फेरि आउला भूकम्प ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि आउला भूकम्प ?

डा. दीपक चम्लागाईं

काठमाडौं — आजभूकम्प सुरक्षा दिवस । विगत १८ वर्षदेखि हामीले विसं १९९० (सन् १९३४) माघ २ गतेको महाभूकम्पको सम्झनास्वरूप जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउँदै आएका छौं । विनाशकारी गोरखा भूकम्पले यसको महत्त्वलाई अझ उजागर गरेको छ ।

तर, हाम्रो सामाजिक एवं आर्थिक अवस्थासँग नमिल्ने आयातित पूर्वतयारी एवं जनचेतनाको उपायहरूले जनधनको क्षतिलाई अप्रत्यासित रूपमा वृद्धि गर्छ भन्ने तथ्यलाई भूकम्पमा खाटमुनि लुकेर ज्यान जोगाउँछु भन्ने सयौं बालबालिकाको मृत्युले प्रमाणित गरेको छ ।

असंवेदनशील राजनीति तथा सरकारी उदासीनताका कारण कठयांग्रिने चिसोमा मृत्युसँग लडिरहेका हजारौं भूकम्पपीडितको अवस्थाले विपत्पछिको जोखिमको गुरुत्वलाई छर्लंग पारेको छ ।

अत: विनाशकारी गोरखा भूकम्पपश्चात नेपालमा भूकम्पीय प्रकोप एवं जोखिम तथा विपत् व्यवस्थापनको अवस्थालाई बुझ्न हामीले निम्न गहन प्रश्नको जवाफ खोज्न जरुरी छ ।

क) के छ त नेपालमा भूकम्पीय दरारको अवस्था ?
ख) ऐतिहासिक भूकम्पहरूले के इंगित गर्छन् ?
ग) के महाभूकम्पले सञ्चित तनाव/शक्तिलाई पूर्ण रूपमा प्रवाह गर्छन् ?
घ) के विनाशकारी भूकम्पको अझै सम्भावना छ ?
ङ) अबको बाटो कता ?

भूकम्पीय दरारहरूको अवस्था
करिब ५ करोड वर्षपहिले भारतीय र तिब्बती प्लेटहरूको संघातबाट हिमालय पर्वत शृंखलाको उत्पत्ति भएको हो । यस क्रममा हिमालय क्षेत्रमा पूर्व–पश्चिम दिशामा चिरा परी दरारहरू (फल्ट) बनेका छन् ।

यी दरारमध्ये क्रमश: उत्तरतर्फबाट, मेन सेन्ट्रल थ्रस्ट, मेन बाउन्ड्री थ्रस्ट र मेन फ्रन्टल थ्रस्ट मुख्य हुन् । यी फल्टहरू हिमालयमुनि रहेका दुई प्लेटहरूको बीचको मेन हिमालयन थ्रस्टसँग मिल्छन् जुन भूकम्पीय हिसाबले सक्रिय मानिन्छ ।

यसका अतिरिक्त चित्रमा देखाएझैं यी दरारहरूसँग एउटै दिशामा सक्रिय दरारहरू फैलिएका छन् जसलाई मेन सेन्ट्रल फल्ट, मेन बाउन्ड्री फल्ट र मेन फ्रन्टल फल्टमा विभाजन गरिएको छ । यसका साथै काठमाडौं उपत्यका वरिपरि कुलेखानी, कोल्फु खोला र झिखु खोलामा दरारहरू छन् ।

यी दरारहरूको उत्पत्ति विगतमा गएका ठूला भूकम्पका कारण जमिनमा धाँजा फाटेर विस्थापित हुँदा भएको हो । यी दरारमा अन्तरभूकम्पीय अवधिमा भारतीय र तिब्बती प्लेटहरूको संसृतिबाट तनाव सञ्चिति हुने गर्छ । अत: भविष्यमा दरारहरूले विनाशकारी भूकम्पहरू उत्पन्न गर्न सक्दछन् ।

भूकम्पीय दृष्टिकोणले दक्षिणतर्फ अवस्थित मेन फ्रन्टल फल्ट बढी सक्रिय मानिन्छ किनभने हिमालय क्षेत्रमा महाभूकम्पहरू जाँदा शक्तिको प्रवाह यो दरारबाट दक्षिणतर्फ हुने गर्छ । तसर्थ भूकम्पका अवशेष बनेर रहेका यी सक्रिय दरारहरूको अध्ययन–अनुसन्धान गरी विनाशकारी भूकम्पहरूको पुनरावृत्ति अवधि पत्ता लगाउनु जरुरी छ ।

