कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

टेबहालको केटोको अवसान !

मल्ल के. सुन्दर

गत आइतबार, एकथरी मानिस त्यो साँझ काठमाडौंका विभिन्न सपिङ मल, रेस्टुराँ, होटल तथा जमघटमा रमाइलो मनाइरहेका थिए– प्रभु यशुको शुभागमनको अवसरमा– मेरी क्रिसमस भन्दै ! त्यही सन्ध्याकालीन गोधूलीमा काठमाडौंकै अल्का अस्पतालको आईसीयू बेडमा अन्तिम स्वाससहित अवसान भयो– टेबहालको एक केटोको ।

टेबहालको केटोको अवसान !

टेबहालको केटो अर्थात् नेपालभाषाका विद्रोही कवि बुद्ध साय्मि । 

बाल्यकालमै आमा–बाबुसँग विछोड भएपछि उनले जीवनका प्रारम्भिक डोबहरू छाडेको मामली घर हो, काठमाडौंको टेबहाल । प्राचीन संकटाको मन्दिर तथा महत्त्वपूर्ण बौद्ध सांस्कृतिक सम्पदाको धरोहरको रूपमा परिचित टेबहालको परिसरभित्र उनको बाल्यकाल बित्यो, युवा अवस्थाको अनुभव गरे र वैवाहिक जीवनपछिका केही वर्ष पनि त्यही ब्यतित गरे । उनको आफ्नो भन्ने थातथलो नै रह्यो– टेबहाल । त्यसैले उनले सगर्व घोषणा गरेका थिए– जि टेबहा:या मचा । अर्थात् ‘म टेबहालको केटो’ । कवि हृदयभित्र वर्षौंदेखि कुण्ठित अनुभूतिलाई कविताबाट उनले गरेका थिए, यो उद्घोष २०२२ सालतिर । 

रेडियो नेपालबाट दिनहुँ प्रसारण हुँदै आइरहेको नेपालभाषाको समाचार बुलेटिनमाथि तत्कालीन निर्दलीय शासन सत्ताले २०२२ वैशाख संक्रान्तिको दिन रोक लगाइदियो । नेपाल भाषाभाषी नेवार समुदायले राज्यसत्ताको त्यस प्रकारको व्यवहारलाई एक भाषा नीति अन्तर्गत गरिएको विभेदको रूपमा बुझे अनि त्यसको सार्वजनिक असन्तोष र विरोध अभिव्यक्त हुनथाले साहित्य सम्मेलनका मञ्चमार्फत । राजनीतिक दलहरू प्रतिबन्धित ती दिनहरूमा नेताहरू कतिपय निर्वासनमा थिए भने अधिकांश देशभित्र लुकिछिपी जीवन बिताइरहेका थिए । ती संगीन अवस्थमा साहित्य सम्मेलनकै नाममा सज्जिने मञ्चहरू अनि त्यसबीच उभिने साहित्यिक, सामाजिक अभियन्ताहरूको अभिव्यक्ति सर्वसाधारणका लागि रोमाञ्चक तथा उत्तेजक हुन्थे । सानो फिलिङ्गो रूपमा काठमाडौं, नधल, काठे सिंभुको एउटा सानो बहालबाट सुरु भएको साहित्य सम्मेलनको क्रम समय बित्दै जाँदा एउटा आन्दोलनकै रूपमा विकास भयो । प्रत्येक साता शनिबार एकपछि अर्को टोलमा साहित्य सम्मेलन आयोजना गर्ने लहरै चल्यो । झन्डै एक वर्षभन्दा बढी लम्बियो क्रम । यिनै क्रममा पहिलोपटक देखापरेका थिए, बुद्धरत्न मानन्धर –बुद्ध साय्मि काठमाडौंको ओमबहालमा आयोजित साहित्य सम्मेलनको मञ्चमा ‘जि सु ?’ अर्थात् ‘म को हुँ ?’ कविता वाचनका लागि । 

