१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

निर्वाचनको जनसङ्ख्या राजनीति

चेतन अधिकारी

संविधानले हरेक नागरिक १८ वर्ष पुगेपछि मतदानको अधिकार पाउने व्यवस्था गरेको छ । यही नियमको आधारमा स्थानीय निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ जना मतदाता छन् । तर २०७३ फागुनसम्ममा १८ वर्ष उमेर पुगेका करिब ३९ लाख वयस्क मतदाता नामावलीमा सामेल हुनबाट छुटेको अनुमान हुन्छ ।

निर्वाचनको जनसङ्ख्या राजनीति

जनगणना २०६८ को तथ्याङ्कका आधारमा जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक डा. केशव अधिकारीले गरेको विश्लेषणमा हाल नेपालमा १८ वर्ष पुरा भएका मानिसको जनसङ्ख्या करिब १ करोड ७९ लाख १५ हजार ३ सय ८० छ । यसका आधारमा २१ दसमलव ६ प्रतिशत मानिस मतदान गर्न योग्य उमेर भए पनि त्यो अधिकारबाट बञ्चित छन् । 

जनसंख्याभन्दा धेरै मतदाता 
बहुदलीय प्रजातन्त्र आएपछिको संसद्को पहिलो आमनिर्वाचन २०४८ बैसाख २९ गते उस्तै उत्साहपूर्ण थियो । त्यो आम निर्वाचनमा पहिलोपटक मतदानको अधिकार प्राप्त गर्ने उमेर १८ वर्षमा झारिएको थियो । पञ्चायतकालमा चुनावमा २१ वर्ष पुरा भएको व्यक्तिले मात्र मतदानको अधिकार पाउँथ्यो । त्यसबेला कुल मतदाताको संख्या १ करोड ११ लाख ९१ हजार ७ सय ७७ थियो । जबकि त्यसबेला १८ वर्ष उमेर पुगेको जनसङ्ख्या ९५ लाख ७४ हजार ८ सय ९ मात्र थियो । केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको १८ वर्ष उमेर पुरा भएको जनसङ्ख्याभन्दा निर्वाचन आयोगले जारी गरेको मतदाता संख्या १७ प्रतिशत बढी थियो । यो तथ्यांकले त्यसबेलाको मतदाता नामावली हचुवाका भरमा संकलन हुन्थ्यो भन्ने स्पष्ट हुन्छ । त्यसबेला मतदाता संकलक टोलीमा गएर ‘मेरो छोरो/छोरी १८ वर्ष पुग्यो ।

मतदाता नामावलीमा नाम लेखाइदिनु’ भन्नासाथ कर्मचारीले सहजै विना कुनै प्रमाण नाम दर्ता गराइदिन्थे । त्यति मात्र हैन, त्यसबेला आफू जहाँ बसेको छ वा आफूलाई जहाँको मतदाता हुन मनलागेको छ, त्यहीं गएर नाम लेखाउन पाइन्थ्यो । जसले गर्दा एउटै व्यक्तिले धेरै ठाउँमा नाम लेखाउँथे । र मौका पाएसम्म एउटै व्यक्तिले आफ्नो नाम जति ठाउँमा छ, त्यति नै ठाउँ मत पनि हाल्थे । एउटै मतदाताको गणना तीन पटकसम्म हुने गथ्र्यो । यो निर्वाचनमा कुल मतदाताको ६५.१५ प्रतिशत मतदातामात्र मतदानमा सहभागी भए । 
२०४९ सालको स्थानीय निर्वाचनमा मतदाता नामावलीमा नाम लेखाउने होड दलहरूबीच झन् बढेर गएको देखिन्छ । अघिल्लो आमनिर्वाचनमा मतदान उमेर समूहको जनसंख्याभन्दा १७ प्रतिशत मतदाता बढी थिए, तर यो चुनावमा त्यो संख्या बढेर २० प्रतिशत पुग्यो । ‘सामान्तया दुई प्रतिशतसम्मको ओभर र अन्डर काउन्टिङलाई मान्यता दिइए पनि २४ प्रतिशतसम्मको अन्डर काउन्टिङ अथवा १७ प्रतिशतसम्मको ओभर काउन्टिङलाई सामान्य मान्न सकिँदैन,’ अधिकारी भन्छन्, ‘यसलाई आयोगले सच्याउनुपर्छ ।’ ओभर काउन्टिङको क्रम २०५१ को मध्यावधि, २०५४ को स्थानीय, २०५६ को संसद् र २०६४ को संविधानसभा चुनावमा निरन्तर रह्यो । २०५१ मा ६१.८६ प्रतिशत, २०५६ मा ६५.७९ प्रतिशत र २०६४ मा ६१.७ प्रतिशत मत खसेको निर्वाचन आयोगको रेकर्डमा उल्लेख छ ।
 
