मैले चिनेको प्रचण्ड

काठमाडौं — जब मैले पहिलोचोटी प्रचण्डलाई भेटें २०४६/४७ सालतिर, त्यतिखेर उहाँ ‘प्रचण्ड’ होइन, प्रचण्डै ‘सरल’ भएजस्तो लागेको थियो मलाई। पाटनको च्यासलबाट साइकलमा सररर गरेर झोलुंगेपुल हुँदै कोटेश्वर आउने गर्नुहुन्थ्यो उहाँ। त्यतिखेर उहाँ दुब्लो र ‘स्कुल मास्टर’जस्तो देखिनुहुन्थ्यो। पार्टीको नेताजस्तो पनि देखिनुहुन्न थियो। त्यतिखेर उहाँ र हामीमा धेरै अन्तर थियो।

उहाँ च्यासलको गल्लीभित्र एउटा सानो कुनाभित्र पनि अझ कुनामा पर्ने नेवारको घरमा भाडामा बस्नुहुन्थ्यो। दिउँसै मैनबत्ती बालेर माथि उक्लिनुपर्ने अवस्था थियो। उहाँको श्रीमती पढ्न नपाएकी सामान्य गृहिणी हुनुहुन्थ्यो। उहाँ कपडा धुन अति रुचाउनु हुन्थ्यो। उहाँहरूका तीन छोरी र एउटा छोरा थिए। नेकपा एकता केन्द्र भूमिगत पार्टी भएकोले प्रचण्डै चिनिनुभएको थिएन। हामी भने अलि बढी बाहिर चिनिएका थियौं।
वास्तवमा मैले प्रचण्डलाई राम्ररी चिनेको जनयुद्धमा होमिएपछि मात्र हो। जब मलाई हेडक्वाटरको सेक्रेटारियटमा काम गर्ने जिम्मा दिइयो, २०५३ को सुरुवातमै। नेपालमा रहन खतरा बढ्दै गएपछि हामी दिल्लीको नजिक गाजियावादमा अलग–अलग तर नजिक डेरा खोजेर बस्यौं। उहाँ बहिर्मुखी, गतिशील, पहलकदमी लिनसक्ने र मिलनसार भएकोले मलाई सहजै लाग्यो। किनभने म पनि बहिर्मुखी, सक्रिय जीवन चाहने मान्छे परेंँ। तर कालान्तरमा त्यो सहजता असहजतामा, शंका विश्वासमा र फेरि शंकामा बदलिंँदै गयो।
हामी असाध्यै मिलेको बेला पनि एउटा अन्तरविरोध निरन्तर भोग्दै गएँ। त्यो थियो, उहाँ हामीसित नरम र सकारात्मक रूपमा प्रस्तुत हुनुहुन्थ्यो, तर उहाँका नजिक भनौदाहरू कठोर रूपमा प्रस्तुत हुने गर्थे। जब पार्टीभित्र दुई लाइन संघर्ष बढ्दै गयो, तब मैले उहाँको बोलीमा एउटा व्यवहारमा अर्को रूप देख्न थालँें। उहाँले कहिले पनि ‘हुन्न’ भन्नु हुँदैन थियो।
अझ ‘तपाईंले जे सोच्नुभएको छ, मैले पनि त्यही सोचिरहेको थिएँ’ भनेर आएका मान्छेलाई मख्ख पारेर पठाउनुहुन्थ्यो। तर काम गर्दा जोसित फाइदा हुन्छ, त्यही गर्नुहुन्थ्यो। जस्तै निरन्तर क्रान्ति, आन्तरिक जनवाद, शान्ति, संविधानसभाको कुरा गर्दा बाबुरामको नजिक पुग्नुहुन्थ्यो। विद्रोह, भारतीय विस्तारवादको विरोधलाई प्राथमिकता दिनुपर्दा किरणसँग नजिक पुग्नुहुन्थ्यो। त्यस्तै दोस्रो राष्ट्रिय सम्मेलनमा विचारलाई नामकरण गर्दा एकातिर ‘पार्टी निर्देशित विचार’ ठिक छ भन्ने अर्कोतिर उहाँका आफन्तबाट ‘प्रचण्ड विचारधारा’को प्रस्ताव आउँदा मौन रहनुहुन्थ्यो।
