यसपल्ट त मनै फाट्यो...?

प्रदीप गिरि

केही दिनअघि कान्तिपुरका सम्पादक सुधीर शर्मासमेतको टोलीले मधेसको यात्रा गरिएको विवरण छापिएको छ । शर्माले लेख्नुभएको छ, मधेसमा ‘उनीहरू’ र ‘हामी’ भन्ने भावना विकसित हुँदै गएको छ, मधेस र राज्यका बीच मतभेदभन्दा पनि मनभेद बढेको छ ।

यो यस्तै हो भने यो खतरनाक संकेत हो । हामीले यस संकेतलाई गम्भीरतापूर्वक लिनुपर्छ । बाँकी मुलुक चुनावमय भएको छ । तर प्रदेश नम्बर २ मा भने आन्दोलन र चुनाव–स्थगन छ ।

नेपालमा दोस्रो जनआन्दोलनले नयाँ युगको प्रवद्र्धन गर्‍यो । त्यति मात्र गरेन । दोस्रो जनआन्दोलन माओवादी जनयुद्धको ऐतिहासिक पृष्ठभूमिमा भएको थियो । तर त्यस दोस्रो जनआन्दोलनले एकातिर माओवादीको गुरिल्ला युद्धको कार्यनीतिलाई प्रश्नचिह्न लगाएको थियो । क्रान्ति दर्शनका हिसाबले सबैथरीका हिंसात्मक संघर्षको सीमा उजागर गर्‍यो । 

अर्कोतिर जनआन्दोलनले माओवादीले उठाएका सबैजसो सवालको औचित्य स्थापित गरेको थियो । माओवादीले मधेसप्रति विभेदभावका विरुद्ध समेत आवाज उठाएको थियो, यद्यपि माओवादी जनयुद्ध र मधेसको सम्पर्क कहिल्यै मधुर भएन । मधेसको भावनालाई नजरअन्दाज गरेर अन्तरिम संविधानको घोषणा भएपछि यो भावनामा टेकेर उपेद्र यादवले अन्तरिम संविधान डढाएका थिए । त्यसपछि लहान काण्ड टाढाको विषय रहेन । मधेस आन्दोलनले गुणात्मक रूपमा नयाँ उचाइ प्राप्त गर्‍यो । त्यसै आन्दोलनको शमन र थामथुम सरकारले मधेसका यावत् मागहरू पूरा गर्ने लिखित सम्झौता गर्‍यो । संघीय राज्यको यस्ता मागहरूमध्ये प्रमुख थियो । तर यति मात्र थिएन । भाषा र नागरिकताका सवाल पनि उठे । तत्कालीन सरकारले सबथोक गर्न सकारो । तर मधेस आन्दोलन यथावत् छ ।

मधेस आन्दोलनको तुजुक र ऊर्जाले नेपालका एकथरीका ‘राष्ट्रवादी’ हरूका बीचमा थरी–थरीका शंका उत्पन्न गरेको छ । पृथ्वीनारायण शाहको विजयदेखि आजसम्म मुलुकमा रहेको एउटा शक्तिशाली शासकीय समूहले मधेसलाई बिरानो सम्झियो । राणाशाहीका पालामा मधेसप्रति दुर्भावनापूर्ण सोचाइ विशेष बलियो भयो । यस्तो सोचाइका केही ऐतिहासिक कारण थिए । 

तर ऐतिहासिक कारणको आधारमा एउटा राष्ट्रिय राज्यको बलियो जग खडा हुन सक्दैन । २००७ सालको क्रान्तिले यस्तो सोचाइलाई तात्कालिक रूपमा परास्त गर्‍यो । राजा महेन्द्रको शासनकालमा मधेसप्रतिको भेदभावको पुनरावृत्ति भयो, पारस्परिक दूरी बढ्यो । महेन्द्रले राष्ट्रवादको संकीर्ण परिभाषा गरेर आफ्नो तानाशाहीलाई औचित्य प्रदान गरे । उनी एक हदसम्म सफल भए । महेन्द्रको राष्ट्रवाद नेपाली कांग्रेसको प्रखर प्रतिरोधलाई समेत मत्थर बनाउन सफल भयो । बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको व्याख्यामा यसको प्रतिध्वनि भेटिन्छ । त्यो थिएन भने मधेसले अगाडि सारेको प्रस्तावले एउटा प्रजातान्त्रिक मुलुकले चिन्तित बन्नुपर्ने खास कारण थिएन । कांग्रेस वृत्तमा कमसेकम कुनै अलमल हुनु हुँदैन थियो । तर अफसोस, हाम्राबीच यस्तो अलमल छ ।

मधेस आन्दोलनले संविधान संशोधनको माग लगातार गरिरहेको छ । संविधानले यस्ता माग अगाडि सार्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई उपलब्ध गराएको छ । मधेसले बाहेक कमरेड विप्लवको नेतृत्वमा रहेको समूह पनि संविधान र चुनावप्रति सकारात्मक दृष्टि राख्दैन । राजनीति आफैंमा यो अनौठो कुरो होइन । यति भएर पनि एउटा कित्तामा मधेसको ‘हठ’ भने अनावश्यक र दुराशयपूर्ण भन्ने धारणा बनेको छ । यसमा मधेसले पनि प्रतिक्रिया देखाउँदै छ । क्रिया–प्रतिक्रियाको यस जङ्गलमा सु्धीर शर्माले संकेत गरेझैं हामी र उनीहरू बेग्लै हो भन्ने भावनाको विकास भइरहेको बोध हुन सक्छ । 

एउटा कुरा सत्य हो- मधेस र मधेसीले नेपाली राज्यसँग एकाकार गर्न सकिरहेको छैन । आफ्ना समयमा गजेन्द्रनारायण सिंहले आफ्ना कार्यकर्तालाई सिकाएका थिए- यो देश निश्चय हाम्रो हो, तर राज्य भने होइन । गजेन्द्रनारायण सिंहको यो कथन आज पनि निराधार छैन । पुराना मधेसवादी कार्यकर्ताहरूलाई गजेन्द्र–वाणी अवश्य पनि सम्झना होला । गजेन्द्रनारायण सिंह नेपाली कांग्रेसको संस्कारमा हुर्किएका राजनीतिज्ञ थिए । के भन्दा र गर्दा आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने राजनीतिको पनि उनलाई राम्रो हेक्का थियो । पञ्चायती व्यवस्थाको प्रतिकूल अवस्थामा गजेन्द्रनारायण सिंहले मधेस आन्दोलनलाई स्थापित गरेका थिए । 

