समानताविरोधी स्वस्थानी कथा

मञ्जु थापा.

काठमाडौं — कुनै पनि समाजमा धर्मको स्थान उच्च हुन्छ । धर्मले संस्कारलाई र संस्कारले धर्मलाई उत्तिकै प्रभाव पारेको हुन्छ । प्रत्येक व्यक्ति हुर्किएको संस्कारअनुसार उक्त व्यक्तिको दृष्टिकोणको विकास भएको हुन्छ ।

समानताविरोधी स्वस्थानी कथा



विकसित दृष्टिकोणअनुसार व्यक्तिले दैनिक व्यवहार गरेको हुन्छ । सयौं वर्ष अघिदेखि नेपाली समाजमा श्रीस्वस्थानी व्रत लिने र कथा सुन्ने प्रचलन चलिआएको हो । यसरी सयौं वर्षदेखि नेपाली समाजले सुनिरहेको श्रीस्वस्थानी व्रत कथा लैंगिक समानताको दृष्टिकोणबाट कति महिलामैत्री छ भन्ने कुराको विश्लेषण यस लेखमा गर्न खोजिएको छ ।

श्रीस्वस्थानी व्रत कथाको सुरुवात सतीदेवीको छलपूर्ण कन्यादानबाट भएको छ । छलपूर्ण कन्यादान भए तापनि छल्ने पति नै स्वीकार्नु नारी विवशतालाई प्रस्तुत गरिएको छ । त्यसैगरी यस व्रतको प्रारम्भमा महादेव वर पाउँ भनी पार्वतीले गरेको देखिन्छ । दोस्रो गोमा बाहुनीले बाल्यकालमा गरेको गल्ती (पाप) मोचन भई ऐश्वर्य प्राप्त होस् भनी अनि तेस्रो चन्द्रावतीले पनि उस्तै उद्देश्यका साथ, त्यसैगरी अप्सराहरूले पनि स्वस्थानीको पूजाअर्चना गरेको प्रसंग छ ।

श्रीस्वस्थानी व्रत कथाको पुजन विधिमा प्रसाद आठ रोटी, आठ अक्षेता, आठ बेली पुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन आफ्नो पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मीत छोरालाई दिनु र मीत छोरा नभए गंगामा बगाउनु भनिएको छ । कथाको यस प्रसंगले प्रसादको बरु खोलामा बग्ने (खेरा फाल्ने) पालो आउँछ । तर कुनै महिलाको (छोरी, बुहारी, मीत छोरी, दिदी, बहिनी, आमा वा सासु आमाले) ग्रहण गर्ने पालो आउँदैन । यसबाट के स्पष्ट हुन्छ भने महिलाले पापमोचनका नाममा एक महिना लामो कठोर र अनुशासित व्रत र पूजाअर्चना गर्नुपर्छ । तर त्यसको प्रसाद (प्रतिफल) ग्रहण गर्नु हुँदैन । यहाँ कथाले पितृसत्तात्मक समाजमा रहेको पुरुष प्राथमिकतालाई प्रबद्र्धन गरेको छ भने महिलाको अस्तित्वलाई नै बिर्सिएको छ । त्यसैगरी सम्पूर्ण व्रत कथामा श्रीस्वस्थानी व्रत गरी पूजा गर्ने महिलाहरू (पार्वती, गोमा, चन्द्रावती, अप्सराहरू) मात्र छन् । यसले गर्दा धर्म गर्ने महिलाले मात्र हो । कारण गल्ती (पाप) महिलाहरूबाट मात्र हुन्छन् र त्यसको मोचनका लागि उनीहरूले कठोर र अनुशासित व्रत गर्नुपर्छ भन्नेजस्ता भ्रामक र एकतर्फी सन्देश कथाले दिएको छ । अर्को प्रसंग जालन्धर र वृन्दाको कथामा वृन्दा स्वयम्ले पति जालन्धरलाई राजीखुसीले पार्वतीलाई छल्न पठाएको प्रसंग छ । वृन्दाको पतिव्रता धर्मको कारणले गल्ती (पाप) नै गरे तापनि पति जालन्धरलाई कसैले हानि पुर्‍याउन सक्दैन ।

