कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

कुनै सुजाता.....

विमल निभा

वर्तमान नेपाल सरकारले नेताहरूका चिकित्सा सुविधाको सीमा पन्ध्र लाख रुपियाँ तोकेको छ । चाहे त्यो सत्तापक्षीय नेता होस् अथवा प्रतिपक्षीय नै ।

कुनै सुजाता.....

यसलाई क्याबात भन्नैपर्छ । तर यो सरकारी लिखितममा एउटा आदर्श वचन छुट्न गएको हो कि ? अतएव सो अनिवार्य वाक्यतर्फ सबैका ध्यान आकर्षित गराउन चाहन्छु म– कुनै अर्काे श्रीमती सुजाता कोइराला बिरामी नपरेसम्मन ।

हो, हाम्रा विशिष्ट श्रेणीका ठूलाबडा नेताजीहरू कुनै अमूक अथवा तमूक रोगबाट ग्रसित नभएसम्म नेपाल सरकारको यो मन्त्रीमण्डलीय निर्णय खासाको स्वागतयोग्य नै रहेको छ । यो सम्पूर्णत: नेतामुखी सरकारी निर्णयलाई मैले ननिको भन्नुपर्ने कुनै खण्ड रहेको छैन । अँ, यहाँनेर एउटा समस्या के छ भने कदाचित कुनै कद र पद दुवै हिसाबले भीमकाय नेता बिरामी परेचाहिँ के गर्ने नि ! त्यसबखत यस्तो कुनै निर्णय–सिर्णयको पछि बेतोडले कुद्ने या रोगग्रस्त नेताजीलाई पाँच करोड या दुई करोड या पचास लाख नगद दिएर सुदूर विदेशमा सघन उपचारका निम्ति पठाउने ? जस्तो एकाएक बिरामी परेर सिकिस्त भएका श्रीमती सुजाता कोइरालाहरूका बखतमा खुरुखुरु गरियो । अर्थात् भूतपूर्व राष्ट्रपति रामवरण यादवदेखि लिएर भविष्यका प्रधानमन्त्री (तात्पर्य, त्यसबेला प्रधानमन्त्री नभइसकेका) कमरेड खड्गप्रसाद शर्मा ओलीलाई उपचारार्थ एकाध करोड दिइएको थियो क्यारे ! मलाई ट्याकर्‍याक्कै यति–यति भनेर स्मरणशक्तिको अभावले भन्न आएन । तर त्यो दिइएको सरकारी रकम उच्च भएकोमा चाहिँ शंका गर्नु व्यर्थ छ ।

हेर्नाेस्, हाम्रा माथिल्लो दर्जाका ठूलाबडा नेताहरूलाई कुनै बेमेल प्रकारको सानोतिनो रोग लाग्ने, प्रश्नै छैन । अर्को शब्दमा भन्ने हो भने जस नेता तस रोग । होइन, रोग–व्याधिहरूले पनि पद तथा प्रतिष्ठालाई हेरेर आफ्नो हिसाब–किताब मिलाउने गरिरहेका त छैनन् अचेल ? अब विशिष्टतम् नेताजीहरूलाई कुनै टुच्चा खालको रोग लागेर के फाइदा ? यस्तो रोग त जनताहरूका हकमा हुने गर्छ । एउटा चलनचल्तीको जनतामार्का रोग हुन्छ– पेट दुख्नु । यस्तो प्राय: पेट विलकुलै खाली भएर पनि हुने गर्छ । याने असाध्यै भोक लागेर चुस्स–चुस्स दुखेको पेट भन्नोस् । जे होस्, हाम्रा नेताहरूलाई लिएर भने यस्तो भोक–सोकको कुरा गर्नु मिल्दैन । वास्तवमा यिनीहरूका अघिल्तिर उक्सिएको आकर्षक पेट त आवश्यकताभन्दा ज्यास्ती नै भोजन उदरस्थ गरेर पो दुख्ने गरेको छ त ! तर भोक लागेर होस् अथवा धेरै नै खाएर, दुवै परिस्थितिमा पेटचाहिँ बेस्सरी दुख्ने गर्छ ? तथापि कम खाने जनता र अचाक्ली बेसी खाने नेताको पेट दुखाइको कुनै तुलना हुनसक्दैन । यो आआफ्नो हैसियतको कुरा हो । चाहे त्यो रोगकै किन नहोस् ! नि:सन्देह जनताभन्दा धेरै नै बढी खाने नेताको रोग पनि सोही स्तरको हुने नै भयो । 