उनले यस्तो गर्दा राष्ट्रिय दृष्टिकोणलाई ओझेल पारेका थिएनन् । अहिलेका केही मधेस नेताहरूको बोली वचन हेर्दा उनीहरूले गजेन्द्रनारायणलाई देखेको–चिनेको प्रतीत हुँदैन । कतिपय मधेसी नेताहरूको अभिव्यक्तिले नेपालमा विभाजनवादी राजनीतिलाई प्रश्रय दिएको छ । गैरमधेसी मूलका कतिपय ठूला नेताहरूले त्यसको प्रतिक्रियामा झन् ठूलो स्वरमा हाक्काहाकी विभाजनकारी राजनीति बोलेका छन् । मुलुक र जनताका लागि जीवनका सर्वश्रेष्ठ वर्ष जेल बिताउनुभएका साथीहरू सत्ताको राजनीतिको आवेशमा बगेका देखिन्छन् । सत्ताको राजनीतिको हानथापमा वर्तमान संविधान विवादास्पद बनेको हो । संविधान घोषणा गर्ने क्रममा शीर्षस्थ नेताहरूले तात्कालिक लाभ हेरे । दीर्घकालीन दृष्टि राख्न सकेनन् । टोमस जेफर्सन भन्थे- विनाशभन्दा विलम्ब राम्रो । त्यसो भन्दा, अहिले विनाश नै हुन आँट्यो भन्ने छैन । त्यसैले २ नम्बर प्रदेशको चुनाव सर्दा आकाश नै झर्‍यो भन्ने पनि होइन ।

लामो समयदेखि नागरिकताको सवालले नेपाललाई पिरोलेको छ । कांग्रेस र कम्युनिस्टका पुराना पुस्ताका नेताले नागरिकताको बारेमा कस्ता धारण राख्थे भन्ने कुरा २००९ को नागरिकता ऐनबाट थाहा पाइन्छ । २००७ साल लगत्तैपछि पनि भाषाका सम्बन्धमा विवाद उठेको थियो । त्यस विषयमा राष्ट्रिय नेताहरू स्पष्ट थिए । यी दुवै सवाल आज पनि जीवित छन् । तर यी दुई सवाललाई हेर्ने हाम्रो दृष्टिकोण फेरिएको छ । मधेस र बाँकी नेपालका बीचमा २००७ को क्रान्तिले नयाँ सम्बन्ध स्थापना गरेको थियो । मधेसले राणाकालीन हेपाइ र भेदभावबाट उन्मुक्ति पाएको थियो । २०१७ सालको राजा महेन्द्रको शाही कदमले मधेसलाई बलात पर धकेल्यो । मधेस पनि उसैगरी २०१७ शाही कदमको विरोधमा अग्रपंक्तिमा रह्यो । दुर्गानन्द झा र शिवचद्र मिश्रा सहिद भए । मधेसले प्रतिरोध गरिरह्यो । २०४६ मा प्रजातन्त्रको आगमनपछि मधेसले राहत पायो । तर त्यो राहत पर्याप्त भएन । दोस्रो जनआन्दोलनपछि मात्र मधेस–वाणी फुटेको छ । 

राष्ट्रिय रूपमा यसले सुनवाइ पाउनासाथ सुधीर शर्माको आलेखले उत्पन्न गरेको आशंका निर्मूल हुनेछ । मधेस आन्दोलनसँग विमति राख्ने मानिसले सर्वप्रथम एउटा कुरा बुझ्न आवश्यक छ । यो परदेशी आन्दोलन होइन । प्रजातान्त्रिक व्यवस्था, मूल्य मान्यता गहिरिंदै जाँदाको परिस्थितिको अभिव्यक्ति र विस्तार हो । प्रजातन्त्रको प्रयोगको तार्किक परिणति हो मधेसको असन्तुष्टि । यो एक राष्ट्रिय समस्या हो । परदेशीले खडा गरेको समस्या होइन । हामीले परदेशीलाई यसरी नै उड्किरहने हो भने लोककथाको गोठालाको बाघ आयो, बाघ आयो भन्ने कथा चरितार्थ हुन बेर छैन ।

राष्ट्रिय–राज्यको इतिहास पुरानो छैन । पुराना जमानाका राज्य वा साम्राज्यहरू आफूखुसी टुक्रिन्थे, गाँसिन्थे । राष्ट्रियताको उद्भवपछि यो परम्परा बन्द भएको छ । कार्डिनल रिसलुको नेतृत्वमा ‘वेस्ट फेलिया’ को सन्धि (सन् १६४८) भएपछि आधुनिक राष्ट्रिय–राज्यको सैद्धान्तिक आधार बन्न थालेको हो । आधुनिक राष्ट्रमा विविध भाषा, जातीयता हुन्छन् । तर राष्ट्रिय–राज्यले यी सबैप्रति समान दृष्टिकोण राख्छ । मधेसलाई नेपाली राष्ट्रप्रति कुनै प्रतिवाद छैन । उनीहरूले राज्यप्रति गुनासो राखेका छन् । त्यो अस्वाभाविक छैन । त्यस्तो गुनासोमा केही गैरजिम्मेदार प्रवृत्ति देखिएका छन् । रणनीति र कार्यनीतिका क्षेत्रमा पनि भूल भएका छन् । मधेसले उग्रराष्ट्रवादीको मन जित्ने प्रयास गरेका छैनन् । उल्टो उनीहरूलाई तर्साउन खोजेका छन् । मुलुकको भूराजनीतिक अवस्थाको सीमा–सामथ्र्य बिर्सिएका छन् । राजनीतिक यथार्थ एकातिर छ । कतिपय मधेसी नेताको भावना अर्कोतिर छ ।

सुधीर शर्माले भनेजस्तो मधेससँग हाम्रो मनभेद भइसकेको जस्तो लाग्दैन । मनभेद र मतभेदमा भाषाका दृष्टिले फरक छ । मतभेद मतैक्यमा पुग्छ । मनभेद भएको छ भने मिलाउन गाह्रो पर्छ । अरुणा लामाले गाएकी छन्- यसपल्ट त मनै फाट्यो केले सिउने केले टाल्ने हो... । मधेस र पहाडको सम्बन्ध यस्तो मनभेदमा पुगेको छैन भन्ने मेरो अनुभूति छ । पहाड–मधेस अझै परस्पर पराई भएका छैनन् । मधेसका शीर्षस्थ नेताहरूको बिहेवारीदेखिन खानपान चाड–तिहारमा हामी एकअर्कासँग नजिकिँदै गएका छौं । मन फाटेको छैन । मत मात्र बाझेको हो- खुला समाजमा यो स्वाभाविक हो ।

