घट्यो त भूकम्पीय जोखिम ?

डा. दीपक चम्लागाईं

काठमाडौं लगायत मध्यक्षेत्र तनाव/शक्ति सञ्चिती चक्रको करिब अन्तिम चरणमा रहेकोले भविष्यमा ठूला भूकम्पको सम्भावना बाँकी नै देखिन्छ ।

घट्यो त भूकम्पीय जोखिम ?

गोरखालाई केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएको १८ महिना बितिसक्यो । भूकम्प पीडितहरू अझै अस्थायी टहरामै जीवन बिताउन बाध्य छन् । सरकारले पुनर्निर्माण कार्यलाई गति दिन सकिरहेको छैन । पीडितहरूले दुईवटा वर्षायाम टहरोमा नै बिताए । नजिकिँंदै गरेको जाडो मौसम अझ कठिन हुने निश्चित छ । अस्थिर एवं पार्टीगत स्वार्थले भरिएको राजनीति, सरकारको सुस्त कार्यशैली, कमजोर राजनीतिक प्रतिबद्धता, स्खलित इच्छाशक्तिका कारण भूकम्प पीडितले अझै कति वर्ष टहरामा बस्नुपर्ने हो, भविष्यले नै बताउला । अर्कोतर्फ बेलाबेला आउने परकम्पनहरूले हामी भाग्यले बाँचेकाहरूलाई झनै त्रसित बनाइरहेको छ । गोरखा भूकम्पले प्रकोपको तहलाई न्युनीकरण गर्‍यो कि गरेन ? भन्ने गम्भीर प्रश्नले धेरैलाई सताइरहेको छ ।
हिमालय क्षेत्रमा भूकम्प
हिमालय क्षेत्र भारतीय र तिब्बती प्लेटको अनवरत संघातबाट उत्पन्न भएकोले भूकम्पीय हिसाबले गतिशील मानिन्छ । विगत सय वर्षमा मात्र यो क्षेत्र चारवटा महाभूकम्पको चपेटामा परेको छ । सन् १८९७ मा भारतको शिलाङमा आठ दसमलव सात, सन् १९०५ मा भारतका काँगडामा आठ, सन् १९३४ मा नेपालमा आठ दसमलव चार र सन् १९५० मा भारतको असममा आठ दसमलव छ म्याग्नेच्युडका भूकम्पहरू गएको पाइन्छ । यस अतिरिक्त सन् २००५ मा पाकिस्तानमा गएको सात दसमलव चार म्याग्नेच्युडको भूकम्प हिमालय क्षेत्रको महाप्रलयकारी भूकम्प हो । यी भूकम्पहरूमा परी हजारौं मानिसहरूले ज्यान गुमाएका थिए ।

ऐतिहासिक भूकम्पको अध्ययन–अनुसन्धानबाट विगतमा गएका भूकम्पहरूको मान, स्थान, दरारको अवस्था, भूकम्पको पुनरावृत्ति समयजस्ता तथ्याङ्कहरू पत्ता लगाउन सकिन्छ । हिमालय क्षेत्रका ऐतिहासिक कालखण्डमा गएका भूकम्पहरूको महत्त्वपूर्ण तथ्याङ्कहरू प्राप्त भइरहेका छन् । उत्तर–पश्चिम हिमालय क्षेत्रमा पाकिस्तान (सन् २००५) र काँगडा (सन् १९०५) भूकम्पहरूको बीचमा सन् १५५५ मा महाभूकम्प गएको तथ्यहरू फेला परेका छन् । त्यसरी नै उत्तर–पश्चिम हिमालयलाई आधार बनाएर सन् १४१३, १८०३ र १५०५ मा पनि भूकम्पले क्षति पुर्‍याएका ऐतिहासिक तथ्यहरू फेलापरेका छन् । उत्तर–पश्चिम हिमालयमा गएको ६५० वर्षमा दुईवटा ठूला भूकम्पहरू सन् १२९४ र १४२३ मा गएको तथ्यलाई त्यस क्षेत्रमा भएका उत्खननले पुष्टि गरेका छन् । साथै देहरादुन आसपासको क्षेत्रमा सन् १५०५ र १८०३ मा आठ म्याग्नेच्युडका दुई विनाशकारी भूकम्पहरू गएको पाइन्छ ।