अर्थात कुनै उचो किसिमको रोग भन्नुपर्‍यो । हामी जस्तो कम खानेको रोग के उँचो हुन्छ ? यसर्थ नेताहरू रोगको मामलामा पनि जनताभन्दा कता हो कता मास्तिर रहेका छन् । यस्तो भीआईपी रोगमा जाबो पन्ध्र लाखको फुच्चे रकमले के काम गर्नेछ ? यो त नेताजीहरूका विशेष रोगकै सरासरी अपमान हुने भएन र ? भीषण अपमान । किनभने यो पन्ध्र लाख रुपियाँ त अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड, जापान, थाइल्यान्ड, सिंगापुर आदि देश–महादेशको महँगो हवाइयात्रामै खर्च हुनेछ । (स्वयम् बिरामी नेता, उनको परिवारजन र साथमा जाने संगी–साथीहरूमा) । यस्तोमा त्यहाँको अति महँगो महाअस्पतालको भारी बिल कसले तिर्नेछ ? यसको एकमात्र सही उत्तर हो– नेपाल सरकार । यही अहिलेसम्मन निर्विघ्नतापूर्वक चलिआएको सरकारी सिलसिला हो । त्यसकारण नेपाल सरकारले सम्पूर्ण फुर्तीसाथ अघि बढेर उदारताका साथ सरकारी खजानाको खापा खोल्नुको अरू कुनै विकल्प रहेको छैन । 
‘के भयो नेताजी ?’ अस्तिन एक मलिन अनुहारका नेतासँग मेरो भेट भयो । 

‘केही होइन ।’ उनले ख्वाक्क खोकेर भने, ‘यस्तै अलिकति....।’
‘त्यसो भए, कहाँ जानुहुन्छ ?’ मैले सोधें । 
‘के कहाँ जाने ?’ उनले आँखीभौं खुम्च्याए ।
‘अमेरिका या सिंगापुर ?’ मैले भनेँ ।
‘तपाईंहरू बिरामी परे उतै जानुहुन्छ, होइन र ?’ नेतालाई वाल्ल परेर उभिएको देखेर मैले थपेँ ।
‘होइन, होइन, म ठिकै छु ।’ उनी क्रुद्ध आँखाले मलाई हेर्दै फटाफट अघि बढे ।

अब हेर्नाेस्, हाम्रा अति विशिष्ट नेताजीहरूका आकस्मिक रोग–व्याधिको उपचार खर्चमा नेपाल सरकारले केवल पन्ध्र लाखको मामुली रकम दिने हो भने यिनीहरू बिरामी पर्न बाध्य हुने छैनन् । मतलव, सबै नेताहरू बिरामीविहीन अवस्थामा पुग्नेछन् । हो, जम्माजम्मी पन्ध्र लाखको अल्परकममा के रोगग्रस्त हुने ? यस्तो स्थितिमा वस्तुत: बिरामी नपर्नु नै अपेक्षाकृत फाइदाजनक हुन्छ । यही नाफा–घाटाको हिसाबले अब–उप्रान्त नेताहरू बिरामी पर्न नै छाडे पनि कुनै आश्चर्यको कुरो हुने छैन । यसरी नै भए पनि हाम्रा नेताजीहरू स्वस्थ र पुष्ट रहे हामीलाई कुनै आपत्ति छैन । म हृदयले ठूलाबडा नेताजीहरूका सुस्वास्थ्यको कामना गर्छु ।

यतातिर मलाई पनि एकपटक रोगी हुने तीव्र इच्छा भइरहेको छ । यसको कारण के हो भने नेताहरूलाई पन्ध्र लाखको साथसाथै नेपाली साहित्यमा लागेका साहित्यकारहरूका रोगको उपचार खर्च पनि नेपाल सरकारले तोकेको छ– अधिकतम सात लाख रुपियाँ । हामी साहित्यकारहरू यतिकोमा मजैले बिरामी पर्न सक्छौं । यसलाई अपर्याप्त रकम किन भन्ने ? हामी कुनै नेता पनि त होइनौं नि ! अत: मैले यही सुनौलो मौकामा बेस्सरी बिरामी पर्ने एउटा व्यक्तिगत योजनाको तर्जुमा गरेको छु । हेरुँ, के हुन्छ आगे !

अन्त्यमा,
अन्त्यमा एकपटक फेरि– नेताहरूका उपचार खर्च पन्ध्र लाख रुपियाँ (ठिकै छ), परन्तु कुनै श्रीमती सुजाता कोइराला बिरामी नपरेसम्म । यही होइन त स्वास्थ्यमन्त्री गगन थापाज्यू ? तपाईंको युवकोचित उत्साहका लागि मेरो तर्फबाट सहस्र धन्यवाद !

प्रकाशित : पुस १६, २०७३ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?