१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजनीतिक विश्वविद्यालयको खाँचो

राज्यको हरेक अवयवको सञ्चालन राजनीतिमार्फत हुने गर्छ । हरेक असल या खराब निर्णयहरूको जश या अपजशमा राजनीतिको नाम जोडिन्छ, त्यो सुनाम होस् या कुनाम । नेपालको प्रजातन्त्र पुन:स्थापनापछि झन्डै २७ वर्षको इतिहासमा प्रजातान्त्रिक संस्कार स्खलित हुँदै गए जस्तो भान हुन्छ । यसमा अघिको पञ्चायती संस्कृतिको आयात भए जस्तो भेटिन्छ । एक राजाको हुकुमको सट्टा सयौं राजाहरूको महात्त्वाकांक्षा जीवित हुनलागे जस्तो देखिन्छ ।

राजनीतिक विश्वविद्यालयको खाँचो

पहिलो स्थानीय तहको निर्वाचनमा अमूक वडाध्यक्षले ५० लाख खर्च गरे । अमूक मेयरले डेढ करोड खर्च गरे । विद्यार्थी युनियनको चुनावमा १० लाख खर्च भयो । विद्यालय व्यवस्थापन समितिको चुनावमा ५ लाख खर्च भएछ भन्नेजस्ता बाक्लै कुरा सुनिन्छन् । के निर्वाचन आयोग तथा ती सम्बन्धी निकायमा यसबारे नियम र कानुन छैन ? भएका नियम कानुनहरू नागरिकले मान्नु पर्दैन ? यी यावत प्रश्नहरूमा कसले टाउको दुखाउने ?
ओपन सेक्रेट पहिलो कुरा, मतको किनबेचको बजार छ । पैसा र खानपानमा मतको वारपार हुने गर्छ । हामीले प्रजातन्त्रको लडाइँ लडेर ल्याएको मतदानको अधिकार के विवेक बेचेर किनबेच गर्नलाई हो ? दोस्रो, उम्मेदवारले उम्मेदवारी प्राप्त गर्न कित शक्तिको कि पैसाको सहारा लिनुपर्ने हुन्छ । अघिल्ला निर्वाचनहरूमा यसका उदाहरण पाइए । व्यापार, व्यवसाय र ठेकेदारीबाट राजनीतिक शक्ति प्रयोग गरेर प्राप्त कालो धनलाई कतिपय बेला यसमा प्रयोग भएको पाइयो । के सहिदहरूको रगत अब पैसामा लिलामी भएकै हो त ? तेस्रो, उम्मेदवार खास कित आफै या आफ्नै मान्छे नभए पनि आफ्नो गुट विशेषको पर्नुपर्छ । यसमा त्याग र बलिदान, आदर्शप्रतिको निष्ठा र इमानदारिताको खास मूल्य रहँदैन । चौथो, उम्मेदवारको क्षमता, समाज विकास गर्नसक्ने ल्याकतका आधारमा होइन, दाताहरूको स्वार्थमा प्रयोग भइरहन्छ या रहँदैनमा जाँचिन्छ । यी सब नेपालका हरेक टोल–बस्तीहरूमा चियागफहरूका घनिभुत छलफल हुने विषयवस्तु हुन् । तर विमर्श गरिनुपर्ने तहका सबै मौन । अनि यसबाट प्रश्न उब्जन्छ, नेपालको प्रजातान्त्रिक परिवर्तन र बलिदानीहरूले यही संस्कार र चरित्र खोजेको हो ?

यो हाम्रो राजनीतिको समस्या हो । तर यसको समाधान पनि छ । हरेक समस्याले आफै समाधान लिएर आउँछ । मात्र समस्या देख्नेहरूले जाँगर लगाएर समाधान खोज्छन् या खोज्दैनन्, त्यसमा भर पर्छ । इतिहासमा आफूले गरेका दु:ख र बलिदान तथा आफूजस्तै सयौं साथीले पाएका सहादतहरूलाई राजनीतिको निर्णय गर्ने समयमा एकपटक निर्णयकर्ताहरूले सम्झिए मात्र भने पनि नेपालका हालका राजनीतिक समस्याहरूले केही हदसम्म निकास पाउनेछ ।

हालसम्म नेपालको प्रजातन्त्र प्राप्तिको झन्डै ७६ वर्षको लामो लडाइँका पहिला पंक्तिका नेताहरूको अवसान भइसकेको छ । जसले राणाशासन विरुद्ध लडेका थिए । अब दोस्रो पंक्तिका नेताहरू जो पञ्चायती निरंकुशता विरुद्ध लडेका थिए, उनीहरूका हातमा राजनीतिक निर्णयको कार्यभार गएको छ । वास्तवमा, राजनीतिकर्मीहरूको पहिलो विश्वविद्यालय राजनीतिक दल नै मानिन्छ । तर राजनीतिक दलहरूबाट उचित आचरण, व्यवहार र पाठ सिक्न सकेनन् भने आउँदो पुस्ताले राजनीतिलाई सकारात्मक बाटो दिनसक्ने छैनन् । दोस्रो पुस्तामा केही नैतिकता र निष्ठाको स्खलन देखिएको छ । अब आउन लागेको तेस्रो पुस्तालाई दोस्रो पुस्ताले पहिलो पुस्ताको जस्तै आदर्श र निष्ठाका आधारमा राजनीतिक चरित्र देखाउन सकेन भने नेपालको प्रजातन्त्र संकटमा पर्नेछ । लोकतान्त्रिक गणतन्त्रको नाम त रहला, तर चीन र उत्तर कोरियाको जस्तो हुन बेर लाग्ने छैन ।

