काठमाडौँ — देशभित्र र विदेशमा छरिएका युवालाई राष्ट्र निर्माणमा संलग्न गराउने उद्देश्यले ‘राष्ट्रिय युवा संसद’ अभियान घोषणा गरिएको छ । काठमाडाैंकाे जमलस्थित राष्ट्रिय नाचघरमा मंगलबार एक समारोहबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा 'ग्लोबल युथ पार्लियामेन्ट' ले अभियान घोषणा गरेको हाे ।
युवाहरूलाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्वदायी भूमिकामा संलग्न गराउनका लागि अभियान घोषणा गरिएको 'ग्लोबल युथ पार्लियामेन्ट'ले जनाएको छ । दुई वर्षसम्म तयारीका रुपमा चल्ने अभियानअन्तर्गत नेपालका १६५ वटै निर्वाचन क्षेत्रबाट १/१ जना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङमार्फत् दुई वर्षका लागि चयन गरिने जनाइएको छ । निर्वाचित हुने युवा सांसदकाे घाेषणाा २०८२ साल बैशाख १ गते गरिनेछ ।
अभियान घोषणा कार्यक्रममा पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले देशमा 'मनपरीतन्त्र' हाबी भएको र खुलेआम चरम भष्ट्रचार मौलाएको बताईन् । 'नमर्दासम्म पद नछाड्ने, पदसहित नै आर्यघाट पुग्ने प्रवृत्ति लोकतन्त्र हो ? अब युवाले नेतृत्व लिनुपर्दछ । तर सबै युवालाई प्रलोभन बाँड्न आउछन्, होशियार रहनुहोला ।' 
महानायक राजेश हमालले युवाले आफूमा भएको उर्जा कसरी प्रयोग गर्ने भन्नेमा सदैव सचेत हुनुपर्ने र आफ्नो धरातलीय यथार्थबारे पनि जानकार हुनुपर्ने बताए । ‘युवाले आफ्नो वास्तविकता के हो? चुनौती के हो? कस्तो किसिमको दलदलमा हामी फसेका छौं ? भन्ने मनन नगर्ने हो भने तपाईहरु कसरी दलदलबाट उम्कनुहुन्छ ? त्यसैले युवा पुस्ता सचेत बन्दै देशलाई हाक्ने सामथ्र्य राख्नुपर्छ ,’ हमालले भने ।
वरिष्ठ पत्रकार एवं साहित्यकार नवराज लम्सालले मुलुकका धेरै मान्छेहरु विभिन्न खाले अन्यौलमा देखिएको बताए । 'प्रत्येक मान्छे कसरी सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने भनेर मात्र सोचेको हुन्छ, तर सांसद मन्त्री र प्रधानमन्त्री भएपछि के गर्ने ? भनेर कसैले सोच्दैन्, त्यसैले आजका युवामा भिजन हुनु आवश्यक छ,' उनले भने । 
बैकर्स मनोज ज्ञवालीले पुराना नेताहरूले धेरै संघर्ष गरेर नेपाललाई यहाँसम्म ल्याएका भए पनि अब युवा पुस्ताले देश हाक्नुपर्ने बेला आएकाले युवाहरू तात्नुपर्ने बताए । राजनीतिक अस्थीरता र देशमा धेरै दल हुँदा पनि देशको विकासको गति लिन सम्भव नभएको ज्ञवालीको भनाई छ ।
'ग्लोबल युथ पार्लियामेन्ट'का अध्यक्ष दिवाकर अर्यालले देशमा अनेकन राजनीतिक परिवर्तन आए पनि नागरिकलाई आर्थिक रुपमा सम्पन्न गराउने काम नभएको बताए । 'मुलुक आर्थिक संकटले जर्जर बन्यो । निराशाको भट्टीमा जलेका युवा पाखुरी खाडीका मुलुकहरुमा श्रम बेच्न बाध्य भए भने विचार बोक्न सक्ने युवारू उच्चशिक्षाका नाममा युरोप, अमेरिका, अस्ट्रेलियातिर भासिन विवश भए,' अर्यालले भने, 'अनेकन व्यवस्था परिवर्तनले पनि बदल्न नसकेको देश र नागरिकको अवस्था फेर्न बल र विचार भएका युवा एक ठाउँमा जोडिनुको विकल्प छैन ।' 
कार्यक्रममा अभियन्ता निगम हुमागाईंले गरीब देशका जनताले तिरेको संसारकै महँगो करबाट दलका आसेपासे र बिचौलिया वर्ग पोसिएकाले सिंहदरबार, बालुवाटारसहितका शक्ति केन्द्रलाई खबरदारी गर्न अभियान निकै महत्वपूर्ण हुने बताए । अभियान्ता सरोज बानियाँले राष्ट्रिय युवा संसद युवाकाे सक्रिय सहभागितालाई राष्ट्रिय नीति निर्माणमा जोड दिनुका साथै देशभरका युवालाई एकै ठाउँमा ल्याएर उनीहरूको आवाज राजनीतिक र सामाजिक निर्णय प्रक्रियामा समावेश गराउन सफल हुने बताए ।