ऐतिहासिक भूकम्पहरू
नेपालमा भूकम्प मापनको इतिहास ज्यादै छोटो छ । बितेका तीन दशकका केही तथ्यांकहरू हामीसँग छन् जुन वैज्ञानिक हिसाबले अपर्याप्त मानिन्छ ।

इतिहासका विभिन्न दस्तावेज एवं सक्रिय दरारहरूको उत्खननबाट प्राप्त तथ्यांकअनुसार हिमालयमा मुख्यत: सन् ११००, १२५५, १३४४, १४०३, १५०५, १८०३, १८३३ र १९३४ मा ठूला तथा महाभूकम्पहरू गएको पाइन्छ ।

दरारहरूको उत्खननबाट सन् ११००, १२५५, १५०५, र १९३४ मा जमिन करिब ३ देखि १८ मिटरसम्म सर्न गई ८.१ देखि ८.८ म्याग्नेच्युटसम्मका भूकम्प नेपाललाई केन्द्रविन्दु बनाएर गएको पाइन्छ ।

सन् १८३३ को भूकम्प भने करिब ७.६ म्याग्नेच्युटको थियो जसको कारण जमिन करिब २ देखि ४ मिटरसम्म सरेको अनुमान गरिएको छ । ऐतिहासिक भूकम्पहरूको अध्ययन/अनुसन्धान भूकम्पीय प्रकोप, जोखिम मूल्यांकन तथा भूकम्पको पुनरावृत्ति अवधि पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ ।

यस सन्दर्भमा हिमालय क्षेत्रमा थोरै तर महत्त्वपूर्ण अनुसन्धान भएका छन् । जसअनुसार उत्तर–पश्चिम हिमालयमा करिब ६५० वर्षको अन्तरालमा ठूला भूकम्प गएको तथ्य फेला परेको छ ।

त्यसरी नै नेपालको बर्दिबास क्षेत्र वरिपरि गरिएको उत्खननबाट भने नेपालको मध्य भागमा भूकम्पको पुनरावृत्ति अवधि करिब ७५० देखि ८६० वर्षको हुनसक्ने तथ्यहरू छन् ।

तर, पूर्वी हिमालयको सन्दर्भमा भने पुनरावृत्ति अवधि यकिन हुन सकेको छैन । यी तथ्यहरूले हिमालय क्षेत्रमा महाभूकम्पहरूको पुनरावृत्ति अवधि एकैनासको नरहेको स्पष्ट पार्छन् ।

सञ्चित तनाव/शक्तिको प्रवाह
हिमालय क्षेत्रमा गएका विनाशकारी भूकम्पहरूको समय, प्रकार, दरारको क्षेत्र, आकार, विस्थापित जमिनको मात्रा र पुनरावृत्ति अवधिको गहन विश्लेषण गर्ने हो भने हामी भूकम्पविद्हरूबीच एउटा गहन प्रश्न तेर्सिन्छ । के हिमालय क्षेत्रका महाभूकम्पहरूले भारतीय र तिब्बती प्लेटबीचको संघातबाट दरारमा सञ्चित तनाव/शक्तिलाई पूर्ण रूपमा प्रवाह गर्छन् ?

यो प्रश्नको जवाफ सोझै यस क्षेत्रको भूकम्पीय प्रकोप/जोखिमसँग जोडिएको छ । उदाहरणका लागि पूर्वी नेपाललाई केन्द्रविन्दु बनाएर सन् १९३४ मा गएको महाभूकम्पमा जमिन तीन मिटरभन्दा बढी सरेको थियो जबकि सोही क्षेत्रमा सन् १८३३ को भूकम्पपश्चात्, प्रतिवर्ष दुई सेन्टिमिटरका दरले भारतीय प्लेट उत्तरतर्फ सर्दा, एक सय वर्षको अवधिमा विस्थापित हुन बाँकी स्लिप दुई मिटरमात्र रहन्छ ।

अत: सन् १९३४ को महाभूकम्पमा सन् १८३३ को महाभूकम्पले प्रवाह गर्न नसकेको सञ्चित तनाव/शक्ति प्रवाह भएको देखिन्छ । यसकारण हिमालय क्षेत्रमा महाभूकम्पहरूले अन्तरभूकम्पीय अवधिमा सञ्चित तनाव/शक्तिलाई पूर्ण रूपले प्रवाह गर्न नसक्दा ‘भूकम्पीय चक्र’ अनियमित रहेको पाइन्छ ।

भविष्यमा विनाशकारी भूकम्पको सम्भावना
विनाशकारी गोरखा भूकम्पपश्चात् सबैलाई एउटा प्रश्नले सताइरहेको छ । के भविष्यमा फेरि विनाशकारी भूकम्प आउला त ? अहिले सबैको चासो पश्चिम नेपालतर्फ छ । वैज्ञानिक अनुसन्धानहरूले पश्चिम नेपालमा विनाशकारी भूकम्प जाने संकेत गरेका छन् ।

