कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कर्तव्य बिर्सिएको अधिकार

रामेश्वरी पन्त

गत माघमा केही निन्दनीय, क्रूर र मानवताहीन घटनाहरू सञ्चार माध्यममा आए । सिन्धुलीमा एक युवाले प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै आफ्नै प्रेमिकामाथि सामुहिक बलात्कार गराएर हत्या गरे । नेपालगन्जमा एक पतिले पत्नीलाई बलिरहेको टुकीले हिर्काउँदा जलेर मृत्यु भयो । बुटवलमा एक प्रेमीले प्रेमिकालाई धोका दिएको भन्दै एसिड खन्याएर हत्या गरे ।

कर्तव्य बिर्सिएको अधिकार

यस्ता अपराधको जति नै घृणा र निन्दा गरे पनि कम हुन्छ । प्राय: पुरुष अहम्का कारण महिलामाथि हुने यस्ता अपराधका घटना पटक—पटक भइरहन्छन् । तर के महिलाले अपराध गर्दै गर्दैनन् त ? क्रूरताको सीमा पुरुषले मात्र पार गर्छन् त ? होइन । महिलाले पनि क्रूरताको सीमा पार गर्छन् । घटनाको संख्यामा मात्र घटीबढी हुनसक्ला । 

माघ २३ गते सप्तरीकी एक महिलाले जेठानीसँगको रिसमा तीन वर्षीय नाबालक भतिजाको घाँटी थिचेर हत्या गरेको कुरा सञ्चार माध्यममा आयो । जेठानीसँगको घरायसी विवादमा उसको अबोध सन्तानको हत्या गर्नु क्रूरताको पराकाष्ठा हो । भनिन्छ, नारी जीवनदाता हुन् । माया, ममता र स्नेहकी खानी हुन्, तर तिनै नारी यतिसम्म निर्दयी हत्यारा हुनसक्छे ? पत्याउन कठिन हुन्छ, यस्तो यथार्थलाई र पनि पटक—पटक सुनिन्छन्, यस्ता घटना । कहिले सौताका, कहिले छिमेकीका बच्चा मारेका घटना सुनिन्छन् । कतै दाइजोको निहुँमा सासुले बुहारी जलाएको सुनिन्छ, कतै अस्वीकृत प्रेम गरेको भन्दै आमाले छोरी जलाएको वा मारेको सुनिन्छ । कतै अवैध सम्बन्धका कारण आमाले आफ्नै शिशुको हत्या गरेको सुनिन्छ । हिजो मात्रको कुरा, भक्तपुरमा एक महिलाले छिमेकी बालिका बलात्कार गर्न लोग्नेलाई सघाएको खबर प्रकाशित भयो । नारीका यस्ता कुरूप रूपलाई कुनै पनि हालतमा क्षम्य मान्न सकिंँदैन । माघको तेस्रो साता गुल्मी अर्बेनीमा ७८ वर्षीय वृद्ध दलित पुरुष लालबहादुर सुनार र ४३ वर्षीया बाहुन महिला सावित्रा न्यौपानेको विवाहले निकै चर्चा पायो । लालबहादुर र सावित्राको विवाहलाई बिभिन्न सञ्चार माध्यममा यसकारण पनि चर्चाको शिखरमा पुर्‍याइयो कि ती दुईमध्ये लालबहादुर वृद्ध थिए, दलित थिए र विधुर थिए । अर्कोतिर सावित्रा जम्माजम्मी ४३ वर्षकी अर्थात् लालबहादुर भन्दा करिब आधा उमेरले कान्छी तर पति र ससाना चार छोराछोरी भएकी ‘बाहुनी’ । 

लालबहादुर र सावित्राको सम्बन्धलाई लिएर गाउँनिकाला गरिएका दुबैजनालाई अन्तत: दलित अधिकारकर्मी लगायत विभिन्न अधिकारवादी संस्थाको दबाबमा प्रमुख जिल्ला अधिकारीले नै मुख्य अतिथिको भूमिकामा रहेर धुमधामले बाजागाजा र नाचगानसहित बेहुला—बेहुलीको रूपमा भित्र्याए । गाउँ निकालापछि दलित अधिकारका कुरा र जातीय विभेदका कुरा चर्किनु आफ्नो ठाउँमा अनुचित नहुन सक्छ । तर के सावित्रा न्यौपानेले गरेको प्रेम र विवाह सामाजिक मूल्य—मान्यता, नैतिकता र कर्तव्यका दृष्टिले उपयुक्त थियो ? वा हुनसक्छ ? हुन त कसैले कसैसँग प्रेम वा विवाह गरेकै आधारमा उसलाई बेघर गर्दै गाउँनिकाला गर्नु उसको मानवअधिकारको हनन पक्कै हो । तर अधिकारका कुरा गर्दा र व्यक्तिगत स्वतन्त्रताका कुरा गर्दा व्यक्तिले निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्वको कुरालाई पनि कदापि नजरन्दाज गर्न मिल्दैन । 