कुनै समय बीपीले भन्नुभएको थियो- राष्ट्रियताको मूलतत्त्व भनेको जनता हो, भूगोल होइन । पृथ्वीनारायण शाहले निर्माण गरेको भूगोलमा टेकेर राजा महेन्द्रले राष्ट्रियताको एउटा अत्यन्त संकीर्ण परिभाषा स्थापित गरे । एउटा राजा एउटा देश, एउटा भाषा एउटा भेषको नारा लगाए । यो गलत थियो । १९७१–०७२ मा बीपीले यसको प्रतिवाद गर्नुभएको थियो । बीपीको राष्ट्रियताको परिभाषा आज पनि प्रासंगिक छ । मधेसका जनतालाई उपेक्षा गरेर नेपालले राष्ट्रियताको स्वस्थ जग बसाउन सक्दैन । मधेस, पर्वत, हिमाल सबैले राम्रोसँग बुझ्नुपरेको छ । मिले पनि लडे पनि, दिबानी–फौजदारी जे गरे पनि यो दियादी झगडा हो । कौटुम्बिक कलह हो । मतभेद होस्, मनभेद नहोस् ।

राष्ट्रियताका व्याख्याकारले सधैं भनेकै छन्, ‘प्रजातन्त्र र राष्ट्रवाद अन्यान्योश्रित छन् ।’

प्रकाशित : असार १२, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

बीपी कोइराला प्रत्यागमनको अर्को कथा

प्रदीप गिरि

आठ वर्षको लामो भारत प्रवासपछि आजभन्दा झन्डै ४० वर्षअघि बीपी कोइराला ३० डिसेम्बर १९७८ का दिन नेपाल फर्कनुभएको थियो । नेपाली कांग्रेसको इतिहासमा त्यस दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको संज्ञा दिइएको छ । अक्टोबर १९६८ का दिन कोइराला सुन्दरीजलको कारावासबाट रिहा हुनुभयो ।

त्यस रिहाइका क्रममा बीपीले कांग्रेसका कार्यकारी अध्यक्ष सुवर्ण शमशेरको १५ मे १९६८ को वक्तव्यको समर्थन गर्नुभएको थियो । बीपीको स्वास्थ्य चिन्ताजनक छ भन्ने सूचनाले सबै शुभेच्छुुक आत्तिएका थिए । कारागारमुक्त बीपीले सर्वप्रथम बम्बई गई जाँचबुझ गराउनुपर्ने थियो । त्यो गरियो ।

बीपी र सुवर्ण बीचको समझदारी 
नेपाल फर्केपछि बीपीले गृहनगर विराटनगरमा दुई–तीनवटा सभा र पत्रकार सम्मेलन सम्पन्न गर्नुभयो । बीपीले पञ्चायत व्यवस्थाको कडा आलोचना गर्नुभयो । क्रान्तिको अनिवार्यताको सैद्धान्तिक व्याख्या गर्नुभयो । बीपीका भाषणले गर्दा राजा महेन्द्रले फेरि थुन्छन् कि भन्ने शंका उत्पन्न भयो । कोइराला हिन्दुस्तान जानुभयो । त्यतै रहन–बस्न थाल्न्नुभयो । भारत प्रवासका प्रारम्भिक वर्षहरूमा बीपी र पार्टी सभापति सुवर्ण शमशेरमा आधारभूत समझदारी थियो । यता आएर मात्र बीपीले सुवर्णजीलाई लेख्नुभएको केही चिठ्ठीहरू प्रकाशित भएका छन् । प्रा. यज्ञनाथ आचार्यले आफ्नो शोधकार्यमा यस्ता पत्रलाई अगाडि ल्याउनुभएको छ । सुवर्णजीका नाति हाटक शमशेरको सौजन्यले यी चिठ्ठीहरू फेला परेका हुन् । डा. राजेश गौतमद्वारा लेखिएको नेपाली कांग्रेसको इतिहासमा पनि यी पत्रहरू बीपीको हस्ताक्षरमा पढ्न सकिन्छ । ६ मे १९७३ का दिनमा बीपीले सुवर्णलाई एक पत्र लेख्नुभएको थियो । पत्रमा दुवैले मिलेर एक भई एक स्वरले राजा वीरेन्द्रसँग सम्वाद गर्नुपर्छ भन्ने बीपीको आग्रह छ । बीपीले सुवर्णजीको हात राजालाई यसै आशयको थप चिठ्ठीसमेत पठाउनुभएको छ । बीपीले दिनुभएको भरोसामा टेकेर सुवर्णजी लगत्तै काठमाडौं आउनुभएको थियो । राजा वीरेन्द्र र सुवर्ण शमशेरबीच त्यस भेटमा सार्थक सम्वाद भएको थियो । तर सुवर्ण शमशेर काठमाडौंमै रहनुहुँदा हठात् विमान वलाननयन भयो । सुवर्णको ‘सम्वाद’ भताभुङ्ग भयो । 

वलाननयनपछि कांग्रेसको राजनीतिले अर्कै मोड लियो । केही महिना अघिमात्र बीपीले आफ्नो मुखपत्र तरुणमा क्रान्ति चर्चा भन्ने एक गम्भीर लेख लेख्नुभएको थियो । बीपीले त्यस लेखमा आतंकवाद र क्रान्तिको तुलनात्मक व्याख्या गर्नुभएको थियो । त्यस लेखले विमान वलाननयनको समर्थन गर्न सक्दैनथ्यो । त्यसपछि भएका आतंकवादी गतिविधि अझ असमर्थनीय थिए । विमान वलाननयनको पृष्ठभूमिमा बीपी र सुवर्णबीच पहिलोपटक कटुता देखियो । तर बीपी त्यहाँ रोकिनुभएन । चाही—नचाही टिम्बुरबोटे काण्डतर्फ प्रवृत्त हुनुभयो । तर टिम्बुरबोटे एक त्रासद असफलता थियो । यस असफलताले बीपीलाई स्तव्ध बनायो । यस त्रासदीको झट्काबाट बीपी मुक्त नहुँदैमा भारतमा संकटकाल लागु भयो । बीपीका निम्ति संकटकाल अर्को राजनीतिक व्याघात थियो । संकटकाल छँदाछँदैमा ३० डिसेम्बर १९७६ मा बीपी नेपाल फर्कनुभयो । सौभाग्यवश उहाँ नेपाल फर्कनुभएको सय दिन नबित्दै हिन्दुस्तानमा संकटकाल खतम भयो । आमचुनाव भयो । त्यस आमचुनावमा जयप्रकाश नारायणको नेतृत्वमा जनता पार्टी विजयी भयो । बीपीका मित्र र समर्थकहरू भारतमा सत्तासीन भए । जयप्रकाश नारायण–चन्द्र शेखरले कोइरालाको रिहाइको निम्ति अन्तर्राष्ट्रिय स्तरको अभियान चलाए । बीपी जेलमुक्त हुनुभयो । जेल र निर्वासनका निस्सासिँदा दिन समाप्त भए ।