यहाँ कथाले कुनै पुरुषको सक्षमता उसको पत्नीको पतिव्रता धर्ममा भर पर्छ भन्ने इंगित गरेको देखिन्छ । पतिव्रता धर्मलाई पत्नीको यौनिकतासंँग जोडिएको छ । यदि पति—पत्नीको यौनिकता एकअर्काका लागि सुरक्षा कवज भएको भए पति जालन्धरले परस्त्री पार्वतीलाई छल्न खोज्दा पत्नी वृन्दालाई पनि केही हानि हुनुपर्ने किन भएन ? खोइ जालन्धरको पत्नीव्रता धर्म ? यस प्रसंगले यदि पतिले छल गरी परस्त्रीसँग सम्बन्ध राख्न चाहेमा पत्नीले राजीखुसीले स्वीकार्नुपर्छ । तर पत्नीले छलमा परेर पनि परपुरुषसँग सम्बन्ध हुनगएमा पतिको पतन हुन्छ । त्यसैगरी जालन्धर र वृन्दाको प्रसंगले पत्नीको यौनिकतामा पतिको मात्र अधिकार हुन्छ र पत्नीको परपुरुषसँग सम्बन्ध हुनु भनेको पतिको पतन हुनु हो । त्यसैले महिलाको यौनिकतालाई नियन्त्रण गर भन्ने एकतर्फी भाम्रक सन्देश प्रवाह गरेको देखिन्छ । अर्को प्रसंग गोमा बाहुनीको जन्म, शिव भट्ट बाहुन र उनकी पत्नी सतीले सिद्धि गणेशको सेवा गरी सन्तानको चाहना राख्छन् । सिद्धि गणेशले गाईको गोबरबाट कन्या उत्पन्न हुनेछिन्, छोरा तिमीले पूर्वजन्ममा राखेका छैनौ भनेको प्रसंग छ ।

कथाले यहाँ यदि पूर्वजन्ममा दानधर्म गरे छोरा हुन्छ, दानधर्म नगरे छोरी प्राप्त हुन्छ भन्न खोजेको छ । कथाले छोराको जन्मलाई गर्व र अभिमानको पट्टा लगाएको छ भने छोरीको जन्मलाई आत्मग्लानिको पट्टा लगाएर दोस्रो दर्जामा राखी पुरुष प्राथमिकतालाई नै प्रबद्र्धन गरेको छ । त्यसैगरी कथा गोमामा बाहुनीले
आफ्ना दुई बुहारीलाई अर्तिउपदेश दिँदै ‘दिदी—बहिनी आपसमा मिलेर यो राज्य लक्ष्मी थामी मेरो पुत्र नवराज राजाको सेवा—चाकडी गरी बस’ भन्नेमा सकिन्छ । कथाले पति भनेका मालिक हुन् भने पत्नी भनेका पतिको सेवा र चाकडी गर्ने सेवक हुन् भन्नेजस्ता पति—पत्नीको अत्यन्तै असन्तुलित अन्तरसम्बन्ध देखाइएको छ, जुन महिलामैत्री छैन ।

गहन अध्ययन गर्ने हो भने धार्मिक, सामाजिक र सांस्कृतिक सबै पक्षहरू महिलाका पक्षमा कम छन् । यसको मुख्य कारण सबैजसो धार्मिक र सांस्कृतिक नीतिका पुस्तक लेख्ने र व्याख्या गर्ने सबै पुरुष नै हुन् । महिलाले पालना गर्नका लागि कडा र कष्टकर नीति—नियम बनाएर महिलालाई सधैं पुरुषको नियन्त्रणमा राख्ने गरिएको छ । हुनसक्छ, जुनबेला यो पुस्तक लेखियो, त्यस समयको सामाजिक परिवेशमा यस पुस्तकका विषयवस्तुहरू सान्दर्भिक थिए । तर आजको आधुनिक युगसम्म आइपुग्दा हाम्रो समाज लैंगिक समानताको दृष्टिकोणले निकै फेरिएको छ । आजको दिनमा हाम्रा महिला दिदीबहिनीहरू सशक्त भई पुरुषसँगै घर बाहिरको उत्तरदायित्व निर्वाह गरिरहनुभएको छ भने घर भित्रको परम्परागत भूमिकामा पनि उत्तिकै प्रभावकारी हुनुहुन्छ ।

राज्यले पनि लैंगिक समानता र महिला सशक्तीकरण बिनाको विकास दिगो हुन नसक्ने तथ्यलाई मनन गर्दै यसतर्फ केही सकारात्मक कदम चालेको छ । यस्तो अवस्थामा श्रीस्वस्थानी व्रत कथाले दिएको सकारात्मक सन्देशलाई मनन गर्दै यसमा रहेका महिला हिंसा र लैंगिक असमानतालाई प्रबद्र्धन गर्ने विषयवस्तुप्रति संवेदनशील हुनु आजको आवश्यकता हो ।


थापा बिमा समितिकी सहायक निर्देशक हुन् ।

प्रकाशित : माघ २५, २०७२ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?