भारतको उत्तर–पूर्वी हिमालय क्षेत्रमा पनि भूकम्पहरूले ठूलो विनाश गरेका वैज्ञानिक प्रमाणहरू फेला परेका छन् । सन् १८९७ को शिलाङ र सन् १९५० को असम भूकम्प यस क्षेत्रका मुख्य ऐतिहासिक भूकम्पहरू हुन् । यी भूकम्पहरूले सयौं किलोमिटर जमिन चिरा–चिरा पारी त्यस क्षेत्रमा जनधनको ठूलो विनाश गरेको थियो । यी महाभूकम्पका अलावा सन् १७२४ र १९४७ मा पनि ठूला भूकम्पहरू गएका तथ्यहरू उपलब्ध छन् । यस क्षेत्रमा ऐतिहासिक भूकम्पको उत्खनन प्रविधि प्रयोग गरी केही अध्ययन भए तापनि पुनरावृत्ति समय अवधिको यकिन हुन भने सकेको छैन ।

नेपालमा भूकम्पकीय अध्ययन
साधारणतया हिमालय क्षेत्रमा महाभूकम्प जाँदा चुरे पहाडको अग्रभागमा दरारहरू उत्पन्न भई जमिन माथि उठ्ने गर्छन् । यसरी दरारले उठाएका भूभागहरू नै महाभूकम्पले छोडेका अवशेषहरू हुन् । यी उठेका भूभागहरूको उत्खननबाट जमिनमुनि रहेको दरारको अवस्था, विस्थापन तथा त्यसमा रहेका कोइलाको उमेर कार्बन डेटिङ प्रविधिबाट यकिन गरी भूकम्प गएको समय पत्ता लगाउन सकिन्छ । उत्खनन प्रविधि प्रयोग गरी बर्दिबासदेखि उत्तर—पश्चिम क्षेत्रमा शिरखोला र मरहा खोला वरिपरि भूकम्पीय दरारहरूले उठाएका जमिनको उत्खनन गरी ऐतिहासिक भूकम्पहरूको अध्ययन गरिएको छ । मरहा खोलाको दाहिने किनारमा गरिएको उत्खननले हिमालयको गर्भमा सन् ११०० मा करिब आठ दसमलव आठ म्याग्नेच्युडको भूकम्प गएको तथ्याङ्क फेला परेको छ । उक्त भूकम्पले त्यस क्षेत्रको करिब २४० किलोमिटर लामो चुरेको अग्रभागलाई चिरा–चिरा पारेको अनुमान गरिएको छ । मरहा खोलाबाट करिब सात किलोमिटर पूर्वमा रहेको शिरखोलामा पनि उत्खनन प्रविधि अपनाएर ऐतिहासिक भूकम्पको अध्ययन भएको छ । उक्त अध्ययनले त्यस क्षेत्रमा सन् १९३४ (वि.सं. १९९०) को भूकम्पले पूर्व नेपालतर्फ करिब १५० किमि लामो दरार उत्पन्न गरेको महत्त्वपूर्ण निष्कर्ष निकालेको छ । यस महाभूकम्पमा परी काठमाडौं उपत्यका लगायत नेपालको पूर्वी भागमा ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएका थिए । नेपालको सुदूर पूर्वी क्षेत्रमा भने करिब हजार वर्ष पहिले ठूलो भूकम्प गएको अध्ययनले देखाएको छ ।

गोरखा महाभूकम्प पश्चात नेपालको मध्यभाग भौगर्भिक अध्ययन–अनुसन्धानको केन्द्र बनेको छ । स्वदेशी, विदेशी वैज्ञानिकहरू बिभिन्न प्रकारको अनुसन्धानमा लागिपरेका छन् । गोरखा भूकम्पले चुरेको अग्रभागमा दरार उत्पन्न गर्न सकेन, फलस्वरूप हिमालयको गर्भमा रहेको दरारमा सञ्चित शक्ति/तनाव सम्पूर्ण रूपमा प्रवाह हुनसकेन । यस तथ्यलाई मध्यनजर गरी हामी– स्टिभ जी. बेस्नोस्की (अमेरिका), यासुहिरो कुमाहारा (जापान), यो पंक्तिकार लगायत विद्यार्थीहरू सम्मिलित टोलीले बर्दिबासदेखि बुटवलसम्मको चुरेको अग्रभागमा रहेका सक्रिय दरारहरूको अध्ययन/ अनुसन्धान गरी विगतका भूकम्पीय दरारले उठाएका त्रिवेणी, नवलपरासी, वागमती र सर्लाहीमा उत्खनन गर्‍यो । यस अनुसन्धानको निष्कर्ष ‘अर्थ एन्ड प्लानेटरी साइन्स लेटर्स’ भन्ने जर्नलमा हालै प्रकाशित भएको छ । यस अनुसन्धानले नेपालको भूकम्पहरूको इतिहास र वितरणमा महत्त्वपूर्ण तथ्याङ्कहरू अघि सारेको छ । सर्लाहीको वागमती ब्यारेज नजिक गरिएको उत्खननबाट सन् १०३१ र १३२१ को बीच सम्भवत: सन् १२५५ मा ठूलो भूकम्पले त्यस क्षेत्रमा दरार उत्पन्न गरेको तथ्याङ्क प्रकाशमा ल्याएको छ ।

