सुमित्राको सपना

अखण्ड भण्डारी

काठमाडौं — जन्मदै दुवै खुट्टा सग्ला थिएनन् । भएका अति साना पनि घुङ्ग्रिएर घुँडामा आई खुम्चिएका थिए । बढ्दै जाँदा खुट्टा त्यस्तै रहे । तिनैको सहारामा बिस्तारै हिँड्दै गइन् । घस्रिएर गाउँको स्कुलमा भर्ना भइन् ।

सुमित्राको सपना

त्यहाँ ५ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । ६ देखि पढ्न साङ्गलाई नै दुई घण्टा लाग्ने ठाउँमा अर्को स्कुल थियो । उनले कल्पनै गर्न सकिनन् ।

चितवनको अति विकट गाउँ कोराकमा भेटिएकी सुमित्रा चेपाङसँग बिदा हुँदा आँखा रसाए । उनको जिन्दगी मर्मैमर्मको कुम्लो रहेछ । करिब एक घण्टा उनको वेदना सुनेर फर्कंदा दिनैभरि शरीर भारी भइरह्यो । उनकै दृश्य झलझली आइरह्यो ।

‘सरहरूले फेरि पढ सुमित्रा भन्नुभयो’, उनले त्यो क्षण सुनाइन्, ‘पास भएर पनि ५ मै दोहोर्‍याएँ । अनि फस्ट हानिदिएँ ।’ फेरि विकल्प दोहोर्‍याउनुमै थियो । घरमा बस्नुभन्दा पढ्नु नै ठीक लागेर उनले तेहेर्‍याएर ५ कक्षा पढिन् । अनि, टाढाकै स्कुल भए पनि जाने हिम्मत गरिन् । हिँड्नभन्दा बाटामा पर्ने खोलो तर्न गाह्रो थियो । ‘दाइहरूले बोकेर स्कुल लगिदिनुहुन्थ्यो’, उनले भनिन्, ‘त्यसरी नै ६ कक्षासम्म पढेँ । बढेर म बोक्न नसक्ने हुँदै गएँ । दाइहरूलाई जान सक्छु भनेर हिँड्थेँ । खोला तर्न नसकेर त्यहीँ दिनभरि रुँदै बस्थेँ । बेलुका अरू साथीहरू आएकै समयमा घर आउँथेँ । स्कुल गइनँ भनेर आफ्नो समस्या कसैलाई सुनाउदिनथेँ ।’

चितवनको मंगलपुरमा केपी किरण शर्माले गामबेसी चेपाङ केन्द्र सञ्चालन गरेका थिए । त्यहाँ चेपाङ बालबालिकाले संरक्षण र शिक्षा पाइरहेका थिए । केपीले सुमित्रालाई पनि लगे । त्यहाँ गएर ६ कक्षा पुन: पढिन् । ७ मा पढ्न थालेकी मात्र के थिइन्, उनको जिन्दगीमा अर्को व्यथा थपियो । अर्थात्, पिसाब नरोकिने रोग लाग्यो । सानोतिनो उपचारबाट पनि पार लागेन । त्यो क्रम बढ्दै गयो । ‘कक्षामै भल लाग्न थाल्यो’, उनले भनिन्, ‘अनि, बाध्य भएर घरै फर्किएँ ।’

पिसाब सोस्छ भनेर कम्मरमुनि कपडाको ठूलो पोको बाँधेकी उनी त्यही भारीसहित घिस्रिँदै गिटीले चरचरी घोच्ने कच्ची सडकमा घुँडाका भरमा आइरहेकी थिइन् । ‘मलाई पढ्न पनि मन छ, ठमठमी हिँड्न पनि’, उनले बिलौना गरिन्, ‘तर हामी चेपाङसँग उपचार गर्ने पैसा कहाँबाट हुनु ? खान त
तीन महिना पुग्दैन । ९ महिना गिठाभ्याकुर खानुपर्छ ।’