मेलमिलाप नीतिको प्रतिपादन 
हिन्दुस्तानबाट नेपाल फर्कने क्रममा बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको थेसिस प्रतिपादन गर्नुभएको थियो । बनारस प्रवासमा १९७१ मा बीपीले राष्ट्रियताको विषयमा एक विचारोत्तेजक लेख लेख्नुभएको थियो । राष्ट्रियताको त्यस प्रस्तुतिमा बीपीले राजा र राजतन्त्रका बारेमा नकारात्मक विश्लेषण गर्नुभएको छ । तर मेलमिलापको थेसिसमा अब यो प्रस्तावना आमूल फेरिएको थियो । राष्ट्रिय मेलमिलापको व्याख्या गर्दा बीपी कोइराला अब राजा र राजतन्त्रमा राष्ट्रियताको आश्रय देख्न थाल्नुभयो । राष्ट्रिय मेलमिलाप बीपीको राजनीतिक जीवनको अन्तिम अध्याय भयो । कांग्रेसका नेताहरूमा आज पनि राष्ट्रिय मेलमिलापको सिद्धान्तलाई बीपीको वैचारिक उत्तराधिकारको रूपमा लिने प्रवृत्ति छ ।

बीपी एक बौद्धिक राजनेता हुनुहुन्थ्यो । विश्व इतिहासको गतिलो जानकारी राख्नुहुन्थ्यो । आफ्नो थेसिसको औचित्य प्रतिपादन गर्ने क्रममा बीपीले युरोपको इतिहासको उदाहरणहरू दिनुभएको छ । इङल्यान्डकी एलिजावेथ प्रथम, फ्रान्सका लुई चौधौं, जर्मनीका विसमार्क, रूसका पिटर दि ग्रेट र महारानी क्याथरिनको सम्झना गर्नुभएको छ । यिनीहरू सबैले राष्ट्र–निर्माण गरे भन्ने बीपीको जिकिर छ । विचारधाराको इतिहासमा राष्ट्रियता एक नौलो तथा जटिल विषय छ । वैचारिक धरातलमा बीपीका पुराना वा नयाँ तर्क कति सही छन्, त्यो कुरा आफ्ना ठाउँमा छ । तर राजनीतिक दृष्टिले बीपीको तत्कालीन प्रस्तुति प्रभावशाली भयो । दुई ढुङ्गाको तरुलका रूपमा चिनाइएको नेपाल आफ्नो अस्तित्व रक्षाका लागि सधैं नयाँ तर्कको खोजीमा छ । पृथ्वीनारायण शाहले नेपाललाई ‘असिल’ हिन्दुस्तान भनेर परिचय खोजेका थिए । राणाहरूले पनि सच्चा–हिन्दुत्वको दाबा गरेर भारतका पुरातनपन्थीसँग न्यानो सम्बन्ध बनाएका थिए । राजा महेन्द्र एक कदम अगाडि बढे । उनले नेपाललाई हिन्दुराष्ट्र घोषणा गरे । बीपीको राष्ट्रिय मेलमिलापको थेसिसले यस्ता परम्परागत भावनाबाट सम्बल प्राप्त गर्‍यो । नेपालमा नयाँ किसिमको राष्ट्रवादी राजनीति चलमलायो ।

राष्ट्रिय मेलमिलापको थेसिसको प्रतिपादनमा बीपीले लम्बाचौडा उपमा, दृष्टान्त र उदाहरण थपेको–थप्यै गर्नुभएको थियो । अहिलेको परिवेशमा त्यस थेसिसको पुन:पाठ हास्यास्पद प्रतित हुन्छ । तर त्यस थेसिसले राजा वीरेन्द्र र बीपीको सम्बन्ध सहज बनाएको थियो । फलस्वरूप, कांग्रेस कार्यकर्ताहरू अपेक्षाकृत खुला रूपमा हिँडडूल गर्न थाले । राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे । जनमत संग्रहको घोषणालाई बीपीले राष्ट्रिय मेलमिलाप नीतिको विजयको रूपमा लिनुभएको थियो । राष्ट्रिय मेलमिलापको थेसिसको सारतत्त्व सुवर्ण शमशेरको १५ मे १९६८ को वक्तव्यभन्दा भिन्न थिएन । अझपछि जाने हो भने सुन्दरीजलबाट उम्केका दिनदेखि सूर्यप्रसाद उपाध्याय लगातारजस्तो यस्तै कुरा भन्दै हुनुहुन्थ्यो । तर बीपी, सुवर्ण र सूर्यप्रसादको व्यक्तित्व र कार्यपद्धतिमा आकाश—जमिनको अन्तर थियो । बीपी कोइरालामा उच्चकोटीको नेतृत्व–कौशल थियो । जनता र कार्यकर्तासित उहाँको अद्भुत सम्वाद भयो । सुवर्ण र सूर्यप्रसादले राजासँगको आफ्नो आग्रहलाई दरबार र भारदारमा सीमित राखेका थिए । बीपीले राष्ट्रिय मेलमिलापको आह्वानलाई जनताको घरदैलोमा पुर्‍याउनुभयो । मेलमिलाप एउटा आन्दोलनका रूपमा अगाडि बढ्यो ।

बीपी, भारत र राजा 
वैचारिक प्रखरताले मात्र आन्दोलन अगाडि बढ्दैन । तर वैचारिक आधारबेगर आन्दोलन जन्मदै जन्मदैन । बीपीले यो कुरो बुझ्नुभएको थियो । आफ्नो प्रत्यागमनलाई उहाँले राष्ट्रिय मेलमिलापको आवरणमा विचारमुखी समेत बनाउनुभयो । नेतृत्व कौशल यसै पनि उहाँमा जन्मजात थियो । पुस १ गते २०१७ साल घटित भएको बीस वर्ष भैसकेको थियो । राजा महेन्द्र बितिसकेका थिए । राजा वीरेन्द्र बुबाको उत्तराधिकारलाई लिएर दुविधाग्रस्त थिए । उनी आधुनिक विश्वका सन्तान थिए । विश्वव्यापी रूपमा गतिशील रहेको आधुनिकीकरणको दबाबलाई राजा महेन्द्रले समेत रोक्नसकेका थिएनन् । राजा वीरेन्द्रले एक कदम अगाडि बढेर विकासको मूल फुटाउने नारा दिएका थिए । तानाशाहीका निम्ति विकास ‘निल्नु न उकल्नु’को तातो गाँस हुन्छ । विकासका साथ राजनीतिक चेतना अनिवार्य रूपमा उकासिन्छ । स्खलित निर्वासनबाट फर्किएका बीपी कोइराला यसबाट लाभान्वित हुनुभयो । 

