१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जीवनका सहयात्री सहयोगी सामग्री

बालिका थपलिया

शरीरको कुनै पनि भागमा समस्या आएर आफ्नै अङ्गले काम गर्न नसक्ने भएपछि परिस्थितिलाई सहज बनाउन व्यक्तिपिच्छे कुनै न कुनै सामग्रीको आवश्यकता पर्छ ।

जीवनका सहयात्री सहयोगी सामग्री

ती सामग्रीलाई सहयोगी सामग्री भनिन्छ । विभिन्न प्रकारका अपाङ्गता भएकाहरूको लागि सहायक सामग्रीहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । यिनीहरूले दैनिक जीवनका कठिनाइ समाधान गर्न सहयोग गर्छन् । अपाङ्गता नभएकाहरूले पनि अवस्थाअनुसार यस्ता सामग्रीहरू प्रयोग गर्न सक्छन् ।

दृष्टिविहीनले आफ्नो जीवनलाई केही सहज बनाउन सेतो छडी प्रयोग गर्न सक्छन् । यसलाई ट्याक—ट्याक बजाएपछि अगाडि अग्लो, होँचो, साँघुरो, फराकिलो अनि कोही आइरहेको छ कि भनी महसुस गर्न सक्छन् । उनीहरूले हिँड्ने विशेष खालको बाटोलाई ‘टेकटाइल’ भनिन्छ । यस्तो बाटो चिल्लो नभई भाग—भाग छुट्टिएको हुन्छ । सहरका कुनै—कुनै मेनरोडको छेउ फुटपाथमा यस्तो बाटो देख्न सकिन्छ । न्युन दृष्टि हुनेहरूले हेर्न सजिलो बनाउन म्याग्निफाइङ ग्लासको प्रयोग गर्न सक्छन् । कान कम्ती सुन्नेहरूले श्रवण यन्त्रको प्रयोग गर्न सक्छन् । यसलाई कानमा लगाएपछि अलिअलि सुन्न सक्छन् र सञ्चारको समस्या केहीमात्र भए पनि घट्छ । इसाराको सट्टामा दोहोरो कुरा गर्न सकिन्छ । 

उठेर ट्वाइलेटसम्म पनि जान नसक्नेहरूलाई ट्वाइलेट चेयरको सुविधा उपलब्ध गराउनसके जीवनयापनमा केही हदसम्म सरलता थपिन्छ । अग्लो ट्वाइलेट प्यानको पहुँच नभएका, घुँडा नखुम्चिने समस्या भएकाहरूका लागि पनि यो सामग्री लाभदायक सावित हुन्छ । मस्तिष्क पक्षाघात तथा मांसपेशी विचलन भएका बच्चाहरूले बस्न लगायत पढ्न र लेख्न सजिलोका लागि विशेष कुर्सीको सहयोग लिन सक्छन् । अन्य शारीरिक समस्यामा पनि यसले काम दिन्छ । त्यस्तै शरीरभन्दा उँधोको भाग चल्न नसक्ने समस्या हुनेहरूका लागि ह्विलचेयरले अग्रणी भूमिका खेल्छ । ह्विलचेयर विशेषगरी दुई प्रकारका हुन्छन् । एउटा हातले चलाएर गुडाउने, अर्को विद्युतीय शक्तिले गुड्ने । पक्षाघात भएको, मांसपेशीसँग सम्बन्धित समस्या भएको, खुट्टाको हड्डी भाँच्चिएको, नशासम्बन्धी समस्या, सन्तुलन अथवा हिँडडुल गर्न समस्या, लामो दूरी हिँड्न कठिन भएको अवस्थामा यसको प्रयोग गर्न सकिन्छ । 

तत्काल हुने चोटपटक, छोटो समयका लागि हुने चोटपटक, एउटा वा दुइटा खुट्टामा समस्या छ भने बैसाखीको प्रयोग गर्न सकिन्छ । बैसाखी पनि विभिन्न प्रकारका हुन्छन् । बाथरोगका बिरामीले पनि यसको सदुपयोग गर्न सक्छन् । कँुजोपन अथवा दुखाइको कारणले गर्दा हात, कुहिनो र नाडीका जोर्नीहरूको भार लिन नसक्ने अवस्थामा पनि हिँडडुल गर्न यसको सहयोग लिन सकिन्छ । अलिअलि हिँड्न सक्नेहरूलाई हिँडाइमा सन्तुलनमा राख्न तीनखुट्टे अथवा चारखुट्टे लठ्ठी प्रदान गर्न सकिन्छ । खुट्टामा अन्य समस्या भएकाहरूले विभिन्न प्रकारका विशेष जुत्ता लगाउन सक्छन् । खुट्टा लुला भएकाहरूले हिँड्न बनाइएका वाकर, वाकिङ फ्रेमजस्ता सामग्रीहरूलाई दैनिक जीवनमा सदुपयोग गर्न सक्छन् । बराबर लेभल भएको प्यारालाल बारको प्रयोगले पनि हिँड्ने बानीको विकास गर्न सहयोगी भूमिका खेल्छ । भर्खर जन्मिएका बच्चाहरूलाई हिँड्ने बानीको विकास गराउन वाकरको सहयोग लिने चलन बढिरहेको छ । यदि कुनै पनि व्यक्तिको एउटा खुट्टा छैन भने कृत्रिम खुट्टा पनि लगाउन सकिन्छ । हात छैन भने कृत्रिम हातको प्रयोग गर्न सकिन्छ । कुनै खुट्टा छोटो भएमा सुज राइजको (जुत्ताको उचाइ बढाउने) सहयोग लिँदा हिँडाइमा सन्तुलन मिल्छ र ढाड दुख्ने सम्भावना कम हुन्छ । 

सहायक सामग्रीहरू प्रयोग गर्ने निश्चित नियम हुन्छ । जथाभावी प्रयोग गर्‍यो भने समस्या बढ्छ । पहिला—पहिला काठका मात्र सामग्रीहरू पाइन्थे । ती चलाउन सजिला थिएनन् । तर अहिले धातु अथवा रबरका आधुनिक खालका, आवश्यक परेका बेला साइज घटाउन/बढाउन, होँचो/अग्लो बनाउन मिल्ने खालका हुन्छन् ।

यिनीहरूलाई प्रयोग गर्ने विधि जानेर मात्र चलाउनुपर्छ । नत्रभने शरीर अझ बढी असन्तुलित हुन्छ । समग्रमा सहायक सामग्रीहरूलाई जीवनको लागि सहयात्रीको रूपमा लिन सकिन्छ । फरक—फरक प्रकारका अपाङ्गताको लागि यिनीहरू दैनिक साथी बन्न पुगेका छन् । तर यिनीहरूबारे धेरैले जानकारी लिन पाएका छैनन् र साथसाथै सुविधा पनि भोग्न पाएका छैनन् ।  

प्रकाशित : माघ २०, २०७३ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?