कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पद नखोज्ने बीपीका भाइ

केशवप्रसाद कोइराला नेपाली राजनीतिक आन्दोलनका मुर्धन्य व्यक्तित्व अर्थात समाज रूपान्तरण र मुलुक निर्माणका लागि आफ्नो जीवनका महत्त्वपूर्ण समय जनता र मुलुकका लागि खर्चनुभएको व्यक्ति । राजनीतिको संकटपूर्ण मोडहरूमा क्रान्तिको मैदानमा ओर्लनुभएका तर राजनीति सामान्य अवस्थामा फर्केपछि राजनीतिभन्दा घरव्यवहार र खेतीपातीमा जीवन समर्पित गर्नुभएका व्यक्ति ।

पद नखोज्ने बीपीका भाइ

राणा र पञ्चायतको निरंकुशता विरुद्ध सबैभन्दा कठोर भएर क्रान्तिको मैदानमा अहोरात्र खट्नुभएका क्रान्तिकारी व्यक्तित्व । अहिले उहाँ पूर्णरूपमा ओझेलमा हुनुहुन्छ ।

राणा शासनको विरोधमा पहिलोपटक विगुल फुकेको विराटनगरको कोइराला परिवारका आदर्शवान सदस्य केशव कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको भूमिका र योगदानको अहिले कहीं कतै चर्चा हुँदैन । आफ्ना दाजु मातृका र बीपी र भाइहरू गिरिजा र तारिणीले राजनीतिमा मात्रै जीवन बिताए, तर केशव कोइरालाको काँधमा तीनवटा जिम्मेवारी एकैसाथ आइपर्‍यो । राजनीतिक जिम्मेवारी, पारिवारिक जिम्मेवारी र कार्यकर्ता भरणपोषणको जिम्मेवारी ।

परिवारका सबै सदस्य प्रवासमा बस्न थालेपछि परिवार व्यवस्थापन, खेतीपाती र विराटनगरमा रहेका कांग्रेस कार्यकर्ताको हेरविचारको जिम्मेवारी उनको काँधमा आयो । जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि उहाँ डगमगाउनु भएन र आफ्नो जिम्मेवारीबाट विचलित हुनुभएन । २००३ सालमा भारतमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनापछि लोकतन्त्रको राजधानी मानिएको विराटनगर लगायत अन्य जिल्लामा सदस्य पठाउने जिम्मा केशवले पाउनुभयो । २००३ सालबाट विराटनगरमा सुरु भएको मजदुर आन्दोलन चर्कंदै गएपछि बीपी र मातृकासँगै केशव पहिलोपटक गिरफ्तार हुनुभयो । २००५ सालमा सञ्चालन भएको सत्याग्रहमा नेतृत्वदायी भूमिका खेल्नुभएका केशव दूरगामी सोचाइ राख्न सक्ने, तत्कालै सही निर्णय लिन सक्ने र तीक्ष्ण क्षमताका हुनुहुन्थ्यो ।

राणाशासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने वैरगनिया सम्मेलनको निर्णय लगत्तै हतियार जम्मा गर्ने, ल्याइएका हतियारहरू सफा गर्ने र त्यसलाई सुरक्षित ढंगले मुक्ति सेनाका लडाकु दस्तासम्म पुर्‍याउने काम उहाँले नै गर्नुभयो । त्यतिबेला केशव कोइरालाले विराटनगर कमाण्डरको जिम्मेवारी सम्हाल्नुभएको थियो । २००७ कात्तिक २५ र २६ गतेको शून्य समयमा मुक्ति सेनाले वीरगन्ज कब्जा गरेर सशस्त्र क्रान्ति सुरुवात गर्‍यो । काठमाडौंपछिको ठूलो र लोकतन्त्रको उद्गम थलोको रूपमा रहेको विराटनगर कब्जा गर्नु र त्यसको सन्देश अन्यत्र फैलाएर युद्धमा होमिएका मुक्ति सेनाहरूको मनोबल उच्च बनाउनु थियो ।

