राजनीतिक छुवाछूतबीच वाम एकता

राजेन्द्र महर्जन

काठमाडौं — पार्टी एकताको लहर चलिरहेका बेला अनेक पर्वमा जपिने लोकप्रिय मन्त्र भएको छ, वाम एकता पनि । माक्र्स, लेनिन र माओको जयन्ती वा वार्षिकी वा पार्टी स्थापना दिवसमा वाम एकताको नारा घन्काउने गरिन्छ ।

राजनीतिक छुवाछूतबीच वाम एकता

अरू बेला असली–नक्कली कम्युनिस्टको बिल्ला भिराउँदै राजनीतिक छुवाछूत गर्ने नेताहरूको यस्तो नाराबाजी धर्मगुरुहरूका मन्त्रजपभन्दा के भिन्न छ ? नाराबाजी वा मन्त्रजपबाट पक्कै पनि वाम एकता हुने होइन, वाम एकताका लागि त उत्पीडित जनताका मुद्दामा कार्यगत एकता गर्दै संयुक्त मोर्चाबन्दी र पार्टी एकताको शिखर चढ्ने हो । उत्पीडन र विभेदका मुद्दामा आधारित सहकार्य र पहलकदमी बिना नै वामपन्थी दलहरूबीच एकता हुने भए वाम एकताको जरुरी नै हुने थिएन । यहाँ त सबैभन्दा फस्टाएको खेती नै राजनीतिक नाराबाजी हो, त्यो पनि वाम एकताको, वास्तविक क्रान्तिकारी कम्युनिस्टबीच एकीकरणको, राष्ट्रवादी–देशभक्त शक्तिहरू बीचको हातेमालोको । पाउलो फ्रेरेले भनेझैँ नाराबाजीले त जनताका मनमस्तिष्कलाई नेताहरूको उपनिवेशमात्रै बनाउँछ ।

 नाराबाजीमा प्रतिस्पर्धा
लेनिनको १४७ औं जन्मदिवसको उपलक्ष्यमा पनि काठमाडौंमा तीनवटा माओवादी समूहका नेता मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ले वाम एकताको नारा उराले । २२ अप्रिलमा मनाइने लेनिनको जन्मदिवस पारेर २००६ सालमा स्थापना गरिएको नेकपाले आन्तरिक विभाजनको फलस्वरूप दुई दर्जनभन्दा बेसी कम्युनिस्ट पार्टी जन्माइसकेको छ । तिनको संख्या टाइफाइड रोगीको ज्वरोजस्तै थपघट हुने क्रम जारी रहेको बेला तीन माओवादी सुप्रिमोका मुखबाट ‘वास्तविक कम्युनिस्टबीच एकता’को नारा जपिएको हो । त्यसो भए अब वास्तविक क्रान्तिकारी कम्युनिस्टबीच एकताको नारा साकार हुने स्थिति बनाइन्छ त ? गन्नै नसक्ने नेकपाको संख्या अब गणना र सम्झना गर्न सक्नेमा झर्न सक्छ त ? प्रश्नको घेरामा छन्, साना माओवादी समूहको दाबी र तिनका नेताहरूको बोली ।

यस्ता दिवसमा लगाइने वाम एकताको नाराबारे ठूला कम्युनिस्ट पार्टीले सत्ता–शक्तिअनुकूल देखाउने व्यवहार र बोल्ने भाषामा भिन्नता हेर्नलायक छ । पुष्पकमल दाहाल र खड्गप्रसाद शर्मा ओलीजस्ता ठूला कम्युनिस्ट पार्टीका अध्यक्षलाई नेकपा स्थापना दिवसले खासै छोएन, वाम एकताको राग गाउन पनि जरुरी भएन । कांग्रेसदेखि राप्रपासँग समेत सत्ता–साझेदारी गरिरहेका प्रचण्डले यही मौकामा राजनीतिक उपलब्धिको फेहरिस्त भएको वक्तव्यमार्फत निर्वाचनमार्फत सिंहदरबारका अधिकार गाउँ–नगरसम्म पुर्‍याउन आग्रह गरे । पञ्चहरूलाई पनि माथ गर्नेगरी राष्ट्रवादी भएका प्रमुख प्रतिपक्षी नेता ओली मिर्गौला प्रत्यारोपणपछि नियमित उपचारको क्रममा बैंककबाट भर्खरै फर्केकाले एमालेले पनि नेकपा स्थापना दिवस मनाउनु जरुरी ठानेन होला । चुनावको चटारोमा यस्ता दिवसले प्राथमिकता नपाउनु सत्तापक्ष र प्रतिपक्षको शक्तिकेन्द्री नजरबाट हेर्दा सहजै बुझ्न सकिन्छ । यस्ता दिवस मनाउँदै वाम एकताको नारा लगाउने काम दल सानो हुँदा वा सडकमा हुँदामात्रै मज्जा आउँछ । 

