कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

यस्ता हुनुपर्छ हाम्रा उम्मेदवार

जनकराज सापकोटा

राजनीतिलाई गाली गरिराख्ने तर आचरण र नैतिकताको कसीमा उत्तीर्ण हुन नसक्नेलाई मेरो वा हाम्रो उम्मेदवार भनिराख्ने हो भने समाज कहिल्यै सुध्रिँदैन ।

यस्ता हुनुपर्छ हाम्रा उम्मेदवार

शक्तिको अनेकन स्वरुपमा रहेका धेरैलाई राजनीति नै गर्ने रहर छ । अनि धेरैलाई सबैभन्दा अधिक वितृष्णा राजनीति र दलहरूप्रति नै छ । तर प्रत्येक चुनावका थेत्तरो राजनीतिको अभ्यास किन र कसरी भइरहेको छ, राजनीतिको कुरा गर्दा किन धेरै मान्छे नाक उचाल्छन् भनेर गर्नुपर्ने बहस र छलफल छायामा पर्छ । बरु सम्भावित उम्मेदवारको महिमामण्डन, आफू कुनै उम्मेदवारको निकट रहेको वा कुनै मान्छेलाई चुनावको मुखमा बोकी हिँड्नसके त्यसको प्रतिफल चाख्न पाइएला भन्ने मान्छे सबैतिर हावी हुन्छन् ।

अनौपचारिक छलफलमा मेरा साथीहरू आआफ्नो गाउँ वा नगरका सम्भावित उम्मेदवारहरूको नाम सुनाउँछन् । अझै कोही–कोही त फलानो उठ्नुको विकल्प नै नभएको जिकिर गर्छन् । दलहरूले उम्मेदवार छनोटको काम नथाले पनि कैयन्ले त उम्मेदवार बन्न राजनीतिक सक्रियता देखाउन थालिसके । लोकतन्त्रमा कानुनले तोकेको र योग्यताभित्र पर्ने सबैले चुनावी प्रतिस्पर्धामा उम्मेदवार बन्ने चाहना राख्न पाउँछन् र टिकटका निम्ति सक्रिय हुन्छन् । तर चुनावमा उठ्ने र समाज बदल्छु भन्ने आकांक्षा देखाएकाहरूले यतिका वर्षसम्म समाजका निम्ति के गरे भनेर हामीले समीक्षा नगर्ने ? तिनको पृष्ठभूमि नखोतल्ने ? संकटका बेला तिनीहरू बोलेका थिए कि थिएनन् ? इमान र नैतिकताको परीक्षाको घडीमा तिनीहरू कुन कित्तामा उभिएका थिए भनेर थाहा पाउने कि नपाउने ?

शान्ति प्रक्रियापछिका दस वर्षभन्दा लामो समयमा कति धेरै संकट आइपरे । कति धेरै पेचिला विषय नेपाली समाजले झेल्नुपर्‍यो । कस्ता–कस्ता प्राकृतिक विपत्ति सामना गर्नुपर्‍यो । त्यस्ता संकट र अप्ठ्यारामा हामीले उम्मेदवार बनाउनुपर्छ भनेका वा उम्मेदवार हुन्छु भनेका व्यक्तिले कस्तो भूमिका खेलेका थिए ? तिनीहरू कुनै गुट र उपगुटका सारथी भएका थिए कि सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत गरेका थिए ? तिनीहरू कुनै नेताको फेरो समातेर राजनीतिको वैतरणी तर्ने सपनामा मात्रै व्यस्त थिए कि खुला र आलोचनात्मक सोचका साथ छलफल र बहसका चौतारीहरूमा देखिएका थिए ? विपत्तिको समयमा तिनीहरू सक्रिय भएका थिए कि आफ्नो र आफ्नाहरूको मात्रै सुरक्षाका निम्ति दौडधुप गरेका थिए ? राष्ट्रिय मुद्दामा नबोल्ने, स्थानीय मुद्दामा कुनै गुटको फेरो समात्ने मान्छे हाम्रो उम्मेदवार हुनसक्छन् कि सक्दैनन् ? बोल्यो भने विवादमा परिन्छ भनेर वा नबोली बस्यो भने चोखो भइन्छ भनेर वा घुमाउरो भाषामा यता पनि ठिक्क उता पनि ठिक्क हुनेगरी बोलेर आफ्नो दायित्व पुरा गरेको सम्झिनेहरू हामीले खोजेको उम्मेदवार होलान् त ? के तिनले गरेको नेतृत्व, तिनले बनाउने नीतिले हामीले खोजेको गतिशील समाजको सपना पुरा गर्ला ? हिसाब गरिहेरौं त उम्मेदवार बन्छु भनेर खुट्टा उचालेकाहरूले यतिका वर्षसम्म समाजका निम्ति के–के गरे ? कस्ता–कस्ता जोखिमहरू उठाए ? कस्ता–कस्ता दायित्वहरू पुरा गरे ?

समाज परिवर्तन र विकासको यस्तो दोसाँधमा उभिएको छ, हामीले गर्ने लोकरिझ्याइका कुराले मात्रै हाम्रो दायित्व पुरा हुनेवाला छैन । समयको दौडसँगै समाज त्यसै पनि परिवर्तन भइहाल्छ । तर विकास त संस्थागत अभ्यास, सुविचारित नीतिगत प्रक्रिया र भविष्य द्रष्टाको अगुवाइमा मात्रै हुन्छ ।

आफ्नो नगर वा क्षेत्रको विकास बजेट कति खर्च भयो ? कहाँ, कसरी खर्च भयो भनेर तिनले यसअघि कहिल्यै प्रश्न गरेको अथवा छलफल चलाएको सुन्नुभएको छ कि छैन ? छैन भने तिनीहरू अबको स्थानीय तहको निर्वाचनमा उठ्न सक्ने योग्यता पुगेका उम्मेदवार कसरी भए त ?

