धूलो र फोहोरको संस्कृति

सुजीव शाक्य

आजभोलि सबै धूलो, धूवाँ, तुँवालो र फोहोरको विशेषज्ञ भएका बेला म पनि कम † यसको संस्कृति, संस्कार र अर्थतन्त्र एक–आपसमा कसरी जोडिएको छ त, विश्लेषण गर्न मन लाग्यो । सोसल मिडियाको जमानामा मनमा आएको भन्न पाउने छुट छ, किन नभन्ने त ? नेपाली र दक्षिण एसियाली समाजमा नै भनौं, धूलोको कुरो फोहोरसँग जोडिएको छ ।

यी दुवै हाम्रो सामाजिक संरचना, हाम्रो हुर्काइ र मूल्य–मान्यताहरूसँग जोडिएका छन् । तसर्थ यसलाई विभिन्न कोणबाट हेर्न जरुरी छ ।

चोखो र सफा हुनुको अन्तर
हाम्रो संस्कृतिले चोखो हुनुमा धेरै जोड दिन्छ । पूजाआजाअघि, विभिन्न चाडपर्वमा चोखो हुनु एकदम जरुरी हुन्छ । हाम्रो हुर्काइ ननुहाए पनि दुर्गन्धित खोलाको चोखो पानी छर्केर चोखो हुनेको सिकाइबाट आयो । छिमेकीले फ्याँकेको फोहोरको थुप्रोको छेउमा माटोले लिपेर चोखो गरी लक्ष्मीको आगमनको बाटो तिहारमा गर्न सिकियो । पूजाआजा गर्न दुषित वातावरणमा अरूले फ्याँकेका पूजाका विभिन्न सामानको प्लास्टिकको झोलादेखि, टपोरहरूका बीच अलिकता पानी छर्केर स्वच्छ हुन्छ भनेर सिक्यौं । अरूले झैं आफुले पनि फोहोर त्यहीं फाल्ने संस्कृति बनायौं । मन्दिरहरू फोहोर हुने सामाजिक स्वीकार्यता भएको ठाउँमा आफ्नो वरिपरि कसरी सफा र धूलोरहित हुन्छ ?

जबसम्म फोहोर हुनु भनेको चोखो नहुनु हो भनेर हाम्रो समाज र संस्कृतिले मान्यता दिँदैन, हाम्रो वरिपरि फोहोर हट्ने छैन । धूलो भनेको फोहोरको एक पक्ष हो । हामीले फोहोरलाई झैं धूलोलाई सामाजिक स्वीकृति दिएका छौं । तसर्थ अन्य दक्षिण एसियाली मुलुकहरूमा झैं यसको नागरिक प्रतिकार हुँदैन । थाइल्यान्डजस्तो देशमा सफाइलाई समाजको एक पहिचानको रूपमा विकास गरेर लगिएको छ, तसर्थ सफाइको सामाजिक स्वीकार्यताले गर्दा त्यहाँ धूलो पनि स्वीकार्य छैन । चोखो हुनु भनेको सफा हुनुपर्ने हो भन्ने सामाजिक मान्यता आएको छ । मन्दिरहरूमा फोहोर छैन । मन्दिर परिसरमा बेच्ने पूजा सामग्रीका स्टलहरू पनि सफा छन् । गरिब भएर पनि विकसित देशहरूझैं सफा हुन सकिन्छ भनेर रुवान्डाले संसारलाई देखाएको छ । हामीकहाँ गत ३० वर्षमा आर्थिक रूपमा धेरै परिवर्तन आयो, शैक्षिक रूपमा धेरै परिवर्तन आयो तर पैसा कमाउँदैमा वा डिग्री आर्जन गर्दैमा मानिस सफा नहुने रहेछ । 

सफाइको संस्कार
मलाई स्कुलको बिदामा आउँदा धेरै कुराहरूले अचम्भित गथ्र्याे । हिउँदमा बिहे र भोजहरूको सिजन हुन्थ्यो । भोजमा जानका निम्ति मात्र नुहाउने संस्कृति बसेको थियो । रेड लेबल र पाँच सय पचपन्न चुरोटको फुर्ती लगाउनेहरूको घरमा शौचालय पनि नहुन सक्थ्यो । कुनै सामाजिक अवसरमा मात्र रंगरोगन गर्ने चलन अहिलेसम्म गएको छैन । पाँच–सात वर्षमा रङरोगन गर्न गाह्रो हुने ठूल्ठूला घर किन बनाउने भनेर ४० वर्षअघिको प्रश्न अहिले पनि म सोध्ने गर्छु । सफाइ गर्ने जिम्मा आफ्नो होइन, विशेष गरिकन पुरुषहरूको भन्ने मान्यता दिमागमा पालिएको छ । समाजको आधा भागले सफाइ गरेन भने समस्या त हुने नै गर्छ । हामीलाई पढाइ सँगसँगै सफाइ पनि सिकाइयो । जुत्ता राम्रोसँग पालिस गरेर गएन भने क्लासको बाहिर बस्नुपर्ने हुन्थ्यो । त्यसैले शौचालय सफा गर्न सिकियो । घरमा पनि, हातमा कुचो लिएर धूलो बडार्न सिकियो । अहिले हाम्रो अफिसमा पनि शौचालय सफा राख्ने जिम्मा साझा नै छ ।