अहिले वाम एकताको नारा जप्ने साना माओवादी समूह र तिनका एकसेएक नेतामा रहेको कम्युनिस्ट एकताप्रतिको मायामोह र प्रतिबद्धता पनि कसैबाट छिपेको छैन । पहिले माओ विचारधाराको वैचारिक ध्वजा उचालेर हिँड्ने नेकपा चौम, त्यसको फुटपछि बनेको नेकपा मसाल, त्यसको विभाजपछि निर्माण भएको नेकपा मशालसँग सम्बद्ध थिए, उनीहरू । एक समय एउटै पार्टीमा आबद्ध रहेका ती नेताहरूसँग अहिले आ–आफ्नै पार्टी छन्, सिंहको नेकपा मसाल, किरणको नेकपा माओवादी क्रान्तिकारी र विप्लवको नेकपा । ती राजनीतिक पसलबीच अनेक लोकप्रिय नारा बेच्ने मामिलामा प्रतिस्पर्धा रहेसम्म, आफ्नो एकल नेतृत्व स्थापित गर्ने महत्त्वाकांक्षाबाट प्रेरित क्रियाशीलता कायम राखेसम्म सिद्धान्त, विचार र राजनीतिको स्तरमा सहकार्य र एकता होला, उत्तर खोज्न सहज छैन ।

अशुद्ध र अछूत कम्युनिस्ट !
माओ विचारधाराको वैचारिक छाता ओढ्ने सिंह तथा माओवादी रेनकोट लाउने किरण र विप्लवबीच एकले अर्काेलाई हेर्ने दृष्टिमात्रै होइन, अरूलाई हेर्ने नजरमा पनि आकाश–जमिनको अन्तर छ । सिंहको दृष्टिमा किरण र विप्लव उग्रवामपन्थी थिए भने किरण र विप्लवको नजरमा सिंह दक्षिणपन्थी जडसूत्रवादी । किरण र विप्लवले एकले अर्कालाई यस्तै आरोप लगाउँदै पार्टी फुटाएकै हुन् । उनीहरूले एकले अर्कालाई हेर्ने नजर फेरिसकेका हुन् र ? अत: एकताप्रेमी जनमानसको मन बहलाउनमात्रै वाम एकताको नारा लगाएका त होइनन् ? शंकै छ । 

राजनीतिमा शत्रुका शत्रुलाई मित्र ठान्ने प्रचलन बलियोसँग गढेर बसेको छ । यतिखेर सिंहदेखि विप्लवसम्मका नेताहरूका घोषित–अघोषित ‘शत्रु’ प्रचण्ड हुन्, जो माओवादी केन्द्रका अध्यक्षमात्रै होइनन्, प्रधानमन्त्री पनि हुन् । सबैका समान शत्रु भएकोले होला, प्रचण्डको अनुहारमा देखिने दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने उनीहरूको ठम्याइ छ । त्यस्तै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको मुहारमा अभिव्यक्त हुने ‘दक्षिणपन्थी संशोधनवाद’ नै कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या भएकोमा मतो मिलेको पनि हुनसक्छ । त्यस्तै प्रचण्डको माओवादी केन्द्र र ओलीको एमालेमा सैद्धान्तिक भिन्नता नरहेकाले उनीहरूबीच एकता भए वास्तविक क्रान्तिकारीहरूलाई पार्टी एकता र ध्रुवीकरण गर्न फाइदा हुने विचार बनेको पनि हुनसक्छ । दक्षिणपन्थी अवसरवाद र संशोधनवादको मिलनमा फाइदा देख्ने विश्लेषणमा कहाँ कति मात्रामा वामपन्थ निहित छ, कहाँ कति मात्रामा असली र विशुद्ध कम्युनिस्ट पार्टी बनाउने चिन्तन समाहित छ, खुट्याउन सहज छैन । 