२२ सालकै साउनतिर टेबहाल साहित्य सम्मेलन टेबहाल पुग्यो । आफ्नै घरआँगन अनि आफैं आयोजकमध्ये एक कवि बुद्ध साय्मिको लागि त्यो दिन, त्यो जमघट अर्थपूर्ण थियो नै । 
साहित्यिक भेलाको ठूलो जनसमुदायमाझ मञ्चमा उभिएर उनले उद्घोष गरेको कविता थियो– ‘जि टेबहा:या मचा’ । 
‘जि टेबहा:या मचा,
जि नेपा:या मचा
सुनां ममतां घय्पुना कायेफु
जि व मांया मचा ।’
(म टेबहालको केटो
म नेपालको छोरो
जसले ममतामयी अँगालोभित्र कस्छ
म उनै आमाकी छोरो ।)

अभिव्यक्त भएका शैली, प्रयोग गरिएका लय र गेय तीनमा नितान्त नवीनता त थियो नै, त्योभन्दा अन्तरवस्तुमा मुखरित विद्रोहका भावले श्रोतामाथि बेग्लै प्रभाव छाड्यो । त्यसको लगत्तै टोलटोलमा प्रत्येक शनिबार आयोजना हुने साहित्य सम्मेलनमा बुद्ध साय्मि एकजना नियमित सहभागी हुने श्रष्टामात्रै ठहरिएन, उनका पछिल्ला सिर्जनाहरूमध्ये ‘मां मालाच्वना’ (आमा खोजिरहेको छु) जसका शब्द रचना र समाजमा प्रचलित मान्यता तथा संस्कारप्रतिको अनास्थाका स्वरहरूले स्थापित मथिङ्गलहरूलाई रन्थनाइदिए । विद्यमान धरातलसम्म कायम रहँंदै आएको आमाप्रतिको परम्परागत आस्थाका जगलाई हल्लाए । संस्कारगत मातृत्वप्रति नै खुल्ला चुनौतीको भाषामा उनले भन्न थाले–
‘सुनां थन खंक्व मस्त घय्पुना कायेफु
थ:गु नुग:पाया दुरु त्वंका: थ:याना कायेफु
जिं थौं मा:जुयाच्वना छम्ह मां
मां धैपिनिगु पुचलय् मा: जुयाच्वना छम्ह मां ।’
(जसले यहाँ जो कोही शिशुलाई पनि 
  अँगालोमा बाँध्न सक्छन्
आफ्नो दूध चुसाएर आफन्त बनाउन सक्छन्
म आज ती एक आमाको खोजीमा छु
आमा भनाउँदाहरूको भिडमा खोजिरहेको छु 
  एक आमा ।)