युद्धको बेला उहाँलाई प्रचण्डबाहेक ‘विश्वास’ पनि भनिन्थ्यो। साह्रै नै बोली र व्यवहारमा फरक आइसकेपछि मैले एउटा बैठकमा ‘तपाईंको नाम विश्वास कसले राखेको?’ भनेर सोधेको थिएँ, तर जवाफ आएन। हामीसँग राम्रो सम्बन्ध भएकै बेला कामको दौरानमा राम्रा काम गर्ने कार्यकर्तालाई उहाँसँग भेट्टाउन लग्दा अगाडि त राम्रै कुरा गरेर पठाउनुुहुन्थ्यो, तर पछि यात तिनीहरूलाई झन् तिरस्कार गर्ने, कहिलेकाहीं त घुमाउरो पाराले घटुवा नै गरिदिनुहुन्थ्यो। पछि त राम्रा कार्यकर्ता उहाँकहाँ लग्न नै छोड्यौं, कार्यकतालाई बचाउनका लागि। पछि पो थाहा पायौं, उहाँ बाबुराम भट्टराईको मान्छे भनेपछि लखेट्नुहँुदो रहेछ, हाम्रो राम्रो सम्बन्ध भएको बेला पनि।
त्यसबेला म बारम्बार कार्लमाक्र्सले लेखेको ‘द एट्टिन्थ ब्रुमेर अफ लुई बोनापार्ट’ पढ्थेंँ। जतिपटक पढ्थेंँ, बोली र व्यवहारको मामिलामा प्रचण्ड नेपालको लुई बोनापार्ट जस्तो लाग्थ्यो। मजदुरसँग कुरा गर्यो भने मजदुरझैं कुरा गर्न सक्ने, मालिकसँग कुरा गर्यो भने मालिकझैं, किसानसँग कुरा गर्दा किसानझैं, सामन्तसँग कुरा गर्दा सामन्तझैं, पुँजीपतिसँग कुरा गर्दा पुँजीपतिजस्तो। यानि कि बहुरंगी व्यक्तित्व भएको निम्न पुँजीवादी चरित्र प्रचण्डमा देखिन्थ्यो। त्यतिखेरै मैले बाबुरामजीलाई भन्ने गर्थें, ‘प्रचण्ड क्रान्तिको नेताको रूपमा कति पो टिक्ने होलान् र? बरु उहाँ त परम्परागत संसदको लागि सुहाउने नेता पो हुन्।’
युद्धकै बेला पनि उहाँ ‘नम्बर गेम’मा खप्पिस हुनुहुन्थ्यो। सधैं आफू बीचमा रहेर पल्लाभारी कता हुन्छ, त्यतातिर आफूलाई धकेल्ने काम गर्नुहुन्थ्यो। युद्धकै बेला एकपटक बाबुरामले मुख खोलेरै सोध्नुभयो, ‘तपार्इंले विचार किन छाड्नुभएको?’ उहाँले सिधै भन्नुभयो, ‘के गर्ने सत्य तपाईंसँग छ, संख्या अर्कैसित छ। त्यसैले सत्य र विचारको लागि म धेरैलाई चिढ्याउन चाहन्न।’
हुन पनि हो, उहाँ सधैं बीचमा रहन चाहने र परिस्थितिअनुसार पल्लाभारी जता छ, उता ढल्कन सक्नुहुन्थ्यो। जनयुद्ध सुरु गर्नुअघि, जनयुद्ध हुँदा र जनयुद्धपछि पनि उहाँले यस्तै व्यवहार देखाउनुभयो। जनयुद्ध अघि एकता केन्द्र निर्माण गर्ने क्रममा जब निर्मल–रूपलाल लाइन हावी हुनखोज्यो, उहाँले हतारमा बाबुराम भट्टराईसँग पार्टी एकता गरी आफ्नो बहुमत सुनिश्चित गर्नुभयो। जनयुद्धको १० वर्षको दौरानमा बाबुराम र किरणको लाइनमा कहिले कता कहिले कता मिली बीचमा बसेर उहाँ आफूलाई बर्चस्वमा राख्न सफल हुनुभयो।
शान्ति प्रक्रियामा आएपछि किरणको लाइनले उहाँलाई सताउन थाल्यो, अनि नारायणकाजीलाई भित्र्याएर पुन: आफ्नो बहुमत सुनिश्चित गर्नुभयो। जब सबाबुराम त्यो पार्टीबाट बाहिरिनुभयो, फेरि सचेत रूपमा बादललाई भित्र्याएर उहाँले ‘प्रचण्ड–बादल–नारायणकाजी’ समीकरण बनाएर राजनीतिक यात्रा अगाडि बढाइरहनुभएको छ।
युद्धकालमा घरि आन्तरिक दुश्मन राजतन्त्रलाई प्रधान र घरी बाह्य दुश्मन भारतीय विस्तारवाद प्रधान हो भन्नेमा अल्मलाएर उहाँले बाबुराम र किरण दुवै जनालाई हैरान पार्नुभयो। शान्तिकालमा आएर पनि घरि शान्ति/संविधान वा विद्रोहमा कुन प्रधान कुन गौण भन्ने अलमल्याएर पुरै देशलाई आक्रान्त पार्नुभयो।