यो विवाहलाई सकेसम्म महिमामण्डित गरियो । मानौं, यो एउटा अलौकिक विवाह हो, दलित र बाहुन बीचको विवाह ! समाज परिवर्तनको सूचक ! तर यो विवाहले अर्को एक परिवारको बिचल्ली भएको कुरा कमैले देखे । पत्नी मरेपछि २२ वर्षसम्म एकल जीवन बिताएका वृद्ध लालबहादुरले अधबैंसे महिलालाई बिहे गरेर घर भित्र्याउनु साँच्ची नै उनको लागि शौभाग्यकै कुरा हुनजाला । बुढेसकालमा आफूलाई स्याहार्ने एउटी महिला जो पाएका छन् । तर बौद्धिक अपाङ्गता भएका पति र आमाको माया, ममता र मार्गनिर्देशको खाँचोमा रहेका सन्तानलाई छोडेर लोग्ने—स्वास्नीबीच झगडा हुँदा माया देखाउने, दु:खमा सहानुभूति प्रकट गर्ने एउटा बाबु उमेरको वृद्ध पुरुषसँग पिरती गाँसी लोक, लाज, नैतिकता र कर्तव्य सबै बिर्सेर उसकी पत्नीको रूपमा नाच्दै रमाउँदै हात समातेर हिँडेकी सावित्रालाई प्राकृतिक नियमअनुसार वृद्ध लालबहादुरको मृत्युपछि कसले स्याहार्ला ? वृद्ध र अशक्त बन्दै गएपछि सावित्रालाई लालबहादुरका छोराबुहारीले साँच्चीकै माया गरेर स्याहार्लान् ? या उनलाई ती बेसहारा बनाएर छोडेका छोराछोरीको श्राप लाग्ला ? 

झट्ट हेर्दा सबैतिरबाट अमिल्दो यो विवाहबारे प्रकाशित र प्रसारित कुरा हेरेर मनमा केही प्रश्न उठिरहे– यदि लालबहादुरको सट्टामा चन्द्रकान्त न्यौपाने दलित भैदिएको भए अधिकारकर्मीका आवाज कतातिर तेर्सिंदा हुन् ? आमाविहीन बच्चाहरू उनीहरूको नजरमा पर्थे कि पर्दैनथे होलान् ? प्रमुख जिल्ला अधिकारीले नै माला र खादा पहिर्‍याएर बेहुला—बेहुली भित्र्याउने काम गर्दा उनलाई यस्तो विवाह प्रचलित मुलुकी ऐनविपरीत छ भन्ने ज्ञान थियो कि थिएन होला ? मुलुकी ऐनले त विवाहित अवस्थामा रहेका पुरुष वा महिलाले अर्को विवाह गरेमा दण्डनीय हुने भनेको छ । लालबहादुरको हकमा यो विवाह उचित होला, तर सावित्राले गरेको विवाहलाई ऐनले के भन्छ ? के यो विवाहमा प्रजिअको उपस्थिति त्यति महत्त्वपूर्ण थियो ? अझ महत्त्वपूर्ण प्रश्न त यो छ कि यो विवाहले समाजलाई कस्तो सन्देश दिन्छ ? आफ्नो अपाङ्ग पतिको गालीगलौज सहन नसकेर टाउको बिसाउने मायालु छाती खोजेर सावित्रा न्यौपाने ८० पुग्नलागेका लालबहादुर सुनारसँग गएकी हुन् कि यौनसन्तुष्टि खोज्दै ? सन्तानको मायाले किन रोक्न सकेन एउटी आमालाई ? 

लालबहादुरको भत्काइएको ‘देखिने घर’ त अधिकारकर्मीहरूले बनाइदिए रे ! तर सावित्रा र लालबहादुर मिलेर भत्काइएको सावित्राका पति चन्द्रकान्त न्यौपानेको ‘नदेखिने घर’ कसले बनाउने ? नारीलाई कतै धर्ती भनिने गर्छ, कतै समुद्र, अनि कतै माया र ममताकी खानी । कतै देवी भनिन्छ, अनि कतै फूल । यी सब विम्बका अर्थ र महत्त्वको आफ्नै गरिमा छन् । धेरै हदमा नारी स्वयंले नै यी शब्दका गरिमालाई बचाएर राख्न सकिन् भने आफू र परिवार दुबै सुखी बन्न सक्छ । यसो भन्दैमा नारीले अन्याय र अत्याचार सहेरै बस्नुपर्छ भन्ने आशय पंक्तिकारको होइन । तर नहसनु भन्दैमा सबै सीमा भत्काएर बुर्कुसी मार्नुपर्छ भन्ने पनि होइन ।

प्रकाशित : फाल्गुन ५, २०७३ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?