त्यो त्यही समय थियो, हिन्द–चीन क्षेत्रमा युद्ध चर्किरहेको । भियतनाम त्यसको केन्द्रविन्दु । लासोस, कम्पुचिया पनि युद्धबाट मुक्त थिएन । अमेरिकी सेनाको अतिक्रमण अनि युद्धमाथि आफ्नो बचस्र्व जमाउने स्वार्थमा भियतनाममाथि अमेरिकी सेनाको स्थलमार्ग, जलमार्गको आक्रमण अतिरिक्त बमवर्षक विमानहरूबाट निरन्तर हमला भइरहेका घटना अखबारका पृष्ठहरूमा मुख्य समाचार बन्थे । अमेरिकाले सैगोनको आकासबाट नापाम बम खसालिसकेका थिए । त्यसका असर हृदयविदारक थिए । यद्यपि अमेरिकाको यो व्यवहारप्रति सर्वत्र विरोधका स्वर उठिरहेका थिए । ठिक त्यही समय अमेरिकी हमलाको विरोधमा सैगोनको खुल्ला सडकमा एक बौद्ध भिक्षुले आत्मदाह गरे । त्यो घटनाको फोटो अन्तर्राष्ट्रिय जगतमा यति छिटो ब्यापक भयो, त्यसले सर्वसाधारणका मुटु छोए । संयुक्त राज्य अमेरिका फेरि एकपटक विश्वको नजरमा आलोच्य बन्यो । यस्तोमा भावुक तथा विद्रोही चेत बोकेका बुद्ध साय्मि अछूत रहने कुरा थिएन । ‘भियतनाम’ तिनै परिस्थितिजन्य उनको अर्को कविता हो । स्वाभाविक नै थिए, त्यतिखेरको विश्व जनमत अनि नेपालभित्रै चर्को रूपमा उठिरहेको भियतनाम युद्ध विरोधी चेतनाका सेरोफेरोमा उनको यो कविता २२ सालको सम्मेलनमा सबभन्दा बढी चर्चित, लोकप्रिय ठहरियो । श्रोताहरू हरेक साहित्य सम्मेलनमा उनको यो कविता वाचन सुन्न फर्माइस गर्थे ।
‘भियतनामिया छातीं जिगु हि वा:गु दु
भियतकङ्गया विद्रोह जिगु सलय् लिथ्व:गु दु ।
विमान ब्वया वा छ बम कुबिया:
तर छम्ह जक दत्तले वीरया मचा
न्हासंचूवा थ्व भूमिइ वया: ।
छन्हु 
अमेरिकाया छम्ह छम्ह मचा
थ:गु पूर्वजया पापं मुक्त जुइत
प्रायश्चित याइ ख्वबीं म्वल्हुया:
भियतनामया इतिहास ब्वना:
भियतनामीतय्त घय्पुया: ।’
०००
(भियतनामीको छातीबाट बगेको छ मेरो रगत
भियतकङ्गको विद्रोह मेरो स्वरमा गुञ्जिएको छ
उडी आऊ विमान तिमी बम बोकेर
तर सिङ्गो वीर सपुत बाँचुन्जेल
आत्मसमर्पणका लागि आउनु यस भूमिमा ।
एक दिन
अमेरिकाका प्रत्येक सन्तानले
आफ्नो पूर्वजको पापबाट मुक्त हुन
प्रायश्चित गर्नेछ आँसुमा लतपत्तिँदै
भियतनामको इतिहास पढ्दै
भियतनामीहरूसँग अङ्गालो मार्दै)

भियतनामको सन्दर्भ उनले आफ्नो रचनामार्फत आजभन्दा आधा शताब्दीअघि जे परिकल्पना गरेका थिए, अमेरिकी–भियतनाम सम्बन्धमा आज त्यही चरितार्थ भएको छ । उनी सामान्य एक काव्य साधकमात्र नभई एउटा विद्रोही कवि, जसको चेत समाजमा विद्यमान पुरातन मूल्य—मान्यतालाई अस्वीकार गर्छ र नौलो समाज स्थापनाका लागि परिवर्तनको पक्षमा दह्रो उभिने व्यक्तिको रूपमा स्थापित गरे । ‘जि: जिगु वर्तमान’ उनका काव्य रचनाको पहिलो संकलन पुस्ताकारमा सार्वजनिक भएपश्चात त धेरै पाठक र समालोचकबीच उनी अझ चर्चित बने । 
समकालीन साहित्यिक परिवेशमा चर्चाको चुलीमा रहेको आयामेली समूहको काव्य प्रवृत्तिबाट उनी आकर्षित थिए नै । तर पनि कवि भूपि शेरचनका अन्त्यानुप्रासमयी गेयको रचनाशैलीबाट बढी प्रभावित थिए । उता हिन्दी काव्यधारामा अज्ञय, मुक्तिबोध, सर्वेश्वर सक्सेना, धर्मवीर भारती, धुमिलजस्ता सर्जकहरूले सुरु गरेका आधुनिक तथा उत्तरआधुनिक कविताको छापबाट उनी मुक्त थिएनन् ।

जिन्दगी : बँय् वा:गु हि/चेतनाया मि (जिन्दगी भुइँमा पोखिएको रगत/चेतनाको आगो…) दोस्रो कविता संग्रहसम्म आइपुग्दा उनले आफ्नो मौलिकतालाई निखार्न पाए । शैलीमा परिपक्वता, बौद्धिक गाम्भीर्यता पनि त्यत्तिकै देखाए ।

