१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बैंकिङ तरलताले बढाएको जोखिम

डा. प्रेम दंगाल

बैंकहरूमा तरलताको अभाव हुनमा चारवटा पक्ष औंल्याइएको छ । ती हुन् : बैंकमा निक्षेपको कमी, घट्दो विप्रेसन, कर्जाको माग बढी र सरकारी विकास खर्च हुन नसक्नु । तर सरकार र राष्ट्र बैंक भने तरलता अभाव नभएको बताउँछन् ।

बैंकिङ तरलताले बढाएको जोखिम

यदि यसो भएमा पनि बैंकहरूले अनुत्पादक क्षेत्रमा व्यापक लगानी गरेर भएको हो भन्ने दाबी छ । यसमा खासगरी घरजग्गा, गाडी तथा सेयर खरिद समेतका अनुत्पादक क्षेत्रमा भएको लगानी नै तरलता अभावको जिम्मेवार हो । यस्तो अनुत्पादक क्षेत्रमा गरिने लगानीले तरलतासमेत अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ । 

लगानीकर्ताले भविष्यमा अर्थतन्त्र उतारतर्फ जान्छ भन्ने अनुमानको आधारमा लगानी गर्छन् । त्यस्तो स्थितिमा पुँजीको माग बढ्छ, उद्यमीहरू लगानीमा आकर्षित हुन्छन् । लगानी ज्यादै बढी भएपछि बैंकको व्याजदर पनि बढ्छ । लगानीमा कम नाफा हुँदाहुँदै पनि भविष्यमा सम्पत्तिको मूल्य बढ्ने अनुमानमा लगानी बढाउने निर्णयमा वित्तीय संस्था पुग्छन् । लगानी पनि कतिपय बेलामा धितो मूल्याङ्कनका आधारमा गरिँदैन र निक्षेपको शतप्रतिशत समेत लगानी गर्न बैंकहरू उद्यत देखिन्छन् । यसरी अन्धाधुन्द लगानी गरेपछि बजारमा मन्दी आउँछ । 

सन् २००८ ताका अमेरिकामा आएको आर्थिक संकटको सुरुवात आजको हाम्रो मुलुकमा भएको अवस्था जस्तैबाट सुरु भएको थियो । अमेरिकामा बैंक, वित्तीय संस्थाहरू घर—जग्गाको मूल्य कहिल्यै घट्न नसक्ने निष्कर्ष निकाल्दै जथाभावी लगानी गर्न पुगे । त्यो निष्कर्ष पनि सही नै थियो । किनभने घर—जग्गाको मूल्य अमेरिकामा त्यसबेलासम्म घटेको इतिहास नै थिएन । अमेरिककामा ९० को दशकयता प्रत्येक वर्ष ५ देखि १० प्रतिशतले घर—जग्गाको मूल्य बढेको थियो । यही विश्वासका आधारमा बैंकहरूले व्यापारिक भवन र जग्गाजमिनमा लगानी गरे । तर घर, जग्गा बिक्री भएनन् । 

कारोबार सोचेअनुसार हुन नसक्दा लगानी फिर्ता भएन । ऋणीले ऋण तिर्न सकेनन् । परिणाम बैंक तथा वित्तीय संस्थामा नगदको ठूलो अभाव भई नयाँ कर्जा प्रवाह हुन छोड्यो । यस्तो अवस्थामा बैंक, वित्तीय संस्था, विमा, अन्य कम्पनीहरूको समेत सेयर मूल्य घट्न थाल्यो । घाटा हुने भयले कसैले पनि नयाँ लगानी गर्न तत्पर भएनन् । अर्थतन्त्र मन्दीबाट गुज्रिन थाल्यो । कर्मचारी कटौती हुनथाल्यो, कम्पनीको सेयर कारोबार गरेर अर्बपति हुनेहरू टाट पल्टिए । त्यसको प्रभाव अमेरिका बाहिरसमेत पर्‍यो । यही कारणले विश्वमा आर्थिक संकटसमेत आयो । यो समस्याबाट उम्किन सरकारले ठूलो मात्रामा बैंकको सेयरमा लगानी गर्‍यो । सरकार वित्तीय संस्थाहरूको राष्ट्रियकरण गर्नसमेत बाध्य भए । 