जनसङ्ख्याभन्दा कम मतदाता
जनसङ्ख्या भन्दा बढी मतदाता भएपछि त्यसले चुनाव परिणाममा अन्तर्राष्ट्रिय समुदाय र स्वदेशकै पर्यवेक्षकले पनि प्रश्न उठाए । कतिसम्म भयो भने २०६४ को निर्वाचनमा गोरखाबाट चुनाव लडेका बाबुराम भट्टराईले मतदाताभन्दा बढी मत प्राप्त गरे भनेर खुबै चर्चाको विषय बन्यो । मतदाताको यस प्रकारको संख्याले सिंगो चुनावको विश्वसनीयतामा प्रश्न उब्जन थालेपछि निर्वाचन अयोगले २०७० को संविधानसभा निर्वाचनमा मतदाता परिचयपत्रको प्रबन्ध गर्‍यो । यस अनुसार वास्तविक मतदाताले निर्वाचन कार्यालय वा मतदाता नामावली संकलनका लागि स्थलगत रूपमा आएको टोलीसँग आफ्नो नागरिकतासहित उपस्थित भएर फोटो खिच्नुपर्ने व्यवस्था भयो । यस व्यवस्थाले एउटै मतदाताले धेरै ठाउँमा नाम लेखाउन पाएनन् र अघिल्लो निर्वाचनमा जथाभावी नाम लेखाएका मतदाता छाँटिए । तर मतदाता नामावलीको यस्तो आयो कि मतदान गर्ने उमेर समूहका लाखौं मान्छे मतदाताको सूचीमा देखिएनन् । जस्तो २०७० को निर्वाचनमा १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाताको नाम सार्वजनिक भएको थियो । २०६८ सालको जनगणना अनुसार यो वर्ष मतदान गर्ने उमेर अर्थात १८ वर्ष पुरा भएका नेपालीको संख्या १ करोड ५९ लाख ६५ हजार ३ सय ५८ पुगेको थियो । यी दुई तथ्यांक हेर्ने हो भने मतदान गर्ने उमेर समूहका २४ प्रतिशत मानिस मतदाता नामावलीबाट परेनन् । तर २०७० को निर्वाचनको सुखद पक्ष के हो भने यो वर्ष ७८.३४ प्रतिशत मतदाताले मतदान गरे । जुन अघिल्ला निर्वाचनभन्दा औसत १३ प्रतिशत बढी हो । स्थानीय निर्वाचनका लागि सार्वजनिक मतदाता नामावलीमा पनि २२ प्रतिशत अर्थात ३८ लाख ६० हजार ८ सय ९८ जना मतदान योग्य उमेर समूहका मानिस छुटेका छन् । २०७० को संविधानसभा निर्वाचनपछि आयोगले मतदाता नामावली संकलनका लागि नागरिकता निकाल्न जाने व्यक्तिलाई सम्बन्धित कार्यालयमै नागरिकताको प्रमाणपत्र लिने बित्तिकै फोटो खिचेर उसको सबै विवरण अभिलेखको रूपमा राख्छ । १६ वर्ष उमेर पुगेको व्यक्तिले नागरिकता लिन पाउँछ । त्यतिबेलै खिचिएको उसको फोटो दुई वर्षपछि उसको नाम मतदाता सूचीमा चढ्छ । त्यही फोटो मतदाता परिचयपत्रका लागि प्रयोग पनि हुन्छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भन्छन्, ‘मतदाता नामावलीमा कोही पनि नछुटुन् भनेर यो व्यवस्था गरिएको हो ।’

को छुटे ?
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती कस्ता मानिस छुटे भनेर आयोगले तथ्यगत रूपमा स्पष्ट भन्न नसक्ने बताउँछन् । तर वैदेशिक रोजगारीमा गएका अधिकांश मानिस पछिल्लो दुई पटकका मतदाता नामावलीमा छुटेको हुनसक्ने उप्रेती बताउँछन् । व्यक्ति स्वयं उपस्थित भएर तस्विरसमेत खिच्नुपर्ने भएकोले पहिलोजस्तो मेरो छोरा/छोरी १८ वर्ष पुग्यो/पुगी, मतदाता नामावलीमा दर्ता गरिपाऊँ भन्ने समय रहेन अहिले । वैदेशिक रोजगार विभागका अनुसार गत असारसम्ममा १८ वर्ष उमेर पुगेका करिब ३६ लाख १९ हजार ९ सय ८१ जनसंख्या वैदेशिक रोजगारीमा छन् । त्यसमा ३४ लाख ६४ हजार ८ सय ६८ जना पुरुष र १ लाख ५५ हजार १ सय ११ जना महिला वैदेशिक रोजगारीमा छन् । 