एकै पटकमा विराटनगर आक्रमण गर्नु सम्भव थिएन । त्यसकारण केशव कोइराला र विश्वबन्धु थापाको नेतृत्वको मुक्ति सेनाले २००७ कात्तिक ३० गते विराटनगरको रंगेली कब्जा गर्‍यो र झापातर्फ अगाडि बढ्यो । मंसिर ४ गते झापा ब्यारेक आक्रमण गर्‍यो । राणा सरकारले सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको विराटनगरमा कमाण्डर केशव कोइरालाको नेतृत्वको मुक्ति सेनाले आक्रमणको सम्पुर्ण तयारी पुरा गरेपछि मंसिर २१ गते कमाण्डर इन चिफ सुवर्ण शमशेरले विराटनगर मोर्चाको निरीक्षण गर्नुभयो । 

मंसिर २३ गते मुक्ति सेनाले विराटनगर आक्रमण सुरु गर्‍यो । उक्त आक्रमण सफल नभएपछि पुन: पुस ८ गते बीपी कोइराला समेतको प्रत्यक्ष सहभागितामा फेरि विराटनगर आक्रमण गरियो । र उक्त क्षेत्र पूर्णरूपले नेपाली कांग्रेसको नियन्त्रणमा आयो । केशव कोइराला क्रान्तिकारी सरकारको गभर्नर हुनुभयो । कोइरालाले नै मजदुरको तलब वृद्धि गर्ने, मजदुर युनियन खोल्न पाउने, ‘जसको जोत उसकै पोत’जस्ता क्रान्तिकारी भूमिसुधार कार्यक्रम लागु गरे । केशव कोइरालाकै समयमा विराटनगरमा विद्यालयहरू खुले, विमानस्थल निर्माण भयो, खानेपानी, ढल निर्माण र सडक निर्माणजस्ता काम भए । हिन्दुस्तानमा राममनोहर लोहियाले ‘भाइभतिजाको भर दिया हैं’ भनेर बीपीका विरुद्ध गलत प्रचार गर्न थालेपछि गभर्नर पदबाट केशवलाई राजीनामा गर्न लगाइयो र भूपालमान सिंहलाई उक्त पदमा नियुक्त गरिएको कुरा बीपीको आत्मवृत्तान्तमा उल्लेख गरिएको छ ।

२०१२ सालमा सुवर्णशमशेर नेपाली कांग्रेसको सभापति बन्नुभएपछि केशव कोइरालालाई कांग्रेस पूर्वाञ्चल इन्चार्जको जिम्मेवारी दिइयो । २०१७ सालमा उहाँ विराटनगरको पहिलो निर्वाचित मेयर बन्नुभयो । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् र सरकार विघटन गरेपछि केशव कोइराला प्रवास लाग्नुभयो । प्रवासमा रहँदा केशवले नेपालबाट विस्थापित भएर प्रवास गएका कार्यकर्ताहरूको भरणपोषण र पार्टीको क्रियाकलाप तथा गतिविधि एकसाथ कुशलतापूर्वक सम्पन्न गर्नुभयो । आममाफीपछि ८ वर्षको निरन्तर प्रवास बसाइपश्चात २०२५ सालमा केशव नेपाल फर्किनुभयो । २०१७ पछि लगातार १० वर्ष केशव कोइरालाको आफ्नी धर्मपत्नी नोना कोइरालासँग भेट भएन । नोना जेलमा हुँदा केशव प्रवासमा र केशव जेलमा हुँदा नोना प्रवासमा हुने क्रम भइरह्यो । कांग्रेसले पञ्चायत विरुद्ध पुन: सशस्त्र क्रान्तिको तयारी गरिरहँदा २०२९ सालमा केशव पक्राउ पर्नुभयो र २ वर्षपछि २०३१ वैशाखमा विराटनगर जेलबाट रिहा हुनुभयो । 