तर प्रश्न छ, नेपाल फर्कंदाको ३० डिसेम्बरको पटनाको त्यस चिसो अँध्यारो घडीमा बीपी कोइरालाले काठमाडौंको जीवनको कस्तो कल्पना गर्नुभएको थियो ? बीपीको कुनै पनि जीवनीकारका निम्ति यो एक महत्त्वपूर्ण प्रश्न हो । बीपी कोइरालाले आफ्ना बारेमा प्रशस्त लेख्नुभएको छ । तर राजकाजका विषयमा बीपी कोइराला अधिकांशत: मौन हुनुहुन्छ । भारत र राजासँगको उहाँको सम्बन्ध र सम्वादको कुनै आधिकारिक संकेत उहाँको अनेकानेक आत्मकथ्यमा पाइँदैन । बीपीले आत्मवृत्तान्तमा इन्दिरा गान्धी, उनका आसेपासे र ‘रअ’का अधिकारीहरूलाई समेत भेटेको कुरा स्वीकार गर्नुभएको छ । तर थप जानकारी छैन । बीपीका माध्यमबाट बंगलादेशी क्रान्तिकारीले हतियार पाएका थिए । त्यो हतियार भारत सरकारले उपलब्ध गराएको थियो भनेर बीपीले आत्मवृत्तान्तमा प्रकारान्तरले बताउनुभएको छ । तर यो कुरो ठोस रूपमा खोल्नुभएको छैन । ठिक त्यस्तै नेपाल आउनुअघि राजा वीरेन्द्रसँग उहाँको कुनै सम्पर्क वा सम्वाद भयो—भएन, यो महत्त्वपूर्ण प्रश्न उठ्छ । भोला चटर्जीले बीपीलाई एकपटक प्रस्ट सोधेका थिए— नेपाल फर्कनुअघि तपाईंसँग राजाको कुनै सम्पर्क भएको थियो वा थिएन ? बीपी कोइरालाले ठाडै इन्कार गर्नुभएको छ । गणेशमान सिंहले प्रत्यागमनको अघिल्लो घडीसम्म पनि अनेकन किसिमका माध्यम प्रयोग गरेर राजा वीरेन्द्रसँग सम्पर्क गर्न खोजेको कुरा राजेश गौतमसँगको कुराकानीमा बताउनुभएको छ । एक रेडियो–साहुका माध्यमबाट टेपमा भरेर आफ्नो कुरा राजासमक्ष पठाएकोसम्म भन्नुभएको छ । यस्तो काम गणेशमान सिंहले आफू–खुसी गर्नुभएको थिएन । स्वयम् भोला चटर्जी नै राजा र बीपीको बीचमा सम्वाद कायम गराउन सत्त प्रयत्नशील थिए भनेर त्यो उनैले लेखेका छन् ।

सिक्किमको विलय र नेपालमा विरोध 
केही महिनाअघि मात्रको कुरा हो । सन् २०१६ को उत्तरार्धतिर महाराजाकृष्ण रसगोत्राको आत्मकथा प्रकाशित भएको थियो । रसगोत्राको पुस्तक ‘ए लाइफ इन डेप्लोमेसी’मा नेपालले मनज्ञ ठाउँ पाएको छ । त्यहाँ बीपी–गणेशमानको प्रत्यागमनको प्रसङ्गको उल्लेख छ । रसगोत्राले बीपीलाई नेपाल भित्र्याउन आफ्नो अहम् भूमिका भएको दाबा गरेका छन् । महाराजकृष्ण रसगोत्रा कश्मिरी मूलका भारतीय कूटनीतिज्ञ हुन् । नेहरू परिवारले उनलाई सधैं पत्यार गर्‍यो । उनलाई इन्दिरा गान्धीले व्यक्तिगत चासो लिएर १९७३ मा नेपालका निम्ति राजदूत छानेकी थिइन् । उनका अनुसार १९७३ मा राजदूत नियुक्त भएर नेपाल आउनुअघि इन्दिरा गान्धीले उनलाई नेपाल–विषयक आफ्ना धारणा भनिन् । तत्कालीन नेपाली शासक अर्थात राजा वीरेन्द्र र उनका सल्लाहकारप्रति इन्दिरा गान्धी नकारात्मक थिइन् । तर राजा–विरोधी शक्तिप्रति पनि उनको विश्वास थिएन । समग्रमा नेपालले अन्तर्राष्ट्रिय राजनीतिमा धेरै चलखेल नगरोस् भन्ने इन्दिरा गान्धीको धारणा थियो । इन्दिरा गान्धी वा रसगोत्राले नेपाल सम्बन्धमा व्यक्त गरेका विचार नेपालीका निम्ति आज पनि चिन्तनीय छ । रसगोत्रा ८० काटेर आज पनि स्वस्थ र सक्रिय छन् । भारत सरकारको विदेश नीतिमा उनको प्रभाव छ । पुस्तकमा उनले मधेस आन्दोलनबारे आफ्ना विचार स्पष्टतापूर्वक राखेका छन् । मधेस आन्दोलनका दौरान भएको नाकाबन्दीका सिलसिलामा उनी नेपालले चीनसँग सम्बन्ध बढाउन खोजेको उल्लेख गर्छन् । उनले त्यसको व्यङ्ग्यात्मक स्वागत गरेका छन् । उनको व्यङ्ग्यमा— ‘लौ न त गरेर देखाऊ’ भन्ने चुनौती छ । 