फोहोर सफा गर्ने जातसँग चिनिने हाम्रो समाज छ । तल्लो स्तरको काममा गनिन्छ । तसर्थ ग्लानी महसुस हुने पेसाका रूपमा लिइन्छ । हुर्किंदादेखि सफाइ भनेको सक्दो अरूले वा महिलाले मात्र गर्ने पेसाका रूपमा सिकाइन्छ । हामीले पश्चिम विश्वको रहनसहन अनुशरण गर्न सिक्यौं, लुगा लगाउन, खानपिनलाई प्रस्तुत गर्न पनि अनुशरण गर्‍यौं । तर, हामीले त्यससँगै सफाइको अनुशरण गरेनौं । बाथरुममा कमोड भित्र्याउन सक्यौं तर कमोड सफा गर्ने विधि हामीले सिक्न आवश्यक ठानेनौं, किनभने कमोड सफा गर्नुलाई जात वा निम्नस्तरको कामसँग जोड्यौं । हामी हजारौ पर्ने फोन किन्छौं तर थोत्रो खोल लिएर हिँड्छौं । 

सफाइको संस्कार आफैंबाट सुरु गर्न जरुरी छ । बाल्यकालदेखि नै यो सिक्न र सिकाउन जरुरी छ । सफाइलाई स्वच्छ जीवनसँग जोड्न र यस तथ्यलाई स्कुलदेखि नै दिमागमा भर्न जरुरी छ, यसको मतलब शिक्षकहरूको सोचाइमा परिवर्तन आउन जरुरी छ । सफाइ गर्ने र सफा ठाउँ खोज्ने बच्चाहरू जब ठूलो हुन्छन्, तब मात्र आफू वरिपरिको फोहोर र धूलोको प्रतिकार गर्छन् र समाधानतर्फ लाग्छन् । जीवनमा तमासाको रूपमा बाहेक कुचो नबोक्नेहरू राजनीतिमा आएर सफाइ र धूलोसम्बन्धी समाधान ल्याउँछन् भनेर सोच्नु व्यर्थ हो । 

समृद्धिका लागि सफाइ
फोहोर र धूलोमा पैसा फलेको देख्नेहरूले पनि फोहोर र धूलो राख्नमा आर्थिक अवसरहरू देखे । सफाइको अर्थतन्त्र, धूलो र फोहोरको अर्थतन्त्रभन्दा ठूलो छ । नेपालमा भारतमा झैं, फोहोर र धूलोमा धेरै पैसा कमाए तर थोरैले मात्र । सम्पूर्ण सहरलाई दु:ख दिएर केहीले फाइदा लिए । सडक खनेर धूलाम्य छाड्दा पनि ठेकेदारको कमाइ हुँदोहरेछ । पुर्न जति ढिलो गर्‍यो, त्यति बढी पैसा । आयोजना जति तन्कियो, त्यति बडी फाइदा । फोहोर व्यवस्थापन गर्ने आयोजनाको तयारीमा धेरै पैसाको चलखेल । योजना आयो भने पैसा बन्द हुने रहेछ । आफूले फोहोर फ्याँक्ने बाल्टिन नकिन्ने, विभिन्न एनजीओले किन्ने, त्यही ठाउँमा कति संस्थानहरूले कति खर्च गरे ? वृक्षरोपण कार्यक्रममा त मन्त्री र ठूलाबडा नै चाहियो तर त्यो नउम्रेका रूखका वरिपरि संस्था वा बैंकको नाम हट्दैन र कतिले खुरुखुरु पैसा पनि लिने होलान् ।