समाज रूपान्तरणका अभियन्ता केशव साँच्चै क्रान्तिकारी स्वभावका हुनुहुन्थ्यो । छोराछोरी र बुहारीलाई समान रूपले हेर्नुपर्छ भन्ने सोचाइ उहाँमा थियो । यदि बीपी र गिरिजा पारिवारिक जालोमा अल्झिनुभएको भए र केशवले पारिवारिक विरासत र खेतीपातीको पाटो नथेग्दिएको भए सायद उनका दाजुभाइ मुलुकको सर्वोच्च स्थानमा पुग्न असम्भव थियो भन्ने कुरा बम्बईको टाटा अस्पतालबाट बीपीले केशवलाई लेखेको चिठीबाट नै प्रमाणित हुन्छ (कोशु, मेरो स्वास्थ्यको सम्बन्धमा नोनाले सबै कुरा बताउनेछिन् । नोनालाई मैले बम्बई लिएर गएँ, तिमीलाई केही असुविधा भयो होला । हामी दुवैलाई ठूलो रोग लाग्यो, ओखती उपचारले जति दिन धान्छ, त्यति दिन धान्नेछौं । तिमीले सारा हेरविचार गरेका थियौ । मेरा भाइहरूको ठूलो मद्दतले मैले केही गर्नसकेंँ । कोइरालाहरूको केन्द्रभूमि–पिताजीको कर्मक्षेत्र–विराटनगरमा हाम्रो अस्तित्वको रक्षा तिमीबाट भएको छ । हाम्रो सेखपछि छोराहरूले एकदम एकता राखेर विजयीको कृतिलाई कायम राख्नेछन् । म सोमबारतिर सोझै काठमाडौं फर्किन्छु, बुनु, गिरिजा र शैलजासँग । सुशीला, प्रकाश, नोना र चेतना बनारस जान्छन् । मैले सकेँ भने १/२ दिनका लागि तिमीसँग भेट्न विराटनगर जानेछु । त्यहाँ सबैलाई सम्झेको छ भनिदिनु । माया गर्ने– सान्दाजु)।

केशवले राजनीतिमा होमिएका मातृका, बीपी र गिरिजालाई पारिवारिक बोझ कहिल्यै दिनुभएन र कोइराला परिवारको विरासत जोगाइराख्नुभयो । सन्ततिको निम्ति संस्कार सिकाउने असल गुरु बन्नुभयो । प्रजातन्त्रमा आइपरेका संकटपूर्ण मोडहरूमा सधैं क्रान्तिको मैदानमा उत्रनुभयो । 

तर बदलामा कहिल्यै पद, प्रतिष्ठा र सम्मानको लालसा देखाउनुभएन । राजनीतिमा प्राप्तिमात्रै होइन, त्याग पनि चाहिन्छ भन्ने ज्वलन्त उदाहरण देखाउनुभयो । त्यसको दम्भ र घमन्ड उहाँमा कहिल्यै आएन ।

परिवार व्यवस्थापन, खेतीपाती र राजनीतिक आन्दोलनमा लागिरहँदा केशवले आफ्नो स्वास्थ्यको ख्याल गर्ने समय पनि पाउनु भएन । २०३८ सालको अन्ततिर उहाँ अत्यन्तै बिरामी हुनुभयो । उपचारको लागि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगियो, तर क्यान्सरले ग्रस्त बनिसक्नुभएका केशवको उपचार असम्भव देखेपछि विराटनगर ल्याइयो । अन्तत: २०३९ वैशाख ४ गते उहाँको देहान्त भयो । केशव कोइरालाका जेठा छोरा निरञ्जन कोइराला व्यापारमा संलग्न छन् भने कान्छा छोरा डा. शेखर कोइराला कांग्रेस राजनीतिमा छन् ।

 

प्रकाशित : वैशाख ४, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?