विद्यालयहरूमा व्यक्तिगत नैतिक शिक्षाको साथसाथै समाज र जनताको लागि पनि योगदान गर्ने राजनीतिक शिक्षाको जरुरी छ । राजनीति, स्वयंसेवा र समाजसेवा हो भन्ने भावना जागृत गराउनुपर्छ । केही पाउनभन्दा केही दिन, गुमाउन र त्यसबाट आनन्दित हुन राजनीति गरिन्छ भन्ने धारणा विकसित गराउनुपर्छ ।

कक्षा ९ देखि जसरी भविष्यमा के बन्ने भनी अनुमानित विषयहरूको छनोट गरिन्छ, त्यसैगरी राजनीतिक शिक्षालाई पनि समावेश गर्नुपर्छ । राजनीतिक शास्त्र सिकाउनु भनेको राजनीतिक सिद्धान्तहरूको विवेचना मात्र होइन । देशको भूगोल, राजनीतिक, सामाजिक र धार्मिक इतिहास, जनसंख्या, सामाजिक बनोट, भाषा, साहित्य, संस्कृति, कला आदिको अध्ययन र सही विवेचना गर्नसक्ने विद्यार्थीको उत्पादन हो । व्यवस्थापकीय कुशलता, नेतृत्व क्षमता, भौतिक विषयहरूको वैज्ञानिक अध्ययन, अर्थशास्त्र, मानवशास्त्र, समाजशास्त्र, विश्व परिवेशको अध्ययन तथा यसबाट प्राप्त व्यावहारिक ज्ञान, सीप र आचरणले सही राजनीतिकर्मीहरू जन्माउन सकिन्छ । विद्यालय अध्ययन नगरेकाहरूलाई अनौपचारिक राजनीतिक शिक्षाको माध्यमबाट राजनीतिक ज्ञान र सीप विकास गराउन सकिन्छ । यसरी अध्ययन, अध्यापन गराउने खुला राजनीतिक विश्वविद्यालयबाट विद्यार्थीलाई पेसा, देश र जनताको हितमा सकारात्मक आविष्कार गर्ने र नेतृत्व दिने वैज्ञानिकका रूपमा विकास गर्न सकिन्छ ।

विद्यार्थी युनियनका चुनावहरूलाई प्रजातान्त्रिक आचरण सिकाउने विश्वविद्यालयको पाठ्यक्रमका रूपमा विकसित गर्नुपर्छ । राजनीति खुला विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई निर्वाचन र राजनीतिकर्मीको क्रियाकलापहरूको स्थलगत अध्ययन गर्ने र सीप विकास गर्ने पुस्तकालयका रूपमा उपयोग गर्नुपर्छ ।

कमसेकम स्थानीय र प्रान्तीय तहका पदाधिकारीमा राजनीतिक विद्यालयको १२ कक्षासम्म या स्नातकसम्म अध्ययन गरेका या अनौपचारिक शिक्षामार्फत यो बराबर ज्ञान र सीप हासिल गरेका विद्यार्थीले प्राथमिकता पाउनुपर्छ । संघीय सदन र सरकारका लागि कुनै पनि विषयमा स्नातकोत्तर हासिल गरी या राजनीतिक खुला विश्वविद्यालयको यस सरहको शिक्षा प्राप्त व्यक्तिहरूले नेतृत्व गरेर हरेक विषयगत मन्त्रीहरू सो विषयका विशेषज्ञ र ज्ञाता भए नेपालको राजनीतिले नयाँ दिशा पाउनेछ । तर विश्वविद्यालयको शिक्षाले नैतिकता र इमानदारिता सिकाउँदैन । यो हरेक व्यक्तिको सोचाइ र भोगाइको स्तरले निर्धारण गर्छ । सही विवेक दिने खुला विश्वविद्यालय आजको खाँचो हो । वास्तवमा हरेक मानिसको दिमाग नै पहिलो कुरा हो । यसले सकारात्मक सोच सिकायो भने समाज र जनताका लागि योगदान गर्न पनि सिकाउँछ । जसले देशको मियोरूपी राजनीतिलाई असल दाइँ गर्न अभिप्रेरित गर्नेछ र देशका हरेक पक्षहरू सङलिँदै जानेछ ।

प्रकाशित : असार १०, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?