३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एमनेस्टी इन्टरनेसनल र नेपाल

मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि एमनेस्टी इन्टरनेसनलको नेपाल शाखा विकास र विस्तारमा बिर्सनै नहुने नाम हो– स्ट्रेला क्यारिरस
यादव खरेल

एमनेस्टी इन्टरनेसनलको स्थापना दिवसका विषयमा कुराकानी चल्दा मेरो सम्झनाको सुषुप्त तहमा बसेको सन्दर्भलाई नेपाली कांग्रेसका नेता लोकेश ढकालले झक्झकाइदिए । मेरो सम्झना सुषुप्तबाट चेतन अवस्थामा उक्लियो । म ४४ वर्ष पछाडि धकेलिएँ ।

एमनेस्टी इन्टरनेसनल र नेपाल

सन् १९६९ को बेलायत । बेलायतमा अत्यन्त न्युन संख्यामा नेपालीको बसाइ र आवत–जावत हुन्थ्यो । त्यहाँ भएका नेपाली विद्यार्थीको ‘यति’ नामको गैरसरकारी सामाजिक संस्था थियो, जसको म महासचिव थिएँ । ‘यति’द्वारा आयोजित एउटा कार्यक्रममा महासचिवको नाताले मैले संक्षिप्त भाषण गरेँ । कार्यक्रमको समाप्तिपछि दर्शकदीर्घामा उपस्थित एकजना महिलाले मेरो भाषण (त्यसमा पनि अंग्रेजी भाषाको) को प्रशंसा गर्दै आफ्नो परिचय दिइन्, ‘म स्ट्रेला क्यारिरस, पेसाले दाँतको डाक्टर ।’ मैले पनि आफूलाई चिनाएँ, ‘म चलचित्र विषयमा अध्ययनरत विद्यार्थी ।’ स्ट्रेलाले गरेको मेरो भाषणको तारिफलाई मैले पत्याइन । नेपाली माध्यमको ‘पद्मोदय’ विद्यालयमा पढेको विद्यार्थीको अंग्रेजी भाषाको भाषणलाई अंग्रेजको तारिफ गराइ पत्याइहाल्ने कुरा थिएन । तारिफको कारण स्ट्रेलाको नेपालीप्रतिको धारणा रहेछ भन्ने कुराको रहस्य केही दिनपछि मात्र खुल्यो । स्ट्रेला र मेरो बीचको चिनाजानी क्रमश: मित्रतामा परिणत हुँदै गयो ।

अर्को सप्ताहान्तको हाम्रो भेटघाटमा उनले नेपालीबारे आफ्नो बुझाइ र धारणाको गाँठो फुकाइन् । हङकङ, ब्रुनाईका साथै ब्रिटिस साम्राज्यले विश्वयुद्धको कालखण्डमा गरेको गोर्खा सिपाहीहरूको प्रयोग र उपयोगको इतिहाससँग उनी परिचित थिइन् । उनको बुझाइमा नेपाली भनेको गोर्खा सिपाही, बहादुर, शूरो, अनुशासित, ठूलो साँढेजस्तो जोसँग पनि भिड्न सक्ने र कहिल्यै पराजित नहुने जातको मानिस । यस्तो जातको मानिस बौद्धिक, प्राज्ञिक अथवा बुद्धिजीवी हुँदैन भन्ने विश्वासका कारण मेरो सामान्य अंग्रेजीको उनले प्रशंसा गरेकी रहिछन् । मानव अधिकारको प्रबद्र्धन, सम्बद्र्धन र संरक्षणमा उनी प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न हुँदिरहिछन् । विशेषत: दक्षिण एसियाका मुलुकहरूमा मानवअधिकार हनन गरिएको अवस्थामा तत्तत् मुलुकहरूमा गएर स्थितिको मूल्यांकन गरी एमनेस्टी इन्टरनेसनललाई रिपोर्ट गर्ने काम गर्दिरहिछन् । यी सबै काम प्रचार–प्रसारभन्दा टाढा रहेर स्वयंसेवकको हैसियतमा गोप्य रूपमा गरिँदो रहेछ । यो संस्थाबारे मलाई कुनै ज्ञान थिएन । उनले मलाई एमनेस्टी इन्टरनेसनलबारे अध्ययन गर्न केही प्रकाशन दिइन् । 

नेपालमा मानव अधिकारको हनन, संरक्षणको स्थिति हाम्रो तेस्रो भेटको छलफलको विषय बन्न पुग्यो । त्यस बेलासम्म मानव अधिकारको हनन भनेको राजनीतिज्ञहरूलाई सरकारले जेलमा थुन्नु हो भन्ने मेरो बुझाइ थियो । मानव अधिकार हननका सबै आयाम मैले बुझेको थिइन । आफ्नो बुझाइ अनुसार राजसंस्था, पञ्चायती व्यवस्था र देशको सार्वभौमिकताको विरोधमा शून्य सहनशीलता भएको बाहेक अरु कुरामा नेपालमा मानव अधिकारको खासै हनन नभएको कुरा मैले सुनाएँ । स्ट्रेलाले नेपालमा एमनेस्टी इन्टरनेसनलको स्थापनाको सन्दर्भ उठाइन् र सहयोगको लागि अनुरोध गरिन् । मैले सक्दो सहयोग गर्ने वचन दिएँ ।