विशेषत: ग्लोबल पोजिसनिङ सिस्टमका तथ्यांकहरूले यस क्षेत्रमा दरार करिब १० मिटर सर्न (स्लिप हुन) बाँकी रहेकाले विनाशकारी भूकम्प जाने प्रवल सम्भावना देखाएका छन् ।

साथै दरारहरूको उत्खननबाट प्राप्त तथ्यांकहरूले पनि सन् १५०५ मा करिब १८ मिटर विस्थापित भई ८.१ म्याग्नेच्युटको भूकम्प पश्चिम नेपालको आसपासमा गएको र तत्पश्चात त्यस क्षेत्रमा महाभूकम्प गएको वैज्ञानिक तथ्यहरू फेला नपरेकाले लगातार तनाव/शक्ति सञ्चित भइरहेको देखिन्छ ।

यसका अतिरिक्त पूर्वी नेपालमा जस्तै सन् १२५५ को महाभूकम्पअघिको तनाव पनि बाँकी रहनु, पुनरावृत्ति अवधि एकनास नहुनु साथै अनियमित ‘भूकम्पीय चक्र’ को कारण कुनै पनि समयमा यस क्षेत्रमा विनाशकारी भूकम्प जान सक्ने सम्भावना देखिन्छ ।

अबको बाटो
हिमालय क्षेत्रका भौगर्भिक, भू–भौतिक, भू–गणितीय एवं भूकम्पीय तथ्यांकहरूलाई वैज्ञानिक विश्लेषण गर्दा नेपाल उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ । अत: यस क्षेत्रमा निहित प्रकोप एवं जोखिम मूल्यांकन तथा न्यूनीकरण गर्न सक्रिय दरारहरूको उत्खनन गरी ऐतिहासिक महाभूकम्पहरूको पुनरावृत्ति अवधि पत्ता लगाउनु जरुरी छ ।

यसका साथै भूकम्पमापन प्रणालीलाई सुदृढ गरी प्राप्त तथ्यांकहरूको प्रयोगबाट भवन निर्माण आचारसंहितामा व्यापक परिमार्जन गरी त्यसलाई कडाइका साथ लागू गर्नु जरुरी छ । साथै समाज सुहाउँदो पूर्वतयारीतर्फ उन्मुख जनचेतना एवं अध्ययन अनुसन्धानका कार्यक्रमहरूलाई प्राथमिकता साथ अघि बढाउनुपर्छ ।

हाल प्रचलनमा रहेको विभिन्न तहका समितिमा आधारित विपत् व्यवस्थापन संरचनाले राजनीतिक भागबन्डाको चपेटामा परेर प्रभावकारी रूपमा कार्य सम्पादन गर्न सकेको छैन साथै हरेक तहमा मौलाइरहेको भ्रष्टाचारले यसलाई पनि अछुतो राख्न सकेको छैन । यसबाट उन्मुक्ति पाउन सरकारले दिगो विपत् व्यवस्थापन हेतु स्थायी संस्थागत संरचनाको विकास गर्नु आवश्यक देखिन्छ ।

अत: विचाराधीन विपत् व्यवस्थापन विधेयकलाई जति सक्दो छिटो पास गरी समितिमा आधारित विपत् व्यवस्थापन प्रणालीलाई संस्थागत प्रणालीले विस्थापित गरी उत्थानशील समाजको विकास गर्न हामी अग्रसर हुनुपर्छ । विनाशकारी गोरखा भूकम्पले दिएको शिक्षा नै यही हो ।

(भूकम्पविद् डा. चम्लागाईं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन्)

प्रकाशित : माघ २, २०७२ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्

घरमै पुर्‍याउँथे सामान

तपाईं कहाँ र कस्तो परिवारमा जन्मनुभयो भन्ने कुराले तपाईको भावी जीवनलाई निर्धारण गर्दैन । तपाईले आफ्नो जीवनमा के गर्नुहुन्छ भन्ने कुरो नै महत्त्वपूर्ण हो । गरिब परिवारमा जन्मेर पनि धेरैले आफ्नो जीवन सार्थक र सफल बनाएका उदाहरण प्रशस्तै भेटिन्छन् ।

