३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कुशल कुलमान

अधिकांश नेपालीले कुलमानको कामबाट उज्यालो मात्र पाएका छैनन्, आशावादीसमेत बनेका छन् ।
विष्णु पोखरेल

आठ सयजना क्षमताको ‘नेपा–ढुकु बलरुम’मा भरिभराउ मानिसमध्ये सबैजसोले एकाएक ताली बजाउन थाले । थप्पडीका लागि उठेका हातहरू थामिएनन्, कम्तीमा दुई मिनेटका लागि तालीको गडगडाहटले लाजिम्पाटस्थित र्‍याडिसन होटलको हल गुञ्जयमान भयो ।

कुशल कुलमान

उद्घोषकको आवाज लामो गड्गडाहटमा कतै बिलायो । गत पुस २७ गते हल गुञ्जयमान गराउने ताली, भर्खरै मञ्चबाट भाषण सक्ने प्रधानमन्त्री पुष्पकमल दाहालका लागि थिएन । हलमा बस्ने हरेकको हात तालीका लागि उठाउन बाध्य पार्ने पात्र थिए, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक– कुलमान घिसिङ । वार्षिक साधारणसभाका अवसरमा नेपाल चेम्बर अफ कमर्सले घिसिङलाई दिँदै थियो– उत्कृष्ट व्यवस्थापक सम्मान । अनि सभाहल गुञ्जिएको थियो– सम्मानका लागि उनको नाम घोषणा हुने बित्तिकै ।

र्‍याडिसन होटलको हलमा गुन्जिएको तालीले कुलमानको ‘क्रेज’मात्र देखाइरहेको थिएन, एउटा सानो परिवर्तनले हरेक क्षेत्रका व्यक्तिलाई ऊर्जा प्रदान गर्छ भन्ने अभिव्यक्ति दिइरहेको थियो । हुन त कुलमानले खासै ठूलो परिवर्तन गरेका हैनन् । तर पनि उनी हरेक नेपालीको ओठमा झुन्डिएका छन्, धेरैका लागि नायक र सफल व्यवस्थापकको ‘रोल मोडल’ बनेका छन् । सेलिब्रेटीकै जस्तो कुलमान ‘क्रेज’ बढ्नुको एउटै कारण हो– उनले लोडसेडिङ अन्त्य गर्नु । नेपालमा उत्पादिन बिजुली व्यवस्थापन गरेर होस् वा भारतबाट आयात गरी काठमाडौंसम्म ल्याउने बन्दोबस्त मिलाएर होस्, उनले यसपाली हिउँदमा समेत काठमाडौं र अन्य केही मुख्य सहरलाई अँध्यारोबाट मुक्ति दिए । यही सफलता उनले जनस्तरबाट वाहवाही पाउने आधार बनेको छ । गत भदौमा कार्यकारी निर्देशक भएदेखि नै घिसिङले लोडसेडिङ अन्त्यलाई कार्यसूचीको प्राथमिकतामा राखेका थिए । त्यसलाई गएको तिहारदेखि लागु गर्न सुरु गरी सफलता हात पारेरै छाडे । राजनीतिक अस्थिरतासँगै मौलाएका हरेक खाले अनिश्चताले निराश बनेका अधिकांश नेपालीले कुलमानको कामबाट उज्यालोमात्र पाएका छैनन्, आशावादी समेत बनेका छन् । 

२०२७ साल मंसिर १० गते रामेछाप बेथानको कृषक परिवारमा जन्मिएका कुलमानले समयमै स्कुल जान पाएनन् । कृषक बाबु कृष्णसिंह र आमा सेती डोल्मा तामाङले ज्ञानको अभावमा उनलाई वस्तु चराउन पठाउँथे । तर कुलमान आफैले ‘ज्ञान जान्ने’ भएपछि भने स्कुल जानुपर्छ भनेर बुझे । आफ्नै उमेरका साथीहरू स्कुल गएको देखेपछि उनले विद्यालय भर्ना हुने अठोट गरे, अनि गाउँकै प्राथमिक विद्यालयमा पुगे । दुई कक्षासम्म त्यहाँ अध्ययन गरेपछि उनी घरबाट करिब डेढ घन्टा टाढाको कुशेश्वर निम्न माध्यमिक विद्यालयमा पढ्न गए । घर नजिकै दुई कक्षासम्म पढेका उनले तीन कक्षा पढ्नै परेन । ‘मैले त्यहाँ एकैपल्ट ४ कक्षामा भर्ना हुने अवसर पाएँ,’ शुक्रबार विद्युत प्राधिकरणको दरबारमार्गस्थित केन्द्रीय कार्यालयको आफ्नै कार्यकक्षमा कुरा गर्दै उनले भने, ‘स्कुल स्तरमा कहिले पनि सेकेन्ड हुनुपरेन, सधैं फस्ट नै भएँ ।’ 