घर, जग्गामा गरेको लगानी प्राय: अनुत्पादक र बढी जोखिममूलक हुन्छ । यसलाई सब प्राइम मोर्टगेज लोन अर्थात कमसल घर—जग्गा ऋण (दुई नम्बरी घर—जग्गा सापटी) वा लगानी हो, जुन अस्वाभाविक प्रकृतिको हुने गर्छ । यस्तो खालको ऋण दुनियाँमा अस्तित्वमा भए पनि अमेरिकामा भने सन् ९० को दशकदेखि व्यवहारमा आएको थियो । यो कर्जा चार प्रकारका हुन्छन् । पहिलो— विभिन्न विषयमा क्रेडिटको रूपमा लगानी गर्ने, दोस्रो— धितोमा लगानी गर्ने, तेस्रो— अटो ऋण र चौथो— क्रेडिट कार्ड हुन् । यो समूहमा रहेका ऋणीहरूको आयस्तर कमजोर हुन्छ । लगानीको अनुभव हुँदैन । बैंकिङ कारोबारको र व्यापार व्यवसायको लामो इतिहास हुँदैन । त्यसैले बैंकहरूले यो समूहमा लगानी गर्दा अन्य चलनचल्तीको व्याजदरभन्दा बढी लिने गर्छ । वित्तीय संस्थालाई पनि जोखिम हुन्छ, किनभने ऋण डुब्ने सम्भावना रहन्छ । 

सिद्धान्तत: लगानी स्वाभाविक भए त्यस्तो कुनै मन्दीको सामना गर्नु पर्दर्ैन्थ्यो । धितोका आधारमा, आयस्तरका आधारमा, प्रतिष्ठाको आधारमा ऋण पाउनु स्वाभाविक छ । तर आयस्तर नभएका हैसियत र साख नभएकाले ऋण पाउने कुरा स्वाभाविक मात्र हैन, त्यो व्यापार व्यवसायको मान्यता विपरीत विषय हो । किनभने व्यापार व्यवसाय नाफाका लागि गरिन्छ । तर यो विषयमा सिधै घाटाको व्यापार गरेको देखिन्छ ।

यो घाटाको व्यापार भविष्यमा ठूलो लाभ लिने आकांक्षाका साथमा भएको थियो । लगानीमा पूर्ण भरोसा गर्नसक्ने अवस्थामा लगानीकर्तालाई थोरै व्याज उपलब्ध भए पनि त्यो दिगो हुन्छ । तर साख नभएका र कमसल धितोमा ऋण दिनुपर्दा त्यस्तो ऋणको सस्तो र चलनचल्तीको व्याजदरभन्दा बढी व्याजदर हुने गर्छ । कमसल आय भएका वा साख नभएका व्यक्तिहरूलाई उच्च व्याजदरमा घर—जग्गा खरिद गर्न प्रदान गरिने ऋणलाई सब प्राइम मोर्टगेज लोन (कमसल घर—जग्गा ऋण) भनिन्छ ।

यस्तो अवस्थामा घर—जग्गा खरिद गर्नेको सङ्ख्या ह्वात्तै बढेर गयो । बैंकहरूले पनि यो अवसरलाई छोपी आफ्नो क्षमता र आवश्यकताभन्दा ज्यादै बढी यस्तो कर्जामा लगानी गरे । हुँदा—हुँदा यस्तो कर्जा तिर्न सक्ने अवस्था आएन । यो कर्जा खराब कर्जाको अवस्थामा रह्यो । लगानीदाताले ऋण तिर्न नसकेपछि लगानीकर्ता बैंकहरूले आफ्नो लगानी डुब्न नदिन घर—जग्गा आफै सकार्नुको विकल्प रहेन । ऋण तिर्न नसकेपछि ऋणीहरू टाट पल्टिए । यस्तो अवस्थामा घर—जग्गाको मूल्य यसरी ओरालो लाग्यो कि त्यो कसैले अनुमानसमेत गरेका थिएनन् । असल ऋण दिँदाभन्दा कमसल ऋण र लगानीले बैंकलाई नाफा हुने भएकाले यसैमा लगानी बढ्न थाल्यो । पुँजी यसै क्षेत्रमा केन्द्रित हुनथाल्यो । 