उनी शैली, विषय, भाषा, विचारमा मात्रै आधुनिक नभएर विम्ब, प्रतीक र उपमाहरूको छनोटमा पनि त्यत्तिकै नवीन थिए । सौन्दर्य पक्षको मोहमा आफ्नो रचनालाई आकर्षक बनाउन उनी पुरातन मिथक, पात्र, घटना उद्धरणका सन्दर्भमा समेत हिचकिचाउँथे । परम्परागत सामन्ती मिथक र पात्रहरू नवीनतम विचारका संवाहक बन्न सक्दैन भन्ने उनको बुझाइ थियो । अनि शब्द चयनमा पनि त्यत्तिकै सचेत रहे । उनी भन्थे, ‘आधुनिक कविताका लेखकले पूर्वजले छाडेका जडाउरी होइन, आजको युगसापेक्ष भाषा प्रयोग गर्छ ।’

समालोचक प्रा. माणिकलाल श्रेष्ठको शब्दमा ‘बुद्ध साय्मि पूर्णरूपमै आधुनिक कवि हुन् ।’ तर कविताका अतिरिक्त उनका अन्य दुई पुस्तक पनि प्रकाशित छन् । उनी साहित्यको आधुनिक विधाको मूल्य—मान्यताको पक्षमा तर्कसंगत ढङ्गले प्रस्तुत हुनसक्ने तीक्ष्ण समीक्षक पनि थिए । 

पछिल्लो समय, मनोनीत सभासदको रूपमा पहिलो संविधानसभामा उपस्थित भएपछि एउटा भिन्न पहिचान बनाए, उनले । समावेशीकरणको कानुनी अधिकारका लागि संसद्भित्र उनले खेलेको भूमिका चर्चित र उल्लेख्य रहे । सम्बन्धित राजनीतिक दलको एक्लो सभासद भएर पनि सदनभित्र उनको अडान तथा बेग्लै प्रस्तुतिका कारण सधैं आकर्षणको केन्द्र रहे । यस्तै संसद्को बैठकका दिन शतप्रतिशत उपस्थित हुने सभासदको रूपमा उनले एक जनप्रतिनिधिको हैसियतले भूमिका निर्वाह गरेर सबभन्दा इमानदार र कर्तव्यनिष्ठ प्रमाणित गरे ।
माक्र्सवादप्रति आस्थावान, प्रगतिवादी साहित्यका पक्षधर लामो समयसम्म प्रगतिशील लेखक संघमा आबद्ध रहे । नेवारहरूमाझ उनी जातीय स्वायत्तताका लागि संगठित आन्दोलन उठाउने नेवा: देय् गुथी, नेपालमण्डल जस्ता संस्थाका संस्थापक र पूर्व अध्यक्षका साथै सडक आन्दोलनका क्रममा सधैं अग्रणी पंक्तिमा उभिने पाको आन्दोलनकारी पनि हुन् । 

२०३९ सालको वर्षारम्भसँगै उनी कमलपित्तबाट थला परे । कलेजोले काम गर्न छाडिसकेको थियो । सम्पूर्ण शरीर पहेँलियो । पेट अस्वाभिक रूपमा फुलेको थियो । त्यतिखेर स्वदेशमै उपलब्ध उपचार विधिको सीमा बाहिर पुगिसकेको थियो, उनको स्वास्थ्य । मित्रबन्धु, आफन्तहरूको आर्थिक सहयोग संकलनबाट आखिर उनलाई भारतको भेलोर पठाउने निधो भयो । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य तथा पूर्व राज्यमन्त्री सुश्री भद्रा घलेको विशेष पहलमा त्यो सम्भव भयो । विमानस्थलमा उनलाई विदाइ गर्न पुगेका हामीमध्ये कसैलाई विश्वास थिएन, उनी सशरीर फर्किएलान् भन्ने । नैराश्यतासाथ सबैले विदा दिएको थियो, त्यस दिन । तर अविश्वसनीय ५ महिनासम्म भेलोरको मिसनरी अस्पतालको उपचारपछि उनी सकुशल स्वदेश फर्किआए । बुद्ध साय्मि स्वयं भन्ने गर्थे, २०३९ पश्चातको उनको बाँकी सम्पूर्ण अवधि ‘नाफाको जिन्दगी हो...।’ आज हामीसँग त्यो नाफा पनि रहेन, अनि साँवा पनि । 
थकुछेँ, चस:
थायमदु, येँ ।

प्रकाशित : पुस १६, २०७३ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?