छ जना दाजुभाइ र तीनजना दिदीबहिनीमध्ये साहिँला कुलमान सानैदेखि पढ्नमा अब्बल थिए । दुईजना दाजुहरू थान्का बनाउने काम गर्थे । दुवै काठमाडौं बस्ने । गाउँमा ५ कक्षा पास गरेपछि घिसिङलाई दाजुहरूले राजधानी बोलाए । उनी थान्का बनाउने दाजुहरूसँगै काठमाडौं आए । जैसीदेवल बस्ने दाइहरूले उनलाई झोंछेको बालसेवा माविमा भर्ना गराइदिए । त्यहाँ पनि उनले एउटा कक्षा छाडेर भर्ना पाए । ‘५ कक्षा पढेर आएको एकैपल्ट ७ कक्षामा भर्ना लिइदिए,’ उनी भन्छन्, ‘एउटा कक्षा छाड्दा पनि म फेरि फस्ट नै भएँ ।’ 

उनले सात कक्षा पास गर्दा उनीसँगै पढ्ने धेरै साथीहरू वनस्थली स्कुल भर्ना भए । घिसिङलाई पनि वनस्थली स्कुल भर्ना हुन मन थियो, तर पैसा महँगो । दाइहरू बानेश्वर डेरा सरेपछि उनी पनि बानेश्वर नै जानुपर्ने भयो । बानेश्वर सरेपछि भने उनले बोर्डिङ पढ्ने मन गरे । दाइहरूले पनि उनलाई साथ दिए । अनि घिसिङ भर्ना हुनगए– अमर आदर्श बोर्डिङ स्कुलमा । ‘त्यहाँ मलाई ८ कक्षामा भर्ना लिन मानिरहेका थिएनन्,’ घिसिङ सम्झन्छन्, ‘तर मैले उमेर धेरै भइसकेकाले तल्लो कक्षामा नपढ्ने बताएँ, अन्तिममा उनीहरूले भर्ना लिए ।’ नेपाली माध्यमबाट अङ्ग्रेजी माध्यममा भर्ना भएका घिसिङलाई सुरुमा पढ्न अप्ठ्यारो भए पनि चाँडै नै सुधार गरे । अप्रत्यासित रूपमा उनी अङ्ग्रेजी माध्यमबाट पढाइ हुने स्कुलमा पनि प्रथम नै हुनपुगे । त्यसपछि त उनको प्रथम हुने सिलसिलाले ‘ब्रेक’ लगाउनुपरेन । ‘एसएलसीमा टप टेनभित्र पर्छु भन्ने थियो,’ उनले भने, ‘तर २ नम्बरले परिन ।’ 

८२ प्रतिशत अंक ल्याएर एसएलसी गरेपछि उनको रोजाइ बन्यो– अस्कल क्याम्पस । अस्कलमा पनि उनी अब्बल विद्यार्थी बने । आईएस्सी पढ्दै गर्दा उनी आईएस्सीकै विद्यार्थीलाई ट्युसन पढाउँदै ‘पकेट’ खर्च जुटाउँथे । स्कुल पढ्दैदेखि धेरैले डाक्टर बन्ने लक्ष्य राखेका थिए, उनले भने इन्जिनियरिङ रोजे । इन्जिनियरिङका लागि विभिन्न छात्रवृत्तिका परीक्षा दिए । घिसिङले बंगलादेशका लागि पनि छात्रवृत्ति पाएका थिए, तर उनले रोजे भारतीय दूतावासमार्फत पाएको छात्रवृत्ति । छात्रवृत्तिमा विहारको जमसेदपुर (हाल : झारखण्ड) स्थित ‘आरएसी’बाट चारवर्षे बीएस्सी ‘इलेक्ट्रोनिक्स’ इन्जिनियरिङ गरे । चार वर्षमा इन्जिनियर भएर फर्किएपछि उनले खोजी गर्न थाले– जागिर । त्यसबेला नेपालमा इन्जिनियरिङ अध्ययन गर्ने व्यक्तिहरू कमै हुने गर्थे । उनीहरूलाई जागिर पाउन त्यत्ति धेरै गाह्रो भने थिएन । घिसिङले पनि विद्युत प्राधिकरण, तत्कालीन हवाइसेवा विभाग र लोकसेवा आयोगमा एकैसाथ जस्तो आवेदन दिए । सँगसँगै जस्तो भएको परीक्षामा तीनैतिर उनको नाम निस्कियो । 

