कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको गृह प्रवेश

विमल निभा

अन्तत: सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिक्षित ‘गृह प्रवेश’ सफलतासँग सम्पन्न भएको छ । हो, मेरो संकेत प्रधानमन्त्री निवास, बालुवाटारतर्फ हो ।

प्रधानमन्त्रीको गृह प्रवेश

अन्यथा आफ्नो निजी घरमा त उनी त्यसै पनि रहिरहेका थिए नि ! के बूढानीलकण्ठको त्यत्रो भव्य दरबारजस्तो घर त्यसै बनाइएको हो र ? यहाँ उनी सपरिवार आनन्दपूर्वक बसिरहेका थिए । तर ‘आनन्दपूर्वक’ भन्नुचाहिँ त्यति ‘वास्तविकता’को नजिक नहोला कि ? कुन्नि, किन मलाई के लाग्छ भने उनी आनन्दपूर्वक नभएर असाध्यै दु:खका साथ बूढानीलकण्ठको घरमा रहिरहेका थिए !
यही बूढानीलकण्ठीय ‘देउवा–बसाइ’ नै यस्तो दु:खको कार्यकारण थियो । किनभने दु:खहरू थरीथरीका हुन्छन् । कहिलेकाहीं विलकुलै नसोचिएको दु:खको पनि अनुभव गर्नुपर्ने हुन्छ, जस्तो शेरबहादुर देउवा गरिरहेका थिए । यो उनको चौथो पटकको प्रधानमन्त्री नभइसकेको बेलाको कुरो हो । यो बेलाको ‘अद्भुतता’को थोरै कल्पना गर्नाेस् । बडो रमाइलो छ ! 

‘हजुरको शनि तेस्रो स्थानमा भए पनि चन्द्रमा चाहिँ पहिलो स्थानमा छ ।’ एक दिन ज्योतिषको पात्रो पल्टियो । 
‘यसको माने के हो पण्डित ?’ यस्तो उत्सुक सोधाइ थियो ।
‘हजुर, शनिले जति रोके पनि मूल चन्द्रमा बलियो भएकोले हजुर एकपटक फेरि प्रधानमन्त्री बन्नु हुनेछ ।’ 
‘हो र पण्डित ?’ खुसीको आवेगमा नि:सृत प्रश्न ।
‘मेरो ज्योतिषशास्त्रको ज्ञानले यही भन्छ हजुर ।’
‘त्यसो भए, भन्देखि, एकपटक मेरो हात पनि हेरेर बताऊ त पण्डित ।’ एक हात तेर्सियो अगाडि, ‘ल हेर, हेर ।’
त्यसपछि ज्योतिषको हातमा हात आयो । र एकदमै सूक्ष्म प्रकारको हस्त–निरीक्षण हुनथाल्यो । अनि एक्कासी मुखमण्डल उज्यालियो ज्योतिषको, ‘हजुरको भाग्यरेखा त अति नै प्रबल छ ।’
‘पण्डित, यसलाई प्रस्टसँग बताऊ ।’ एक प्रकारको आदेशात्मक स्वर आयो ।’
‘बधाई छ, हजुर ।’
‘केको बधाई पण्डित ?’
‘हजुरलाई चौथोपटक प्रधानमन्त्री हुनबाट कसैले रोक्न सक्दैन ।’
‘यी कम्युनिष्टहरूले पनि पण्डित ?’ अधैर्य सोधाइ थियो ।’
‘हजुर, कम्युनिष्टहरूका पनि रोक्ने तागत छैन ।’
‘अहो, भन्देखि, म प्रधानमन्त्री हुने भएँ ।’ आफ्नो दाहिने हात उल्ट्याइपल्टाइ आफैं नै दंग, ‘म साँच्चिकै फेरि प्रधानमन्त्री हुने भए त पण्डित ?’
बूढानीलकण्ठको घरमा भएको यो ‘देउवा–ज्योतिष’ संवादको लामो समयसम्म पनि केही भएन । मतलब, नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुन नपाइकनै बूढानीलकण्ठको आफ्नै घरमा चुपचाप बस्नुपरेको थियो । यसले उनी पटक्कै खुसी थिएनन् । यो उनको बूढानीलकण्ठको घरको पुरै दु:खपूर्वकको बसाइ थियो । यही उनको दु:खको अवधिमा धमाधम केही कांग्रेसी प्रकृतिका घटनाहरू घटित भए । जस्तै– नेपाली कांग्रेस पार्टीका सभापति तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको असामयिक निधन भयो । तत्पश्चातका सभापति सुशील कोइराला पनि त्यति धेरै कुर्सीमा टिकिरहन सकेनन् । एउटा सानो समयमै नेपाली कांग्रेसतर्फबाट प्रधानमन्त्री भएर उनको देहावसान भयो । र उनी (शेरबहादुर देउवा) अर्का वरिष्ठ कांग्रेसी नेता रामचन्द्र पौडेललाई पार्टीको ‘घोडदौड’मा बेसरी परास्त गरेर नेपाली कांग्रेस पार्टीको सभापति भए । तथापि प्रधानमन्त्री भने हुनसकेका थिएनन् । अर्थात् चौथो पटकको प्रधानमन्त्री । यही उनको चौपट्टै चिन्ताको कारण थियो । र यो शनै:–शनै: दु:खमा बदलियो । अतएव अपार दु:खपूर्वक आफ्नै बूढानीलकण्ठको घरमा बसिरहनुको साटो उनीसँग अरू के विकल्प थियो त ? यसको परिणामस्वरूप कता–कता सभापति शेरबहादुर देउवा आफ्नो स्थायी विश्वासबाट यताउता भइरहेका थिए । उनलाई ज्योतिषशास्त्रमा थोरै अविश्वास हुनलागेको थियो । ‘कतै त्यो मुला ज्योतिषीले झुठो बोलेको त थिएन ? कुनै अर्कै जान्ने ज्योतिषलाई देखाउनुपर्ने भयो । होइन–होइन, यही ज्योतिष (उनको निजी ज्योतिष) ले भनेर म तीन–तीनपटक प्रधानमन्त्री भइसकेंँ । अब चौथोपटक पनि फ्याट्टै प्रधानमन्त्री हुन के बेर ! भन्देखि, म चौथोपटक पनि प्रधानमन्त्री हुन्छ–हुन्छु । यी बदमास कम्युनिष्टहरूले रोकेर हुन्छ ?’ आखिरीमा यस्तै भयो । उनी नेपाल कम्युनिष्ट पार्टी, माओवादी (केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘जेन्टलमेनली’ सहयोगले चौथोपटक प्रधानमन्त्री बने । यसको अर्थ के हो भने त्यो ज्योतिषको भनाइ असत्य थिएन ।

उही ज्योतिषको साइत बमोजिम सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो बूढानीलकण्ठस्थित घरबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका हुन् । यस शुभ उपलक्ष्यमा एक निक्खर कालो रंगको बोको पनि मूलढोकामा काटियो । अर्थात् यावत् विधि–विधानको सजगताका साथ पालना भयो । केही पनि छुटछाट भएन । यस प्रकार चौथो पटकका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै अन्धविश्वास, श्रीमती आरजु देउवा, कुरीति, सुपुत्र जयवीरसिंह देउवा, अबुद्धि, पुरातनता, आडम्बर, विवेकशून्यता, अपठितपन, जडता आदिले पनि सुस्तरी गृहप्रवेश गर्दा भए ।

प्रकाशित : असार १०, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?