२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मुक विधिबाट उच्चस्तरीय शिक्षा

अनिला झा

अहिलेको समय एक्काइसौं शताब्दीले प्रविधिको शिक्षालाई विशेष जोड दिएको सर्वविदितै छ । यसै प्रविधिको शिक्षा अन्तर्गत शिक्षण सिकाइको एक किसिमको पद्धति हो— मुक । अहिले मुकमार्फत नेपालमा पनि विश्वका एकदम उच्च स्तरका विश्वविद्यालयको शिक्षा प्राप्त गर्न सकिने देखिन्छ । सबभन्दा पहिले मुक भनेको के हो ?

मुक विधिबाट उच्चस्तरीय शिक्षा

यो कसरी आयो ? अनि यो मुकको सहयोगबाट कसरी उच्चशिक्षाका कोर्सहरू हासिल गर्न सकिन्छ भन्ने बुझौं ।
मुकको सुरुवात खुला शैक्षिक स्रोतको विकाससंँगै भएको हो । यो एक किसिमको ‘डिजिटल लिटरेसी’को जल्दोबल्दो पक्ष हो । यो शब्द आविष्कार गर्ने व्यक्ति डेभ करमियर (क्यानेडियन) हुन् । युनिभर्सिटी अफ प्रिन्स एड्वार्ड आइल्यान्डका उनले सन् २००८ मा मुक शब्द प्रयोग गरेका थिए । अहिले विश्व बजारमा मुकको चर्चा व्यापक छ । मुकको पुरा रूप ‘म्यासिभ ओपन अनलाइन कोर्सेस’ हो । यो शिक्षाको कुनै तहगत डिग्रीको कोर्स होइन, तर यो छोटो कोर्सको संरचना हो । यसको समयावधि बढीमा ६ साताको हुन्छ ।

एउटै कोर्स पनि एकैचोटी ठूलो समूहबाट एकै समयमा अथवा फरक समयमा पनि प्राप्त गर्न सकिने शिक्षा हो, यो । यसलाई हामी समग्र सिकाइ (कलेक्टिभ लर्निङ) पनि भन्न सक्छौं । यो खुला रूपमै उपलब्ध हुन्छ । खुला रूप भनेको यसको लागि अनलाइन अथवा इन्टरनेट आवश्यक हुन्छ । यसमा कुनै उमेर वा तहको छेकबार हुँदैन । यो जुनसुकै स्थानबाट पनि हासिल गर्न सकिन्छ । तर प्रविधि सम्बन्धी साक्षरता अथवा ‘डिजिटल लिटरेसी’ चाहिन्छ र अनलाइनको पहुँच पनि हुनुपर्छ । यो आफ्नै गतिले प्राप्त गर्न सकिन्छ । भौतिक रूपमा कुनै शिक्षक अनि विद्यालय आवश्यक पर्दैन । र कुनै ठोस रूपमा चक अथवा मार्कर, बोर्ड चाहिँदैन र आफ्नो दैनिक कार्यलाई कुनै किसिमको असर नपर्नेगरी पनि प्राप्त गर्न सकिन्छ ।

अहिले समय एकदम व्यस्तताको हो । साथै प्रविधिको पनि समय हो । त्यसकारण एकै स्थानमा लामो समयसम्म शिक्षक र विद्यार्थी बसेर शिक्षा प्रदान गर्नु एकदम कठिनको कुरा हुँदैछ । अहिलेको विश्व बजारमा दूरशिक्षाको पनि व्यापक चर्चा हुँदै आएको छ । यसै दूरशिक्षा अन्तर्गत पर्ने एउटा शिक्षा प्रदान गर्ने माध्यम मुक पनि हो । जसलाई हामी समन्वयात्मक शिक्षा पनि भन्न सक्छौं । किनभने यस अन्तर्गतको कोर्समा एक जनाले बुझाएको कार्यमा अरूले अथवा आफ्नो समकक्षीले पुन: विचार गर्न मिल्छ अनि आफूले पनि अरूको कार्यमा टिप्पणी गर्न पाइन्छ । यो प्रक्रियामा विश्वका कुनै पनि स्थानबाट सहभागी हुनसक्छ ।