जेनतेन चिप्लेकिराको गतिमा ‘विकास’ घिस्रिएको छ । भन्नै पर्दैन, देशैभरि विकासको पर्दाभित्र चरम भ्रष्टाचार छ । कैयन ठाउँमा ‘विकास’ भनेर गरिएको अभ्यासले पर्यावरणलाई बिगारेको छ, विकासको प्रतिफल समानुपातिक हिसाबले वितरण नहुनेगरी बिब्ल्याँटो काम गरिएको छ । यी र यस्ता कैयन मुद्दामा कसले प्रश्न गरेको थियो ? सबैलाई थाहा छ, प्रत्येक वर्ष नतिजामा हाम्रा सार्वजनिक स्कुलहरूलाई महँंगो शुल्क असुल्ने निजी स्कुलहरूले उछिन्छन् । सरकारी स्कुलहरू किन कमजोर भए भनेर कसैले प्रश्न गरेको थियो ? अथवा हामीले उम्मेदवारका रूपमा अघि सारेका मान्छेले आफ्नो टोल र समुदायमा रहेको सरकारी स्कुल सुधार्न कुनै सानो–ठूलो हस्तक्षेप कहिल्यै गरेको थियो ?

प्राय: हाम्रा सरकारी स्वास्थ्य संस्थाहरू सेवा वितरणका हिसाबले सुस्त छन् । त्यसमाथि जनताको विश्वास कमजोर छ । कुनै उपाय नभएका र आर्थिक रूपमा विपन्नमात्रै त्यहाँ दु:ख र हैरानी बेहोरेर सेवा लिन्छन् भन्ने आम बुझाइ छ । यसका पछाडि के कस्ता कारण होलान् ? यी विषयमा कसैले कहिल्यै स्थानीय तहमा छलफल चलाएको सुन्नुभएको छ ? हाम्रो गाउँघरका स्वास्थ्य चौकीमा पर्याप्त औषधी भए–नभएको बारे, डाक्टर आए–नआएको बारे, निशुल्क भनिएका औषधीसमेत वितरण नगरिएको बारे कहिल्यै कसैले बोलेको सुन्नुभएको छ । यस्ता विषयमा कहिल्यै नबोल्ने मान्छे हाम्रा उम्मेदवार हुन सक्लान् त ?

जेनतेन पहाड कोतरिएका छन् र त्यहाँ क्षमताभन्दा धेरै मान्छे बोकेर गाडी उक्लिन थालेका छन् । मधेसका धेरैजसो ससाना कस्वाहरूमा सार्वजनिक सवारीको सुविधा पुगेको छ । तर त्यस्तो सुविधा उपभोग गरेबापत हामीले कानुनले तोके अनुसारको शुल्कमात्रै बुझाएका छौं कि हामीमाथि अतिरिक्त आर्थिक भार पनि थोपरिएको छ ? के सरकारले तोके अनुसारको गाडी भाडा तिरेर हामीले यात्रा गरेका छौं ? सवारी धनीले तोकेभन्दा धेरै भाडा असुल्दा कोही बोलेको वा प्रतिवाद गरेको सुन्नुभएको छ ? सिन्डिकेटका कारण भाडा महँंगो भयो भनेर कसैले बोले, लेखेको थाहा छ ? छैन भने तिनीहरू हाम्रा उम्मेदवार कसरी हुनसक्छन् ?

फेरि पनि राजनीतिलाई गाली गरिराख्ने तर आचरण र नैतिकताको कसीमा उत्तीर्णसम्म हुन नसक्ने मान्छेलाई मेरो वा हाम्रो उम्मेदवार भनिराख्ने हो भने हाम्रो समाज कहिल्यै सुध्रिँदैन । हामीले देखिसक्यांै, मूलधारका दलहरूको त झण्डा र चुनाव चिन्हमात्रै फरक हो । तिनीहरू त आफ्नो स्वार्थ मिल्ने मुद्दामा सधंै मिल्छन् । तर दु:ख पाउने त सधैं पिँधका जनताले मात्रै हो । सम्झिहेरौं त, लोकमानसिंह कार्की प्रकरणमा के भएको थियो ? कुन–कुन दल मिलेर तिनलाई शक्तिको आसनमा बसाएका थिए ? चिकित्सा क्षेत्र सुधारको माग राखेर डा. गोविन्द केसी अनशन बसेका बेला कुन–कुन दल कसरी उभिएका थिए र कस्तो भूमिका निभाएका थिए ? याद गरौं त, कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर नेपाली नागरिक मारिँदा कुन–कुन नेता कुर्लेका थिए ? प्रहरीको गोली लागी कुनै दल विशेषको गुन्डा मर्दा भने ककसको चिच्याहट सुनिएको थियो ? एनसेल कर छली प्रकरणमा को–को नेताले देशको ढुकुटीमा आउने रकमको रक्षाका खातिर बोलेका थिए ?

मूलधारका दलको नेतृत्वमाथि प्रश्नहरू धेरै गर्न सकिन्छ । तर तत्काल उनीहरूको विकल्प पनि हाम्रोअघि छैन । बिग्रे–भत्केको राजनीति सुधार्ने साँचो त हाम्रै हातमा छ । कसैलाई खुसी पार्न वा कसैको नजिक हुन फलानो उम्मेदवार बन्नुपर्छ भन्दै नभनौं । भन्ने नै हो भने माथिका सबै प्रश्नको उत्तर आउनेगरी ती उम्मेदवार कसरी समाज बदल्ने खुबी भएका हुन् भनेर पुष्टि गरौं ।

प्रकाशित : चैत्र ३०, २०७३ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?