त्यसरी नै करिब २०० किमि पश्चिम त्रिवेणी क्षेत्रमा गरिएको उत्खननले पनि उक्त क्षेत्रमा सन् १२२१ र १२६२ को बीचमा सन् १२५५ मा महाभूकम्पले दरार उत्पन्न गरेका तथ्यलाई अघि सारेको छ । साथै यस अनुसन्धानको निष्कर्षले शिरखोला क्षेत्रमा सन् १२५५ को भूकम्पले दरार उत्पन्न नगरी सन् ११०० को भूकम्पले दरार उत्पन्न गरेको हुनसक्ने सम्भावना देखाउँछ । प्राप्त तथ्याङ्कहरूको आधारमा सन् १२५५ को भूकम्पले कम्तीमा वागमतीदेखि त्रिवेणीसम्मको करिब २०० किमि क्षेत्रमा दरार उत्पन्न गरेको हुनसक्ने देखिन्छ । साथै यस भूकम्पले यस दरार क्षेत्रको उत्तरतर्फ रहेको काठमाडौं उपत्यकामा ठूलो क्षति भएको र भूकम्पमा परी घाइते भएका राजा अभय मल्लको मृत्यु भएको ऐतिहासिक प्रमाण पनि छन् ।

भूकम्पीय जोखिमको वर्तमान अवस्था
के १८ महिना अघिको गोरखा भूकम्पले मध्य नेपालको जोखिम घटाएको हो ? यसको उत्तर सजिलो छैन । हालसम्म भूकम्पको भविष्यवाणी सम्भव नभए तापनि यस अनुसन्धानबाट प्राप्त र अन्य ‘ग्लोबल पोजिसनिङ सिस्टम’का तथ्याङ्कको अधारमा तर्कसङ्गत सम्भावनाहरू भने अघि सार्न सकिन्छ ।

चित्र (क) मा देखाएझैं सन् ११०० मा मरहा खोलाको उत्तरतर्फ हिमालय क्षेत्रमा महाभूकम्प गएको थियो । तत्पश्चात् दरार अड्केर रहेको थियो । तत्पश्चात् त्रिवेणी क्षेत्रको उत्तरतर्फ हिमालयको गर्भमा सन् १२५५ मा महाभूकम्प गएको पाइन्छ (चित्र ख) । यस महाभूकम्पले कम्तीमा सर्लाहीको वागमतीदेखि नवलपरासीको त्रिवेणीसम्म करिब २०० किमि क्षेत्रमा दरार उत्पन्न गरेको थियो । तर यो भूकम्पको दरार भने मरहा र शिरखोलासम्म पुगेको देखिन्न । अत: मध्य नेपालको काठमाडौं आसपास गएको पछिल्लो महाभूकम्प सन् १२५५ को भूकम्प नै हो । यसरी नै सन् १९३४ मा नेपालको उत्तर–पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभूकम्प गएको पाइन्छ । यस भूकम्पले बर्दिबास पूर्वको क्षेत्रमा करिब १५० किमि लामो क्षेत्रमा दरार उत्पन्न गरेको थियो (चित्र ग) । तत्पश्चात् करिब ७६० वर्षपछि सन् २०१५ मा गोरखा भूकम्प गयो, जुन सन् १८३३ को मझौला आकारको भूकम्पले काठमाडौंबाट उत्तर—पूर्वमा उत्पन्न गरेको न्युन स्ट्रेस भएको दरार क्षेत्रसम्म मात्र पुग्यो । तर चुरे क्षेत्रमा महाभूकम्पले जसरी दरार उत्पन्न गर्न भने सकेन (चित्र घ) ।