तीनैतिर नाम निस्किए पनि घिसिङले रोजे– विद्युत प्राधिकरण । त्यसबेला तीनैतिर नाम निकाल्ने मध्येका अर्का थिए– अनुप उपाध्याय । उपाध्यायले निजामती सेवा रोजे भने घिसिङ प्राधिकरणमै रमाए । संयोगले उपाध्याय अहिले ऊर्जा सचिव छन्, घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक । उसबेला जागिरमा सँगै नाम निकालेका यी दुईको समन्वय र सहकार्यको प्रतिफलले अहिले अन्त्य भएको छ– लामो लोडसेडिङ । सातौं तहमा २०५० सालमा विद्युत प्राधिकरण प्रवेश गरेका घिसिङको पहिलो पदस्थापन भयो– ‘साना जलविद्युत तथा ग्रामीण विद्युतीकरण निर्देशनालय’मा । उनले त्यहाँ बस्दा मुलुकका धेरै ग्रामीण क्षेत्रमा भ्रमणमात्र गरेनन्, समाजलाई नजिकबाट बुझ्ने अवसर पनि पाए । जागिरकै बीचमा उनले पुलचोक इन्जिनियरिङ क्याम्पसबाट एमई गरे । त्यसपछि ‘एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट’बाट ‘एक्जुकेटिभ एमबीए’ समेत गरे । लामो समय सातौं तहमा काम गरेका घिसिङले करिब एक दशकपछि आठांै तहमा बढुवा हुने अवसर पाए । आठौं तहमा प्रवेश गरेसँगै उनले एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूमा प्रमुखको जिम्मेवारी पाए । जसले उनलाई दातृ निकायसँगको सहकार्यलाई नजिकबाट नियाल्ने मौका मिल्यो । 

आठांै तहमा कार्यरत रहेकै बेला खुल्ला प्रतिस्पर्धाबाट उनले १० औं तहमा नाम निकाले । त्यसपछि ऊर्जा खरिद निर्देशनालयको प्रमुख भएर काम गरे । ‘त्यहाँ बस्दा मलाई नेपाल–भारत विद्युत व्यापार र विद्युत खरिद सम्बन्धी धेरै जानकारी भयो,’ घिसिङ भन्छन्, ‘त्यसले मलाई धेरै कुरा सिकायो ।’ १० औं तहमै काम गर्दैगर्दा उनले लोकसेवा आयोगमा खुला सहसचिवको परीक्षा दिएका थिए । लिखितमा उनले नाम निकाले पनि अन्तर्वार्तामा छनोट हुन सकेनन् । उनका प्रतिस्पर्धी दिनेश घिमिरे छनोट भए । उनी अहिले ऊर्जा मन्त्रालयमा सहसचिव छन् । जसरी उनले पढाइमा कक्षाहरू फड्को मार्दै अघि बढेका थिए, जागिरमा पनि त्यस्तै क्रम चल्यो । आठौं तहबाट १० औं तहमा पुगेका उनले गएको भदौमा पनि ११ औं तहबाट एकैपल्ट कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन् । ‘पढाइमा र जागिरमा मैले मारेको फड्कोमा भाग्यले साथ दिएकै मान्छु,’ घिसिङ भन्छन्, ‘तर मैले कहिल्यै पनि पछाडि फर्केर जानुपरेको छैन ।’