​यदि मुलुकमा अहिले देखिएको भनिएको तरलताको अभाव साँच्चै भएकै हो भने त्यसले आर्थिक क्षेत्रका अन्य आयामहरूमा प्रभाव पार्न सक्छ । किनभने सस्तो व्याजदरमा कर्जा लिने ऋणीले बढ्दो व्याजदर अनुसार कर्जाको किस्ता तिर्न सक्दैन । विस्तारै यो कर्जा खराब कर्जामा परिणत हुनपुग्छ । कर्जा लिई सुरु गरिएका विकास परियोजनाहरूमा थप लगानी प्रवाह हुन नसकेपछि काम अवरुद्ध हुनपुग्छ । हुँदै जाँदा रोजगारी सिर्जना, उत्पादनमा कमी, विकास निर्माण सुरुवात नहुने, भएका सम्पन्न हुन नसक्ने र समग्रमा समष्ट्रिगत अर्थतन्त्रमा समेत असर पर्छ । व्यापार र वाणिज्यका क्षेत्रमा मन्दी आउँछ । उत्पादन लागत बढ्छ । परिस्थिति बिग्रिँदै जाँदा मुलुकमा आर्थिक सङ्कट नआउला भन्न सकिन्न ।

अझ वित्तीय घाटाका कारण अनुदानमा व्यापक कटौती, सामाजिक क्षेत्रको खर्चमा कटौती गर्नुपर्ने, करको दर वृद्धि गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न । किनभने सरकारी विकास खर्च रातारात गरी बजारमा तरलता बढाउन सकिँदैन । विप्रेसनमा आएको कमीलाई पनि तत्कालै टार्न सकिन्न । बजारमा नगद नै नभएपछि निक्षेपमा जतिसुकै व्याजदरको घोषणा गरे पनि त्यो काम लाग्दैन । कर्जाग्राहीले सोचेभन्दा बढी नै व्याजदरमा पनि कर्जा प्राप्त गर्न कठिनाइ हुनेछ । त्यसैले तरलता अभावको अवस्थालाई व्याजदर बढाउँदैमा सम्बोधन हुँदैन । मर्जरको विकल्पले पनि प्रभावकारी काम गरेको देखिएन । बैंकहरू पुँजी बढाउन लागेका कारणले कर्जामा ज्यादै दबाब पर्‍यो । 

अर्थ व्यवस्थालाई ठिक दिशामा लान केन्द्रीय बैंकको भूमिका महत्त्वपूर्ण हुन्छ । केन्द्रीय बैंकले व्याज निर्धारण, लगानी नीतिगत मार्गनिर्देशन, सार्वजनिक ऋण उठाउने, ऋणको दर घटाउने, बढाउनेगरी बजारलाई नियमन गरेको हुन्छ । केन्द्रीय बैंकले बैंकहरूलाई संरक्षण पनि गर्छ । यस्तो अवस्थामा बैंकहरू आफ्नो औकातभन्दा बढी मात्रामा लगानी गर्न आकर्षित हुन्छन् । केन्द्रीय बैंकले कतिपय बेलामा आफू जमानी बसी बढी लगानी गर्नमा थप प्रोत्साहन गर्छन् ।

आवश्यकता परेको बेला पुँजीको जोहोसमेत केन्द्रीय बैंकले गरिदिने कारणले बैंकहरू ज्यादै हौसिएर लगानी गर्छन् । यस्तो स्थितिमा लगानी सधैं प्रतिस्पर्धी नहुन पनि सक्छ । प्रतिस्पर्धा कम भएका क्षेत्रहरूमा पनि बैंकहरू लगानी गर्न पुग्छन् । यस्तो अवस्थामा लगानीले उच्च मुनाफा त के साँवासमेत उठ्न सक्ने अवस्था रहन्न । बैंकहरूसँग मौज्जातमा कमी आउँछ । लगानी खराब ऋणमा परिणत हुन्छ ।

परिणाम बैंकहरू टाट उल्टिन थाल्छन् । अर्थतन्त्र डामाडोल हुनपुग्छ । यस्तो अवस्थामा सरकारी हस्तक्षेप अपरिहार्य हुन्छ । कतिपय बेला सरकारी हस्तक्षेप प्रभावकारी र उत्पादकमूलक हुन्छ भने अन्य कतिपय बेलामा प्रत्युत्पादक । तर यो कुरा प्राय: बजारले निर्धारण गर्ने गर्छ । अमेरिकाले संकट पर्दा सरकारी हस्तक्षेपमार्फत आफ्नो अर्थतन्त्रलाई बचाएको थियो । अमेरिकाले ७ सय विलियन अमेरिकी डरलको वित्तीय राहत प्याकेज ल्याई वित्तीय संस्थाहरूलाई वेल आउट गरेको थियो । त्यो अवस्था हाम्रो अर्थ व्यवस्थाले भोग्नु नपरोस् । बेलैमा सचेत होऔं । 

दंगाल युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष हुन् । 

प्रकाशित : माघ २८, २०७३ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?