बुद्धिजीवी, आगो र फूल

अभि सुवेदी

केही समयदेखि मलाई आन्दोलित गरिबसेको एउटा प्रश्न छ– हामी कहाँ सिर्जनशील छौं र कहाँ सिर्जनशीलताको सम्वेदना गुमाउँदैछौं ? अहिले पढ्ने र सुन्ने दुवै कुराको बाढी आएको छ । यस्तो बेला कुन सिर्जनशील चिन्ता हो र कुनचाहिँ होइन भनी खुट्याउन अप्ठ्यारो छ ।

बुद्धिजीवी, आगो र फूल

हामी साहित्यका अनुयायी र साधक हौं भनी बस्नेका निम्ति यो विषय चाखलाग्दो छ । धेरै अखबारका आलेखहरूले समाउने यो बेलाको चिन्तालाई साहित्यिक भनिएको छ । ईश्वरवल्लभ दाइका कविताको शीर्षक दोहोर्‍याउन मन लाग्छ । हामी आगोका फूलहरू लेखिरहेका छौं, हामी आगोका फूलहरू लेखिरहेका छैनौं ।

जापानी कविताको परम्परामा एउटा हाइकु भन्ने छोटो कविताको रूप हुन्छ । मैले यसको जेन दर्शन र पेन्टिङसँग सम्बन्ध छ भन्ने कुरा पछि अध्ययन गर्दै जाँदा बुझेँ । मूल कुरा आविष्कार रहेछ । ध्यानका क्षणहरू हुन्छन्, जुन कविलाई मात्र होइन, राजनीति गर्नेलाई पनि चाहिन्छ । साहित्यिक दृष्टिमा भन्दा म एडवार्ड सइदको साहित्यिक मानवतावाद मनपराउने व्यक्ति हुँ । समालोचना यसो यदाकदा मात्र लेख्छु, अब त्यसको काम छैन । विचार र सिद्धान्तहरूको छ । नेपालीमा कहिल्यै नलेखेका तर अहिले जोडदार नेपालीमा लेख्न थालेका मेरा पहिलेका विद्यार्थी र अहिले विद्वान प्राध्यापक अरुण गुप्तोका साहित्य समीक्षा पढ्छु । तिनको साहित्यिक मानवतावाद मनपर्छ । मेरो यो निबन्धात्मक लेखमा अनुभव पनि बोल्छन् ।

मसँग केही समयदेखि युवा पुस्ताका मिडियाकर्मी र विद्यार्थीहरूले बारम्बार छलफल गर्न खोजेको विषय हो, नेपालमा आम बुद्धिजीवी भनेको को हो ? तर उनीहरू अङ्ग्रेजी शव्द ‘पब्लिक इन्टलेक्चुअल’ प्रयोग गर्छन् । मलाई लाग्छ, उनीहरू केही सिर्जनशील चिन्ताको खोजीमा छन् । मसँग ‘सेतो पाटी’ अनलाइनका एक युवक पत्रकारले केही समयअघि कमलप्रकाश मल्लबारे जान्न खोजे । मैले त युवाहरूले नै खोजुन्, हामी त गुरुहरूका कुरा के भनिरहनु भनेर अलग हुनखोजेंँ । तर उनले निकै जोड गरेपछि मैले मेरा गुरु कमलप्रकाश मल्लबारे आफ्ना विचारहरू राखँें । उनले सरल शैलीमा राम्ररी लेखे, त्यो विषय । मूलकारण रहेछ, मल्ल सरले नेपाली बुद्धिजीवी वा ‘इन्टेलिजेन्सिया’माथि लेखेका लेखको स्मृतिको प्रसङ्ग । अनलाइन र छापाहरूमा अरु पनि एकाध लेखहरू अन्तर्वार्ताको रूपमा प्रकाशित देखेंँ । मलाई अहिलेका युवाहरूमा ‘पब्लिक इन्टलेक्चुअल’हरूबारे जान्ने इच्छा किन भएको छ ? जान्न मनलागेको छ । यो विषयमा छलफल हुनु अथवा को ‘पब्लिक इन्टलेक्चुअल’ अथवा आम बुद्धिजीवी हो अथवा ‘इन्टेलिजेन्सिया’ हो भन्ने कुरामाथि छलफल हुनु राम्रो विषय हो । यी प्रसङ्गहरू, पूर्वअनुभव र सम्झना अनि अहिलेका आफ्ना विचार राखेर लेख्नुपर्ने लामै लेखको विषय भएको हुनाले यो सानो लेखमा सबै समेट्न सम्भव भएन । आम बुद्धिजीवीले कहाँ–कहाँ व्यापकता पाउँछ, कस्ता ठाउँमा सक्रिय हुन्छ र उसका बुद्धिजीवी हुने आधार के हुन् भन्ने कुरामा छलफल हुने गरेका छन् । त्यो हेर्नुपर्ने हुन्छ ।

