कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

हक्की कवि

पर्वत पोर्तेल

काठमाडौं — दार्जिलिङ सुके पोखरीमा वीरेन्द्र सुब्बा जन्मिएको २० वर्षपछि मात्रै ब्रिटिस उपनिवेशबाट भारत मुक्त भयो ।

हक्की कवि

सन् १९४७ अर्थात भारत स्वाधीन लगत्तै कवि अच्छा राई रसिक र अगमसिंह गिरीजस्ता वामपन्थी विचार बोकेका स्रष्टासँग मिलेर वीरेन्द्रले ईश्वर बरालको अध्यक्षतामा ‘प्रगतिशील नेपाली साहित्य परिषद’ गठन गरे । उनी महासचिव थिए । वामथन्थी विचार बोकेका साहित्यकारहरू एकजुट हुँदै थिए, दार्जिलिङमा । जतिबेला नेपालतिर कम्युनिष्ट विचारको विज भर्खरै टुसाउँदै मात्र थियो । १ सय ४ वर्षे जहानियाँ राणाशासन लखेट्न नेपालमा पुष्पलालहरू जुर्मुराइरहँदा सीमापारि दार्जिलिङमा वामशक्ति नै खडा भइसकेको थियो, जसको नेतृत्व उनै वीरेन्द्रले गरेका थिए । पश्चिम बंगालको ‘टेरेटोरियल एडमिनिष्ट्रेसन’ दार्जिलिङको एउटा गल्लीभित्रको साँघुरो कोठामा बस्थे वीरेन्द्र । ९० वर्षको उमेरमा गत शनिबार उनले त्यही साँघुरो कोठाबाट अन्तिम श्वास लिए ।

सन् १९५३ मा आफ्नै अगुवाइमा ‘प्रगतिशील कलाकार संघ’ पनि बनाए । साहित्यमा सानैदेखिको रुचि थियो । सन् १९४० तिर ‘उन्नति भयो’ शीर्षकको कविता ‘गोर्खा’ पत्रिकामा छापियो । त्यसपछि साहित्यमा उनी निरन्तर बगिरहे । सन् ५० ताका डानियल खालिङ ९दान खालिङ० सँग मिलेर वीरेन्द्रले ‘एकान्त’ नामको संयुक्त कविता संग्रह निकाले । खालिङ नेपालतिर लागेपछि वीरेन्द्र एक्लिए । यद्यपि उनले साहित्यिक क्रियाकलाप घटाएनन्, बरु बढाएर लगे । सन् ५३ मा ‘सुस्केरा’ नामको पत्रिकाको सम्पादन गर्ने जिम्मेवारी पाए, जसले उनको साहित्य खारिँदै र माझिँदै गयो ।

खासमा वीरेन्द्र बहुआयामिक क्षमताका थिए । उनी साहित्यसँगै संगीत, चित्रकारिता र खेलकुदमा अब्बल थिए । दार्जिलिङमा लोकप्रिय बक्सर थिए, वीरेन्द्र । शास्त्रीय संगीतका ज्ञाता थिए । चित्र पनि बनाउँथे । सन् ५० को दशकमै उनले कोलकातामा चित्र प्रदर्शनी गरे । पश्चिम बंगालका तत्कालीन राज्यपाल कैलाशनाथ कटजुसमेत उनका चित्रबाट प्रभावित थिए । ‘वीरेन्द्रका चित्रहरू अब्बल दर्जाका थिए’, नर्थ बंगाल युनिभर्सिटीका प्राध्यापक डा। मोहन पी दाहालले भने । उनका अमूर्त चित्रहरू भारत लगायत विभिन्न मुलुकमा प्रसिद्ध छन् ।
 
वीरेन्द्रको चित्रकारिता थाहा पाएपछि राजा महेन्द्रले उनलाई डाके सन् १९५९ मा । राजकीय प्रज्ञा-प्रतिष्ठानको आयोजनामा उनका चित्रहरू प्रदर्शनी गरियो । पछि सन् ६८ मा तत्कालीन सरकारले वीरेन्द्रलाई पुनस् डाक्यो । भारतमा बसेर नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा योगदान गरेको भन्दै अभिनन्दन गर्‍यो । कालान्तरमा वीरेन्द्रले चित्रकारिता कम र साहित्य सिर्जनामा बढी समय खर्चिए । त्यसैले साहित्यमा उनले अलग्गै पहिचान बनाए । दार्जिलिङमा प्रगतिवादी र रोमान्टिक धाराको साहित्य लेखन वीरेन्द्रले नै भित्र्याए । सन् साठीको दशकमा इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर वल्लभले सुरु गरेको ‘तेस्रो आयाम’प्रति यिनको फरक मत थियो । ‘उनी तेस्रो आयामलाई भने सधैं खैरो खन्थे’, कवि मनप्रसाद सुबबाले भने, ‘उनलाई के कुराले चित्त बुझेन-बुझेन ।’ त्यही कारण इन्द्रबहादुर राईसँग उनको गम्भीर वैचारिक मतभेद थियो । एक समय त ‘पानी बाराबार’को स्थिति नै आयो । साहित्यिक सभा-समारोहहरूमा बोल्दा वीरेन्द्र इन्द्रबहादुर राई र तेस्रो आयामप्रति तिखो प्रहार गर्थे । इन्द्रबहादुर पनि प्रगतिवादी साहित्यलाई वामपन्थी राजनीतिसँग जोडेर टिप्पणी गर्थे ।