स्ट्रेलाले ३ दिनपछि एमनेस्टी इन्टरनेसनलका महासचिवसँग हाम्रो बैठकको व्यवस्था मिलाइन् । त्यस बैठकमा नेपालमा एमनेस्टी इन्टरनेसनलको स्थापना कसरी गर्ने र त्यसको लागि उचित पात्रहरू को–को होलान् भन्ने विषयमा निकै बेर छलफल गर्‍यौं । मैले ह्षिकेश शाहलाई सम्झिएँ । उहाँसँग मेरो राम्रो चिनाजानी थियो । स्नातकहरूका तर्फबाट राष्ट्रिय पञ्चायतका लागि चुनिने प्रतिनिधिको लागि मैले उहाँलाई सहयोग गरेको थिएँ । शाहजीलाई म मनैदेखि आदर गर्थेँ । उहाँको विद्वता, वाकपटुता, नडराउने चरित्र र हक्की स्वभावबाट म प्रभावित थिएँ । शाहजीले संयुक्त राष्ट्रसंघका लागि नेपालका प्रतिनिधि भएर काम गर्दाको समयमा नेपालमा चलेको चर्चा पनि सम्झन पुगेँ । संयुक्त राष्ट्रसंघमा नयाँ महासचिवको चुनावको बेला थियो । शाहजीको नाम सम्भावित ३ जना उम्मेदवारमध्ये चर्चामा थियो । 

कुनै पनि शक्ति गुटमा नलागेको असंलग्न परराष्ट्र नीति भएको नेपालले त्यो पदमा जित्न सक्ने राम्रो सम्भावना थियो । शाहजीको व्यक्तित्वले बल पुर्‍याएको थियो । महासचिवको उम्मेदवारीमा शाहजीले नेपालकै समर्थन पाउनु भएन । त्यसबाट शाहजी मात्र नभएर 
नेपालले नै एउटा ठूलो अवसर गुमायो आदि–आदि । 

संयुक्त राष्ट्रसंघको तत्कालीन महासचिव ड्याग ह्यामोसोल्डको हवाइजहाज दुर्घटनामा मृत्यु भएपछि दुर्घटनाको जाँचपड्ताल गर्ने समितिको नेतृत्व पनि शाहजीले नै गर्नुभएको थियो ।

यी सबै पृष्ठभूमिको जानकारी दिँदै एमनेस्टी इन्टरनेसनलको नेपाल शाखाको स्थापना ह्षिकेश शाहको नेतृत्वमा गर्दा राम्रो हुने सुझाव मैले दिएँ । शाहजीको ठेगाना पनि उपलब्ध गराएँ । त्यसको केही महिनापछि शाहजीकै नेतृत्वमा एमनेस्टी इन्टरनेसनलको नेपाल शाखा खुलेको जानकारी मैले पाएँ ।

पञ्चायती व्यवस्थाको विरोधमा विद्यार्थीलाई उक्साएको अभियोगमा तत्कालीन श्री ५ को सरकारले शाहजीलाई थुनामा राखेको थियो । उहाँलाई थुनामुक्त गर्न एमनेस्टी इन्टरनेसनले दबाब दिनसक्छ कि भनेर मैले स्ट्रेलालाई अनुरोध गरेँ । उनले म कोसिस गर्छु भनिन् । त्यसको केही दिनपछि शाहजी थुनामुक्त भएको खबर मैले पाएँ । सबै काम हल्ला र प्रचार–प्रसार नगरी गर्नेे एमनेस्टी इन्टरनेसनको शैली थियो । एमनेस्टी इन्टरनेसनलको दबाबमा शाहजी थुनामुक्त हुनुभएको रहेछ । त्यसको पुष्टि शाहजीसँगको मेरो भेटघाटका बेला भयो । उहाँले मलाई के भन्नुभएको थियो भने ‘राजा महेन्द्रले कुनै पनि कूटनीतिज्ञ तथा संस्थाको दबाबलाई 
टेरेका थिएनन् । एमनेस्टी इन्टरनेसनलको दबाब परेपछि भने मलाई छाडे ।’

मानव अधिकारको संरक्षण र प्रबद्र्धनका लागि एमनेस्टी इन्टरनेसनलको नेपाल शाखाको विकास र विस्तारमा धेरै नेपालीले विभिन्न कालखण्डमा योगदान गर्नुभएको थियो र कतिजनाले अझै पनि गरिरहनुभएको छ । जस्तै– कृष्ण पहाडी, नुतन थपलिया, मार्शलजुलुम, वीरेन्द्रकेशरी पोखरेल, चरण प्रसार्इं आदि–आदि । यी विभिन्न नाम सम्झँदा बिर्सनै नहुने तर सार्वजनिक रूपमा जानकारीमा नआएको नाम हो– स्ट्ेरला क्यारिरसको, जो एमनेस्टी इन्टरनेसनलसँग नेपाल आबद्ध हुनुको मूल कारक हुन् ।

प्रकाशित : जेष्ठ १३, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?