श्यामश्वेत दाह्री–जुङ्गा

विमल निभा

म कुनै सिनेकलाकार होइन । तथापि यस्तैहरूका एक ‘ग्लेमरस’ जमघटमा म पुगेको थिएँ । नेपाली चलचित्र जगतका हिरो–हिरोइनहरूसँगको सुस्वादु डिनर थियो । म मेरो एक ‘स्क्रिप्ट–राइटर’ मित्रका साथ थिएँ ।

श्यामश्वेत दाह्री–जुङ्गा

त्यहाँ एक चालु हास्य कलाकारले मतिर हेरेर भने, ‘निभाजी, तपाईंले आफ्नो अनुहारमा यो दाह्री–जुङ्गा किन राख्नुभएको हो ?’

‘मैले राखेको होइन ।’ मेरो सहज उत्तर थियो, ‘यो आफै आएको हो ।’

‘तपाईंको यो सेतो–कालो दाह्री–जुङ्गा अमिताभ बच्चनको नक्कल हो ।’ उनको स्वर चर्को भयो, ‘तपाईंले अमिताभको पुरै सिको गर्नुभएको हो ।’

त्यसपछि मैले केही भनिन । किनभने मसँग संवादरत हास्य कलाकारको शिरमा ब्लेक लेभल ह्विस्की मजैले सवार भइसकेको थियो । आज झन्डै चार वर्षपछि सो कुराको मलाई यसरी किन स्मरण भइरहेको हो हँ ? जबकि वर्तमान अवस्था विलकुलै दाह्री–जुङ्गा अनुकूल रहेको छैन । हो, म तात्तातो राजनीतिको कुरो गरिरहेको छु । अहिले यही विषयमा कलम चलाउनुपर्ने होइन र ? भर्खरै नयाँ प्रधानमन्त्रीको फटाफटी चयन भयो । र नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा चौथो पटकका प्रधानमन्त्री भएका छन् ।

आजको अखबार हेर्नोस्, त्यहाँ सद्य: प्रधानमन्त्री देउवाको फुल साइजको तस्वीर छापिएको छ । क्या सफा, चिल्लो र दाह्री–जुङ्जाविहीन अनुहार ! त्यसो भए, यो अप्रासङ्गिक दाह्री–जुङ्गाको बखान किन त ? वस्तुत: यही ठोस ‘अनमेल’ले नै मलाई केही लेख्न हुटहुट्याएको हो । यो सहीमा नेता र जनता बीचको मामला हो । र दाह्री–जुङ्गा त प्रसङ्गवश आएको हो । अँ त म एकपटक फेरि ताजाताजी प्रधानमन्त्रीको छापावाल मुखमण्डलमा हेर्छु । अहो, अढाई इन्ची मुस्कानसहितको दुई मोटा–मोटा ओठ तलमाथि जुङ्गा–दाह्रीको कुनै नामोनिसान छैन । कुनै बखत रहेको भए पनि हामीलाई के थाहा हुनसक्छ ? यो त कांग्रेसी इतिहास निरन्तर ‘फलो’ गरिरहनेहरूका निजी विषय हो । म के जानुँ ?

मलाई त यो देशको दाह्री–जुङ्गा नभएको ‘क्लिनसेभ्ड’ प्रधानमन्त्री शेरबहादुर देउवाबारे मात्र थाहा छ । यसलाई (अखबारको फोटो) हेर्दाहेर्दै एकाएक मअघि निवर्तमान प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को टम्म मिलेको ओठमाथिको बाक्लो जुङ्गा आयो । जनयुद्धकालीन झ्वाम्म दाह्री त उहिल्यै हटिसकेको हो । र मेरो आत्मीय उम्मेद के छ भने जुङ्गा अहिलेसम्म यथास्थानमै होला । कुनै बेलाको प्रमुख दुश्मन नेपाली कांग्रेस पार्टीसँगको ‘अन्तरंग सहमति’मा एकथान जुङ्गा भए पनि बचेकोमा मेरो बधाई ! यसलाई एक प्रकारको क्रान्तिकारी उपलब्धि नै मान्नुपर्छ । अर्थात् नेकपा माओवादी (केन्द्र) को केन्द्रीय प्राप्ति ।

के यही पहिलेको र अहिलेको प्रधानमन्त्रीद्वय कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा बीचको बहुचर्चित ‘भद्र सहमति’ हो ? बल्ल नेपालको चलनचल्तीको ‘पोल्टिक्स’ कथित भद्रपनाको चुम्बकीय घेरामा आएको छ । यो भद्रताको अतिवाद नितान्त गोप्य प्रकारको रहेको थियो । अब सहसा बाहिरतिर आएर छताछुल्ल भएको छ । तर भद्रताको सम्पूर्ण कांग्रेसी मार्का ‘क्लाइमेक्स’ (नेकपा माओवादीको केन्द्रीय सहयोगमा) बेहोर्नु बाँकी नै छ । कृपया तम्तयार रहनोस् । 

मेरो सेतो–कालो दाह्री–जुङ्गाबारे केही वर्षअघि सोधिएको प्रश्नको जवाफ दिन आज म तत्पर भएको छु । कुन्नि, त्यस समयको प्रश्नकर्ता हास्य कलाकारको दृष्टिपथमा यो जानेछ अथवा जाने छैन ! अब जे भए पनि मेरो विनम्र प्रत्युत्तर हाजिर छ । वास्तवमा भारतीय सिनेमाका श्यामश्वेत दाह्री–जुङ्गावाल नायक अमिताभ बच्चनको नभएर म उनको बाउ (फादर) को नजिकमा जरुर छु । याद रहोस्, अमिताभ पिता हरिवंशराय बच्चन एक सुप्रसिद्ध हिन्दी भाषाका कवि हुन् । यद्यपि उनको कविताहरू मलाई त्यति मन पर्दैन ।

कवि हरिवंशराय बच्चनको सबभन्दा चलेको काव्यकृति हो– मधुशाला । यो पुराना रोमान्टिक कवि उमर खैय्यामको रुबाइहरूका भावनात्मक अनुवाद हो । याने नक्कल नै चाहिँ नभनु । जे होस्, असलमा म पनि एक कवि भएकोले हरिवंशराय बच्चनको ‘साइड’मा पो उभिएको छु त ! उनको छोरो अमिताभ बच्चनसँग मेरो के सरोकार हुनसक्छ ?

‘जब छरपस्ट अतिथि तारासरि 
शीत छरिएको चउरमा
पुग्छ्यौ तिमी ज्योतिचरणले 
मधु वितरण यात्रामा
सुन प्रिये, त्यही सिलसिलामा 
तब त्यहाँ तिमी एउटा
घोप्ट्याइदिनु प्याला खाली 
मेरो त्यो रङ्गभूमिमा ।’

(कवि वासु शशीद्वारा अनुदित उमर खैय्यामको रुबाई) 

प्रकाशित : जेष्ठ २७, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?