प्रचण्ड या ओलीसँग एउटै थालमा खाएका वा सत्ताको डुंगामा चढ्दै सुखभोग गरेका दल र नेताहरूले देखेको दक्षिणपन्थमा कहिलेदेखि नयाँ सिङ–पुच्छर पलाए, छुट्याउन मुस्किल छ । नेपालका एकसेएक सिद्धान्तकारबाट वामपन्थको समेत वस्तुसम्मत परिभाषा नगरिएको बेला दक्षिणपन्थको सिङ–पुच्छर खोज्न कठिन हुनु अनौठो होइन । के–के तत्त्व हुँदा वामपन्थी हुने, के–के नगर्दा दक्षिणपन्थी ? कसरी काम गर्दा सही, शुद्ध, पवित्र, असली, खाँट्टी वा वास्तविक कम्युनिस्ट हुने अनि के–केमा चिप्लिँदा वा संशोधन गरिँदा नक्कली, अशुद्ध र अछूत कम्युनिस्ट हुने ? पुष्पलाल श्रेष्ठलाई समेत गद्दार घोषणा गर्ने सिद्धान्तकारहरूले नेपाली क्रान्तिको मौलिक खाका कोर्ने हो कि रूस, चीन वा अन्तैको क्रान्तिको कपी गर्ने हो ? 

शब्दको राजनीतिशास्त्र
चाहे जसरी बोलिएको वा लेखिएको होस्, बोली वा शब्दको पनि राजनीतिशास्त्र हुन्छ । वामपन्थ, दक्षिणपन्थ, अवसरवाद, संशोधनवाद, कम्युनिस्ट वा वाम एकता राजनीतिक शब्द हुन् नै, अन्य शब्द वा बोलिएका बोली पनि अराजनीतिक होइनन् । उदाहरणका लागि ‘असली’ वा ‘वास्तविक’ शब्दको राजनीतिक असलियतलाई नै हेर्न सकिन्छ । कम्युनिस्ट इतिहासमा आफूलाई असली/वास्तविक क्रान्तिकारी ठान्नेहरूबाटै पार्टी विभाजन भएको यथार्थ छ, किनभने उनीहरूका नजरमा अरू नक्कली/अवास्तविक क्रान्तिकारी हुन् । अध्येता बद्री नारायणका अनुसार सामन्ती मूल्य–मान्यताबाट बोझिल रहेको ‘असली’ शब्द उच्चारण गर्नासाथ हाम्रो दिमागमा ‘अन्य’का रूपमा घृणित वर्णशंकरको छवि आउँछ, जसलाई तल्लो श्रेणीमा राखेर हेलाँहोचो गरिन्छ ।

आफूलाई मात्रै असली क्रान्तिकारी ठान्नेहरूले कम्युनिस्ट आन्दोलनको इतिहासबाट वैधता पाउन खोजिरहेकै हुन्छ । कसैले रूसको त चीनको, कहिले कोमिन्टर्नको त कहिले रिमको समर्थन खोज्दै आएका ती नेताहरूले वैधता प्रदान गर्नसक्ने इतिहासमाथि समेत एकाधिकार कायम गर्न खोज्नु अनौठो होइन । आफूलाई असली हकदार ठहर्‍याउन इतिहासबाट वैधता र इतिहासमाथि एकाधिकार खोज्ने क्रममै नक्कलीपनाको, त्यस्तै संशोधनवाद वा अवसरवादको ‘न्यारेटिभ’ (भाष्य) निर्माण गरिन्छ । वर्ण/जातका मानिसलाई जस्तै कम्युनिस्ट पार्टीलाई पनि असली–नक्कली, पवित्र–अपवित्र मान्दै श्रेणीबद्ध शुद्धताको घनचक्करमा फँसाउने यस्तो न्यारेटिभले पुरातन पार्टी, सिद्धान्त र विचारमाथि सन्देश, प्रश्न र आलोचनात्मक मन्थनलाई निषेध गर्छ, अनि जनमुखी र आमूल परिवर्तनको पक्षधरताको सट्टा कम्युनिस्ट पुरोहितवादलाई मात्रै फैलाउँछ । यहाँ कहीँ कतै पनि संशोधनवाद वा अवसरवाद वा दक्षिणपन्थको वकालत गर्न खोजिएको होइन, बरु वाम एकताको नारा दिने कम्युनिस्ट सिद्धान्तकारहरूलाई नेपाली सन्दर्भमा सर्वप्रथम वामपन्थ र दक्षिणपन्थबारे खोज र बहसको डबलीमा निम्त्याउन खोजेको मात्रै हुँ ।

प्रकाशित : वैशाख १२, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?