२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘नारी दिवस’ कसका लागि ?

मिलन पाण्डे

‘तिम्रो बुबा के गर्नुहुन्छ ?’ यो प्रश्नको उत्तर हामी नहिच्किचाई दिन सक्छौं । ‘अनि, आमा ?’ धेरैको उत्तर अलि ढिलो आउँछ, ‘अहँ केही गर्नुहुन्न, घरमै बस्नुहुन्छ ।’ बिहान ४ देखि बेलुकी १० बजेसम्म काम गर्ने आमा किन केही काम गर्नुहुन्न भन्ने बुझिन्छ र बिहान १० बजे अफिस गएर बेलुका ४ बजे घर फर्कने बुबाचाहिँ किन काम गर्ने भनी व्याख्या गरिन्छ ?

‘नारी दिवस’ कसका लागि ?

काम भनेको के हो ? घर भित्रको कामले किन हाम्रो बुझाइमा मान्यता पाएन ? यो बुझाइले आमाका ती कामको अवमूल्यन गर्दैछ वा हाम्रो यस्तो बुझाइले आमाकै अवमूल्यन ? यी प्रश्नको उत्तर हामीले मन्थन गर्नैपर्छ । किनकि यही मानसिकताभित्र हाम्रो समृद्धि लुकेको छ ।

हाम्रो बुझाइ नै पुरुषले पैसा कमाएर ल्याउँछ । त्यसैले उसले काम गरेको हो भन्ने छ । तर के त्यो बुझाइ सही हो ? योगदानलाई पैसाले मात्रै मापन गर्न सकिएला ? काम नै हेर्ने हो भने त आमाले बुबाभन्दा धेरै काम गर्नुहुन्छ । त्यो पनि बुबाले गर्नै नसक्ने काम । हाम्रो लगायत विश्वको बहुसंख्यक समाजमा ब्याप्त एउटा मुख्य समस्या भनेको महिलाको कामको उचित मूल्यांकन नहुनु हो । पितृसत्तात्मक कामको परिभाषामा महिलाको कामलाई अवमूल्यन गरिँदै आएको छ । तर पनि महिलाको योगदानको उचित मूल्यांकन हुन जरुरी छ, ताकि यो मानसिकता तोड्न सकियोस् ।

युनाइटेड नेसन्स डेभलपमेन्ट फन्ड फर ओमेन, १९९७ का अनुसार यदि गृहिणीको कामलाई श्रम बजारको दृष्टिकोणबाट हेर्ने हो भने पनि यसको औसत प्रतिमहिना ७० हजारदेखि १ लाख ५० हजारसम्म हुने पाइएको छ । महिलाको औसत श्रमको मूल्यांकन गर्ने हो भने त्यसले संसारको लगभग ५० प्रतिशत कुल गार्हस्थ उत्पादन हुन आउँछ । गृहिणीको यत्रो ठूलो योगदान छ, तर हामीले यो तथ्य राम्ररी बुझ्न अनि बुझाउनसकेका छैनौं । जसको कारण २० देखि २५ हजार महिनाको कमाउने पुरुषले चेतनाको अभावमा पुरुषभन्दा धेरै गुणा कमाउने सामथ्र्य राख्ने महिलालाई दबाइराखेको हुन्छ । अब प्रत्येक नारीले यसबारे प्रश्न सोध्ने बेला आएको छ । के नारी साँच्चै आर्थिक रूपमा कमजोर छन् वा हाम्रो मानसिकता कमजोर छ ?