राजदूत रसगोत्राको नेपाल कार्यकालताका नै सिक्किम विलयको घटना भएको थियो । नेपालमा त्यस विरुद्ध जुलुस र प्रदर्शन भएको थियो । त्यस्तो जुलुस र प्रदर्शनमा राजा वीरेन्द्रको हात रहेको भारतले देखेको थियो । इन्दिरा गान्धीले रसगोत्रालाई नेपालसँग व्यवहार गर्ने विषयमा चेतावनी दिँदा उनलाई त्यसको पूर्वाभास थियो । इन्दिराले भनेकै पारामा रसगोत्राले आफ्नो जिम्मेवारी पुरा गरे । नेपालको सिक्किम समर्थन दिगो भएन । तर सिक्किमका सिलसिलामा भएका कुराकानीमा राजा वीरेन्द्रले बीपीको भारतसँगको सम्बन्ध र प्रवासप्रति चिन्ता व्यक्त गरे भन्ने रसगोत्राको कथन छ । राजा वीरेन्द्रले भारतसँग ठिक सम्बन्ध राखेमा बीपी वा सुवर्णका बारेमा चिन्ता लिनुपर्दैन भनेर रसगोत्राले राजालाई आश्वस्त पारे । बीपीको स्वास्थ्य र उमेरको उल्लेख भयो । बीपीलाई काठमाडौंमा शान्तिपूर्वक बस्न दिँदा ठिक हुन्छ भनेर आफूले राजालाई चित्त बुझाएको रसगोत्राको दाबा छ । भारतले साथ नदिँदासम्म बीपीले नेपालभित्र वा बाहिरबाट पनि केही गर्न सक्नुहुन्न भन्ने रसगोत्राको जिकिर थियो । रसगोत्रा भन्छन्, राजाले बीपीलाई दु:ख दिन भने पाइँदैन भनेर वचन पनि लिए । राजा वीरेन्द्रको चित्त बुझ्यो । रसगोत्रा त्यसपछि बीपीलाई नेपाल भित्र्याउन तम्सिए । त्यतिन्जेलमा इन्दिरा गान्धी पनि यस्तै चाहन्थिन् । 

भारतमा जयप्रकाशको आन्दोलन चर्किरहेको थियो । बीपी कोइराला र जयप्रकाश नारायणको घनिष्ट सम्बन्ध सर्वविदित थियो । समाजवादी नेता चन्द्रशेखर र जर्ज फर्नान्डिज बीपी कोइरालासँग निकट हुनपुगेका थिए । संकटकाल लगाउन बाध्य भएकी इन्दिरा गान्धीलाई जयप्रकाश, चन्द्रशेखर र जर्ज फर्नान्डिजसँग बीपीको हिमचिम मनपरेको थिएन । इन्दिरा दरबारका भित्रिया रसगोत्रालाई यो बुझ्न गाह्रो थिएन । बीपीलाई नेपाल भित्र्याउन सक्दा उनले एउटा ढुंगोले दुई चरो मार्ने भए । एकतिर प्रधानमन्त्री इन्दिरा गान्धी रिझिने भइन् । अर्कोतिर राजा वीरेन्द्रको विश्वास जित्न सजिलो हुने भयो । रसगोत्रा यस कार्यमा प्रवृत्त भए ।

बीपी–रसगोत्राको सम्पर्क सेतु 
अन्तरकथाको एउटा अर्को रसिलो आयामसमेत छ । ८० वर्ष काटेका रसगोत्रा आफ्नो युवावस्थालाई सम्झन पुग्छन् । २००७ साल लगत्तैपछिको कुरा हो । तिनताका रसगोत्रा भारतीय दूतावासमा प्रथम वा द्वितीय सचिव यस्तै के थिए । कुनै समारोहमा विजयालक्ष्मी कोइरालालाई भेटेका रहेछन् । विजयालक्ष्मी कोइरालाको बोलाउने नाम बुनु दिदी थियो । बुनु दिदीलाई एकपटक देख्ने युवकले उनलाई सहजै बिर्सन सक्दैनथ्यो । बुनु दिदीले इलाहवाद विश्वविद्यालयबाट एमए गर्नुभएको थियो । सौन्दर्य र वैदुष्यको संगमले बुनु दिदीलाई अनुपम बनाएको थियो । समवयस्क रसगोत्रा र बुनु दिदीमा सामान्य हिमचिम थियो । बुनु दिदीबाट आफू आकर्षित र प्रभावित भएको कुरो रसगोत्राले मलाई उहिल्यै विस्तारमा बताएका थिए । उनलाई बुनु दिदीको मधुर सम्झना थियो । बुनु दिदीले पछि पाकिस्तानी कूटनीतिज्ञसँग विवाह गरेको थाहा पाएर आफू खिन्न भएको कुरासमेत ठट्यौलो शैलीमा मलाई भनेका थिए । राजदूत रसगोत्राले उनकै माध्यमबाट बनारसमा रहनुभएका बीपीसँग सम्पर्क बनाएका रहेछन् । उनले मसँगको भेटमा ज्यादा विस्तारमा आफ्नो कुरा सुनाएका थिए । केही वर्षअघि दिल्लीमा वसन्त विहारको उनको घरमा मसँग लामो कुराकानी भएको थियो । रसगोत्राले आफ्नो पुस्तकमा बुनु दिदीको लामो उल्लेख गरेका छैनन् । अहिलेको सम्पादित–प्रकाशित आत्मकथामा आधारभूत कुरा उनै छन् । स्वाभाविक रूपमा केही थोरै छन् । 

कोइराला परिवारको राजनीतिक कार्यपद्धतिको जानकारी भएको मानिसले मात्र विजयालक्ष्मी कोइरालाको दौत्य कर्मको महत्त्व बुझ्न सक्छ । तर त्यस्तो अमोघ दौत्य कर्मका बाबजुद बीपी कोइराला सुरुमा गल्नुभएन । संकटकाल उत्कर्षमा थियो । भारत सरकारले बीपीलाई फकाउने र तर्साउने काम एकसाथ गर्न थाल्यो । बीपीका सहयोगीहरू धमाधम थुनिन थाले । जुलाई १९७६ मा दुर्गा सुवेदी समातिनुभयो । सुशील कोइराला दिल्लीमा पक्राउ पर्नुभयो । अरू दबाब पनि थपिँदै गए । बल्ल बीपीले नेपाल फर्कने मन बनाउनुभयो । तर त्यहाँ पनि अघिपछि भैरह्यो । दुई—तीनवटा तिथि टरे । अन्त्यमा गजवको साइत पारेर बीपी नेपाल फर्कनुभयो । यसपछिको बीपीको दिनचर्याको अभिलेख करिब–करिब सुविदित छ ।