हामीले सफा र धूलोरहित हुनुमा आर्थिक फाइदा छ भनेर बुझ्नुपर्‍यो । भुटानले आफ्नो सफा वातावरणलाई पर्यटकीय फाइदाको ठूलो पक्षका रूपमा परिवर्तन गरेको छ । सिंगापुरले आफूलाई विश्वमा नमुनाको रूपमा प्रस्तुत गरेको छ । संसारका विकसित सहरहरूमा खोलाछेउको जग्गा सबैभन्दा महँगो हुन्छ । ‘रिभरफ्रन्ट’ भनेर चिनिन्छ । नेपालका सहरहरूमा खोला छेउ सस्तो हुन्छ । त्यहाँ सुकुम्बासीको राजनीतिक संरक्षण पाएका झुपडी र घरहरू हुन्छन् । थाइल्यान्डले सफाइको बलमा पर्यटन विकास गरेर लागेको छ । रुवान्डाले सफाइलाई नै आफ्नो प्रतिस्पर्धात्मक कोणको रूपमा विकास गरी संसारका ठूल्ठूला सभा–सम्मेलन गर्न थालेका छन् । सफा सामान हुँदाहुँदै फोहोर सामान कसले किन्छ ? तर त्यो फोहोर देख्नुपर्‍यो अन्तर्राष्ट्रिय चक्षुबाट । हामीले चोखो बनेको जस्तो पनि चलिहाल्छ भन्ने सोचले होइन । सफाइ सभ्य समाजको पहिचान हो र यसको आर्थिक फाइदा धेरै छन् । यसका लागि दृष्टिकोण फेर्नुपर्‍यो । यो राजनीतिक समस्या होइन, सामाजिक–आर्थिक समस्या हो भन्ने रूपमा बुझ्नुपर्‍यो ।

प्रकाशित : फाल्गुन १९, २०७३ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

ध्वनि प्रदूषणको जोखिम

डा. ढुण्डिराज पौडेल

औद्योगिकीकरण या पेसागत कारणले लामो अवधिसम्म चर्को आवाज (श्रवण प्रक्रिया या पद्धतिलाई नकारात्मक असर पार्ने) को सम्पर्कमा रहँदा उत्पन्न हुनसक्ने सुस्त श्रवण या बहिरोपन विश्वव्यापी समस्या हो । त्यसैगरी चर्को या असुरक्षित आवाजसहितको मनोरञ्जनात्मक क्रियाकलाप पनि सुनाइमा हानिकारक हुन सक्छन् ।

मोबाइल, फोन, संगीत आदिजस्ता विद्युतीय श्रव्य साधनहरूको अत्यधिक प्रयोगबाट पनि विश्वमा करिब एक अर्बभन्दा बढीको सुनाइमा असर पर्ने खतरा छ भन्ने अनुमान विश्व स्वास्थ संगठनको छ ।

अनियन्त्रित र बढ्दो सहरीकरणसँगै बढ्दो जनसंख्या र सवारी साधनको चापले पनि ध्वनि प्रदूषण (असुरक्षित, अप्राकृतिक, चर्को र झिँजो लाग्ने) बढ्दैछ । लामो समयसम्म असुरक्षित ध्वनिको सम्पर्कमा रहेर होस् या एकैपटक ठूलो विस्फोटक आवाजको कारणले होस् श्रवण शक्तिमा ह्रास हुनसक्ने तथ्य प्रमाणित भइसकेको छ ।

माओवादी ‘जनयुद्ध’ मा विस्फोटक आवाजका कारणले सदाका लागि सुन्ने शक्ति गुमाउने माओवादी सेना या सरकारी सुरक्षाकर्मीहरू धेरै छन् । केही श्रवण यन्त्रको प्रयोग गर्न बाध्य छन् । आवाजको मापन डेसिबलमा हुन्छ । व्यक्तिपिच्छे फरक भए पनि सामान्यतया कुराकानीको आवाज ४०–६० डेसिबलसम्मको हुने गर्छ भने दैनिक रूपमा लामो समयसम्म ८० डेसिबलभन्दा ठूलो आवाजको सम्पर्कमा रहँदा यसले श्रवण शक्तिमा (सूक्ष्म कोषलाई क्षति पुर्‍याएर या प्रतिकुल रासायनिक प्रतिक्रिया उत्पन्न गरेर) ह्रास पुर्‍याउँछ ।

ख्याल रहोस् मोटरसाइकलबाट साइलेन्सर निकालेकाले पछि अझै बढी ९५ डेसिबल, व्यस्त ट्राफिक हुने ठाउँबाट ८५ डेसिबल, कारको हर्नबाट १ सय डेसिबल, चर्को आवाजसहितको कन्सर्टबाट १ सय १५ डेसिबल आवाज निस्कन्छ जुन श्रवण शक्तिका लागि हानिकारक छ ।सबैभन्दा उदेकलाग्दो त ट्राफिक जामका बेला हुन्छ । खाली ठाउँ कत्ति पनि नहुँदासमेत सवारीसाधनले बेअर्थ चर्को आवाजसहितको टीं–टीं हर्न बजाउँछन् । त्यस्तो क्रियाकलापले जाम त घटाउँदैन, घटाउँदैन उल्टै श्रवण शक्तिमा समेत नकारात्मक असर पार्छ । ध्वनि प्रदूषणले सुनाइमा मात्रै असर पार्दैन यसले अन्य शारीरिक, मनोवैज्ञानिक र सामाजिक स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ । चर्को या प्रदूषित आवाजले चिडचिढापन उत्पन्न गराउनुका साथै मुटु या रक्तप्रवाहमा पनि नकारात्मक असर पर्छ । 