त्यसकारण यसले ज्ञानको धरातललाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्छ । विद्यार्थीलाई अझ बढी अन्तरक्रियात्मक रूपमा प्रस्तुत गर्न मद्दत पुर्‍याउँछ । यस कोर्सको अर्को रोचक कुरा भनेको प्रत्येक कोर्समा क्विज स्टाइलका प्रश्नपत्र पनि हुन्छ । तर यसमा विद्यार्थीले एकैचोटी नमिलाए पनि अर्को दुईपटक मौका पाइन्छ । यसबाट सिकारुलाई थप ऊर्जा प्राप्त हुन्छ ।

अर्को एकदम सान्दर्भिक पक्ष भनेको यसभित्र हजारौं कोर्स उपलब्ध छन् । तर आफ्नो तहअनुसार सम्बन्धित कोर्समात्रै पनि पढ्न मिल्ने हुन्छ । जसले गर्दा विद्यार्थीलाई उही विषयमा पनि थप ज्ञान हासिल गर्न एकदम मद्दत पुग्छ । अनि आफ्नो कक्षामा शिक्षकले शिक्षण गर्दा केही कुरा बुझ्न कठिन भए पनि यही मुकको कोर्सको मद्दतबाट सिकाइलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्छ । यसका लागि एकदम महत्त्वपूर्ण अनि अति आवश्यक कुरा भने आफ्नो व्यक्तिगत इमेल आईडी हो । यसै इमेल आईडीको सहायताले नै मुकको सिकाइ पद्धतिमा प्रवेश गर्नुपर्ने हुन्छ ।

अहिलेको परिप्रेक्ष्यमा विकासोन्मुख मुलुकका सहर होस् अथवा अलिकति ग्रामीण क्षेत्रमा, प्रविधिको पहुँच पुगेको देखिन्छ । इन्टरनेटको पनि पहुँच पुगेको छ । आजका धेरैजसो युवक—युवती फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा लामो समयसम्म च्याटमा व्यस्त भएको पाइन्छ । यो युवामा लतजस्तै बनेको छ । अनि केही खराब आचरण भएको वेबसाइटमा पनि छिरिरहेका हुन्छन् । यसलाई रोक्न पनि मुकले सहयोग गर्न सक्छ । विश्वको एकदम उच्च श्रेणीमा सूचीकृत विश्वविद्यालयबाट नि:शुल्क कोर्स पनि लिन सकिन्छ ।

केही महिना अगाडिमात्र काठमाडांैमा मुकसम्बन्धी दुइटा कार्यक्रम भएका थिए । दुइटै कार्यक्रममा मुकका एक अभियन्ता पोखराको निजी विद्यालयका अंग्रेजी शिक्षकले मुकसम्बन्धी परिचय दिनुभएको थियो । अनि त्यही विद्यालयमा पढ्ने ११ कक्षाका एक विद्यार्थीले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा सहभागी भएपछि मलाई लाग्यो, अब हाम्रा सामुदायिक विद्यालयका विद्यार्थीले पनि विश्व बजारको अनि उच्च स्थानमा रहेको विश्वविद्यालयको शिक्षा प्राप्त सक्ने रहेछन् । अहिलेको समयमा हामीले खोजेको कुरा इन्टरनेटमार्फत सहजै प्राप्त गर्न सक्छौं, अनि विश्व बजारमा परिचित हुन सक्छौं । यसैगरी मूकमार्फत पनि हामी अन्तर्राष्ट्रिय शैक्षिक बजारमा पुग्न सक्छौं ।

झा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनमा पीएचडी अध्ययनरत छिन् ।

प्रकाशित : चैत्र १४, २०७३ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?