लाग्छ, केही समयदेखि नेपालमा पहिले नसोधिएका प्रश्नहरू सोध्ने चलन थालिएको छ । पहिले सोच्तै नसोचेका कुरा हाम्रो जीवनमा घटित हुनलागेका छन् । तर विश्वभरि नै यस्तै अवस्था आइपरेका छन् भने हामीलाई त मन नपर्ने कुरै भएन । पश्चिमी लोकतान्त्रिक मुलुकहरूको आधार चुनाव हो, ती त्यही पद्धतिभित्रै गाँठोमा अल्झिन थालेका कैयौं उदाहरण देखिन थालेका छन् । अरु कुरा सिद्धान्तहरू हुन्, जसलाई आधार राखेर राजनीति र समाजका नाइके र नागरिक समाजका मान्छेले समाज बदल्ने दृष्टि बनाउँछन् । सजिलो हुँदैन भन्ने देखिएको छ । युवा पुस्ताका मानिसले बारम्बार सोधिरहने प्रश्नका उत्तर गर्दागर्दै आजकाल मलाई आफूले भोगिआएको समयमाथि चाख लाग्न थालेको छ । तर एउटा कुरा अनुत्तरित छ । अहिलेको आम बुद्धिजीवीको विषयमा खोजी गर्नुपर्नेमा किन यसको स्मृति, पहिलेका मानिसले के भने भन्ने कुरामा युवाका चाख बढेका छन् ? यसको उत्तर खोज्ने क्रममा सम्झिन्छु, पहिले पञ्चायत कालका अन्तिम वर्षहरूमा बुद्धिजीवीका विषय उठेका थिए । मलाई आजकाल गरिने प्रश्नहरू हुन्, नेपालमा बुद्धिजीवीको विषयमा बहस गर्नुपर्दा तपाईं ककसका नाम लिनुहुन्छ ? नेपालमा आम बुद्धिजीवीहरूको दायित्व के हो ? नेपालमा राजनीति गर्नेहरू कस्ता किसिमका बुद्धिजीवी हुन् भन्ने मान्नुहुन्छ ? तपाईंका अमूक गुरु वा अमूक ‘कलिग’ले बुद्धिजीवीमाथि लेख्नु वा बोल्नुभएको रहेछ, तपाईं उहाँलाई कस्तो मान्नुहुन्छ ? सबै स्मृति अध्ययन हुन् ।

अहिलेको नेपाली समाजमा अमूक मानिस बुद्धिजीवी थिए कि थिएनन् भनी प्रश्न गर्ने युवाहरूमा कतिपय मेरै विद्यार्थी पनि पर्छन् । यो बुद्धिजीवी भन्ने विषयमाथि नै भने पञ्चायत कालको उत्तरखण्डमा निकै चलेको थियो । त्यो बेला बौद्धिक वा शिक्षक वर्गमा अध्ययन गर्ने र व्यवस्थालाई खासै असर नपर्नेगरी ‘सेफ ल्यान्डिङ’ गर्नेगरी बहस गरिएका पाठहरू मेरो सङ्कलनमा सकुशल छन् । कुनै बेला सन्दर्भ सहितको लेख लेख्नुपरेको बेला यी सबै लेख र छलफलका प्रसङ्ग निकालिनेछन् । तर अहिले बुद्धिजीवीको विषयका छलफल हुँदा हिजोकै बुद्धिजीवीका अप्ठ्याराका कुरा आइबस्नु मलाई अनौठो लाग्छ । नेपालका बुद्धिजीवीले दलीय र लोकतान्त्रिक कालमा अनेकौं संगठनात्मक रचना गरेका छन् । जनआन्दोलनपछि त्रिवि कीर्तिपुरमा एकजना मित्रले एउटा बुद्धिजीवीहरूले निकालेको वक्तव्यमा सही गर्न ‘तपाईंको बाँकी रहेछ’ भनेर ल्याए । पुछारतिर थुप्रै केरिएर ‘पालिम्पसेस्ट’ जस्तोगरी सही गरिएका थिए ।

सेतो ‘फ्लुइड’ले मेटेको सतहमाथि मैले चिप्लिएको सही गरेँ । पछि वक्तव्य जारी भयो, तर मेरो नाम थिएन । त्यसै उत्सुकताले ती मित्रलाई सोधेँ । उनी अलिक अनकनाए, तर भने, साथीहरूले तपाईं हाम्रो समूहमा पर्नुहुन्न भनेकाले राखेनौं । ढाँट्नु हुँदैन, भित्र अत्यन्त खुसी भएँ । अहिले ती मित्र एउटा प्राज्ञ छन् । ती मैले मानेका मान्छेमा पर्छन् । यसरी बुद्धिजीवीहरूका समूह बने । विवेकले होइन, ह्विपले भने अनुसार ती बोल्छन् र त्यही अनुसार ती मानिसलाई हेर्छन् । सर्वोच्च अदालतकी निष्ठावान न्यायमूर्तिको पक्षमा नबोल्न होस् कि अरु लोकतान्त्रिक र नागरिक हक र अभिव्यक्ति स्वतन्त्रताको कुरामा होस्, त्यही ह्विपले निर्णय गरेअनुसार हुन्छ । तर यस्तो हुनु भनेको कारुणिक अवस्था हो, बुद्धिजीवीको ।