युद्धको बेला जब भारतमा धमाधम माओवादी नेताहरू पक्राउ हुनथाले, तब रोल्पा आएर भारतीय विस्तारवादलाई प्रधान शत्रु मानेर ‘राष्ट्रवादी’ हुँदै ट्रेन्च खन्न लगाउनुभयो। त्यतिखेरको दुई लाइन संघर्षमा गणतन्त्रवादी भएकै कारण हामीलाई झन्डै ट्रेन्चभित्र पुर्नलागेका थिए। तर जब खारा लडाइँ (जसको प्रत्यक्ष नेतृत्व प्रचण्ड आफैंले गर्नुभयो) नराम्रोसँग हारियो। त्यहीताका चितवनको माडीमा अत्यधिक सर्वसाधारण मान्छे बसको सेबोटेजमा परेर मारिए, तब फेरि आन्तरिक दुश्मनलाई प्रधान मानेर भारतमा गएर सात पार्टीसँग सम्झौता गर्दै १२ बुँदे समझदारीमा हस्ताक्षर गर्न तयार हुनुभयो।
शान्तिकालमा बालाजुको विस्तारित बैठकमा चुनबाङको लाइनअनुसार जब संविधानसभाको पक्षमा दस्तावेज पेस भयो, हलमा करिब ७५ प्रतिशतले विद्रोहमा जानुपर्छ भने, तब ‘मुखमा चुनाव मनमा विद्रोह’ भनेर संविधानसभाको लाइनलाई अपाङ्ग बनाउनुभयो। त्यसरी नै जब जनमुक्ति सेना समायोजनको कुरा आयो, त्यहाँ त नेपाली सेनाको भिडियोमा आउनेगरी अर्को नौटंकी रच्नुभयो। किरणले ती जनमुक्ति सेनाको क्याम्पमा गएर समायोजनको विरोध गर्दै जनयुद्धको वकालत गर्नु, विद्रोहको वकालत गर्नु स्वाभाविक थियो।
तर प्रचण्डले त्यही ठाउँमा गएर हामीले समायोजनको त नाटक गरेको हो र हाम्रो असली मनसाय त क्रान्ति नै हो भन्न पुग्नुभयो। फलस्वरुप: जनमुक्ति सेना त झन् दिग्भ्रममा परे र समायोजन प्रक्रिया झन् लम्बियो र त्यति प्रभावकारी भएन।
त्यतिबेला मलाई याद छ, पुन: केन्द्रीय समितिको बैठकमा फेरि पनि ‘तपाईंको नाम विश्वास कसले राख्यो’ भनेर मैले सोधेको थिएँ। फेरि पनि उहाँले जवाफ दिनुभएन।
सबभन्दा घातक काम उहाँले तब गर्नुभयो, जब फेरि पनि सरकारमा जानका लागि राष्ट्रपतीय प्रणाली छाड्नुभयो। संविधानसभा–एक र दुईको चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा उहाँले आफैंलाई भावी राष्ट्रपतिको रूपमा सार्दासार्दै पनि संविधान निर्माण गर्ने बखत पार्टीसित सल्लाह नै नगरी सुधारिएको संसदको पक्षमा उभिनुभयो। संघीयतालाई सुदृढ पार्ने पहिचानको अडान पनि उहाँले छाड्नुभयो।
उहाँको तदर्थवाद, तत्कालवाद र तरंगित हुने स्वभावले गर्दा पुरै देश तरंगित भइरहेको छ। नेपाललाई सधैं यथास्थितिमा, अस्थिरतामा राखिराख्न चाहने विदेशी शक्तिका लागि उहाँ प्यारो गोटी बनिरहनुभएको छ। हुन पनि कान्तिपुरको साउन १६ गते प्रकाशित अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, ‘आइडियोलोजीका कुरा छायामा परेको, ट्याक्टिकल कुरा अगाडि आएको जस्तो। के कांग्रेस, के एमाले, के माओवादी भन्ने देखियो होला। तर त्यो अहिलेको लागिमात्रै सत्य हो।’
प्रचण्डको राजनीतिक जीवन हेर्दा उहाँ सधैंभरि यस्तै किसिमको ट्याक्टिसमा रमाएको देखिन्छ। यो देश कति दिनसम्म ट्याक्टिसमा चल्ने हो? उहाँको प्रत्येक जितभित्र नेपालले नहारोस्, हार्दिक शुभकामना।