महिलाको भूमिका आर्थिक रूपमा मात्रै नभई सामाजिक अनि राजनीतिक रूपमा पनि महत्त्वपूर्ण छ । स्टेफेन क्लासेन (१९९९, २००५) को विश्वब्यापी अनुसन्धान अनुसार पनि महिला सक्षम भएको घरका बच्चाहरू स्वस्थ, शिक्षित अनि अनुशासित हुने गरेका छन् । जुन समाजमा महिला कमजोर हुन्छन्, त्यहाँ धेरै द्वन्द्व हुने अनि राजनीतिक अस्थिरता हुने देखिएको छ । जुन संस्थामा महिलाको नेतृत्व रहेको हुन्छ, त्यो डुब्ने वा नोक्सान कम हुने गरेको पाइएको छ । पुरुषको तुलनामा महिला नेतृत्व तहमा रहेर काम गर्दा कम झगडा हुने अनि विकास छिटो हुने पाइएको छ । महिला नेतृत्वमा रहेको हाम्रै घरपरिवार पनि धेरै स्थिर अनि आर्थिक र व्यवस्थापीय रूपमा सबल भएका धेरै उदाहरण छन् ।

यदि महिलाको नेतृत्व हुँदैन थियो भने हाम्रो संस्कृति, परम्परा अनि पारिवारिक सद्भाव पनि कायम रहन सक्दैन थियो । आज मुलुक आर्थिक रूपमा त्यति सम्पन्न नभए तापनि पारिवारिक, सामाजिक अनि सांस्कृतिक रूपमा भने संसारकै धेरै मुलुकभन्दा सम्पन्न छ । धनी छ । त्यसलाई डलरमा मापन गर्न नसकिएला, तर पनि त्यसको मूल्यांकन गरिनुपर्छ । र यो कुरा बुझिनुपर्छ, बुझाइनुपर्छ ।

भनिन्छ नि ‘कुनै पनि समाजको प्रगति नाप्नको लागि त्यो समाजको महिलाको प्रगति नापे पुग्छ ।’ अविकसित मुलुकहरूको असफलताको मुख्य कारण पनि महिला पछि पर्नु नै हो । जनसंख्याको तथ्यांक हेर्ने हो भने नेपालमा करिब ५१.५ प्रतिशत महिला अनि ४८.५ प्रतिशत पुरुष छन् । पुरुषको संख्याभन्दा नारीको संख्या करिब ८ लाखले बढी छ । अझ यदि अहिले विदेशिएका युवाहरूको तथ्यांक हेर्ने हो भने नेपालमा रहेका महिलाको संख्या झन् बढ्न जान्छ । तसर्थ अब महिलालाई मानसिक रूपमा नै नेतृत्व पङ्क्तिमा ल्याउन जरुरी छ । जसको सुरुवात हालसम्मको महिलाको योगदानको सम्मान गरेर गर्न सकिन्छ ।

हामी दिनभरि महिला हकहितको भाषण गरेर राती रक्सी खाएर श्रीमतीलाई कुट्नेहरूबाट समाधान हुन्छ कि भनेर कुर्दैछौँ । हामी अझै पनि महिलाको समर्थनमा ठूलठूलो भाषण ठोक्दा ताली बजाएरै बसेका छौँ । महिला प्रतिनिधित्वको नाममा नेताका श्रीमती अनि आफन्तले रजाइँ गर्दा महिला उत्थानको आभास गरेर बसेका छौं । केही नेतृ बारम्बार मन्त्री बन्नु, नेताका श्रीमती समानुपातिकबाट सांसद बन्नु अनि जसरी पनि ३३५ महिलाको उपस्थिति गराउनु महिला उत्थान होइन । त्यसैले अब महिलाको शिक्षामा, स्वास्थ्यमा, सुरक्षामा अनि सशक्तीकरणमा लगानी गर्न सक्न्नुपर्छ । ताकि नेतृत्व गर्ने ठाउँमा महिलालाई पुर्‍याउने मात्रभन्दा पनि त्यहाँ पुगेर महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकुन् । एकजना महिला सभामुख बन्नु भनेको रोल्पाको समग्र महिलाको उत्थान हुनु होइन । फेरि एकचोटी भन्छु, राष्ट्रपति, प्रधानन्यायाधीश, समामुखमा महिला नेतृत्व हुनु राम्रो संकेत हो, पुरै समाधान होइन । समाधानका निम्ति त आज एक कक्षामा पढ्दै गरेका बालिकाका लागि उचित वातावरण बनाउन सक्नुपर्छ । जसले वर्तमानसँगै भविष्यमा समेत सक्षम महिला नेतृत्व दिन सकोस् ।