गोरखा भूकम्पले हिमालयको भूकम्पीय दरार (मेन हिमालय थ्रस्ट) को दक्षिणतर्फको अग्रभागमा करिब तीनदेखि तीन दसमलव पाँच मिटर दरार विस्थापन गरेको पाइयो । प्रतिवर्ष दुई सेन्टिमिटरको दरले सात सय साठी वर्षमा करिब १५ मिटर दरारमा विस्थापन हुनुपर्ने देखिन्छ । तर गोरखा भूकम्पले केही अंशमात्र विस्थापन गरेकोले भविष्यमा नेपालको मध्यक्षेत्रमा विनाशकारी भूकम्प जानसक्ने सम्भावना कायमै रहेको देखिन्छ (चित्र ङ) । अत: नेपालको पश्चिम भागभन्दा मध्यभाग बढी भूकम्पीय जोखिमयुक्त रहेको देखिन्छ । यो तथ्यलाई गोरखा भूकम्पपश्चात प्रकाशित ग्लोबल पोजिसनिङ सिस्टमका अनुसन्धानहरूले पनि पुष्टि गरेका छन् ।

भूकम्प जानसक्ने क्षेत्रहरूको पहिचान गर्न भूकम्प विज्ञान सफल रहे तापनि भूकम्पको प्रभावकारी भविष्यवाणी भने अझै चुनौतीपूर्ण नै छ । नेपालमा महाभूकम्पको पुनरावृत्ति समयसम्बन्धी वैज्ञानिक हिसाबले पूर्ण तथ्याङ्कहरू प्राप्त हुनसकेका छैनन् । भूकम्प विज्ञानले हालसम्म भूकम्पीय सम्भावना रहेका स्थानको पहिचान, भूकम्पको प्रक्रिया तथा आकारबारे तर्कसंगत सम्भावना देखाए पनि भूकम्प जानसक्ने समयको यकिन भविष्यवाणी भने गर्नसकेको छैन । यदि मरहाखोलाको सन् ११०० र शिरखोलाको सन् १९३४ का महाभूकम्पलाई आधार मान्ने हो भने पुनरावृत्ति समय करिब ८३४ वर्ष हुन आउँछ । यस क्षेत्रमा ठूला भूकम्प नगएको करिब ७६० वर्ष भइसकेको छ । ऐतिहासिक भूकम्पका तथ्यमा आधारित हुने र ग्लोबल पोजिसनिङ सिस्टमका तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने काठमाडौं लगायत नेपालको मध्यक्षेत्र तनाव/शक्ति सञ्चिती चक्रको करिब अन्तिम चरणमा रहेकोले भविष्यमा ठूला भूकम्पको सम्भावना बाँकी नै देखिन्छ । महाभूकम्पको पुनरावृत्ति समय अवधि मानिसको औसत आयुभन्दा कैयौं गुणा बढी हुने भएकाले हाम्रो पुस्ताले नै उक्त भूकम्प नभोग्न पनि सक्छ ।

अबको बाटो
समय–समयमा गरिएका अध्ययन–अनुसन्धानले नेपालको हिमालय क्षेत्रमा भूकम्पबाट हुनसक्ने जोखिमको अवस्थालाई प्रस्ट्याइरहेका छन् । वैज्ञानिकहरूले दिएका चेतावनीका बाबजुद हामीले गोरखा भूकम्पमा जनधनको ठूलो क्षति व्यहोर्नुपर्‍यो । विपद् व्यवस्थापनका नीति तथा योजना वैज्ञानिक अध्ययन–अनुसन्धानद्वारा निर्देशित हुनुपर्छ । हामीले १९९० सालको विनाश, दु:ख, पीडालाई बिर्सिसक्यौं । गोरखा भूकम्पको पीडालाई पनि क्रमश: बिर्संदै गएको आभास सरकारको सुस्त शैली, भूकम्प पीडितको अवस्थाबाट हुनथालेको छ । नयाँ विपद् व्यवस्थापन ऐनको हल्ला चलेको दशक भइसक्यो, हाम्रा कानुन निर्माताहरू यति ठूलो विपद्पश्चात पनि संवेदनशील नदेखिनु जनताप्रति अनुदार हुनु हो । हिमालय क्षेत्रमा भूकम्प ढिलो—चाँडो अवश्य आउँछ । अत: हामीले अनुसन्धानमा आधारित, देश सुहाउँदो ऐन–नियम नीति–निर्देशन तर्जुमा गरी पूर्वतयारी उन्मुख जनचेतना जगाउँदै प्रभावकारी विपद् जोखिम न्युनीकरण कार्यक्रमलाई प्रभावकारी रूपमा लागु गर्न ढिला गर्नुहुन्न ।

प्रकाशित : मंसिर १, २०७३ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?