.....
झट्ट हेर्दा चितवन सुगम जिल्लाजस्तो लाग्छ । तर, लगातार ७ दिन पैदल हिँड्दा पनि छिचोल्न नसकिने डाँडा रहेछन् यहाँ । खासगरी ती र वरिपरिका जिल्लाका डाँडा–डाँडामा बस्ने चेपाङ समुदायको अवस्था धेरै दयनीय छ । सरकारकै तथ्यांकलाई आधार मान्ने हो भने चेपाङमा साक्षर ३६.१ प्रतिशत मात्र छन् । २०६८ को जनगणनाअनुसार ६८ हजार ३ सय ९९ जनसंख्या थियो । बढेर अहिले ८० हजार हाराहारी पुगेको छ । चेपाङ संघका महासचिव तिलक चेपाङका अनुसार तीमध्ये जम्मा ४८० जनाले बल्ल एसएलसी पास गरेका छन् । बीए पास गर्ने एक छात्रासहित ७ जना पुगेका छन् । दुई जनाले एमए
गरेका छन् ।

गरिबीको रेखामुनि ९५ प्रतिशत छन् । वर्षभरि खान पुग्ने जम्मा १ प्रतिशत छन् । यो समुदायमा सरदर ९ महिना अनिकाल लाग्छ । कुपोषणग्रस्त ७१ प्रतिशत छन् । ८० प्रतिशत गर्भवती महिलामा रक्तअल्पतासम्बन्धी समस्या पाइन्छ । अझै ७३ प्रतिशतले बालविवाह गर्छन् । स्वास्थ्य केन्द्र र गाविसहरू अपायक/राजमार्गछेउ छन् । अधिकांश अवधि गिठाभ्याकुर खाएर बाँच्नुपर्छ । चिउरीको दाना खाएर ३ महिना अनिकाल टार्ने अवस्था छ । त्यही चिउरीलाई पेलेर तेल निकाली जमाएर घ्यू बनाउँछन् । त्यसको छोक्रा यति विषालु हुन्छ, जुन माछा मार्न प्रयोग गरिन्छ । त्यसैले चिउरी खान योग्य हो/होइन, द्विविधा नै छ । यसको प्रस्ट अनुसन्धान भएको छैन । त्यही पनि चेपाङहरूको गुजाराको बाध्यता यही बनिरहेको छ ।

अझै ३० प्रतिशतले नागरिकता पाउन बाँकी छ । स्कुल छाड्ने बालबालिका ४७ प्रतिशत छन् । पढाइप्रति चेतना, जागरण र अवसर नहुँदा १५ वर्षमा १ कक्षा पढ्ने पनि छन् । कतिपय गाउँमा पाँच घण्टासम्म हिँडेर जानुपर्ने ठाउँमा स्कुल छन् । केही गैरसरकारी, विकासे र धार्मिक संस्थाहरू विभिन्न प्रलोभनमा पुगे पनि उनीहरूको जीवनस्तर बदलिएको छैन । भूकम्पले झुप्रा भत्किएका कतिपयले सरकारी सुविधासम्म पाएका छैनन् ।
.......

पिछडिएका यस्ता जातजातिलाई देखाएर राज्यले आरक्षणको व्यवस्था गरेको छ । तर, ती कोटा जनजातिका अग्रगामी एवं उपल्ला थरहरूले ओगट्छन् । चेपाङ मात्र होइन, तेली, चमार, कोइरी, कुर्मी, धानुक, मुसहर, दुसाध, पासी, सोनार, केवट, मल्लाह, कलवार, कानु, सुनुवार, सुढी, लोहार, तत्मा, खतवेजस्ता जातिहरू राज्यको मूलधारमा देखिँदैनन् । धोबी, माझी, नुनिया, कम्हार, दनुवार, हलुवाइ, राजपुत, कायस्थ, बढई, झाँगड, बाँतर, बरई, कहर, गनगाई, लोध, राजभर, थामी, धिमाल, भोटे, बिन, गडेरीलगायत जातिहरू कुन कुनामा हराइरहेका छन् ? यस्ता धेरै जाति छन् जसलाई कसैले वास्तै गरेको छैन । आदिवासी जनजाति महासंघकै सूचीअनुसार अति सीमान्तकृतमा माझी, सियार, ल्होमी, थुन्डाम, धानुन, चेपाङ, सन्थाल, झाँगड, थामी, बोटे, दनुवार र बरामु जाति छन् । लोपोन्मुखमा कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवादिया छन् ।

सुमित्रा र चेपाङ जाति त उदाहरण मात्र हुन् ।

प्रकाशित : चैत्र २२, २०७२ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?