वीरेन्द्रको पहिलो कविता ‘उन्नति भयो’ शीर्षकमा ‘गोर्खा’ पत्रिकामा प्रकाशित भएको थियो । दान खालिङसँग उनले संयुक्त लेखनमा पहिलो कविता संग्रह ‘एकान्त’ सन् ५० को दशकमै प्रकाशित गरेका थिए । उनका मेघमाला, ‘स्वर्णिमा र कुसुम छोरी ९कविता० मूल सडकतिर ९उपन्यास०, फिष्टा ९नाटक० चर्चित मानिन्छन् । कवि सुब्बाका अनुसार वीरेन्द्र ‘मेघमाला’ कृतिका कारणमात्रै वीरेन्द्र बनेका हुन् । साठीको दशकमा प्रकाशित मेघमाला उनका सबै कृतिमध्ये उत्कृष्ट थियो । ‘स्वर्णिमा, फिस्टाजस्ता कृति पनि निस्किए’, सुब्बाले भने, ‘तर मेघमाला उनको अद्वितीय कृति हो ।’

साढे ६ दशक बढी समयदेखि नेपाली भाषा र साहित्यको उत्थानमा अनवरत सक्रिय बने उनी । अभावै-अभावका बीच जीवन बित्यो, उनको । न घर थियो, न परिवार नै थिए । एक्लो र कष्टकर जीवन बाँचे । मर्ने बेलामा पानी दिने मान्छे पनि पाइएन । उनको घर थिएन । डेरा बस्थे । डेरा भाडा तिर्न नसक्दा निकालिए । पछि वाममोर्चाको पार्टी कार्यालयमै अड्डा जमाए । वीरेन्द्र दार्जिलिङमा प्रगति र रोमान्टिक धारा भित्र्याउने साहित्यकार हुन् । नेपालीसँगै अंग्रेजी र बंगला भाषामा उनी बराबर कलम चलाउँथे । ‘उनको स्वाभाव अलि हक्की थियो’, सिलिगुडीका कवि राजा पुनियानीले सुनाए, ‘कम बोल्थे । धन नभए पनि मनका धनी थिए ।’ निधन लगत्तै पुनियानीले वीरेन्द्रप्रति समर्पित गर्दै ‘वीरेन्द्र सुब्बाको झोंँक’ शीर्षकको कविता कोरे-रेकर्ड नभएको एउटा इतिहास थियो

उनको अनुहारको अप्ठेरो चाउरी खोलातिर
उनी त फिस्स बितिगए
वीरेन्द्र सुबबा गायक थिए, गायकभन्दा बढी बक्सर
वीरेन्द्र सुब्बा पेन्टर थिए, पेन्टरभन्दा बढी कवि
वीरेन्द्र सुब्बा जे-जे थिए
तर वीरेन्द्र सुब्बा वीरेन्द्र सुब्बा नै थिए
नबाँचिएको एउटा कथा थियो
घरदेखि डेरा र डेरादेखि पार्टी अफिसमा शरण लिएका
वीरेन्द्रको जीवन
आफैमा त्यो कथा थियो, जो अछूत थियो।।।।

सादा जीवन उच्च विचार थियो । असली कम्युनिष्ट थिए । तर राजनीतिक दलको झोले थिएनन् । साहित्यमार्फत राजनीतिक नेतृत्वलाई निरन्तर खबरदारी गरे । खासगरी गोर्खाल्यान्ड आन्दोलनबारे उनी बढी नै चिन्तित थिए । १ सय ७ वर्षभन्दा लामो समयदेखि गोर्खाल्यान्डको माग मुखरित भयो । उनी भन्ने गर्थे, ‘गोर्खाल्यान्ड प्राप्तिविना भारतेली नेपाली कहिल्यै सुरक्षित हुन सक्दैनन् ।’

प्रकाशित : भाद्र ४, २०७३ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?