२०७० को निर्वाचनपछि मतदाता नामावली संकलन प्रक्रिया निरन्तर भइरहेको छ । यस हिसाबले वैदेशिक रोजगारीबाट फर्केका केही मानिसले मतदाता नामावलीमा नाम दर्ता गरेका हुन्छन् । तथापि करिब २० देखि २५ लाख वैदेशिक रोजगारीमा भएका युवा मतदाता नामावलीमा नाम नभएको उप्रेतीको अनुमान छ । यसैगरी करिब १० लाख मानिसले स्वदेशमै भए पनि नागरिकताको अभावमा मतदाता नामावलीको लागि फोटो खिच्न पाएनन् । स्वदेशमै भएर पनि भोलिको गन्तव्य विदेश बनाउन चाहेका खासगरी प्राविधिक धार अध्ययनरत युवाले रुचि नभएरै मतदाता नामावलीमा नाम लेखाएनन् । उप्रेती भन्छन्, ‘साइन्स, इन्जिनियरिङ र कमर्श पढ्ने धेरै विद्यार्थीले मतदाता नामावलीमा नाम लेखाएका छैनन् । विदेशलाई गन्तव्य बनाएर अध्ययनरत मेरै परिवारका आफन्तले नेपालको राजनीतिलाई कुनै मतलव गरेका छैनन् र मतदाता नामावलीमा नाम पनि लेखाएका छैनन् ।’ र स्वदेशमा भए पनि बुढाबुढी अथवा देशभित्रै आफ्नो घर छाडेर अन्यत्र रोजगारी र मजदुरी गर्न गएका केही मानिसले मतदाता नामावलीमा नाम लेखाउन सकेनन् वा चाहेनन् । यसै कारण कुल जनसङ्ख्या र मतदाता नामावलीका बीचमा ठुलो अन्तर आएको हो । 

तर तथ्यांकले उप्रेतीले भनेजस्तो वैदेशिक रोजगारीमा गएको ठूलो संख्या मतदाता नामावलीमा छुटेको देखिँदैन । मतदानको उमेर पुगेर छुटेका ३८ लाख ६० हजार ८ सय ९८ मध्ये २५ लाख १६ हजार ३ सय २२ जना महिला छन् । यो तथ्यांकले वैदेशिक रोजगारीमा गएका युवा होइन, स्वदेशमै भएका महिला नै मतदाता नामावलीमा छुटेको देखिन्छ । किनकि वैदेशिक रोजगारीमा गएको ठूलो संख्या पुरुषको छ ।

ज्येष्ठ नागरिक निर्णायक 
निर्वाचनमा ठूलो संख्याका मतदाता पार्टीका कार्यकर्ता र समर्थक हुन्छन् । केही मतदाता पाटीका सामान्य शुभचिन्तक त हुन्छन्, तर उनीहरू तत्कालका चुनावी एजेन्डा हेरेर कसलाई मतदान गर्ने भन्ने निर्णय गर्छन् । यस्तो विशेषता भएका अक्सर युवा र वयस्क उमेर समूहका मतदाता हुन्, जो सधैं भविष्यप्रति चिन्तित हुन्छन् र यो पार्टीले पो राम्रो गर्ला कि ऊ पार्टीले राम्रो गर्ला भनेर अस्थिर मानसिकता राख्छन् । युवा अवस्थामा यस्तो अस्थिर सोच राखे पनि बुढ्यौलीमा पुगेपछि आफूलाई हरेचाह गरिदिने अथवा आफ्ना समस्या समाधानका लागि पहल गरिदिने राजनीतिक दल ज्येष्ठ नागरिकको रोजाइमा पर्छन् । नेपालको समृद्धितर्फको यात्राले नेपालीको औसत आयु पनि बढाइरहेको छ । २०६८ सालको जनगणना अनुसार २१ लाख ५४ हजार ४ सय १० जनसङ्ख्या ६० वर्षभन्दा माथिको छ । जसलाई ज्येष्ठ नागरिक भनिन्छ । यो कुल जनसंख्याको ८.१३ प्रतिशत हो । यस हिसाबले अहिलेको मतदाता संख्यामा पनि ८.१३ प्रतिशत मतदाता ६० वर्षभन्दा माथिको छ । यो संख्या करिब १२ लाख हुन्छ । 

ज्येष्ठ नागरिक विज्ञ डा. होमनाथ चालिसेका अनुसार युवा मतदाताको ठूलो संख्या वैदेशिक रोजगारीमा छ । वैदेशिक रोजगारीमा भएका केही युवा मतदान प्रयोजनका लागि फर्कन्छन् पनि । तर तर ज्येष्ठहरू घरमै हुन्छन् । उनीहरूलाई छोराछोरी र केही नातेदारले मतदानका लागि प्रभाव पारे पनि उनीहरूको रोजाइ आफ्नो बुढ्यौलीलाई सहज बनाइदिने दल नै हुन्छन् । किनकि समाजमा ज्येष्ठ नागरिक अरू सबैको व्यस्त दैनिकीले परिवार र समाजबाट एक्लिँदै गएका छन् । 

प्रकाशित : जेष्ठ ४, २०७४ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?