ्ट’ मान्न तयार छैनन्। यद्यपि ट्रेडमार्क भने उसले तुरुन्तै छाड्ने छैन। माओवादीले आफ्नो विचार, राजनीति, संगठन, कार्यशैली र आचरणमा आएको स्खलन रोकेर एमालेभित्र र बाहिरका ‘लेफ्ट’ मुख्यत: कम्युनिस्ट क्रान्तिकारीलाई संयुक्त मोर्चा वा माओवादी केन्द्रमा एकीकृत गर्न सक्नुपर्छ। यसो गर्न सकियो भने नेपालको राजनीति माओवादी केन्द्रको पकडबाट बाहिर जाने छैन। किनकि यतिखेर राष्ट्र र जनताको पक्षमा राम्रो काम गरेकाले प्रचण्डप्रति पार्टी पंक्ति र जनताको आकर्षण र सहानुभूति बढेको छ। विरोध गरेर नथाक्नेहरूको मुख अस्थायी रूपमै भए पनि बन्द भएको छ। तर समय धेरै छैन। यो अवसर गुमायौं भने माओवादी केन्द्रलाई ‘ईश्वर’ले पनि बचाउन सक्ने छैन।

प्रकाशित : श्रावण १०, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?