बच्चाहरूलाई त चर्को आवाजले झनै नकारात्मक असर पर्नसक्छ । उनीहरूको वृद्धि र विकासमा नकारात्मक असर पर्नुका साथै नकारात्मक मनोवैज्ञानिक र शारीरिक असर पर्न सक्छ । 

वृद्धवृद्धा, मधुमेहका रोगीलाई ध्वनि प्रदूषणले झनै नकारात्मक असर पर्न सक्छ , छिटै बहिरो बनाउन पनि सक्छ । चर्को आवाजले सडक सुरक्षामा पनि नकारात्मक असर पर्न सक्छ । पैदल यात्री, साइकल यात्रीलाई सडकमा उत्पन्न चर्को आवाजले असहज पैदा गर्छ ।

चर्को आवाजले उत्पन्न हुने बहिरोपन स्थायी हुने सम्भावना हुन्छ र त्यसको उपचार सम्भव पनि नहुन सक्छ । तर, चर्को आवाजबाट सिर्जित बहिरोपनबाट व्यक्तिलाई बचाउन सकिन्छ । नेपालमा १६ प्रतिशत मानिस कुनै न कुनै प्रकारको बहिरोपनबाट पीडित रहेको र बहिरोपनका ५० प्रतिशत कारणको रोकथाम गर्न सकिने अनुमान गरिएको छ । त्यसैले बचावटका उपाय अपनाएर बहिरोपन या ध्वनि पदूषणबाट सिर्जित हुनसक्ने समस्याबाट जोगिन सकिन्छ ।

राजधानीमा उत्पन्न ध्वनि प्रदूषण हटाउन आवश्यक कदम चाल्नु त परै जावस् सडकको स्थिति र सवारीसाधनको गुणस्तरलाई ध्यान नदिई सवारी साधनहरू थप्ने, महँगा, विशाल, इन्धन र आवाजका हिसाबले नकारात्मक रहेका सरकारी सवारी साधनहरूको उपयोग गर्नेजस्ता प्रवृत्तिले समस्या पैदा गरेका छन् । भीआपीहरूका सवारी साधनले निकाल्ने अत्यधिक ध्वनिको विकल्प सोच्न पनि आवश्यक भइसकको छ । कानको उचित स्याहार र समयमै उपचारको अलावा ध्वनि पदूषणबाट पनि बचाउन सके बहिरोपनलाई रोकथाम गर्न सकिने तथ्य प्रमाणित भइसकेको छ ।

मनोरञ्जनात्मक एवं सामाजिक अवसरमा पनि ठूलो आवाज घन्काउन सचेत हुनुपर्छ । सबैभन्दा बढी चाप रहेको रत्नपार्क, टुँडिखेल नजिक वीर, ट्रमा मात्रै होइन विशाल सैनिक अस्पताल निर्माणाधीन छ । रत्नपार्कको खुलामञ्चमा अस्पतालतिरै मुख फर्काइएका लाउडस्पिकरहरूसहित चर्का भाषण कार्यक्रम आयोजित हुने गर्छन् । यिनको नकारात्मक असरबारे सम्बन्धितहरू संवेदनशील हुनैपर्छ । सैनिक खुलामञ्चमा पनि ठूल्ठूला विस्फोटक आवाजसहितका कार्यक्रम नराख्न सम्भव हुन्छ कि ? सम्बन्धितहरूले ध्यान दिनुपर्ने आवश्यकता छ ।

ध्वनिको परिमाण नाप्ने र नियन्त्रण गर्ने व्यवस्था हुनुपर्छ । मानवीय कारणले सिर्जित ध्वनि प्रदूषणले उत्पन्न बहिरोपनबाट पीडितहरूले क्षतिपूर्ति पाउने व्यवस्था हुनुपर्छ । सरकारी स्तरबाट बहिरोपनको रोकथामका लागि आवश्यक प्रयास नहुनु विडम्बना हो । अब सरकार र विश्व स्वास्थ्य संगठनको पनि यतातर्फ ध्यान जानुपर्छ । मार्च ३ मा मनाइने विश्व श्रवण दिवसमा यसपटक विश्व स्वास्थ्य संगठनले ‘बहिरोपनका लागि राज्यको लगानी’ भन्ने मान्यता अघि सारको छ ।

डा. पौडेल वीर अस्पताल ईएनटी विभागका प्रमुख हुन् । 

प्रकाशित : फाल्गुन १९, २०७३ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्