विद्युत प्राधिकरणले उनलाई २०६७ सालमा चिलिमे जलविद्युत आयोजना प्रमुखको जिम्मेवारी दियो । प्राधिकरणले दिएको यो जिम्मेवारीले नै घिसिङलाई सर्वसाधारणबीच चिनाएको हो । चिलिमेमा गएपछि घिसिङले नेपालमै पहिलोपटक जलविद्युतको सेयर सर्वसाधारणका लागि निष्काशन गराउन सफल भए । जलविद्युत सेयर यसअघि सर्वसाधारणले किन्ने व्यवस्था भएको थिएन । ‘त्यो मेजर ब्रेक थ्रु नै थियो,’ घिसिङ भन्छन्, ‘चिलिमेबाट सुरु भएको कुरा आज धेरै सफल देखिन्छ, जलविद्युतको सेयर भर्न सर्वसाधारण लामो लाइन लाग्छन् ।’ चिलिमेले घिसिङलाई पहिचानमात्र दिएन, उनले स्थानीय तहमा राजनीतिक र सामाजिक समस्या कसरी समाधान गर्ने भन्नेसमेत सिके । ‘प्राविधिक इन्जिनियरिङ मैले कलेजमा पढेँ, तर सामाजिक इन्जिनियरिङका धेरै कुरा चिलिमेले सिकायो,’ उनी भन्छन्, ‘प्राविधिक दक्षतासँगै सामाजिक र राजनीतिक कुराको व्यवस्थापन गर्नसक्ने मान्छे नै सफल व्यवस्थापन बन्छ ।’ 

तर तत्कालीत ऊर्जामन्त्री राधा ज्ञवालीले उनलाई चिलिमेबाट तानेर केन्द्रमा ल्याइदिइन् । घिसिङले करिब डेढ वर्ष प्राधिकरणमा आएर काम नगरी घर फर्कने वातावरण बन्यो । कामविहीन बनाएर केन्द्रमा तानिएका उनको बढुवासमेत पछि धकेलियो । करिब २ वर्षअघि उनी ११ औं तहमा बढुवा भए । त्यसपछि राहुघाट जलविद्युतको प्रमुख बनाइए । त्यहाँ पनि उनले अरूभन्दा अब्बल काम गरेर देखाए । लामो समयदेखि ठेक्काका कारण अलमलमा रहेको योजना अघि बढाउन उनले भारतीय ठेकेदारसँग सम्झौता रद्द गरेर काम अघि बढाए । ११ औं तहमा काम गरिरहेका उनले १२ औं तहमा नगई एकैपल्ट प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी पाए । 

भदौमा कार्यकारी निर्देशक बनेका उनले लोडसेडिङ अन्त्यका लागि धेरै खाले रणनीति अघि बढाएका छन् । त्यसलाई कार्यान्वयन गर्दै पनि छन् । भारतबाट बिजुली ल्याउनु, नेपालमा उत्पादन बढ्नु र उद्योगलाई रातमा बिजुली कटौती गर्नुले मात्र लोडसेडिङ अन्त्य भएको हैन । ‘सुख्खा याममा मर्मत गर्नुपर्ने आयोजना पहिले एकैपल्ट हुन्थे, अहिले भने हामीले दिउँसो त्यो पनि पालैपालो गरेर गरिरहेका छौं,’ उनले भने, ‘त्यसले गर्दा पनि हामीलाई लोडसेडिङ हटाउन मद्दत गरेको छ ।’ 

तत्कालीन रूपमा लोडसेडिङ घटाउने प्रयत्नमा लागेका घिसिङले दीर्घकालीन योजनासमेत अघि बढाइरहेका छन् । नेपालमै उत्पादन बढाएर दीर्घकालीन रूपमा लोडसेडिङ हटाउने र निर्यातसम्म गर्ने योजना उनले अघि सारेका छन् । त्यसका लागि उनीसँग प्रभावकारी रणनीति छन् । तिनलाई अघि बढाएर सफल हुँदा कुलमान मात्र सफल हुने छैनन्, मुलुक नै सफल हुनेछ । अनि सायद, र्‍याडिसन होटलका ८ सय दर्शकमात्र होइन, सम्पूर्ण नेपालीले खुसीको ताली बजाउनेछन् । 

प्रकाशित : फाल्गुन ७, २०७३ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?