बीपी कोइराला नेपाल फर्कनुभएको पनि अब त चार दशक भैसक्यो । ती वर्षहरूमा नेपालमा युगान्तकारी परिवर्तन भए । राजतन्त्रसँग हातेमालो गरेर राष्ट्रियताको सम्बर्धन गर्ने बीपी कोइरालाको चिन्तन असामयिक भएको छ । मुलुकमा गणतन्त्र आएको छ । तर पनि भारत र नेपालको सम्बन्धमा सधैं नयाँ कुरा निस्किइरहन्छ । भारतले इसारा नगर्दासम्म नेपाली राजनीतिमा कुनै परिवर्तन हुँदैन भन्ने धारणा धेरैजसोमा छ । यस्तै धारणाको पुष्टि गर्दै शास्त्री रामाचन्द्रनले सन् २००२ एउटा आलेख छापेका थिए । त्यो आलेख कनकमणि दीक्षित सम्पादक/प्रकाशक रहेको ‘स्टेट अफ नेपाल’ भन्ने पुस्तकमा सङ्कलित छ । १५ वर्षअघि छापिएको त्यस संकलनमा बीपीको प्रत्यागमनमा राजदूत रसगोत्राको हात रहेको उल्लेख र विवरण छ । पहिलो पटक त्यस आलेखलाई पढ्दा मलाई पत्यार लागेको थिएन । इन्दिरा गान्धीसँगको राजनीतिक मतभेदले गर्दा बीपी अन्तत: नेपाल फर्कनुभएको हो भन्ने मेरो विश्वास थियो । तर राजदूत रसगोत्राको यो पुस्तकले प्रत्यागमनको विषयमा अर्कै पाटो देखाउँछ । बीपीले एउटा व्यक्तिका रूपमा इन्दिरा गान्धीलाई निश्चय कहिल्यै आदरणीय देख्नुभएन । प्रधानमन्त्री नेहरूको व्यक्तित्वप्रति पनि उहाँ धेरै उत्साहित हुनुहुन्नथ्यो । तर राजकाजका जटिलता र बाध्यताबाट बीपी पूर्णत: अवगत हुनुहुन्थ्यो । 

बनारसका देवेन्द्रनाथ द्विवेदी राज्यसभाका सदस्य थिए । उनी समाजवादी एवं बीपीका प्रशंसक थिए । नेपाल फर्किने दुई–तीन साता अघिमात्र उनै देवेन्द्रनाथ द्विवेदीलाई लिएर संसद् भवनमा गएर बीपीले इन्दिरा गान्धीसँग बिदावारी हुनुभएको थियो । देवेन्द्रनाथ द्विवेदीले यो कुरो सगर्व सबैलाई सुनाउँथे । तर यो पनि ठूलो कुरो भएन । भारत सरकारको आस र विश्वासमा आठ वर्ष कुरेका कोइराला इन्दिरा गान्धीलाई आखिरी नमस्कार गर्न जानु आश्चर्यजनक कुरो थिएन । यसै पनि बीपी कोइराला सभ्य र शिष्ट व्यवहारका प्रतिमान हुनुहुन्थ्यो । 

बीपी, भारत र चीन 
तरुणको प्रधान सम्पादकका रूपमा शैलजा आचार्यको नाम थियो । बीपी नै त्यसको खास सम्पादक हुनुहुन्थ्यो । शैलजाजीको बौद्धिकता असंदिग्ध थियो । तर उहाँको राजनीतिक जीवनको तत्कालीन उद्देश्य बीपीको सफलता थियो । तरुणको पाँचौं/छैटौं अंकमा बीपीको गोरखपुरको भाषण छ । पत्रकार सम्मेलनको रिपोर्ट छ । बीपीले आफ्नो मुखपत्रका माध्यमबाट भारत सरकारसँग आखिरी पटक गुहार गर्नुभएको छ । उहाँको स्पष्ट कथन छ, ‘भारत सरकारले मलाई मद्दत गरोस्, होइन भने देख्तादेख्तै नेपाल चीनको पोल्टामा जान्छ–जान्छ । भारत सरकारको लापरबाहीले जान्छ । हेर्दाहेर्दै जान्छ ।’ तरुणका अनुसार बीपीले अंग्रेजीमा भन्नुभयो, नेपाल चीनका पोल्टामा जान्छ, ‘बाइ डिफल्ट’ जान्छ । स्मरणीय छ, बीपीको यो वक्तव्य र अन्तर्वार्ताका बखत भारतमा संकटकाल लागिसकेको थियो । गोरखपुर वार्तामा इमर्जेन्सीको कुनै उल्लेख छैन । सिक्किमको विलय सम्पन्न थियो । त्यसको पनि चर्चा छैन । बीपी यति भन्नुहुन्छ, ‘भारतले मलाई मद्दत गरोस्, नत्र चीनले नेपाल लैजान्छ ।’

चीनले खाएको भनिएको तिब्बत अझै पनि उसलाई निल्नु न ओकल्नु भएको छ । भारतको सिक्किम विलयको घटनाले पोलिएको हात अझै ओभानो भएको छैन । भुटानको कुरै नगरौं । एक्काइसौं शताब्दीको विश्वमा जस्तै शक्तिशाली राष्ट्रले एक्लै आफूखुसी केही गर्न सक्लान् जस्तो छैन । तर रसगोत्राले तर्साएझैं ‘तिमीहरू जे गर्नुछ, गर, हामीलाई चासो छैन’ भन्न सक्छ । रसगोत्राले त्यही गरेका छन् । महाराजकृष्ण रसगोत्राको आत्मकथालाई लिएर नेपाललाई दुई—चारपटक लेख लेखिएका छन् । एक त उनको शाही परिवारसँग राम्रो सम्बन्ध भएको खुलासा छ । दोस्रो, नेहरू–गान्धी परिवारसँग त उनको सम्बन्ध सर्वविदित नै रह्यो । नेपालमा व्याप्त रहेको आमधारणा अनुसार इन्दिरा गान्धीको ‘कुत्सित’ अभियोजनासँग विद्रोह गरेर बीपी नेपाल फर्कनुभएको थियो । रसगोत्रा भन्छन्, ‘बीपी कोइराला इन्दिरा गान्धीको सद्भावनासहित नेपाल फर्कनुभएको थियो ।’ भेटघाटमा मैले यसको प्रतिवाद गर्दा रसगोत्रा खिन्न एवं आश्चर्यचकित भएका थिए । बीपी र भारत सरकारबीच जति मुख त्यति कुरा छन् । रसगोत्राले भने लेखेरै आफ्ना कुरा भनेका छन् ।

आखिरी दिनमा गिरिजाप्रसाद कोइरालाले आत्मकथामा बोल्नुभएको थियो । कोइरालाको कथनअनुसार उहाँले ‘रअ’का तत्कालीन महानिर्देशकसँग कुराकानी गरेर नै विमान वलाननयन गराउनुभएको थियो । गणेशराज शर्माद्वारा सम्पादित एवं जगदम्बाद्वारा प्रकाशित आत्मकथामा वलाननयनको उल्लेख मात्र छ । बीपी बोल्न थाल्नुहुन्छ, ‘अब विमान हाइज्याकिङको कुरा गरौं कि ?’ आत्मवृत्तान्तमा त्यही सिद्धिन्छ । त्यहाँ उत्तर छैन । रसगोत्राको आत्मवृत्तान्तले विमान वलाननयनको उल्लेख गरेको छैन । तर तिनताका नै रसगोत्राको नेपाल कार्यकाल सुरु भएको थियो । इतिहास एक विकासशील विधा हो । नेपालमा यस विधाको ठिक अभ्यास अझै थालिएको छैन । वंशावलीलाई इतिहास सम्झिने र पुराणलाई इतिहास भन्ने परिपाटी कायम छ । आत्मकथाले पनि इतिहासको स्थान लिन सक्दैन । तर पनि त्यसले पुराण र वंशावलीको अन्योललाई उछिन्छ । महाराजा कृष्ण रसगोत्राको यो पुस्तक भारत—नेपालको कूटनीतिक सम्बन्धको इतिहासमा एक थप स्रोत–ग्रन्थ भएको छ । यस कृतिले एकातिर हामीलाई बीपीको राजनीतिक कौशल र विदग्धताको झल्को दिन्छ । अर्कोतिर भारतीय कूटनीतिको बहुमुखी अनुहारको चिनारी गराउँछ ।