हालसम्म परिस्थिति हेर्ने हो भने महिलाहरू पारिवारिक, सामाजिक अनि राजनीतिक रूपमा निर्णायक हुनसकेका छैनन् । हामी कसरी निर्णायक आधाभन्दा बढी जनसंख्यालाई छाडेर सिङ्गै देश बनाउन निस्कन सक्छौँ ? ५० प्रतिशत जनसंख्यालाई पछि पारेर १०० प्रतिशत नै माथि कसरी उठ्न सक्छ ? आधा जनसंख्यालाई सहभागी नै नगराई कसरी सर्वोत्कृष्टताको अपेक्षा गर्न सकिन्छ ? नारीको निर्णायक उपस्थिति, सहभागिता अनि नेतृत्वबिना विकास अनि समृद्धि सम्भव छैन । यदि साँचो अर्थमा महिला उत्थानको सुरुवात गर्ने हो भने अब महिलाको आत्मसम्मानको रक्षा पुरुषबाट हुन जरुरी छ । साथै उनीहरूको कार्यको उचित मूल्यांकन गर्दै महिलालाई निर्णायक बनाउने दिशामा काम गर्न जरुरी छ ताकि नारीले आफ्नो अस्तित्वको सम्मान गर्न सकुन् । तसर्थ लगतै हुनलागेको स्थानीय निर्वाचनमा महिलासँग आफ्नो टोल, वडा बनाउन अगाडि आएर आफ्नो नेतृत्वको क्षमता देखाउने निकै ठूलो अवसर छ । जसका लागि अब महिला अगाडि आउनुपर्छ र पुरुषले महिलालाई प्रोत्साहन गर्नुपर्छ ।

महिलालाई अघि बढाउन महिलाको साथमा पुरुषले पनि जिम्मेवारी बहन गर्नुपर्छ । किनभने महिलाको उत्थान भनेको परिवार, समाज, अनि राष्ट्रकै उत्थान हो । महिलालाई अधिकार प्राप्त हुनु भनेको पुरुषको अधिकार गुम्नु हो भन्ने संकीर्ण मानसिकताबाट पुरुष माथि उठ्नु जरुरी छ । अब पुरुषले नै महिला विकास अनि उत्थानको अभिभारा लिनुपर्छ । महिलाको हकहितका लागि महिला होइन, पुरुष अघि आउन जरुरी छ । दिनभरि, महिलाले सशक्तीकरणको तालिम लिने अनि घर गएर श्रीमान वा बुबाले गाली गर्दा केही बोल्न नसक्ने वास्तविकतालाई बुझ्दै त्यस्ता अभियानको पुन:संरचना गरिन जरुरी छ । त्यस्ता अभियानको औचित्य तबमात्र पुरा हुनसक्छ, जब त्यस्तो तालिममा पुरुषलाई पनि समावेश गराइन्छ ।

अब महिला आन्दोलनको नेतृत्व पुरुषले गर्नुपर्छ । अब महिलाको हकहित बारेमा महिलाले मात्रै आवाज उठाउने होइन, पुरुषले पनि नेतृत्व लिन जरुरी छ । नारी दिवसको दिन हुने कार्यक्रम, गोष्ठी, समारोहमा महिलाको मात्रै हैन, पुरुषको पनि सहभागिता हुन जरुरी छ । अब महिला उत्थानबारे लेख पनि महिलाले मात्रै होइन, पुरुषले पनि लेख्न जरुरी छ । ‘नारी दिवस’ अब नारीले होइन, पुरुषले मनाउनुपर्छ । पुरुषले जबसम्म नारीको योगदान स्वीकार्न सक्दैनन्, तबसम्म देश बन्न सक्दैन । जसको सिकार पुरुष आफैं बन्दै छन् । 

 

प्रकाशित : फाल्गुन २५, २०७३ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?