चितवन — पुतली देखेर नरमाउने को होला ? चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक डुलाउने पुराना नेचर गाइड टेकबहादुर गुरुङ भन्छन्, ‘विदेशी पर्यटक कोही त पुतली मात्रै नै हेरौं भनेर पनि आउँछन् । नभए पनि पुतली देखेपछि त्यसका बारेमा गहिरो रुचि राख्छन् ।’
औपचारिक शिक्षा धेरै नलिएका भए पनि गुरुङ पर्यटकलाई पुतलीका बारेमा कसरी बुझाउन सकिन्छ भन्ने ध्याउन्नमै भेटेका जति जानकारी बटुल्दै गए । देखे जतिका पुतलीका तस्बिर खिच्न सुरु गरे । १० वर्ष यसमा केन्द्रित भएर लागेका गुरुङलाई अर्का साथी कपिलप्रसाद पोखरेलले पनि साथ थिए । कपिल पनि पहिला नेचर गाइड नै थिए । पछि वन्यजन्तु प्राविधिक भएर राष्ट्रिय प्रकृति संरक्षण कोषमा लामो समय काम गरे । त्यही बेला अरू जीवजनावरसँगै पुतलीका तस्बिर खिचे ।
नेपालमा पुतलीका बारेमा थोरै किताब प्रकाशित छन् । त्यसमा पनि नेपालीले नै लेखेका किताब अझै कम छन् । उनीहरूसँग किताबलाई पुग्ने तस्बिर र विवरण प्रशस्तै भए । ‘हामी कामका हिसाबले अनुभवी भइयो । तर विद्वान् हैनौं । किताबमा त्रुटि नहोस् भनेरै एक जना जीवशास्त्रीको सहारा खोज्यौं,’ कपिलले भने ।
त्रिभुवन विश्वविद्यालयबाट जीवशास्त्रमा एमएस्सी गरेका किरण थापा मगर उनीहरूलाई सहयोग गर्न तयार भए । अनि १ सय ६० पेजको रंगीन तस्बिरसहितको ‘फिल्ड गाइड, बटरफ्लाइज अफ चितवन, नेपाल’ नामको किताब पनि तयार भयो । तीन जनाकै नाम राखेर उक्त पुस्तक हालै सार्वजनिक भयो । किताबमा ३ सय १२ वटा पुतलीका रंगीन चित्र र उनीहरूको बारेमा जानकारी समेटिएका छन् । ‘यो किताब जीवविज्ञानका बारेमा रुचि राख्ने, पुतलीका बारेमा बुझ्न खोज्ने पत्रकार, अध्ययन अनुसन्धानकर्ता र विद्यार्थी सबैका लागि उपयोगी छ,’ टेकबहादुरले भने ।
सौराहादेखि दक्षिणको पदमपुर गाउँमा २०१७ वैशाखमा जन्मेका टेकबहादुरले २०४९ सालदेखि पथप्रदर्शक बनेका हुन् । एकपटक उनी चितवनमा चरा हेर्न आएका दुई विदेशीले पुतली देखेर निकै रमाए । निकै दुर्लभ पुतली देख्न पाएको उनीहरूले सुनाइरहँदा टेकबहादुर छक्क परे । ‘यो २० वर्षअघिको कुरा हो, त्यो घटनापछि मलाई पुतलीका बारेमा बुझ्न उत्सुकता बढ्दै आयो,’ टेकबहादुरले सुनाए ।
पुतलीका बारेमा बुझ्दै गहिरिँदै जाँदा उनले यसका बारेमा कमैले ध्यान दिएको पत्तो पाए । ‘जुन वनमा बाघ छ त्यहाँको पर्यावरण र इकोसिस्टम राम्रो र स्वास्थ्य छ भनेर बुझ्नुपर्छ । पुतलीको हकमा पनि त्यही नै हो । पानीको राम्रो स्रोत भएको, विविध खाले वनस्पति भएको ठाउँमा नै धेरै पुतली हुन्छन्,’ उनले भने । नेपालमा ‘पुतली बाजे’ का नामले परिचित कोलेन स्मिथले चितवनमा पाइने २ सय ४७ वटा पुतलीको विवरण राखेको टेकबहादुरले बताए । २०१९ असारमा जन्मेका कपिलले २०४० सालदेखि नेचर गाइडको पेसा अपनाए । बीचमा उनले राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयमा वन्यजन्तु प्राविधिकका रूपमा काम पनि सुरु गरे । उनको जिम्मेवारी भनेको जीवजनावरको अभिलेख राख्ने थियो । ठूला जीवजनावरका बारेमा प्रायः सबैको चासो हुन्थ्यो । देख्दा सुन्दर, अकारमा सानो र संवेदनशील देखिने पुतलीको सोधीखोजी कसैले नगरे पनि उनी आफैंले पुतलीका तस्बिर खिच्दै गरे ।
एकपटक उनकै कार्यालयले तीन महिनाका लागि चुरे क्षेत्रमा जीवजनावरको सर्भे गर्ने भयो । त्यहाँ टेकबहादुर र कपिलसँगै भए । त्यही भेटमा पुतलीकै क्षेत्रमा केही प्रभावकारी काम गरौं भन्ने दुवै जनामा लाग्यो । त्यसपछि जहाँ भेटिन्छ, पुतलीको फोटो खिच्ने र विवरण राख्ने काम सुरु गरे । लगभग १० वर्ष लगाएर उनीहरूले ३ सय १२ प्रजातिका पुतलीका तस्बिर र जानकारी संकलन गरे ।
‘तीमध्ये २ सय ६४ पुतली चितवनमा पाइएका थिए । त्यसपछि पनि थप पाँच नयाँ पुतली हामीले भेटेका छौं,’ टेकबहादुरले सुनाए । पर्यावरण, जैविक विविधता र कृषि क्षेत्रका लागि उपयोगी भए पनि पुतलीमाथि संकट बढ्दा अवस्थामा रहेको टेकबहादुर बताउँछन् । कृषिमा विषादीको प्रयोग, जंगल कम हुनु, डढेलोले असर गर्नुजस्ता कारणले पुतलीलाई समस्या परेको उनले बताए । ‘सहरीकरणले हरियाली घटेको छ । बगैंचाहरू छैनन् । पुतलीलाई गाह्रो छ,’ उनले भने ।
मिचाहा प्रजातिका झारहरू माइकेनिया, पार्थेनियम पुतलीले मन पराएको देखेका छन् । यसका बारेमा राम्रो अध्ययन हुनुपर्ने उनको मत छ । पुतलीका तस्बिरसहित प्रकाशित किताबमा पुतलीको महत्त्व र जीवनचक्रका बारेमा पनि सामग्री छन् । त्यसैले यो किताब पुतली संरक्षणमा सहयोगी हुन सक्ने उनीहरूको विश्वास छ ।
प्रकाशित : भाद्र १७, २०८१ ०५:४०