साधारण अर्थमा बुझ्दा, बुद्धिजीवी सहज किसिमले आफ्ना विचार राख्ने मनुवा हो भने ऊ खतराका सीमा वारपार गर्ने एउटा व्यक्ति पनि हो । ऊ भावनाको होइन, बुद्धिको सहारा लिन्छ । ऊ आफूले पढेको र सोचेको अनि आफूले निर्णय गरेको विश्वास लिएर आमवृत्तलाई हेर्छ । सीमा र आमवृत्तलाई भोगेका, राज्य र त्यसका शासकका अनुदार चरित्र भोगेका र बुझेका एडवर्ड सइदले बुद्धिजीवीमाथि लेखेको ‘रिप्रिजेन्टेसन अफ दि इन्टेलेक्चुअल’ (१९९४) भन्ने सानो किताब मलाई मनपर्ने मध्येको एउटा उदाहरण हो । नेपालमा बुद्धिजीवीको भूमिकाबारे दलगत विचार लिएका भए पनि केही राजनेताहले प्रेरणाप्रद कुरा लेखेर छोडेका छन् । जनताका अधिकारबारे प्रस्ट बोल्नु, देशको माया गर्दा निकै पीडित हुनु, समाज र देश अनि जनताका माया र चिन्तामा पिरोलिनु अनि मलाई यो जन्मेको माटोले भनेको छ, राजनीतिमा सहभागी हुन्छु भन्नु एउटा बुद्धिजीवीको राजनीतिक ‘ओडीसी’ हो । राजनीतिक विषयलाई लिएर सहज जीवन हुनेको भन्दा तीव्र अनुभवले भोगेको, इमानदार राजनीतिक बुद्धिजीवीको चरित्र हो, त्यो । मैले केही मधेसी राजनीतिज्ञमा बुद्धिजीवीको त्यो चरित्र देखेको छु । अरु पनि छन् । आमवृत्तभित्र कुनै चुनौतीविना काम गर्नुले अनि बुद्धिका कुरा छाँट्नुले मात्र राजनीतिक चेतनालाई भावनाको काव्यिक चुनौतीमा रूपान्तरित गरेर बोल्ने सही बुद्धिजीवी बनाउँदैन ।

मलाई मिडियामा साहित्यिक प्राज्ञिक मानिसको उपस्थिति गराउने चाहना भएका एकजना युवक पत्रकारले सोधे, ‘हिजोआज के लेख्दै हुनुहुन्छ ?’ प्रश्न साधारण हो, तर म झसङ्ग भएँ । उनले मलाई सोधेको कारण थियो, साहित्यकार कस्तो बुद्धिजीवी हो र उसले के लेख्छ ? मैले भने, ‘लेख्न छोडेका विषयहरूमा लेख्दैछु । एकेडेमीमा केही हार्न नसकिने व्यक्ति छन्, अमर गिरी, ज्ञानु पाण्डे र उषा ठाकुर । गिरीलाई जनजाति कवितामाथि सोह्र हजार शब्दको समालोचना लेखेर दिएँ । ज्ञानु पाण्डेको निम्ति जाक डेरिडा लेख्दैछु । उषा ठाकुरले अनुवाद विषय हेर्छिन् । म लेख्छु, तर ढुक्क भए हुन्छ, ती छापिँदैनन् । एउटा यस्तै हामीले तयार गरेको सङ्कलन विगतमा एकेडेमीले ननिकालेकोले पाँच वर्ष लगाएर हामीले निकाल्न लगाएका थियौं ।’

प्रकाशनको फुटकर युग हो, अहिलेको । वर्तमान चाहिँ स्पन्दन हो, अनि हिजो को को बुद्धिजीवी थिए, हँ ? भनेर खोजिहिँड्नु स्मृतिमात्र हो । अब समालोचना त के, यहाँ राजनीतिका पनि कल्पनामा धनी, सिर्जनशील आलेख र किताब सितिमिती लेखिइहाल्ने अवस्था देखिँदैन । सबैथरी मानिस व्यवहारवादी, ‘प्राग्म्याटिक’ अनि भ्रममुक्त वा ‘डिसइल्युजन’ भएको युग आएको छ, नेपालमा । त्यस्तो बेलामा कि निकै गतिला कुराका छलफल हुन्छन्, लेख लेखिन्छन्, कि केही पनि गरिँदैनन् । अहिले हामी आगोका फूल हुन्, आगोका फूल होइनन् भन्ने अवस्थामा छौं । न आगोका फूल हुन्छन्, न फूलमा आगो हुन्छ ।

प्रकाशित : जेष्ठ २९, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?