सुवर्ण शमशेरलाई बीपीको चिठी

कलकत्ता, ६।५।१९७३
प्रिय सुवर्णजी,
म हिजो तपाईंलाई मैले भनिसकेको कुरा लेखेर अभिव्यक्त गर्ने कोसिस गर्दैछु । साहिँला राजकुमारको विवाहको अवसरमा तपाईंको काठमाडौंको भ्रमणको सवालमा मेरो निश्चित धारणा के छ भने तपाईंले अवश्य जानुपर्छ र राजासँग भेट गर्ने अवसरको प्रतीक्षा गर्नुपर्छ । 

राजाले कुनै प्रतिक्रिया दिएनन् वा तपाईंलाई भेट दिन सहमति जनाएर पनि खाली हात नै फर्कनुपर्‍यो भने पनि केही बिगिँ्रदैन । तपाईंले अवश्य पनि आफ्नो तर्फबाट उनीसँग भेट गर्ने कोसिस गर्नुपर्छ र हाम्रो विचार उनलाई बताउनुपर्छ । राजा तपाईंसँग भेट गर्न राजी भएर उपयुक्त प्रतिक्रिया दिए भने मुलुकले ठूलो उपलब्धि हासिल गर्नेछ । तर उनले तपाईंसँग भेट गर्न नचाहने पनि ठूलै सम्भावना छ । त्यस्तो व्यवहार भयो भने पनि तपाईंले हीनताबोध गर्नु वा निराश हुनुहुँदैन । देशको भाग्य अडेको विषयमा व्यक्तिगत अपमानको कुरा सानो हो । तसर्थ राम्रो काम गरिरहेको छु र आफू राष्ट्रिय उद्देश्य र लक्ष्य प्राप्तिको बाटोबाट पर गएको छैन भनेर तपाईंले सन्तोष मान्नुपर्छ । 

तपाईंलाई मैले अरु थप सुझाव दिइरहनु पर्दैन । म तपाईंलाई पूर्णरूपमा विश्वास गर्छु भन्ने तपाईंलाई थाहा नै छ । तपाईंले हाम्रो लक्ष्य, हाम्रो पार्टी र हाम्रो देशलाई आघात हुने कुनै काम पनि गर्नुहुने छैन भन्ने मलाई थाहा छ । मेरो विचारमा आफूलाई जँचेको जुनसुकै तरिकाबाट प्रजातान्त्रिक दृष्टिकोण प्रकट गर्न तपाईंले स्वतन्त्र अनुभव गर्नुभए हुन्छ । तपाईंले राजासँग जहिले भेट्दा पनि तपाईंलाई हाम्रो उच्च तहको प्रतिनिधिको हैसियतमा पूर्ण स्वतन्त्रता दिइनेछ । 

नत्थी गरेको कागजमा मैले केही बुँदाहरू लेखेको छु, जसले राजासँगको तपाईंको छलफलमा आधारभूत सहयोग पुर्‍याउनेछ ।
तपाईंको शुभेच्छुक
बीपी कोइराला
स्रोत : सुवर्ण शमशेर राणा । अप्रकाशित दस्तावेज, डा. यज्ञनाथ आचार्य


राजा वीरेन्द्रलाई बीपी कोइरालाको चिठी

कलकत्ता, ८।५।१९७३
सरकार,
सरकारलाई समय–समयमा मैले चिठी लेख्दै आएको छु । तर ती चिठीहरु सरकारसमक्ष पुगे कि पुगेनन् भनेर जान्ने कुनै माध्यम मसँग छैन । सुवर्ण शमशेरले चाँडै नै सरकारको दर्शनभेट गर्दै हुनुहुन्छ भन्ने पूर्वानुमान गरेर म यो पत्र मौसुफलाई व्यक्तिगत रुपमा टक्रयाउन सुवर्णजीको हातमा पठाउँदै छु । 

मलाई सधैं के लाग्ने गरेको छ भने मौसुफले राष्ट्रका सामुन्ने विशिष्ट रुपमा प्रस्तुत गर्नुभएको आधुनिकीकरणको लक्ष्य भनेको विशाल कार्य हो, जसका लागि उच्च तहको राष्ट्रिय प्रयत्नको खाँचो पर्छ । हाम्रा दृष्टिकोणहरु मौसुफलाई सुनाउन सुवर्ण शमशेर सफल हुनुहुनेछ भन्नेमा म ढुक्क छु । हामी प्रतिष्ठा र अन्ध दुराग्रहका दु:खद पक्षबाट माथि उठ्न सकेनौं भने हामीले राष्ट्रप्रति ठूलो घात गरिरहेका हुन्छौं भन्ने हामीले बुझेका छौं । हामीलाई थप के पनि लाग्छ भने नेपाल आफ्नो इतिहासकै सबैभन्दा गम्भीर घडीमा हिँड्दै छ र वर्तमान जटिल मोडमा हामीले चाल्ने कदममा देशको भविष्य निर्भर हुनेछ । तसर्थ हामीहरु आफ्नो देशभक्तिपूर्ण सेवा देशका लागि दिन सकौं भनेर मौसुफ दरबारमा गद्दीसीन भएकै बेलादेखि मैले आफ्नो दृष्टिकोण मौसुफलाई बताउन चाहेको हुँ ।
यो पत्र मौसुफको दर्शनभेट पाउन पुन: बिन्ती गर्न पनि लेख्दै छु । म मौसुफको निर्देशनको प्रतीक्षामा छु । म यतिमै टुङ्ग्याउने अनुमति माग्छु ।
मौसुफ सरकारको अत्यन्त आज्ञाकारी

बीपी कोइराला
स्रोत : सुवर्णशमसेर राणा । अप्रकाशित दस्ताबेज, 
डा. यज्ञनाथ आचार्य

प्रकाशित : फाल्गुन ७, २०७३ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्