कोहीले त बीचैमा पढाइ छाडेर पनि सफल भएका छन्, विश्वमै आफ्नो र आमाबुबाको नामलाई ख्याति दिलाएका छन् । अझ विश्वका सर्वाधिक धनी र अर्बपतिहरूको कुरा गर्ने हो भने धेरैको पहिलेको जीवनचर्या समस्यै समस्याबाट जुग्रिएको पाइन्छ ।
कोही गरिब पनि कडा परिश्रमले धनी भए । कोही ड्रप आउट भएर पनि आफ्नो कडा लगनशीलता, उद्यमशीलता र व्यापारबाट मनग्ये कमाउन सफल भएका छन् । सफलताको पछाडि दृढ आत्मविश्वास अपरिहार्य छ । स्विडिस व्यापारी इन्गभार क्यामप्राड यस्तै आत्मविश्वासी मध्येका हुन् । उनको जन्म सन् १९२६ मा स्विडेनको दक्षिण क्षेत्रस्थित एउटा सानो गाउँमा भएको हो । सानै उमेरमा उनले आफ्नै साइकलबाट छिमेकीहरूलाई सलाई बेच्ने व्यापार थाले थिए । उनी स्टकहोमबाट होलसेलमा ल्याई कम मूल्यमा घरघरमा बिक्री गर्थे ।
बिक्री धेरै हुने भएकाले आम्दानी पनि बढ्नु स्वाभाविकै थियो । त्यसबाट उनले मनग्ये कमाए । त्यसपछि उनी माछा, क्रिसमस ट्री, सजावटका सामान र बीउबिजनको व्यापारमा सक्रिय भए ।
पछि उनले बल–प्वाइन्ट पेन र पेन्सिलहरूको व्यापार पनि थाले । आफूलाई उनले यतिमै मात्र सीमित राखेनन् । पछि वालेट्स, घडी, गरगहना र स्टकिङ्स सहितका विभिन्न व्यापारसमेत थालेका थिए ।
उनले ‘आइकिया’ बाटै सन् १९६१ ताका न्यूनतम लेबर कस्टमा विदेशमा सस्तोमै फर्निचरहरू निर्यातसमेत गरेका थिए । उनी १७ वर्षको छँदा पढाइसँगै व्यापारमा पनि सफलता हासिल गर्दै गएको भन्दै उनका बुवाले क्याम्प्राडलाई पुरस्कार दिएका थिए । आफ्नो व्यापार र बुबाबाट उपहारस्वरूप पाएको केही रकमबाट उनले आइकिया (आईकेईए) स्थापना गरे । क्याम्प्राडले थालेको सानो व्यापारका क्रममा व्यक्तिगत रूपमा ग्राहरूलाई भेट्ने र सामान बेच्ने गरेकाले उनको दक्षता पनि बढेको थियो । उक्त दक्षता र योग्यतालाई उनले मेल अर्डरमा रूपान्तरण गरे ।
उपभोक्ताले माग गरेका सामानहरू उनले एउटा स्थानीय दूध बोक्ने वाहनबाट घर–घरमा पुर्‍याउन थाले । सस्तोमा समान उपलब्ध गराउने भएकाले उनी ‘सस्तो (चिप) व्यापारी’ का रूपमा चिनिन पुगे । उनी आफ्नो संस्था ‘आइकिया’ का कर्मचारीहरूलाई कागजको दुवैपट्टि लेख्न प्रोत्साहन गर्छन् ।
क्यामप्राडको नाम स्थानीयस्तरबाट विश्वव्यापी त्यस बेला बन्यो, जब एउटा स्विडिस बिजनेस अखबार ‘भेक्कान्स अफारर’ ले सन् २००४ मा उनले विश्वकै सर्वाधिक धनाढ्य बिल गेट्सलाई ‘उच्छिन्ने अवस्थामा पुग्दै गरेको’ समाचार सार्वजनिक गर्‍यो । ‘आइकिया’ विश्वकै सबैभन्दा ठूलो कम्पनी मध्येको एकमा मात्रै दरिएको छैन, अति सफल निजी कम्पनीसमेत बन्न पुगेको छ । ‘आइकिया’ का हाल ३१ मुलुकमा २ सयभन्दा बढी स्टोरहरू रहेका छन् । जहाँसम्म उनको संस्थामा कर्मचारीको संख्याको कुरो छ, हाल ७५ हजारभन्दा बढी कर्मचारी ‘आइकिया’ मा कार्यरत छन् ।
वार्षिक रूपमा १२ अर्बभन्दा बढीको व्यापार पनि छ । फोब्र्स अखबारका अनुसार इन्गभार क्याम्प्राड र उनको परिवार अर्बपतिको सूचीमा ४९७ स्थानमा छ । कुल सम्पत्ति ३ दशमलव ३ अर्ब अमेरिकी डलर (रियल टाइम १५ जनवरी २०१६) रहेको छ । ८९ वर्षीय उनको सम्पत्तिको स्रोत ‘आइकिया’ नै हो ।
 प्रस्तुति : दिनेश यादव

प्रकाशित : माघ २, २०७२ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×